आखिर किन हुन्छ लैङ्गिक हिंसा ?

भुबि बिष्ट

लैङ्गिक हिंसा के हो ?
लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिकतामा आधारित हिंसा भनिन्छ । स्रोत, साधन, अवसर, जिम्मेवारि तथा हक, अधिकारको असमान वितरण, सानो उमेरमा बालविवाह, महिलालाई घरमा मात्र सिमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता लिङ्गको आधारमा हुने हिंसाहरू यस अन्र्तगत पर्दछ ।
साथै, लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७१ अनुसार “लैङ्गिक हिंसा” भन्नाले सार्वजनिक वा निजी जीवनमा लैङ्गिक आधारमा कसै प्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पुर्या उने कार्य सम्झनु पर्छ र सो शब्दले लैङ्गिक आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दवाव, करकाप वा स्वेच्छाचारी रुपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समेतलाई जनाउँछ ।
लैंगिक हिंसा लिङ्गका आधारमा हुने हिंसा विश्वका धेरै समाजमा प्राचिन कालदेखि नै समस्या को रूपमा देखिदै आएको छ । लिंगका आधारमा हुने हिंसा भन्ने बित्तिकै महिला हिंसा भन्ने बुझ्ने प्रचलन सामान्य जनजिवनमा भएपनि महिला वा पुरूष वा तेस्रो लिङ्गि भएकै आधारमा पेशा, अध्ययन, कार्यस्थल, परिवार तथा समाजमा वा कुनै पनि ठाउँमा घृणा गर्नु, कूटपिट गर्नु, यौनजन्य दुराचार, डरत्रास, धम्कि दिनु, पारिश्रम नदिनु वा कम दिनु, अश्लील शव्द बोन्नु, अश्लील फोटो देखाउनु आदि सबै लैंगिक हिंसा हो । हाम्रो लगायत विश्वका धेरै समाजहरूमा पुरूष भन्दा महिलाहरू विभिन्न प्रकारका हिंसाबाट वढि पिडित भएका कारण लैंङ्गिताको आधारमा हुने हिंसामा महिलामाथि हुने हिंसा बारेको छलफलमा बढी केन्द्रीत रहन्छ ।
महिला हिंसाका प्रकारहरु
१) शारिरीक हिंसा : कुटपिट, जबरजस्ती, गर्भपतन गर्न लगाउनु, महिलालाई कामको बोझ थपेर दुःख दिनु वा शारीरिक रुपमा घाऊ, चोटपटक वा क्षति पुग्ने गरि गरिने कुनै पनि प्रकारका हिंसा यस अन्तर्गत पर्दछन् ।
२) मानसिक हिंसा : शारीरिक यातनाको डर, धाक, धम्की दिने, त्रासपूर्ण व्यवहार गर्ने, गाली गलौच गर्ने, अपशब्द बोल्ने, अरुका अगाडि होच्याउने, तिरस्कार गर्ने, झुठा बात लगाउने, घरबाट निकाला गर्ने, इच्छा विपरित काम गर्न लगाउने साथै बैचारिक, धार्मिक, साँस्कृतिक तथा परम्पराका आधारमा गरिने भेदभावलाई समेत जनाउँदछ ।
३) सामाजिक साँस्कृतिक हिंसा : सामाजिक संस्कार, धर्म परम्परा वा रीतिरिवाजका आधारमा गर्ने हिंसाहरु जस्तै बालविवाह, बोक्सिको आरोप, झुमा, देउकी, वादी, बोक्सी, बहुविवाह, सुत्केरी तथा रजस्वलाको समयमा गरिने छुवाछुतको व्यवहार वा छाउपडी इत्यादि सामाजिक साँस्कृतिक हिंसा भित्र पर्दछन् ।
४) यौनिक वा यौन हिंसा : काम गर्ने स्थान, अध्ययन–अध्यापन गर्ने स्थान, सार्वजनिक यातायात वा अन्य सार्वजनिक स्थानमा, घरभित्र वा जुनसुकै स्थानमा गरिने बलात्कार, बलात्कारको प्रयास, यौन दुव्र्यवहार, यौन शोषण, जबरजस्ती संवेदनशील अगंहरु छुने वा छुवाउने जबरजस्ती वा झुक्याएर यौन चित्र फोटो वा फिल्म देखाउने वा जबरजस्ती संवेदनशील चित्र, फोटो वा फिल्म खिच्ने, यौनजन्य कुराकानी वा शब्दहरूको प्रयोग गर्ने वा यस्तै प्रकारका अन्य घटनाहरू यौनिक हिंसा भित्र पर्दछन् । यौनिक हिंसाको धेरै जसो घटनाहरू चिनेजानेकै व्यक्तिहरूबाट हुने गरेको तथ्याङ्कले देखाउँछ ।
५) आर्थिक हिंसा : सगोल वा निजि सम्पतीको प्रयोग गर्न वा रोजगारी वा आर्थिक श्रोत साधनको पहुंच वा प्रयोगमा बञ्चित गर्ने कार्यलाई जनाउँदछ ।
आखिर किन हुन्छ लैङ्गिक हिंसा ?
लैङ्गिक हिंसामा सबैभन्दा बढी महिला नै पर्ने गरेका छन् । सामाजिक परम्परा नै महिलालाई महिला भएकै कारण विभेद गर्ने हिसाबले अघि बढेको छ । फरक यत्ति हो त्यो कुराको महसूस महिलाले धेरै पछि मात्रै गरे । नारीको नियति त्यस्तो हैन । पछिल्ला दिनमा पुरुषको उन्माद झनै बढ्दो छ । मानिस शिक्षा र चेतनाले सभ्य हुनुपर्नेमा झन्झन् असभ्य र हिंस्रक बन्दै गएको अनुभूति हुन्छ । समय जति प्रगतिशील र विकसित हुँदैछ, महिला हिंसाको स्वरूपमा झनझन् अमानवीय र क्रूर बन्दै गएको छ । धार्मिक अन्धबिश्वास, परम्परागत हानिकारक सोचले हिंसाको मात्रामा झन्झन् बढोत्तरी हुँदै गइरहेको आभास हुन्छ ।
महिला माथि हुने हिंसा लैंगिक समानता हासिल गर्ने बाटोको तगारो, दिगो विकासको बाधक हो । महिला हिंसाका कारण महिला र बालिकाको समुन्नत जीवन जिउन पाइरहेका छैनन् । हिंसा प्रभावितको स्वास्थ्य, भावना, मनोविज्ञान, शारीरिक सुरक्षा र आत्मसम्मानमा समेत नकारात्मक प्रभाव पारिरहेको छ । यसका अतिरिक्त उत्पादनमूलक काममा महिलाको अनुपस्थिति वा सुस्तता देखिन्छ । स्वास्थ्य क्षेत्रमा खर्च बढिरहेको हुन्छ भने प्रहरी, अदालत र सामाजिक कल्याणका क्षेत्रहरूको समय, श्रम र स्रोतको खर्चमा वृद्धि गराएको छ ।
के हो महिला हिंसा ?
महिला हिंसा महिला वा बालिका विरुद्धको हिंसा हो । विशेषगरी महिलाको विरुद्ध अधिकार, श्रेष्ठता, महिला दुर्बलताको दृष्टिकोणको भावनाबाट उत्पन्न हन्छ । महिला विरुद्ध हिंसा निर्मूलन सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रमा भनिएको छ, ‘महिला विरुद्ध हिंसा भनेको पुरुष र महिला बीचको ऐतिहासिक रूपमा असमान शक्ति सम्बन्धको अभिव्यक्ति हो, एक महत्वपूर्ण सामाजिक विकृति हो, जहाँ महिलालाई अधीनस्थ स्थितिमा र असहज परिस्थितिमा बाँच्न बाध्य पारिन्छ ।’
महिला विरुद्ध हिंसाका केही विशेषताहरू छन्, हिंसा प्रायःजसो अपरिचित शृङ्खलामा हुँदैन र समयसँगै चलिरहन्छ । हिंसा परिचित र नजिककाबाट पनि भइरहेका छन् । सार्वजनिक, निजी क्षेत्र र जीवनको कुनै पनि समयमा आउन सक्छ । महिला विरुद्ध हुने हिंसाले प्रायः महिलालाई व्यक्तित्व विकास र प्रगतिमा मात्रै रोक्दैन, परिवार र सिङ्गो समुदायको सामाजिक, आर्थिक र राजनैतिक विकासमा पूर्ण योगदान पुर्या उनबाट रोक्दछ । महत्वपूर्ण कुरा के हो भने, हिंसाले सामाजिक विभाजनको मुद्दालाई प्रोत्साहन गर्नुका अतिरिक्त शान्ति, विकास र समुन्नतिमा बाधा सिर्जना गरेको छ ।
ई.सं. १९९३ को संयुक्त राष्ट्रसंघीय महासभा प्रस्ताव नंम्बर ४८ र १०४ बाट पारित महिला हिंसा अन्त्य सम्बन्धी राष्ट्रसंघीय घोषणाापत्रले गरेको परिभाषा अनुसार ‘महिला विरुद्धको हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा हुने हिंसाजन्य कार्यको रूपमा लिइन्छ, जसले महिलालाई शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पुर्याहउँदछ वा पुर्यामउने सम्भावना हुन्छ, जसअन्तर्गत त्यस्तो कार्य गर्ने धम्की, दबाव र स्वेच्छाचारी रूपमा महिलाको स्वतन्त्रतामा बन्देज समेत पर्दछ ।’ यस्ता घोषणाले महिला विरुद्धको हिंसालाई महिलाको आधारभूत अधिकार र स्वतन्त्रताको समग्र उल्लंघन तथा हननको रूपमा चित्रित गरेको छ ।
महिला हिंसाको स्वरूप र फैलावट
हिजोआज हिंसाको स्वरूपमा विविधता देखिन्छ । जसलाई व्यक्ति तथा राज्यहरू द्वारा गरिएको हिंसामा विभक्त गरी हेरियो भने अलि सहज हुन्छ । व्यक्तिबाट बलात्कार, यौन उत्पीडन, घरेलु हिंसा, प्रजननमा जबर्जस्ती, महिला शिशु हत्या, भू्रण हत्या, प्रसूति हिंसा, र जबर्जस्ती विवाह, बालविवाह, बहुविवाह, कुटपीट, मानसिक यातना आदि पर्छन् । राज्यतर्फ सैन्य योद्धाद्वारा हुने बलात्कार, यौन हिंसा र द्वन्द्वको समयमा यौन दासत्व, जबर्जस्ती गर्भपात, प्रहरी, सुरक्षाकर्मी र कार्यालयमा कार्यरत महिलाहरूमा हुने सांगठनिक हिंसा आदिलाई लिन सकिन्छ ।
संयुक्त राष्ट्रसंघबाट समय समयमा जारी गरिएको विज्ञप्ति नियालेर हेर्ने हो भने विश्वको कुनै क्षेत्र, देश र त्यस्तो कुनै संस्कृति छैन जहाँ हिंसाबाट महिलाको स्वतन्त्रता सुरक्षित गरिएको होस् । फरक छ त केवल महिला हिंसाको स्वरूप अनि नाम । दहेज हिंसा र दुलही जलाउने प्रथा भारत, बंगलादेश, श्रीलंका र नेपालसँग सम्बन्धित छ । एसिड छ्याप्नेमा भारत, बंगलादेश, श्रीलंका र नेपालका अतिरिक्त कम्बोडिया सहित दक्षिण पूर्वी एशिया पर्दछ । अनर किलिङ मध्य पूर्व र दक्षिणएशियासँग सम्बन्धित छ । महिलाको ज्ञानेन्द्रिय अंगभंग गर्ने विकृति अधिकतम रूपमा अफ्रिकी मुलुकमा देखिन्छ । थोरै मध्य पूर्व र एशियाको केही अन्य भागमा पनि समस्या छ । अपहरणद्वारा हुने विवाहमा इथियोपिया, मध्यएशिया र ककेसियन मुलुकहरू अग्रपंक्तिमा छन् ।
हिंसा अन्त्यका लागि भएका प्रयास
तपाईं पुरुषको महिलाप्रति सदाशय र मैत्रीभाव हरदम परीक्षामा छ हिजोआज । तपाईंको ‘पुरुषत्व’ सँगै तपाईं भित्रको मानवीय र ‘न्यायिक’ चरित्र नै परीक्षामा छ । हिजो थिएन भन्ने होइन, तर आज बढी छ । कार्लमाक्र्स र पाब्लो नेरुदा माथि लाग्ने गरेको आरोपले मात्र होइन, मोदनाथ प्रश्रति र रघुजी पन्तको टिप्पणीले पनि प्रष्ट पार्दछ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका करीब २५ देखि ४० प्रतिशत महिलाहरूसँग उनीहरूको जीवनको कुनै न कुनै समयमा यौन हिंसा, घरेलु हिंसा, बलात्कार, इज्जतका लागि गरिने हत्या, बेचबिखन, दाइजोको कारणले गरिने हत्या, तेजाब खन्याउने, महिलाको जनेन्द्रिय अंगभंग गर्ने, प्रजनन अधिकारमाथि नियन्त्रण जस्ता हिंसापूर्ण भेदभावबाट गुज्रनु परेको अनुभव छ । विश्वव्यापी रूपमा प्रजनन उमेर समूहका महिलाको मृत्यु र उनीहरूलाई असमर्थ बनाउनु क्यान्सर भन्दा हिंसा ठूलो कारक हो । यस्तो विषम परिस्थितिमा महिला विरुद्ध हुने हिंसा अन्त्यका लागि केही ठोस कार्य गर्नुपर्छ भनी केही वर्ष प्रयास भएको देखिन्छ ।
नेपालमा महिला हिंसा न्यूनीकरणका लागि विभिन्न कानूनी तथा संस्थागत व्यवस्था कायम छन् । पहिलो लिखित कानून मुलुकी ऐन १९१० को जीउ मास्ने बेच्ने, सती जाने, आशय करणी, करणीको आशयले हातपात गर्ने, हाडनाता, जबर्जस्ती एवम् कमारा र बाँधाको महलको व्यवस्थालाई पनि त्यो समयको प्रगतिशील व्यवस्था मान्नुपर्ने हुन्छ । त्यसपछि जारी गरिएको सुधारिएको मुलुकी ऐन २०२० हुँदै विभिन्न विषयगत कानून हुँदै मुलुकी फौजदारी संहिता २०७४ सम्म आइपुग्दा महिला हिंसा न्यूनीकरणका लागि प्रशस्त कानूनी व्यवस्था र प्रतिबद्धता छन् । सोही मात्रामा राज्यले संस्थागत संयन्त्रहरूको पनि स्थापना र विकास, स्रोतको परिचालन गर्दै आएको छ ।
यति मात्रै नभएर महिला हिसां अन्त्यका लागि विभिन्न संघ संस्थाहरुले कार्यक्रमहरु सञ्चालन गर्दै आएको भएपनि नतिजामुखी देखीएका छन् । महिला माथी हुने सामाजिक, शारिरीक, मानसीक हिसां न्युनीकरण गर्न भन्दै वडा तहबाट पनि महिला समुह, युवा संजाल, बालक्लव र किशोरकिशोरी समुहहरुमा विभिद कार्यक्रमहरु हुदै आएका छन् ।
हिंसा अन्त्यका लागि हुनुपर्ने परिवर्तन
विभिन्न किसिमका परम्परागत हानिकारक विश्वाससँग हाम्रो सामाजिक मूल्य गाँसिने गरेको छ । जसले गर्दा महिला माथिको नियन्त्रणको दायराले अझ पनि प्राथमिकता पाएको देखिन्छ । त्यस्तो मानसिकता कसरी निर्माण हुन्छ र यसमा जिम्मेवार के हो वा को हो रु भन्ने प्रश्नको उत्तर खोज्न अब ढिलो गर्नुहुँदैन । यस बाहेक, हिंसालाई उत्प्रेरित गर्ने कारणमा उमेर, वर्ग, संस्कृति, जातीयता, धर्म, यौन झुकाव र उनीहरूको उत्पत्तिको विशिष्ट भौगोलिक क्षेत्र हुन सक्दछ । यसका अतिरिक्त नागरिक चेतनाको स्तरमा देखिएको कमि, गोप्यतामा रमाउने हाम्रो संस्कृति, औपचारिक शिक्षा प्राप्त भएको तर दीक्षा प्राप्त गर्न नसकेको हाम्रो वर्तमान हुन नसकेको कानूनी व्यवस्थाको कार्यान्वयन र अपराधीलाई कडा दण्ड सजाय लैङ्गकि हिंसालाई मलजल गर्ने अन्य कारण हुन सक्दछ ।
हिंसाका कारण, हामीले विवेचित गरेका हुन् कि त्यो भन्दा फरक हुन्, त्यसले तात्विक फरक नराख्ला । यहाँ समाजको गन्तव्य भने सदैव हिंसा अन्त्यको दिशामा हुनु आवश्यक देखिन्छ । यसका लागि आजको समयमा महिला हिंसा न्यूनीकरण गर्ने कार्यमा लाग्नुपर्छ । आम पुरुष वर्गले पुरुष भएर होइन बावु, दाजु वा जीवनसाथी भएर यी प्रश्नको उत्तर खोज्नुपर्ने भएको छ । कुनै असहजतामा पारिरहेको महिला पनि कसैको छोरी, कसैको बुहारी, कसैकी दिदीबहिनी अनि कसैकी श्रीमती हुन् । जसरी मेरी छोरीको स्वतन्त्रता र स्वच्छन्दता अमूल्य छ, त्यसरी नै सम्पुर्ण छोरिचेलीको दाजु वा जीवनसाथीलाई महिलाहरुको सुरक्षा र स्वाभिमान प्यारो हुन्छ ।
त्यस्तै महिलाहरुले आमा, दिदी र जीवनसाथीको भावबाट सोच्नुपर्ने कुरा भनेको, कतै मेरो छोराले कसैको छोरीको बलात्कार त गर्ने छैन ? मेरो भाइको कारणले कुनै चेली हिंसामा त परेकी छैनन् ? मेरो जीवनसाथीले कार्यालय वा अन्य स्थानमा महिलामाथि दुव्र्यवहार त गरेको छैन ? समग्रमा हामी आम महिलाले महिला र पुरुषले पुरुष भएर होइन, मानिस भएर यी प्रश्नको उत्तर खोज्नुपर्छ । के सारा पुरुष पापी, क्रूर, अमानवीय र बलात्कारी मानसिकताका हुन्छन् त ? महिलामाथि यौनिक हिंसा किन हुन्छ रु कसले गर्छ यौनिक हिंसा ? समाजमा कैयौं परिवर्तन हुँदा पनि आखिर के कारण यौनिक हिंसामा कमी आउनुको सट्टा लगातार बढिरहेको छ रु सामाजिक न्याय, समानता र सम्मानको प्रत्याभूति दिने दाबी गर्ने कैयौं कानूनी पाना आखिर यौनिक हिंसा रोक्ने सवालमा किन यतिविघ्न निरीह बने होलान् ?
अन्त्यमा, पुरुषले मनन गर्नुपर्ने केही कुरा छन् । तपाईं जतिसुकै प्रजातान्त्रिक, न्यायप्रेमी र क्रान्तिकारी नै किन नहुनूस्, महिलाको शरीर र आत्मसम्मानलाई व्यवहारतः सम्मान गर्ने सफा नियतको अभावमा तपाईंका सबै परिचय गौण भैइनैहरने छन् ।
– बिष्ट, सामुदायिक मनोसामाजिक कार्यकर्ता हुन् ।

 

  • १ कार्तिक २०८०, बुधबार प्रकाशित

  • Nabintech