लोप हुँदै पहाडका जात्राहरु

नमस्कार शाह

साविकको सुदुर पश्चिम र मध्यपश्चिमका बिभिन्न पहाडी जिल्लाहरुमा परम्परागत रुपमा चल्ने रात्रि जात्राहरुले स्थानीय सँस्कृति संरक्षण गरिरहेका छन् । परापूर्ब काल देखि सँचालनमा रहेका मेलालाई स्थानीय भाषामा जात्रा भनिन्छ ।

बिशेष गरि अछाम, दैलेखका बिभिन्न गाउँहरुमा जात्रा लाग्छन्, कुनै ठाउँमा पर्ब बिशेषमा त कुनै ठाउँमा कुनै व्यक्तिले केही खुसीयालीमा जात्रा सँचालन गरेको पाईन्छ तर यस्ता जात्राहरु कहिले देखि सँचालन भए भन्ने यकिन अभिलेखिकरण कसैसग पनि छैन ।

गाउँघरमा कुनै पनि मनोरञ्जनका साधनहरु र मनोरञ्जनात्मक कार्यक्रम र बाताबरण नहुँदा यि जात्राले त्यो अभाब टार्ने काम गर्दथे, यि जात्राहरुमा टाढा टाढाका व्यक्तिहरु एकै ठाउँमा जमघट हुने, साथिभाईहरुसँग भेटघाट हुने, बिभिन्न ससाना माल समानहरु खरिद, बिक्रि गर्न पाईने, नाच गान गर्न र हेर्न पाईने माहोल सृजना गर्दथे । अनि यस्ता जात्राको मूल आकर्षण देउडा खेलहरु हुने गर्दथे । तर अहिले समयले धेरै फड्को मारेकोछ, बिज्ञान र बिकासले स्थानीयबासीलाई नयाँ प्रबिधि तर्फ धकेलेकोछ । फलतः रात्रिकालिन जात्राहरु बिस्तारै लोप हुँदै गईरहेका छन् । सामान्य परिवारको हातमा मल्टिमिडिया मोबाईल, घर घरमैं टेलिभिजन र नियमिति स्थानीय स्तरमा हुने बिभिन्न कार्यक्रमले जात्राहरु लोप हुने क्रममा छन् ।

केवल प्रबिधिको बिकास मात्रै जात्राहरु लोप हुने क्रममा रहनुको कारण होईन, यसका बिभिन्न कारणहरु छन्, ति कारणहरुको पहिचान गर्न जरुरी छ । जसरी जात्राहरुले परम्पराको बिडो थाम्ने काम गरेका थिए, जसरी सँस्कृतिको संरक्षण गर्ने काम गरेका थिए, जसरी भेटघाटका माध्यमबाट भलाकुसारीसँगै भातृत्व र सामाजिक सद्भाव जागृत गराएका थिए । यि धेरै सकारात्मक पक्षहरु हुँदा हुँदै केही बिकृतमय अन्धकार पाटाहरुका कारण पनि स्थानीय जात्राहरु संकटमा परेका हुन्, अर्काे तर्फ जनयुद्धका क्रममा बन्द भएका जात्राहरु पुनः संचालनमैं आउन नसक्नु पनि अर्काे कारण हो । आफ्नै मौलिक पहिचान बोकेको देउडा गित र देउडा खेल संरक्षण गर्ने प्रमुख थलो भनेकै जात्रा हो तर जात्रानैं आफै संकटमा पर्न थालेपछि देउडा खेलहरु पनि लोप हुने भय छ ।

जात्राहरु रात्रि लाग्नु अनि जात्राको व्यवस्थापन गर्ने कुनै संयन्त्र र नियमहरु नबनाईँदा जात्राहरु अव्यवस्थित भए, जसका कारण यि जात्राहरु बिकृतमय बन्न पुगे, हजारौंको संख्याको सहभागिता रहने जात्राको अस्तव्यस्तताले बिभिन्न उच्छृंखल कार्यहरु भित्र्याईदियो, मदिरा सेबन गरि मनपरी गर्ने, केटीहरुलाई जिस्क्याउने, दुव्र्यवहार गर्ने, झैं, झगडा गर्ने, जवरजस्ति ठोक्किने कार्यहरुमा बढोत्तरी हुन थाल्यो । हुलमुलमा बलियाहरु जोगिने र निर्दाहरु पेलिने समस्याहरु जात्रामा हुन थाले । असुरक्षित यौनजन्य कार्यहरुले जात्राहरुमा प्रशय पाउन थाले, अनमेल, जबरजस्ति जस्ता बिबाहहरु (केटाले केटी भगाउने) जात्राबाटै हुन थाले । जसबाट जात्राको गरिमा र ईज्जत माथि आँच आयो ।

यस्तो अबस्थामा बिभिन्न मनोबिज्ञानहरुले जत्रामा स्थान पाए, जात्रामा मदिरा सेवन गरेर होहल्ला गरि बबाल गर्न पाईन्छ, जात्रामा गएपछि धेरै साथि भाई, आफन्त भेट्न पाईन्छ, जात्रामा गएर देउडा खेल्न र गाउन पाईन्छ, जात्रामा गएर रमाईलो (यौनजन्य कार्य गर्न पाईन्छ) गर्न पाईन्छ, रात्रिकालिन जात्रामा अनिदो रहनु र बिकृति हेर्नु गलत हो लगाएतका बिभिन्न मनोबिज्ञानले जात्राहरु प्रभाबित भए । समयको परिबर्तनसँगै मान्छेको चेतनाको स्तरमा पनि परिबर्तन आएकोछ, अहिले धेरैमा जात्रा बिकृतमय छ भन्ने मनोबिज्ञान छ, त्यहि मनोबिज्ञानले बढि काम गरेकाले जात्राका दर्शकको सहभागिता ह्वात्तै घटेकोछ । जसका कारण जात्राहरु बिस्तारै हराउँदै गईरहेका छन् ।

अछाम क्षेत्र नम्बर २ का तुर्माखाँद लगाएतका क्षेत्रमा लाग्ने धेरै रात्रिकालिन जात्राहरु अहिले बन्द भईसके, बाँचकोट, धमाली, लोडेघाट, आमि लगाएतमा लाग्ने जात्राहरुमा पनि पहिलेको तुलनामा सहभागिता निकै घटेकोछ । अछामकै प्रख्यात तितौडा त्रिपुरेश्वरी (जहाँ जात्रा हेर्नका लागि बिभिन्न्न जिल्लाका व्यक्तिहरु आउने गर्दछन्) मा पनि सँख्या हरेक बर्ष घट्दै गएकोछ ।

यि बिभिन्न खाले समस्याहरुका बिचमा अब स्थानीय शिक्षा प्रेमी र सँस्कृति संरक्षण प्रेमीहरुको भुमिका महत्वपूर्ण देखिन्छ । अब सबै सचेत व्यक्तिहरुको ध्यान जात्रा संरक्षण तिर जानु पर्छ, त्यसको उपाय भनेको जात्राहरुलाई बिकृतिमुक्त पारी केवल संस्कृतिमय बनाउनु पर्छ । रात्रिकालिन अबस्थामा जात्रा व्यवस्थित गर्न खोज्नु भनेको फलामको च्यूरा चपाउनु सरहनैं हो, तसर्थ व्यवस्थित सँस्कारित जात्राका लागि दिवा जात्राको बिकल्प छैन ।

अर्काे तर्फ जात्राको व्यवस्थापनका लागि अब कुनै स्थानीय सँघ, सँस्था, समूह, क्लब वा कुनै समिति जुर्मुराउन जरुरीछ । अन्यथा जात्राहरु बिस्तारै लोप हुँदै मात्रै जानेछैनन्, अछामीहरुको प्रिय देउडा खेलनैं हराएर जानेछ, तसर्थ सबै मिलेर कम्मर कसौं, जात्राको सभ्यता र संरक्षण तर्फ जुटौं ।

 

  • १३ असार २०८०, बुधबार प्रकाशित

  • Nabintech