आज म कार्यालयबाट घर फर्किरहेको थिए । बागेश्वरी मातालाई परिक्रमा गरेर जाऊ जस्तो लाग्यो । मनमा आएको बिचारको कदर गर्दै पानी ट्याङ्कीको बाटो हुँदै बागेश्वरी मन्दिरमा पुगें । माताको अगाडि पुग्दा मनमा आनन्द लाग्ने गर्छ ।
नेपालगन्ज बिहानैदेखि घुम्टो ओढेको बेहुली जस्तो गरेर हुस्सु र कुहिरो भित्र लुकेको थियो। असाध्यै जाडो थियो। तैपनि आफ्नो दैनिकीको लागि बाहिर निक्लिनुनै पर्थ्यो। बागेश्वरी मन्दिरको बाहिर अखण्ड ज्योती बलेको ठाउँमा बसेका पुजारीको हातबाट टीका र आशिर्वाद लिएपछि थोरै दक्षिणा हातमा दिए। त्यसपछि मेरो ब्याग यत्तिकै स्कुटीमा झुन्ड्याएर घरतिर हिँडे। त्रिबेणीमोड हुँदै न्युरोडबाट घरतिर निक्लने सोचेर कुदे । कतिबेला मेरो ब्याग त्यही त्रिवेणी मोडमै खसेछ थाहै भएन । ब्यागमा पैंतालीस हजार रुपैयाँ थियो । सँगसँगै नागरिकता, लाइसेन्स, विभिन्न बैंकका एटीएमहरु र महत्त्वपूर्ण कागजातहरु थिए।
म घरमा आइपुग्दा सम्म दस पटक फोन आएछ। स्कुटीमा चिसो मौसमको मज्जा लिंदै कुदेको मलाई थाहा भएन। घरमा पुगेर पनि बच्चाहरूसँगै खेल्न थाले । धेरै समय पछि फोनमा आँखा गयो त धेरै नम्बरबाट धेरै पटकपटक फोन आएको देखें अनि फोन रिप्लाई गरे। उताबाट आवाज आयो तपाई दिला शाह हुनुहुन्छ ? हो हजुर म दिला शाह हुँ। बल्ल भन्नुभयो तपाईंको ब्याग लिन आउनुस् ।
बल्ल म झल्यास भए, सधैं स्कुटीको डिक्कीमा राख्ने ब्याग त्यही छ जस्तो लागेको थियो ।
कहाँ आउने ? तपाई को हो ? म एन आइसि एशिया बैंकको कर्मचारी हुँ । हामी तपाईंलाई कुरेर बसेकाछौ । तपाईंको सामान लिएर जानुस् ।
स्पिडमा बैंक अगाडि पुगेर फोन गरे । बैंक बन्द भैसकेको थियो। उहाँहरु भित्र हुनुहुँदो रहेछ । गार्ड दाइले सेक्रेट गेट खोलिदिनुभयो। भित्र पसेँ । उहाँ आफ्नो कामले सदरलाइन जानुभएको रहेछ । मेरो ब्याग खसेको देखेर बोलाउनु भएछ । हेलमेटले छोपेको मेरो कानहरुले के सुन्थे । त्यही एकजना ब्यक्तिले यो ब्याग दिनुस् म दिन्छु भनेर मागेको रहेछ, उहाँले दिनुभएन । सुरक्षित लिएर मेरो डिटेल खोज्नु भयो । लाइसेन्समा फोन नम्बर भेट्नु भएछ अनि फोन गर्नुभयो। भर्खरको युवा हुनुहुन्थ्यो । पैँसा देखे कसलाई लोभ लाग्दैन र ? कति धेरै रहरहरु हुँदोहुन् । साथीभाइ बसेर रमाइलो गर्दै खाउँला भनेर सोचेको भए त्यो पैँसा निकालेर ब्याग मिल्काइ दिनुहुन्थ्यो तर उहाँले त्यस्तो गर्नुभएन । खाजा खानुहोला भाइ भनेर केही पैसा दिदा पनि उहाँले लिनुभएन ।
भन्नुभयो, हजुर मेरो आमा जस्तो हुनुहुन्छ, आशिर्वाद दिनुहोस् । पैसा त म आफै कमाइरहेको छु नि ! उहाँ आफ्नो घर आमा बुवा छोडेर जागिर कै शिलशिलामा नेपालगन्ज आउनुभएको रहेछ। यस्तो महान सोच राख्ने ब्यक्ति प्रति मेरो शिर श्रद्धाले झुक्यो । यस्तो सकारात्मक सोचका धनी युवालाई सधैं कल्याण गर्नुहोस् भगवान । उहाँ असल कर्म गर्न रुचाउनुहुन्छ तर त्यसको लागि प्रचार गर्न चाहनुहुन्न ।
उहाँले आफ्नो नाम होइन बैंकको नाम मेन्सन् गर्न भन्नुभयो ।
यस्तो लाग्यो इमानदारिता र नैतिकता अझै छ यहाँ । एनआइसी एशिया बैंक नेपालगन्जमा कार्यरत बिशाल मनका धनी युवालाई सलाम छ।