साथीहरुको पनि वर्ग हुन्छ । एउटै टोलमा जन्मिएर हुर्किएका साथीहरु बोर्डिंग स्कूल र सरकारी स्कूलमा बाँडिन्छन् । स्कूल फरक भएर के भो त, घर त एकै ठाऊँ हो नि भनेर अंकमाल गरेर हिंडे पनि केही वर्ष पछि प्रोफेसनमा लागेपछि वा बिहे गरेपछि प्रायोरिटीहरु बदलिन्छन, सोही अनुसार साथी पनि ।
उता एउटै स्कूल पढेका साथीहरु पनि कोही डाक्टर भएर डाक्टरकै साथी बन्न पुग्छन, कोही इंजीनियर भएर इंजिनियरकै साथी । जो केही बन्न सकेनन, उनीहरुलाई बनेकाहरुले गन्दैनन ।
काम गर्ने क्रममा भेटिएका साथीहरुमा थोरै मात्र हितैषी बन्छन, ज्यादातर- आरिसे । राजनीतिक साथी र संस्थागत साथी त लगभग सापटीका साथी हुन, भावना एकदम न्यून । सामाजिक संजाल बाट बनेका साथीहरु सामाजिक संजाल एक्टीभ हुन्जेल असाध्यै नजिक जस्ता हुन्छन् । भेटघाट पछि केही थोरै अझ घनिष्ठ पनि हुन सक्छन, अधिक गायब हुन पनि सक्छन् ।
यी सबै प्रकारका साथी बिचमा केही यस्ता साथी पनि हुन्छन जो संग वर्षौं कुरा भएको छैन, भेट भएको छैन तर कहाँ होला, के गर्दै होला भन्ने लागिरहन्छ । सामाजिक संजालमा उनीहरुको नामको आइडी सर्च गरिरहिन्छ । उनीहरु बसाई सरेर गएको ठाऊँका गल्लीहरुमा आँखा डुलाइन्छ । कुनै दिन त भेट होला नि भनेर आसा पालिन्छ ।
ती साथी बचपनका साथी पनि हुन सक्छन, स्कूल-कलेजका पनि हुन सक्छन, कामको शिलशिलामा भेटिएका पनि हुन सक्छन । यी साथीहरु बिचमा वर्ग गौण हुन्छ, भावना प्रधान हुन्छ ।
यी केही अपवाद छोडेर अधिकांश मित्रतामा वर्ग हावी हुन्छ तथापि कसैले कसैलाई केही दिनुपर्ने चाहिं हैन । कसैले कसैलाई पाल्नु पर्ने पनि हैन ! कृष्ण र सुदामाको मित्रता कथामा मात्र राम्रो लाग्छ सबैलाई !