वा ! प्रहरी मेरो साथी

लुना बुढाथोकी

चितवनको सौराहामा पौष १४ गते आयोजित टिआई नेपालमा आबद्ध संस्थाहरुका अध्यक्षहरुको भेटघाट तथा छलफल कार्यक्रममा सहभागी हुनका लागि यात्रा तय भएको थियो जसको टिकट १३ गतेनै काठमाण्डौ जाने हाईसमा लिईएको थियो । सोही अनुरुप म १४ गते बिहान सवा ६ बजे नेपालगञ्जबाट हाईस चढें । म हाईसको सिट नम्वर ७ मा थिएँ । मेरो यात्रामा शुभयात्राको हात हल्लाई बिदाई गर्न मेरो जीवनसाथी पनि भाटभटेनीसम्म आउनुभएको थियो । मेरो यात्रासङ्गै हाईस अगाडि हुइँकियो भने सर (श्रीमान) निवास तिर फर्किनुभयो । हाईसमा यात्रुहरु चढीरहेका थिए ।

हाईस सानो भएर होला यात्रा गर्ने हरेक यात्रु भित्र प्रवेश गर्ना साथ नजिकैबाट नियाल्न सकिन्थ्यो सायद त्यै भएर होला म पनि नियालिरहेकी थिँए । यही क्रममा कोहलपुर बसपार्कमा एकजना अधबैंसे महिला यो गाडिमा सिट छ भित्र भन्दै प्रवेश गरिन् अनि गाडिवाला र अर्को एकजना उभिएका भाइसङ्ग जाने नजाने विषयमा छलफल गरे पश्चात खाली सिटमा बसिन् । केहीबेर गाडि त्यहीँ रोकिरहेको बेला उनको मनमा केही खेलिरहेको प्रष्टै थाहा हुन्थ्यो । त्यत्तिकैमा उनी म जाँदिन भन्दै गाडिबाट झरिन, फेरी चढिन ।

उनको त्यो सबै कुरा हामी गाडिमा बसेका सबैले नजिकबाट नियालिरहेका थियांै । गाडि बिस्तारै अगाडि बढिरहेको थियो भने गाडिका स्टाफ भाइले भन्दै थिए, ए दिदि अझैं समय छ है, ठण्डा दिमागले सोच्नुहोस है, कहिले चढ्ने कहिले झर्ने नगर्नुहोस, तपाईं नजाने भए अर्को यात्रु राख्छौं भन्दै थिए । अनि उनले नाइँ म अब झर्दिन जान्छु भनेर सिटमा बसिन । चप्परगौडीबाट गाडि आफ्नै रफ्तारमा अगाडि बढ्यो र ढकेरी पुगेपछि एक जना बालक सहित दुई जना महिला गाडिमा चढे । त्यसपछि एकोहोरो हुँइकिएको गाडि करिब ८ः३० बजे लमहीको एउटा होटलको अगाडि रोकियो । खाजा खानको लागि सबै यात्रुलाई गाडिको स्टाफले अनुरोध गरेपछि म सहित सबै यात्रु झ¥र्यौ र खाजा खान लाग्यौं ।

खाजा खाँदै गर्दा गाडिचालक त सङ्गै पढेका मेरो घर कोहलपुरकै सुनिल भण्डारी रहेछन् । सुनिल सङ्गै गाडिमा यात्राकै क्रममा चिनजान भएका अरु महिलाहरुसङ्ग खाजा खाँदै गफगाफ भयो । खाजा खाएर सबै जना गाडिमा बस्यौं । हामी सबै गाडिमा बसेपछि ति महिला फेरी झर्न थालिन् र भनिन् कि म जादिँन अनि गाडिवाला भाइले दिदि अघि भनेको मान्नुभएन, झर्ने भए झर्नुहोस् तर भाडा पुरै चितवन सम्मकै दिनुहोस किनकि एउटा सिट प्याक गरेर यहाँसम्म आउनुभयो, अब बिच बाटोबाट अरु यात्रु पाइदैनन् । यही कुराले एकछिन त बिबादनै भयो । फेरी के सोचिन कुन्नी, उनी गाडिमा चढिन् र हाम्रो यात्रा अगाडि बढ्यो । उनको त्यो सबै गतिबिधि हेरेर गाडि भित्रका यात्रु चकित परिरहेका थिए । उनको झर्ने र चढ्ने गतिबिधिले यात्रानै अधुरो हुने वा कतै दुःख पाइने हो कि भन्ने शंका उत्पन्न सबैमा भईरहेको सजिलै महशुस गर्न सकिन्थ्यो ।
हाम्रो भनाई पनि घरदेखि बाहिरको यात्रामा निस्केपछि नफर्किने, दोहोरो मन नगराउने अन्यथा यात्रामा बाधा व्यवधान आउन सक्ने भन्ने भनाइले मनमा कता–कता डर उत्पन्न गरिरहेको थियो । गाडि निरन्तर अगाडि बढिरहेको थियो ।

दिउसो करिब ११ः३० बजे कपिलवस्तुको चन्द्रौटामा एक्कासी गाडी रोकियो । त्यहाँ ट्राफिक बिटमा ईन्ट्री गरेर जानुपर्ने नियम भएपनि गाडि अगाडि बढेन । एकछिन पछि एकजना ट्राफिक प्रहरीको जवान हातमा सेतो कागजको चिट र कलम समाएर गाडि भित्र प्रवेश गरेर सोधे, मुना (परिवर्तित नाम) बुढाथोकी को हुनुहुन्छ ? कोही बोलेन र उनले सो प्रश्न तिन पटक सोधेपछि मेरो मनमा कहिलेकाहीँ नामनै गल्ती बोलाएका हुन सक्छन् सोचेर मुना बुढाथोकी त होइन म लुना बुढाथोकी हुँ भन्ना साथ …………..

प्रहरी : ए ए तपाँई नै हो, बाहिर आउनुहोस् ।
प्रहरीले यसरी बोलाएपछि गाडिका सबैले मलाई हेर्न थाले, मलाई नि अप्ठ्यारो महशुस भयो, मैले सोंचे ट्रान्सपरेन्सी ईन्टरनेशनलको कार्यक्रममा सहभागी हुन सौराहा जाँदैछु सायद केही डकुमेण्ट छुटेर बास नेपालको केन्द्रीय कार्यालयबाट पठाएको कसैले यही छोडदिएछन् कि भन्ने नि लाग्यो । फेरी एकछिन बसौं कि झरौं, दोमनमा थिँए तर फेरी प्रहरीले बोलाएपछि …………

म : किन बोलाउनुभयो मलाई ?
प्रहरी : एकछिन बाहिर आउनु तपाँइसङ्ग सोधपुछ गर्नुछ ।
यति भन्दै प्रहरीले फोनमा कसैसङ्ग कुरा गर्दै भन्यो, नाम फरक छ सर सबै हुलिया मिल्छ तर नाम मात्र फरक छ । प्रहरीले यति कुरा फोनमा जानकारी गराईरहँदा म झसङ्ग भएँ, यो के हो ? यहाँ के हुदैँछ ? कसलाई यो प्रहरीले यस्तो सुचना दिँदैछ ? यि र यावत कुराहरुले म नर्भस भइसकेको थिँए । यति सोच्दा सोच्दै म गाडिबाट झरे र प्रहरी नजिक गएँ ।
प्रहरी : लुना बुढाथोकी हजुर ?
म : हजुर ।
प्रहरी : कहाँ जाने तपाँई ?
म  : चितवन ।
प्रहरीले फेरी कसैसङ्ग मोबाईलमा हुलिया र गन्तव्य सबै मिल्यो तर नाम फरक छ भनेर भन्यो ।
प्रहरी : कहाँबाट आउनुभयो, नेपालगन्जबाट ?
म : हजुर ।
प्रहरी : श्रीमान सङ्ग झगडा गरेर आउनुभा हो ?
म : लौ के कुरा गर्नुभा हो, हैन ।
प्रहरी : झुट नबोल्नुहोस, हामीलाई फोन आको छ ।
म छक्क परें अनि एकोहोरो प्रहरीलाई हेरिरहें ।

अनि फेरी प्रहरी,
प्रहरी : सत्य कुरा के हो भन्नुस् है, मलाई अप्ठ्यारोमा नपार्नुहोस् है ।
म : हैन के कुरा हो, म अन्यौलमा छु । म त ट्रान्सपरेन्सी ईन्टरनेशनलको कार्यक्रममा सहभागी हुन सौराहा जाँदैछु ।
यति भनिसकेपछि, हाम्रो सबै कुरा गाडिचालक तथा साथी सुनिलले नियालीरहेका थिए, अनि ….

सुनिल : के कुरा हो र सर ? उहाँको श्रीमान बिहान गाडिसम्म छोड्न आउनुभाको थियो । किन के समस्या भो ?
प्रहरी : तपाँई नबोल्नुहोस, हामी अनुसन्धान गर्दैछौं ।
म : के कुरा हो तपाँइको, मैले त केही बुझिराको छैन । म त एउटा कार्यक्रममा भाग लिन चितवनको सौराहा जाँदैछु ।
अलि झर्किएर ……
प्रहरी : रोक्नुहोस् न एकछिन, तपाँई चुप लाग्नुहोस् ।
यति भएपछि ……
सुुनिल : सर, उहाँको बारेमा हो भने म केही भन्न सक्छु , उहाँ त्यस्तो व्यक्ति होइन, म जिम्मा बस्न तयार छु । म नजिक बाट चिन्छु, मेरो साथी हो अनि छिमेकी पनि । कुरा के हो प्रष्ट भन्नुपर्यो ?
प्रहरी : उहाँ घरमा श्रीमान सङ्ग झगडा गरेर आउनुभा छ ?
सुनिल : कहाँ त्यस्तो हुनु ?

फेरी,
सुनिल : तपाँईको (म) कुरा हैन, यिनिहरु बेकारमा दुःख दिराछन, जानु तपाईं गाडिमा बस्नु । म कुरा गर्छु यहाँ ।
म गएर गाडिमा बसे, मन आत्तिरह्यो, सोचें गाडिका अरुले के भने होलान् अनि मनमा अनेक कुरा खेलिरह्यो ।

फेरी प्रहरी गाडिमा प्रवेश गरेर …………….
प्रहरी : तपाईं ३ नं. सिटमा हैन र ?
म : हेर्नु न देख्नु भा छैन र ? म ७ नं. सिटमा बसेकी छु ।
प्रहरी : गाडि यही हो, नाम नि यही हो, सबै हुलिया मिल्छ त ?
म : मेरो परिचय पत्र देखाउँदै, म बास नेपाल (एउटा संस्था) को केन्द्रीय अध्यक्ष हुँ । सौराहामा आयोजना हुने कार्यक्रममा संस्थागत सहभागी हुन जाँदैछु । विश्बास लाग्दैन भने मेरो संस्थाको साथीहरु र परिवारसङ्ग कुरा गराउँछु । किन अनावश्यक दुःख दिनुभा को ? मेरो परिचय पत्र लिएर प्रहरी अलि पर गए अनि फेरी अर्को ओकेटोके बोकेको सादा पोशाकका प्रहरी आएर सोधे ।

सादा पोशाकका प्रहरी : लुना बुढाथोकी को हो ?
म : म हो भने ।
सादा पोशाकका प्रहरी : तपाँई हो ?
म : हजुर ।
सादा पोशाकका प्रहरी : कहाँ पुग्ने, चितवन ?
म : हजुर ।
सादा पोशाकका प्रहरी : मोवाइल नं. देखाउँदै, यो नं. कसको हो, थाहा छ ?
म : नाई, मलाइ थाहा भएन ।
सादा पोशाकका प्रहरी : तपाँइको श्रीमानको, तपाँईको आफन्तको वा कोही चिनेजानेकाको नं. हो ?
म : होईन ।
गाडिका सबै म तिर हेर्छन् ।
सादा पोशाकका प्रहरी : मोवाइल नं. भन्दै, साँच्चै थाहा छैन ?
म :  कस्तो कुरा गर्नुहुन्छ ? कसको नम्वर हो, मलाइ के थाहा ?
मेरो श्रीमान सङ्ग कुरा गराउँछु, आफै कुरा गर्नु एकपटक ।
सादा पोशाकका प्रहरी : तपाँईको श्रीमानको नाम के हो ?
म : कमल शाही ।
सादा पोशाकका प्रहरी : एकछिन रोकिए ।

नाम मिल्दोजुल्दो भएर होला प्रहरी एकोहोरो म सङ्ग सोधपुछमा थिए । त्यतिबेला सिट नं. ३ मा बसेकी ति अधबैंसे महिलालाई बारम्बार फोन आइरहेको रहेछ, उनले मोबाईल साइलेन्टमा राखेर बिन्दास बसिरहेकी थिईन् । यो सबै परिघटना उनी सङ्गै बसिरहेका दुई जना महिलाहरुले नियालिरहेका रहेछन् ।

त्यतिबेला ति दुइ जना महिला तल झरेर प्रहरीलाई खबर गरेछन् र फेरी प्रहरी आएर र सोधे  ।

सादा पोशाकका प्रहरी : सिट नं. ३ मा बस्नेको नाम के हो ?
उनी प्रहरी तिर फर्किदै फर्किइनन् । फेरी प्रहरी झोक्किदै …………….

सादा पोशाकका प्रहरी : दिदि तपाँईको नाम के हो ? श्रीमान (कैलाश ओली, नाम परिवर्तन) को नाम लिएर, तपाँईको श्रीमानको नाम यो हो ?
पटक पटक यसरी प्रहरी रिसाएर सोधेपछि ति अधबैंसे महिला नर्भस हुँदै ……….

अधबैंसे महिला : हो ।
सादा पोशाकका प्रहरी : यो मोबाईल नं. तपाँईको श्रीमानको हो ?
अधबैंसे महिला : अँ हो ।
सादा पोशाकका प्रहरी : तपाँईको नाम मुना बुढाथोकी (परिवर्तित नाम) हो ?
अधबैंसे महिला : हजुुर हो ।

अनि प्रहरी कड्किदै,
सादा पोशाकका प्रहरी : अघि किन नबोल्या त ? अघि देखि म सोधिराछु, सुन्नुभा थिएन । कि काननै सुन्नुहुन्न र ?
अधबैंसे महिला : केही नबोली टाउको तल गरेर बसिरहिन् मात्र ।

एकछिन पछि उनलाई प्रहरीले तल झर्न भन्यो र उनी चितवन सम्म जाने भएपनि त्यही सम्मको भाडा दिएर झरिन । उनको श्रीमानले त्यहीँ रोकिदिनुहोला म लिन आउँदै छु भनेसि प्रहरीले रोकेको रहेछ ।

तत्पश्चात सादा पोशाकको प्रहरी मेरो परिचय पत्र मलाई दिँदै सरी है मेडम, तपाँईलाई दुःख भयो । म केही बोलिन, मलाई करिब १५, २० मिनेट त मानसिक तनाब पनि भयो । मलाई त यस्तो व्यवहार भयो भने अरु सामान्य महिलाको अवस्था के होला, सजिलै आकलन गर्न सकिन्छ ।
त्यसपछि मलाई लाग्यो, “प्रहरी मेरो साथी” त नारामै सिमित भएको र व्यवहारमा त कार्यान्वयन भएको रहेनछ भन्ने महशुस भयो ।

अनुसन्धानका नाममा गरिएको त्यो व्यवहार भन्दा पनि दुरव्यवहार थियो मेरा लागि । अर्को चित्त नबुझेको कुरा प्रहरीले गर्ने कुनै पनि कुराको अनुसन्धान गर्दा अरुको अधिकारकोे त कत्ति पनि ख्याल गरिँदो रहेनछ । अनावश्यक रुपमा अनुसन्धानका नाममा भएको त्यो दुव्र्यवहार निन्दनीय छ साथै यस्तो दुव्र्यवहार कसैले कहिल्यै पनि भोग्न नपरोस् । मानव अधिकारको हनन गर्ने कुचेष्टा कहिँ कतैबाट हुनुहुँदैन । यस्ता घटनाले निर्दोस व्यक्तिलाइ कति असर पर्छ भन्ने कुराको हेक्का प्रहरीले राख्नुपर्दछ ।

केही क्षणका लागि रोकिएको यात्रा फेरी चन्द्रौटाबाट शुरु भयो । म भने आफै सङ्ग प्रश्न सोध्ने र अनुत्तरित प्रश्नहरुले मेरो मनमा राज्यको प्रहरी प्रशासन प्रतिको आम जनमानसको धारणाको बारेमा घोत्लीरहेको थिँए, अरु यात्रुहरुले मलाई नियाल्दै “एउटी अधबैंसे महिलाको कारणले अर्को भलाद्मी महिलाले दुःख पाईन” भन्दै कानेखुशी गरिरहेका थिए भने गाडि आफ्नै रफ्तारमा हुँइकिरहेको थियो । यो सबै घटना आफै भोग्दा प्रहरी मेरो साथी भन्ने नारा सुनेर हाँसो र रिस उठ्यो । रिसले मुर्मुरिदै यात्रा समापन गरें ।

 

  • ६ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech