मेरी आमा !
यो एक हरफ जिन्दगीको यात्रा पनि
अचेल लामो र कठिन लाग्न थालेको छ !
जब आमाको आशिर्वाद दिने हातले
चटक्कै बिचमा छोडेर गएपछि,
अचेल उदासी जाग्न थालेको छ !
मेरी आमाको काखको आकार कत्रो थियो होला ?
जहाँ संसार अटेको थियो !
म खुसी हुँदा बुर्कुसी मार्ने आँगन त्यही थियो !
दुःखमा आँसु पोख्ने चौतारी पनि त्यही थियो !
खुसी कतिबेला सुनाऊ जस्तो लाग्थ्यो !
दु:ख कतिबेला पोखुँ जस्तो लाग्थ्यो !
आमा नै संसार रैछिन् !
उनको काख नै मेरो भूगोल रहेछ !
मैले भगवान चिन्दिन !
मेरो भगवान मेरी आमा थिइन् !
तिनै आमालाई निस्ठूरी दैवले
मबाट खोसेर लगेपछि
मेरो खुसी साट्ने काख पनि छैन !
दु:ख पोख्ने चौतारी पनि छैन !
स्वार्थी दुनियाँमा,
आमा जस्तो निस्वार्थ कोही पनि देख्दिन !
जता टेक्छु,
आमाका पैतलाका डोवहरु मात्र देख्छु !
यो मझेरी, घर, आँगन, करेसा र बाटाभरी आमाकै छाँया मात्रै देख्छु !
यो हावाले हरिया पातहरु हल्लाउँदा पनि
आमाकै साडीको सप्को हल्लिए झै लाग्छ।
चरीले गाउने गीतमा पनि
आमाकै गुनगुनाहट सुन्छु !
हरेक आवाजहरु
आमाले बोलाए झै लाग्छ !
जताततै आमाकै झ-झल्काहरु पोखिएका छन् !
लाग्छ यी झ-झल्काहरु
कहिल्यै मेटिने छैनन् !
मेटिऊन् पनि कसरी ?
यो सृष्टि आमाकै देन हो !
आफ्नो आयुको आधा कप्टेरो
काटेर दिऊ जस्तो लाग्थ्यो,
नमिल्दो रहेछ !
आमाको दुख्ने पीडा
जम्मै लिउँ जस्तो लाग्थ्यो,
नमिल्दो रहेछ !
जेे जे भोग्नु पर्यो
जम्मै मेरी आमाले एक्लै भोग्नुपर्यो !
त्यही नै अन्याय जस्तो लाग्छ !
मैले एकदिन सोधेकी थिए,
“आमा! मान्छे मरेपछि कहाँ जान्छ ?”
हजुरले भन्नुभएको थियो,
“मान्छे मरेपछि पञ्चतत्वमा मिसिन्छ ।”
मैले सोधेकी थिए,
“के हो आमा यो पञ्चतत्व भनेको ?”
“आकाश, वायु, अग्नि, जल, पृथ्वी”
हजुरले दिएको उत्तर भित्र हजुरलाई खोजिरहन्छु !
अनि प्रश्न गर्छु,
मेरी आमा!
अलिकति आकाशमा,
अलिकति वायुमा,
अलिकति अग्निमा,
अलिकति जलमा,
जताततै मैले टेक्ने पृथ्वीमा
यस्तो ब्यापकतामा भएर पनि
किन मसँग छैनिन् ?????
मेरी आमा !