पचासको दशकमा अछाम जिल्लाको मंगलसेन नगरपालिका ०६, ठुलासैनमा जन्मिएका कमल प्रसाद भण्डारी नेपाली साहित्यमा कमल सङ्घर्षका नामले परिचित छन् । बुवा भूमिराज र आमा अमृतादेवी भण्डारीका दोस्रो सन्तानको रुपमा जन्मिएका कमल सानै उमेरदेखि बाल क्लवमा आवद्ध हुँदै जिल्ला बाल सञ्जाल अछामको अध्यक्षसम्म बनेका थिए । गजल साहित्यमा बलियो उपस्थिति जनाएका उनका ‘कैफियत’ २०७० (संयुक्त), ‘सडक’ २०७३, ‘खुडी’ २०७९ गजलसङ्ग्रह प्रकाशित भइसकेका छन् । मिरमिरे सम्मान २०६९, अन्तराष्ट्रिय नेपाली गजल प्रतियोगिता २०७१, जोगमाया चापागाईं गजल पुरस्कार २०७४, शिखर सम्मान २०८० लगायतका पुरस्कार तथा सम्मान पाइसकेका तिनै गजल श्रष्टा कमल सङ्घर्षसँग असल शासन पोष्टका लागि तपेन्द्र मलातीले गरेको साहित्यिक कुराकानी ।
यहाँँको बाल्यकाल कसरी बित्यो ?
–बाल्यकाल देखि नै मैले सामाजिक कार्यका अग्रसर हुने मौका पाएँ । म वडाको बालक्लब, गाविस स्तरिय बालक्लब हुँदै अछाम जिल्ला स्तरिय बालक्लवको अध्यक्ष बनें । सानै उमेरमा बालक्लबमा रहेर कामगर्ने मौका पाएकै कारणले पनि मभित्रको क्षमता प्रस्फूटन हुन पायो ।
बाल्यकालमा घरपरिवारको आर्थिक अवस्था कस्तो थिायो ? बुवाआमाले के गर्नु हुन्थ्यो ?
– म सामान्य परिवारमा जन्मिएको हुँ । बाल्यकालमा ठुलासैन बजारमा हाम्रो पसल थियो । सानो ब्यापारसँगै खेति किसानी गर्नु हाम्रो दैनिकी हुन्थ्यो । परिवारको आर्थिक अवस्था सामान्य नै थियो ।
बाल्यकालका अविस्मणिय क्षण ?
– बाल्यकालनिकै यादगार नै रह्यो । यादका एल्वमहरू पल्टाउँदा मलाई द्वन्दकाल विशेष सम्झना आउँछ । देशमा द्वन्द चर्किएको थियो । रेडियो नेपालका हरेक बुलेटिनहरूमा आक्रमण, दोहोरो भिडण्त, अपहरण लगायतका समाचारहरू सुनिन्थे । ठुलासैन बजार जिल्ला सदरमुकाम नजिकै भएकाले पनि नेपाली सेनाको गस्ती ठुलासैनमा दिनभर नै रहन्थ्यो । नेपाली सेनासँग हामी खुब जिस्किन्थ्यौँ । ९/१० बर्षको कलिलो उमेरमै ठुलो भएपछि आर्मी बन्ने रहर पलाएको थियो । पछि समयसँगै त्यो रहर हरायो लेखनतिर लागियो ।
साहित्यमा कसरी जोडिन पुग्नु हुनुभयो ?
– म बालक्लवमा सक्रिय रुपमा काम गर्न थालेपछि गीत लेख्ने, गीत गाउने, भाषण गर्ने लगायतका गतिविधिहरू सामान्य भईसकेका थिए । यही क्रममा म गजल कविताहरू लेख्ने र विभिन्न कार्यक्रममा सुनाउन थालेँ । विस्तारै सबैबाट राम्रो प्रतिक्रिया पाउन थाले पछि म भित्र लेखनको भूतनै चढ्न थालेको हो ।
तपाईको साहित्यिक यात्राबारे बताइदिनुहोस न ?
– बालक्लवबाट सुरु भएको मेरो यात्रामा रेडियो रामारोशनले एउटा बाटो देखायो । जिल्लामा हुने सबै साहित्यिक कार्यक्रममा सहभागिहुने मौका मिल्यो । २०६८ सालतिर रेडियोमा जोडिएपछि सामाजिक सँजालमा सक्रिय हुन थालियो यसैबाट देशका विभिन्न ठाउँमा रहेका लेखकहरूसँग जोडिन थालियो । जानी, नजानी सुरु भएको साहित्यिक यात्रा आजको मिति सम्म आइपुग्दा दुःख सुख साँटने माध्यम बनेको छ ।
तपाईले साहित्य रोज्नुको कारण के हो ?
– रेडियो यात्राकाक्रममा पनि म साहित्यसँग सम्वन्धित भएँ । विस्तारै संगत पनि साहित्यिक व्यक्तित्वसँग नै हुनथाल्यो । लेखनको हुटहुटीले अरुतिर ध्याननै गएन । साहित्यमै रमाउन र खुसी हुनथाले । मान्छे रमाउन थालेपछि त्यतै कतै अल्झिने रहेछ ।
अछामको एउटा कुनामा जन्मिएको मान्छेले नेपाली गजलमा तहल्का पिट्न कत्तिको दुःख गर्न पर्यो ?
– अवश्य पनि, हरेक क्षेत्रमा सफल हुनका लागि सङ्घर्ष जरुरी छ । सङ्घर्ष विनाको सफलताको आयु धेरै हुँदैन । गजल लेखनमा सक्रिय भएसँगै १७/१८ बर्षकै उमेरमा अछाम जिल्लाबाट गजल सुनाउनै काठमाडौं पुगेको थिएँ । समयसँगै विभिन्न अवरोधसँगै आएको हुँ । मुख्य त म कुरा लेख्छु । मेरो लेखनले नै मलाई दुःख छिचोल्न सिकाएको हो ।
साहित्यबाट तपाईंले प्राप्त गरेका सम्मान र पुरस्कारहरु ?
– पहिलो त साहित्यमा लागेर पाएको सम्मान भनेकै तमाम पाठकहरूको माया हो । अन्तर विद्यालय स्तरिय कविता प्रतियोगिता २०६६, (द्वितिय) अन्तराष्ट्रिय नेपाली गजल प्रतियोगिता – २०७१ प्रथम, जोगमाया चापागाँई गजल पुरस्कार –२०७४ (सडक गजलसङ्ग्रहबाट), मिरमिरे सम्मान – २०६९, शिखर सम्मान – २०८० लगायतका सम्मानबाट प्राप्त गरेको छु ।
तपाईंले कृतिहरू प्रकाशन गरिरहनु भएको छ, कृति प्रकाशनमा के कस्ता चुनौतीहरू छन् ?
– वास्तवमै चुनौतीपूर्ण काम लेख्नु हो तर वर्तमान समयसम्म पनि हामी कहाँ प्रकाशनको विषय झन् चुनौतीपूर्ण मानिन्छ । उपयुक्त प्रकाशकको खोजी, बजार व्यवस्थापन लगायतका विषयहरू भने चुनौतीपूर्ण नै छन् । यद्यपि पछिल्लो समय गजल साहित्य पनि व्यावसायिक बन्दै गएको छ यो सुखद कुरो हो ।
साहित्यमै लागेर जीवीका चलाउन सकिन्छ ?
– साहित्य मात्रैले जीविका चलाउन कठिन छ । म लेखन सङ्गै फोटो पत्रकारिता पनि गर्ने गर्छु । औलामा गन्न मिल्ने लेखकहरू बाहेक अरूलाई लेखेरै दैनीक जीवनका आधारभूत आवश्यकताहरूलाई सहजै पूर्ति गर्न सकिने अवस्था छैन । तर पनि कैयौँ लेखकहरू लेखेरै आर्थिक रूपमा समेत सक्षम बन्ने कोशिशमा छन् । पछिल्लो केही समय यता लेखनको व्यावसायिक अभ्यासले पनि लेखकहरूलाई केही सहजहुँदै गएको भान गरेको छु ।
साहित्यसँगै घुमघाम पनि गरिरहनु हुन्छ, कुनकुन देश भ्रमण गर्नु भएको छ ?
– म २०७२ सालमा वैदेशिक रोजगारीको क्रममामलेसयामा पुगेको थिएँ । मलेसियाबसाइँका क्रममा मैले गजल सङ्ग्रह सडक तयार पारेँ । यसैबेला सिङ्गापुर सम्म पुग्ने मौका पाएको थिएँ । यसका अलवा अघिल्लो बर्षमात्रै भारतका विभिन्न सहरमा गजल वाचन गर्ने मौका पाएको थिएँ । मलाई लेखनका अलवा घुम्न खुम मन पर्छ । समयले साथ दिएछ भने विभिन्न देशहरू घुम्ने रहर छ ।
कुनकुन साहित्यिक संस्थाहरूमा आवद्ध हुनुहुन्छ ?
– विगत डेढ दशकबढी समय विभिन्न साहित्यिक संस्थाहरूमा आवद्ध भएरै विताइरहेको छु । अछाम गजल मञ्चको संस्थापक सदस्य हुँ भने हाल नौखुवा प्रतिष्ठान नेपालको अध्यक्षको जिम्मेवारीमा छु । यस बाहेक देश विदेशका विभिन्न नेपाली भाषी साहित्यिक संस्थासँग जोडिने सौभाग्य पाएको छु ।
नयाँ कृतिको लागि भावी योजना के छ ?
– भरखरै मेरो दोस्रो गजल सङ्ग्रह खुडी दोस्रो संस्करणका रुपमा आइपुगेको छ । नयाँ सङ्ग्रह प्रकाशनको बर्ष दिन पनि वितेको छैन । लेखनजारी छ त्यसैले ढिलो चाँडो नयाँ कृतिका रुपमा देख्न त पाइएला नै । तर अब कुन विधाको कृति प्रकाशनहुनेछ भनेर अहिल्यै भन्न नसकिएला । अन्य विधाहरूमा पनि कमल चल्दैछ यदि कृतिको लागि सक्षम भएँ भने प्रकाशन हुने नै छ ।
अन्तिममा केही छुटेको कुरा ?
– यो अवसरका लागि असल शासन पोष्ट परिवारलाई धन्यवाद । यहाँहरू सबैको मायाले लेखनमा हौसला मिलिरहेको छ । यो सद्भावको अपेक्षा सधैँ गरिरहने छु । धन्यवाद !