रवि तुलाधर
अध्यक्ष
बाँके युनेस्को क्लब, नेपालगन्ज
तपाइँको नेतृत्वमा रहेको संस्थाले हाल के के कार्यक्रम संचालन गरिरहेको छ ?
२०४७ सालमा स्थापना भएर बाँके युनेस्को क्लबले शिक्षा, स्वास्थ्य, बाल संरक्षण, आयआर्जन र संस्कृति वातावरण र विज्ञानका क्षेत्रमा काम गर्दै आएको छ । प्लान नेपालको सहयोगमा समुदायमा काम गरिरहेको हाम्रो संस्थाले जीविकोपार्जन तथा आयआर्जनको खानेपानी, सरसफाइ, सार्वजनिक शौचालय, आमाबुवा नभएका तथा अपाङ्ग बालबालिकाहरूलाई विद्यालय पठनपाठनमा सहयोग गरेको छ । बालविवाह रोक्न विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रहरू संचालण गरिरहेको छ । चाइल्ड प्रोटेक्सन सम्बन्धी कार्यक्रमका साथै प्रलय परियोजना विपद व्यवस्थापन कार्यक्रम अन्तर्गत १८ देखि २४ वर्षका प्रकोपबाट ग्रस्त किशोरीहरूलाई आर्थिक सशक्तिकरणको लागि जीविकोपार्जन प्रवद्र्धन परियोजना अन्तर्गतका कार्यक्रमहरू गरिरहेको छ ।
यहाँहरूको सहकार्य कुन कुन संस्था र निकायसँग रहेको छ ?
प्लान नेपाल,कतार च्यारिटीन, नेपाल विश्व शिक्षा, स्टार्ड फौन्ड र भेरी अस्पतालसँग सहकार्य गरेर कमहरू गरिरहेका छौं ।
यहाँहरूले कसका लागि कहाँ कहाँ काम गर्नु हुन्छ ?
जोखिममा रहेका महिला, बालबालिकाहरू, युवा, किशोर किशोरीहरू, अपाङ्गता भएका व्यक्तिहरूको लागि हाल बाँके युनेस्को क्लबले बाँके र बर्दिया जिल्लामा काम गर्दै आएको छ ।
हालसम्म गरिएका उल्लेखनीय कार्यहरू के के हुन् ?
२०६४ सालमा हाम्रै पहलमा बाँके जिल्लामा मात्र ७० वटा मदरसालाई शिक्षाको मूल प्रवाहमा प्रभावीकरण गरेका छौं । कोभिडको समयमा भारतबाट स्वदेश फर्कने व्यक्तिहरूलाई डिसिसी एमसिसी सहकार्यमा नाकामा ८१ दिनसम्म खानाको व्यवस्था गरेका थियौं । सन् २०१७ मा सरकारले विभिन्न क्षेत्रलाई खुला दिसापिसाब मुक्त गर्ने घोषणा अनुरूप हामी बाँकेका १३ वटा तत्कालीन गाविसलाई खुला दिसापिसाब मुक्त घोषणा गरेका छौं । बालश्रमलाई रोकने बेचबिखन हुन नदिने सरकारको लक्ष्य अनुरूप हामीहरूले विभिन्न क्षेत्र तथा इँट्टाभट्टाहरूमा काम गरिरहेका बालबालिकाकलाई वकालत गरेर उद्धार गरेका छौं भने भारतमा बेचबिखनमा परेका २ जना बालबालिकालाई भर्खरै मात्र बाँके जिल्लामा रहेका युवाको सक्रियतामा उनीहरूलाई उद्धार गरेर स्वदेश फिर्ता गरेका छौं ।
सामाजिक क्षेत्रमा कार्य गर्दा के के चुनौतीहरू सामना गर्नु परेको छ ?
त्यस्तो जटिल खालका चुनौती नभए पनि कार्यक्रम लिएर समुदायमा जाँदा सरकारी प्रक्रियासँग मिल्दा किसिमका पयिोजनाहरू लिएर जानु पर्ने हुन्छ । कार्यक्रम गर्दा सरकारी प्रक्रिया र परियोजनाको प्रक्रिया भिन्न हुने भएकाले गाह्रो हुने गरेको छ । साथै कार्यक्रम गर्न समुदायमा जाँदा मैले किन गर्ने, हुन त हो मलाई फाइदा के हुन्छ ? हजुरहरू तलब खाने अनि हामीहरूलाई के सुविधा छ भन्ने खालका व्यक्तिहरू भेटिँदा उनीहरूसँग समन्वय गरेर काम गर्नु पर्ने हुन्छ । राज्यबाट नीति स्पष्ट नभएकोले पनि काम गर्न गाह्रो छ । संघ प्रदेश र स्थानीय स्तरको समन्वय नहुँदा गाह्रो छ । सरकारबाट नीति भए पनि स्थानीय निकायलाई अधिकार दिएको छैन । त्यसैले समुदायमा काम गर्न गाह्रो भएको आभास हुन्छ ।
आगामी कार्यक्रम र योजनाहरू के के हुन् ?
प्रत्येक आर्थिक वर्षका कार्यक्रमको बारेमा समीक्षा गरेर मात्र भाबी योजनाहरू गरिने भएकाले त्यसपछि मात्र हामीहरूले आगामी कार्यक्रम र योजनाहरूका बारेमा निर्णय गर्छौं ।
अन्तिममा के भन्नु हुन्छ ?
असल शासन साप्ताहिक हरेक हप्ता पढ्छु, विषय बस्तुहरू एकदमै राम्रो लाग्छ । अझै राम्रो गर्दै जाओस् । धन्यबाद