प्रकृतिले सिँगारेको सुन्दर मुलुक, नेपाल । यहाँ तराईका फाँट, हरियाली पहाड र हिउँले ढाकिएका सेताम्य हिमाल छन् । तिनै सुन्दर स्थानमध्ये दोलखाको कालिन्चोक पनि एक हो । ३ हजार ८ सय ४२ मिटर उचाइमा रहेको कालिन्चोकबाट आँखैअघि हिमालका साथै सुन्दर पहाड, नदीनालाको दृश्यावलोकन गर्न सकिन्छ । उच्च पहाडी क्षेत्र भएकाले हिउँद याममा यहाँ हिउँ पर्ने भएकाले हिउँको मज्जा पनि लिन सकिन्छ ।
कसरी जाने कालिञ्चोक ?
– दोलखा सदरमुकाम चरीकोटबाट १७ किलोमिटर उत्तरतर्फ कालिन्चोक रहेको छ । कालिञ्चोक गाउँपालिका अन्तर्गत पर्छ, कालिञ्चोक भगवती मन्दिर र कुरी भ्याली । काठमाडौंको पुरानो बसपार्कबाट बस चढेर १ सय ३३ किलोमिटरको यात्रामा दोलखाको सदरमुकाम चरिकोट पुगिन्छ । करिब ५ ÷६ घण्टाको यात्रामा चरिकोट पुग्न सकिन्छ ।
– चरीकोटबाट करिब १ घण्टा कच्ची सडकको यात्रामा कालिञ्चोकको फेदीमा रहेको कुरी भ्याली पुग्न सकिन्छ ।
– चरिकोटबाट करिब ५ घण्टाको उकालो बाटो हिँडेर पनि कुरी भ्यालीमा पुग्न सक्नुहुनेछ ।
– चरिकोटबाट कुरी जाँदा जाडो मौसम (र केही दिनअघि मात्रै पानी परेको) भए हिँउ खेल्दै जान पाइन्छ भने चैत वैशाखको समयमा डाडाँभरी फुलेका रङ्गीचङ्गी गुराँसका फुलले तपाईंलाई आकर्षित गर्नेछ ।
– कुरी पुगेपछि तपाईं त्यहाँ रहेका होटलमा बास बस्नुहोस् । कुरी भ्यालीमा हाल ५० वटा भन्दा बढी होटल सञ्चालनमा छन ।
– यहाँ सामान्य होटलदेखि डिलक्स रुमसम्मको होटलको व्यवस्था छ । यहाँ सादा नेपाली खाना, लोकल कुखुराको मासु, ढिँडो, राँगा वा चौंरीको सुकुटी लगायतका परिकारको स्वाद लिन सक्नुहुनेछ ।
– भोलिपल्ट झिसमिसेमै तपार्ईं कुरीबाट उकालो लाग्नुहोस् । करिब १ घण्टाको उकालो बाटो हिँडेर तपार्ईं कालिञ्चोक डाँडामा पुग्नुहुनेछ । यो डाँडा ३ हजार ८ सय ४२ मिटर उचाइमा छ । यदि तपार्ईं दमको रोगी हुनुहुन्छ वा लेक लाग्ने सम्भावना छ भने पूर्वतयारी गर्न नबिर्सनुहोला । जाडो (चिसो) हुने भएकाले आवश्यक कपडाको पनि बन्दोबस्त गर्नुहोला ।
– यदि तपाईंले पुजाको सामग्री घरबाटै ल्याउनुभएको भए पुजा गर्नुहोस् र छैन भने पनि तपार्ईं यही डाँडामा रहेको पसलबाट पुजा सामग्री किनेर कालिञ्चोक भगवतीको दर्शन गर्न सक्नुहुनेछ ।
कालिञ्चोक भगवतीको महत्व :
धार्मिक दृष्टिकोणले कालिञ्चोक भगवतीको ज्यादै महत्व छ । पार्वतीले महादेव स्वामी पाउँ भनेर तपस्या गरेको भूमि मानिन्छ, कालिञ्चोक भगवतीलाई । हिमालय पर्वत माइती भएकी पार्वतीले गौरीशंकर क्षेत्रमा ध्यानमा रहेका महादेवलाई देख्नेगरी कालिञ्चोकको डाँडामा तपस्या गरेको किंवदन्ती छ । त्यही भएर पनि नेपाली तथा भारतीय हिन्दु धर्मावलम्वीले सम्भव भएसम्म एकपटक कालिञ्चोक भगवतीको दर्शन गर्ने गरेका छन् ।
कालिञ्चोक भगवतीलाई भगवतीका सात दिदीबहिनीमध्येको एक समेत भनिने गरिएको छ । त्यही भएर पनि यहाँ पूजाआजाका लागि दैनिक जसो तिर्थयात्रीहरु आउने गरेका छन् । कालिञ्चोक भगवतीको दर्शन गरेर भाकल गरेपछि मनले चिताएको पुरा हुने जनविश्वाससमेत छ । परापूर्व कालमा कालिञ्चोक क्षेत्रबाट भेडाबाख्रा हराएमा कालिञ्चोक भगवतीको नाम पुकारेपछि सोही क्षेत्रमा हराएका भेडाबाख्रा भेटिने गरेको किंबदन्तीसमेत छ ।
कालिञ्चोक डाँडालाई पानीको श्रोतकारुपमा पनि लिइन्छ । मन्दिरको पूजा गर्ने स्थानमा एउटा जल कुण्डसमेत छ । सोही जलकुण्डको दायाँ अर्थात् पूर्व दिशाबाट तामाको धारा भएर तामाकोशी र बाँया अर्थात् पश्चिमबाट सुनको धारा भएर सुनकोशी बगेकोसमेत किंवदन्ती छ ।
कालिञ्चोकको डाँडाबाट देखिने हिमालका सुन्दर दृश्यहरुले मन पुलकित बनाउेछ । कालिञ्चोक डाँडा आसपासका क्षेत्रमा स्केटिङ र गल्फ खेलका लागि पनि राम्रो सम्भावना छ । हिँउ खेल्न वा वा दैनिक ब्यस्त जीवनबाट रिफ्रेस हुनका लागि पनि दोलखाको कालिञ्चोक र कुरी भ्याली एकपटक पुग्नैपर्ने स्थान हो, चाहे धार्मिक आस्थाका काण होस् या प्राकृतिक सुन्दरताका लागि तपाई हामी एकपटक अवश्य पनि पुगौ ।