प्रतिक राई जिल्ला प्रशासन कार्यालय, झापाका प्रशासकिय अधिकृत हुन् । मोरङको केराबारीमा अति सामान्य किसान परिवारमा जन्मिका थिए । उनको बाल्यकाल गाईवस्तु चराउदै र खेतीपाती गर्दै बित्यो । प्रतिक राईका बुबा र काकाहरू सबै नेपाली सेनामा जागिरे थिए । उनि ठुलो हुँदै गईसकेपछि उनको लक्ष पनि सेनाको जागिरे बन्ने थियो । उनलाई सानै देखि अनुशासनमा बस्न मन पर्छ । उनले त्यसको लागि तयारी पनि गरे । तर, कलर ब्लाईण्डनेसका कारण उनको नेपाली सेनामा जागिर खाने सपना पुरा हुन सकेन । सानै देखि रहर गरेको जागिरको ढोका बन्द भएपछी उनि केहि समय मानसिक आघातको सिकार बने । त्यसपछिका दुई वर्ष उनले कृषि पेशामै बिताए । अर्को विकल्प उनले सोचेका थिएनन्, तर पनि उनलाई आफ्नो पढाईलाई निरन्तरता दिनुपर्छ भन्ने लाग्यो । उनि पढाईलाई निरन्तरता दिन धरान झरे । धरानबाट एमबीएसको पढाई सकेपश्चात उनि काठमाण्डौ लागे । त्यहाँ एउटा सहकारीमा काम गर्न थाले । वित्तीय क्षेत्रमा काम गर्दैगर्दा उनले कृषि बिकास बैंकमा खुला प्रतिस्पर्धाबाट अधिकृत तहमा नाम निकाले । साढे ३ वर्षजति कृषि बिकास बैंकमा काम गरे । साथीहरूको संगतले उनले निजामती सेवाबारे थाहा पाए । उनले आफ्नो लागि कृषि बिकास बैंकको जागिरभन्दा निजामति सेवा उपयुक्त हुने ठानेपछि लोकसेवा परिक्षाको तयारीमा लागे । फलस्वरूप २०७१ सालमा उनले लोकसेवा परिक्षा पास गरी निजामती सेवामा प्रवेश गरे ।
प्रतिक राई, व्यवस्था नियम कानून अनुसार चल्नु पर्दछ र सेवामा सम्मान हुनुपर्दछ भन्ने मान्यतालाई आत्मसाथ गर्दछन् । आफुले दिने सेवा प्रवाहमा पनि सोहि मुल्यमान्यताको अवलम्बन गर्दछन् । सकेसम्म सेवाग्राहीले सरल सेवा पाउन र सेवा प्रवाहमा नियम कानूनको पालना होस् भन्ने चाहन्छन् । उनि अध्यागमन विभागमा काम गर्दा अध्यागमन विभागको गैरपर्यटक भिसा शाखाको अवस्था अस्तव्यस्त थियो । को कर्मचारी, को सेवाग्राही छुट्याउनै गाह्रो हुन्थ्यो । भिड मात्र देखिन्थ्यो । कर्मचारी र सेवाग्राहीहरू दुबैलाई सेवा लिन र दिन त्यतिक्कै कठिन थियो । उनलाई लाग्यो सेवाग्राही बस्ने ठाउँ नै नभएर त्यस्तो अस्तव्यस्त भएको हो ।
उनले त्यसको समाधानका विषयमा शाखाका अन्य कर्मचारी र महानिर्देशकसँग छलफल गरे । समाधान स्वरूप सेवाग्राही बाहिरै बस्ने कुर्सिहरू राखियो । सेवाग्राहीलाई सहजीकरण गर्न सहायता कक्ष राखियो । सहायता कक्षले सेवाग्राहीको पालो पनि मिलाउन थाल्यो । यसले सेवाग्राहीको चाप व्यवस्थापन गर्याे । सेवा प्रवाहको काम पहिला भन्दा छिटो र व्यवस्थित ढंगले अगाडी बढ्यो ।
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी धर्म राज भट्ट भन्छन,“सेवा प्रवाह गर्दा उहाँ ऐन कानूनको मिहिन अध्ययन गरेर मात्र गर्नुहुन्थ्यो । हामी माझ एउटा यस्तो धारणा पनि थियो कि, उहाँको काम गराईबाट त्रुटि हुँदैन । अरु व्यक्तिभन्दा उहाँले बढी मानवीय व्यवहार र सेवा प्रवाह गरेको अनुभुति हुन्थ्यो ।” अध्यागमन विभागका अध्यागमन अधिकृत राजेश महर्जनका अनुसार त प्रतिक राईले सेवा प्रवाहलाई सहज बनाउन खेलेको भूमिकाका कारण त्यसबखत सेवाग्राहीले विभागलाई हेर्ने दृष्टिकोण नै फेरिएको थियो ।
२०७६ बैशाखमा प्रतिक राई प्रशासकीय अधिकृतको जिम्मेवारी लिएर जिल्ला प्रशासन कार्यालय उदयपुर पुगे । त्यहाँ सेवा प्रवाहको लागि दुइटा भवनहरूको प्रयोग भइरहेको थियो । प्राय: जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने र राहदानी बनाउने सेवाग्राहीहरूको बढी भिड हुने गर्दछ । उदयपुरको अवस्था पनि त्यो भन्दा फरक थिएन । उनको जिम्मेवारी नागरिकता फाँटमा थियो । उनि जाँदा नागरिकता जारी गर्ने प्रक्रिया एउटा भवनबाट सुरु हुन्थ्यो भने, अन्तिम स्विकृतिको लागि उनि बस्ने अर्काे भवनमा पुग्नुपर्दथ्यो । लाईनमा बसेका सेवाग्राहीलाई कुराएको जस्तो नहोस् भनेर कर्मचारीहरू आफै कागजातहरू बोकेर ओहोर दोहोर गरिरहन्थे ।
सेवाग्राही पनि हातमा कागजात लिएर एताउता कुदिरहेका हुन्थे । त्यहाँ पनि अस्तव्यस्त सेवा व्यवस्थापनलाई उनले समस्याको रुपमा देखे । छोटो समयको बसाईमा उनले व्यवस्थापनमा धेरै योगदान दिन नसकेपनि सेवाग्राहीको काम सहज होस् भनेर आफ्नो तीन महिनाको सेवा अवधिभर उनले एउटै भवनमा खरिदार र सुब्बाको कोठा पछाडि टेबल र कुर्सि राखेर काम गरे । त्यसपछि सेवाग्राही र कर्मचारी फाईल बोकेर छुट्टै भवनमा धाउनु परेन ।
उदयपुरबाट फर्किएपछी उनले केहि समय गृह मन्त्रालय अन्तर्गतको स्थानीय प्रशासन तथा समन्वय शाखामा शाखा अधिकृतको रुपमा काम गरे । त्यहाँ पनि सहकर्मी माझ उनको छुट्टै परिचय थियो । अरु सहकर्मीले चुनौतीपूर्ण ठानेका कामलाई उनले बुद्धिमता पुर्वक समाधान गर्नसक्ने क्षमताको चर्चा पनि उनीसँगै काम गरेका सहकर्मी माझ हुने गर्दछ ।
संघीयता आएसँगै नवलपरासी जिल्ला पूर्व र पश्चिम गरी दुई भागमा विभाजन भयो । त्यहाँ मदरसा मेला आयोजना गर्ने गरेको संस्थाका व्यक्तिहरू पनि विभाजित भए । मदरसा मेला कुन जिल्लाले आयोजना गर्ने भन्ने विषयमा अन्योल हुनुका साथसाथै संस्थाका पदाधिकारहरूको बिचमा पनि झैंझगडा हुने अवस्था आयो । जिल्ला प्रशासन कार्यालयले समेत समाधान दिन नसक्दा सो मुद्दा सिधै गृह मन्त्रालयमा सिफारिस भएर आयो । अन्य सहकर्मीलाई यो मुद्दा चुनौतिपूर्ण लागेको थियो । राईले भने यस मुद्दालाई बुद्धिमता पुर्वक समाधान तर्फ लागे ।
उनले दुवै पक्षलाई छलफलका लागि बोलाए । राजनीतिक दबाबका साथै धार्मिक आस्था जोडिएको विषय भएकोले यो आफैंमा चुनौतिपूर्ण मुद्दा थियो । कसैको डर र प्रलोभनमा नपरी उनले दुवै पक्ष सन्तुष्ट हुने गरी निस्पक्ष समाधानको उपाय निकाले । हरेक ५ वर्षमा मतदान हुँदै आएको आयोजक समितिको निर्वाचन साढे दुई वर्षमा हुने र दुवै पक्षहरूलाई पालै पालो मेला आयोजना गर्ने प्रस्ताव अघि सारे । यो प्रास्ताव दुवै पक्षलाई मनपर्याे । छलफलमा आएका पक्ष विपक्ष समस्याको समाधान लिएर घर फर्किए । उनिसँगै गृह मन्त्रालयमा काम गरेका एन्तोष प्रधान भन्छन, “प्रतिक सरले हरेक परिस्थितिलाई निकै सरल तरिकाले अगाडी बढाउनुहुन्छ । घटनाको गम्भीर तवरले अध्ययन गर्नुहुन्छ । घटनालाई प्रभावित पार्नसक्ने राजनीतिक दवाब वा डर धम्कीलाई वास्ता गर्नु हुँदैन । उहाँले सेवाग्राहीलाई केन्द्रमा राखेर मात्र काम गर्नुहुन्छ । निर्भिक र स्वार्थरहित काम गर्नसक्ने उहाँ जस्तो सहकर्मी हाम्रो टिममा अहिलेसम्म कोहि देखेको छैन ।”
कोभिडको समयमा लकडाउन हुँदा प्रतिक राई गृह मन्त्रालय अन्तर्गतको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा कार्यरत थिए । उनी ७७ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सम्बन्धित मन्त्रालयका सचिवहरू र पत्राकारसँग निरन्तर टेलिफोन सम्पर्कमा बस्नुपर्ने हुन्थ्यो । गाडी या हवाई यातायातहरू अनुमति बिना चल्न पाउदैनथे । कसलाई अनुमति दिने र कसलाई नदिने भनेर पनि उनले नै हेर्ने गर्दथे । आपतकालीन अवस्थामा राति १२ बजे भए पनि अनुमति बनाएर पठाउनु पर्ने हुन्थ्यो । त्यस दौरान उनले २४सै घण्टा अनगिन्ति फोन कलहरू उठाए । ४० दिन त निरन्तर कार्यालय भित्रै बसेर काम गरे । निरन्तर कामको दवाबले उनी बिरामी परे । उनले बिदामा बस्न नखोजेका होईनन्, तर मन्त्रालयका सचिवले तिमी नभएपछि यो सब काम रोकिन्छ, तिम्रो विकल्प छैन भनेर अनुरोध गरे । अस्वस्थ हुँदा पनि उनले कामलाई निरन्तरता दिए, जसले गर्दा सेवाग्राही सेवाबाट बिमुख हुनु परेन ।
२०७७ असोज देखि २०७९ असोज सम्म भने उनी अध्ययन बिदामा बसे । अध्ययन सकेपश्चात उनि २०७९ कार्तिक देखि हालसम्म प्रशासकीय अधिकृतको रुपमा जिल्ला प्रशासन कार्यालय, झापामा कार्यरत छन् । झापा गएपछि उनले प्रतिलिपि शाखाको जिम्मेवारी पाए । त्यहाँ नागरिकताको अनुसूचीहरू अस्तव्यस्त तरिकाले राखिएका थिए । सबैभन्दा पहिले उनले मिति अनुसार अनुसुचिहरूको फाइलिङ्लाई व्यवस्थित बनाउने कामको थालनी गरे । यसका लागि समय र मेहेनत धेरै लाग्ने भएकोले उनले छुट्टीको दिन र बेलुका कार्यालय समय पछी फाईल व्यवस्थापनको काम गर्ने निर्णय गरे । उनको यस प्रयासलाई प्रमुख जिल्ला अधिकारीले पनि समर्थन गरे । धुलो टकटक्याएर काम गर्नुपने भएकोले दुइटा मास्क लगाएर भए पनि आफै गर्छु भनेर उनी अघि सरे । सबै फाइलहरू मिति अनुसार वडा छुट्याएर राखे । यसले शाखाको कामलाई सहज बनायो । उनले आफ्नो कामबाट सेवाग्राहीलाई त सन्तुष्ट बनाएका छन् नै, सँगै काम गर्ने सहकर्मीलाई पनि प्रोत्साहित गरेका छन् । उनीसँगै काम गर्ने सहकर्मी खाजाको समय छोट्याएर पनि कार्यालयलाई व्यवस्थित बनाउन लागिपरेका छन् । एक जना व्यक्तिले सुधारको नेतृत्व लियो भने, त्यसले सिंगो संरचना सुधारमा टेवा पुर्याउन सक्छ भन्ने एउटा उदाहारण प्रतिक राई हुन् ।
(राई ईन्टेग्रेटी आईकन २०२३ को उत्कृष्ट ५ मा पर्न सफल भएका छन् ।)