कुनै समय थियो, एउटा राजनितीक पार्टीको नेता, कार्यकर्ता वा समर्थक अर्काे राजनितीक पार्टीको नेता, कार्यकर्ता वा समर्थकसंग फरक आस्था भएकै कारण पानी बाराबार हुने, बोलिचाली बन्द हुने, एक अर्काको झण्डा च्यात्ने, जलाउने, अर्काे पार्टीको कार्यक्रम बिथोल्ने । १२ बर्षे जनयुद्ध संचालन गर्ने तत्कालिन एकिकृत नेकपा माओबादीले बिभिन्न पार्टीहरुलाई शत्रुको रुपमा लिई बर्गिकरण समेत गरेको थियो ।
तर अहिले समय बदलिएकोछ, सबै पार्टीहरुका बिचमा सैद्धान्तिक भिन्नता भए पनि, राष्ट्रिय सवालका बिषयमा सहमति नभएपनि पानी बारबारको स्थिती छैन, बोलि चाली नैं बन्द हुने अबस्था छैन । तथापी स्थानीय स्तरमा बिभिन्न खालका झडप नभएका भने होईनन् । बिश्वका ईतिहाँसमा हाम्रा देशका नेताहरु बिभिन्न कारणले असफल होलान्, जिम्मेवारी बहन गर्न नसकेर अलोकप्रिय होलान् तर केही राम्रा काम भने अबश्य छन्, जो बिश्वका धेरै राष्ट्रका नेता र दलहरुमा त्यो प्रबृत्ति देखिदैन । सबै पार्टीका नेताहरु अर्का पार्टीको महाधिबेशन, कार्यक्रममा सहभागि भएको, शुभकामना दिएको हामी हेर्न सक्छौं ।
बर्षेनि नयाँ बर्ष र चाड बिशेषमा आयोजना हुने चियापान समारोहमा सबै पार्टीका नेताहरुको हुने बाक्लो उपस्थिती नेपालको राजनितीक परम्पराको रुपमा रहेकोछ, त्यो असाध्यै प्रशंसनिए कार्य हो ।
एउटा पार्टीको कार्यक्रममा अर्काे पार्टीको नेता, कार्यकर्ताहरु सहभागिता जनाउँछन् । उनीहरु कार्यक्रममा सहभागि भएर अर्काे पार्टीको आलोचना मात्रै गर्दैनन्, राम्रो कामको शुभकामना पनि दिन्छन् । हो यहि हो, सार्थक प्रजातन्त्र, लोकतन्त्र । आफ्ना मनमा लागेका कुराहरु सहि स्थानमा राख्नु र त्यसको समाधान खोज्नु, खुलेर छलफल गर्नु, बहस गर्नु, तर्क गर्नु यहिनैं प्रजातन्त्र, लोकतन्त्रको मूल मक्सद हो ।
तर हाम्रो सिंगो समाज होईन, समाजका अग्रज र समाज परिबर्तनका ठेकेदार भन्ने केही राजनीतिक तथा सामाजिक व्यक्तिहरु पूर्वाग्रहको रोगबाट ग्रसित छन् । सहकार्य, समन्वयको भाषण छाँट्ने राजनीतिक नेताहरु पूर्बाग्रही मानसिकताबाट अगाडी बढेको पाईन्छ । आफुले गरेका काम सबै ठिक, आफु भन्दा अलि फरक मत राख्ने व्यक्ति वा संस्थाले गरेका सबै काम बेठिक भन्ने राजनीतिक नेता, कार्यकर्ताहरु पनि हाम्रै समाजमा छन् । जसले अरुको कामको सधैं आलोचना गर्नूलाई आफ्नो कर्तव्यबोध ठान्दछन्, त्यसमा पनि केही त यस्ता आलोचक पनि समाजमा देखिन्छन्, जो उचित ठाउँमा गुनासो वा आलोचना गर्दैनन् ।
असम्बन्धित ठाउँमा आलोचना गर्नेहरु सम्बन्धित ठाउँमा वा व्यक्तिसंग चुईक्क पनि बोल्दैनन् । सकभर जसको आलोचना गरिएकोछ, उसको अगाडी देखा नपर्ने, देखा परि हाले पनि हतार, हतार गरेर भाग्ने ध्याउन्नमा लाग्छन् । त्यसबाट एक जना बिद्धानले भनेझैं आलोचना का लागि मात्रै आलोचना, मनोरञ्जनका लागि मात्रै आलोचना भन्ने भनाईलाई सम्झाउँछ ।
यि उल्लेखित कुरा लोकतान्त्रिक कार्य होईनन्, कुनै पनि समस्याको समाधान छलफलबाट हुन्छ, बहसबाट हुन्छ न कि पानी बाराबारको स्थितीले । हामीले समाजमा देखि आएका छौं, झै झगडा भएर बोलिचालीनैं बन्द भएका छिमेकीहरु समेत सुख, दुःखमा संगै हुन्छन्, बोलिचालीनैं बन्द भएका बेला पनि छिमेकिको बिवाह, ब्रतबन्धमा सहभागि भएको, बिरामी हुँदा उपचार गर्न अस्पताल गएको, मर्दा, पर्दा मलामी गएको हामी देख्छौं । हो यहि हो बास्तबमा मानबता र भातृत्व । सबै भन्दा ठूलो कुरा मानबता र भातृत्व हो, त्यहिंबाट धेरै आदर्शका कुरा शुरु हुन्छन् जब भातृत्व र मानबतालाईनैं अंगिकार गर्न सकिदैन भने त्यहाँ लोकतन्त्र, प्रजातन्त्रको के नैं कुरा भयो र ? केही समाजमा मैले यस्ता प्रतिनिधि पात्र देखेकोछु, जो आफु अनुकुल बिपरितका व्यक्तिहरुलाई सुखका कार्यहरुमा सहभागि त गराउँदैनन्नैं । दुःखका कुराहरुमा पनि सहभागि नहुन् भन्ने चाहन्छन् ।
जिवित हुँदा सम्म खासै वास्ता नगर्ने राजनीतिक दलका नेताहरु निधन भईसकेपछि अन्तिम दाहसंस्कारमा आ—आफ्नो झण्डा ओढाउन तछाड मछाड गर्दछन्, जनआन्दोलन भाग २ मा सहिद भएका व्यक्तिहरुको अन्तिम दाहसंस्कारमा त्यस्तै देखिएको थियो । जो जुन ठाउँमा बलियो थियो, उसै पार्टीको झण्डा मात्रै ओडाईयो, अरु झण्डा ओढाउनबाट बञ्चित भए, के झण्डा ओढाउने बित्तिकै सहादत प्राप्त गरेको मान्छे अर्काे पार्टीको भईहाल्छ र ? के शहिद पनि कुनै एउटा पार्टीको बिर्ता हुन्छ र ? यो प्रश्न गर्भमै छ । त्यस्तै कुनै सार्बजनिक व्यक्तिको निधन भएमा त्यसमा सबैले दुख मनाउ गर्न पाउनु पर्छ, उस प्रति श्रद्धाञ्जली व्यक्त गर्न पाउनु पर्छ । उस प्रति श्रद्धाञ्जली व्यक्त गर्नका लागि के कसै अनुकुलको मान्छे हुनु पर्छ र ? कसै प्रति कसैलाई श्रद्धाञ्जली दिनबाट रोक्नु भनेको उस प्रति अपमान गर्नु हो । तसर्थ पूर्बाग्रहबाट माथि उठौं, मानवताको परिचय दिऔं, सार्थक लोकतन्त्रलाई संस्थागत गरौं ।