दार्चुला सदरमुकाम खलङ्गादेखि २३ कोस टाढा रकेको अपि हिमाल गाउँपालिकाभित्र साविकको खण्डेश्वरी र घुसा गा.वि.स पुरै, गुल्जर र शितौला गाविसका केहि भाग समेटेर छ वडामा विभाजन गरिएको छ । ६१३.९५ वर्गकिलोमिटर क्षेत्रफल रहेको यो पालिकाको पूर्वमा बझाङ, पश्चिममा नौगाड गाँउपालिका, दक्षिणमा मार्मा गाँउपालिका र उत्तरमा ब्यास गाँउपालिका छन् । करिब सात हजार जनसङ्ख्या रहेको यस पालिकामा सुदुरपश्चिमकै अग्लो हिमाल अपि हिमालसहित नाम्पा, कापचुली र जेठी बौरानी रहेका छन् ।
सुर्मासरोबर, शिद्ध मकरीकोट, क्षत्ती, खात्ती, चमेलियाको मुहानलगायत सम्पदा यहाँ अवस्थित छन् । भौगोलिक विकट भए पनि प्राकृतिक सम्पदाले भरिपूर्ण अपि हिमाल पालिकामा कृषि, जडिबुडी र पर्यटनको प्रचुर सम्भावना रहेको छ । नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भक्त्तसिंह ठेकरे बोहोराले गर्नुभएका रचनात्मक कामका सम्बन्धमा गोरखापत्रका दार्चुला समाचारदाता लोकेन्द्रप्रसाद जोशीले गर्नुभएको कुराकानी,
अपि हिमालमा विकासको अवस्था कस्तो छ ?
– अपि हिमाल दार्चुलाको विकट र सुदुरपश्चिमको अन्तिम गाँउपालिका हो । दुर्गम हुँदाहुँदै पनि थुप्रै सम्भावना बोकेको गाँउपालिका पनि हो । अग्लो हिमाल अपि, जडिबुडी र जलस्रोतको हिसाबले भरिपूर्ण भए पनि विभिन्न चुनौतीसँगै अवसर पनि छ । निर्वाचित भएर आइसकेपछि समग्र विकास निर्माणको कामलाई अघि बढाउन खोजिरहेका छौँ । खास गरि कृषि र पर्यटन विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधारतर्फ सडक सञ्जाललाई जोड्न प्रयत्नशील छौँ । विधुतको राष्ट्रिय प्रुासारण जोड्ने काम भइरहेको छ । भौतिक, सामाजिक र आर्थिक विकासका लागि योजनवद्ध ढङ्गले अघि बढिरहेका छौँ ।
सडक र विधुतको पहँुच विस्तारमा ढिलाइ किन भइरहेको छ ?
– भौगोलिक रुपमा विकट र कठिन चट्टानी भूभाग भएकाले गाउँपालिकाको बजेटबाट ठुला पूर्वाधारका योजना निर्माण गर्न सम्भव छैन । अहिले मकरीगाडबाट पालिकाको केन्द्र खण्डेश्वरी जोड्न सडक निर्माण भईरहेको छ तर केन्द्र र प्रदेश सरकारले पर्याप्त बजेट बिनियोजन नगर्दा अपेक्षित प्रगति हुन सकेको छैन । छिट्टै गाउँपालिकाको केन्द्रसम्म सडक पु¥याउने गरेर पहल गरिरहेका छौँ । विधुतको राष्ट्रिय प्रसारण लाइन नपुगेको भए पनि स्थानिय माइक्रोहाइड्रो (लघुजलविधुत ) बाट चार वडामा विधुत बलेको छ ।
केन्द्र र प्रदेश सरकारसँग समन्वय कस्तो छ ?
– सङ्घीयताको तीन महत्वपूर्ण तह सङ्घ, प्रदेश र स्थानीय सरकार सह अस्तित्व, समन्वय र सहकार्यबाट चल्नुपर्ने हो । तीनै तहको उदेश्य स्थानिय जनतालाई सेवा सुविधा दिने नै हो तर सङ्घीय र प्रदेश सरकारमा पुरानो ढर्राको बजेट बन्ने, प्रभावशाली नेताहरुकै क्षेत्रमा बजेट जाने र दुर्गम क्षेत्रलाई विभेद हुने गरेको छ । जनसङ्ख्याका साथसाथै भूगोललाई पनि आधार मानेर लगानी गर्नुपर्ने आवश्यकता छ । केन्द्र र प्रदेशले दुर्गम तथा विकट क्षेत्रलाई हेर्ने नजरर गर्ने व्यवहार सच्याउनु पर्छ ।
बेरोजगारीका कारण युवा विदेश पलायन भइरहेका छन् । रोजगारी सिर्जनाका लागि तपाईका योजना के के छन् ?
– यो नेपालकै समस्या हो । नीतिगत रुपमै हल गर्नु पर्छ । रोजगारी सिर्जनाका लागि नेपालको प्रमुख पर्यटन क्षेत्र नै हो । हिमाल, प्राकृतिक स्रोत, साधन र सम्पदा भएको पालिकामा सडकको पँहुच, पदमार्ग, पर्यटकीय क्षेत्र निर्माण गरेर विदेशी सजिलै भित्रयाएर युवा रोजगारी सिर्जजा गर्न सकिन्छ । रोजगारीको अर्को क्षेत्र भनेको कृषि हो । अपि हिमालमा पाईने जडिबुटीको प्रशोधन गर्न सकियो भने धेरैलाई रोजगारी दिन सकिन्छ । अहिले पनि नेपालको जडिबुटि सस्तो मुल्यका बिदेसिने र औषधि बनेर महँगोमा नेपालमै भित्रिने अवस्था अवस्था छ । प्रशोधन नेपालमै गर्न सके किसानले दुई, तिन गुणा बढि मूल्य पाउने छन् ।
पर्यटन प्रर्वधनका लागि अपि हिमालका विशेषता के के हुन् ?
– प्राकृतिक रुपमा निकै सुन्दर छ अपि हिमाल । सुदुरपश्चिमकै सबैभन्दा अग्लो ७,१३२ मिटरको अपि हिमालका साथै ६ हजार मिटरमाथिका १६ हिमाल यसै गाउँपालिकामा पर्छन् । नेपालको सस्तो र छोटो पर्यटकिय गन्तव्यका रुपमा अपि बेसक्याम्प घुम्न सकिँन्छ । काठमाडौँबाट एक हप्ताको प्याकेजमा पुग्न सकिने बेसक्याम्पको यात्राका क्रममा संस्कृतिक, होमस्टे, स्थानिय खानाका परिकार, अपिनाम्पा संरक्षण क्षेत्र भएकाले दुर्लभ हिमाली जीवजन्तु, पवित्र चमेलिया नदिको मुहान, कालीढुङ्गा ताल, नाम्पा बेसक्याप, हिमाल फेदका पाटन हेर्ने घुम्न सकिन्छ । पदमार्गमा पर्यटकिय आधारभूत पूर्वाधार निर्माण गरिएका छन् । साढे चार किलोमिटर लामो खायकोट पदमार्ग, १६ किलोमिटर शिद्ध मकरीकोट पदमार्ग बिच बिचमा विश्राम केन्द्र, खाना, बाँसको राम्रो सुविधासहित पर्यटकिय आवास गृहहरु निर्माण गरिएका छन् । ठाउँ ठाृउँमा पर्यटकिय सूचना बोर्ड राख्नुका साथै मकरीकोटमा पर्यटकीय सूचना केन्द्रसमेत स्थापना गरिएको छ ।
शिक्षा क्षेत्रको विकासका कार्ययोजना के के छन् ?
– शिक्षा सामाजिक विकासको मेरुदण्ड हो । विधालयलाई भौतिक पूर्वाधारले सम्पन्न गर्ने योजना छ । कक्षागत र विषयगत दरबन्दी दिइएको छ । शिक्षकलाई तालिक दिने, कक्षाकोठा सुधार गर्दै प्रविधिमैत्री कक्षा निर्माण गर्ने, डिजिटलमैत्री पठनपाठन गर्ने काम गरिरहेको छौँ ।
स्वास्थ्य क्षेत्र र शुद्ध खानेपानी पहँुचको अवस्था कस्तो छ ?
– आधारभूत स्वास्थ्य सेवाहबाहेक विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न सकिरहेका छैनौँ । हामीसँग दुई वटा स्वास्थ्य चौकी, अन्य चार वटा सामुदायिक स्वास्थ्य केन्द्र र केही बर्थिङ सेन्टरबाट स्वास्थ्य सेवा प्रदान गरिरहेका छौँ । सडकमार्गबाट एम्बुलेन्स सेवा प्रदान गरिएको छ । १० सय्याको अस्पताल निर्माणधीन अवस्थामा रहेकाले भवन निर्माण सम्पन्न भइसकेपछि पालिकाबाटै विशेषज्ञ चिकित्सकसहितको सेवा दिने तयारीमा छौँ । शुद्ध एक घर एक धारा खानेपानी उपलब्ध छ । ९० प्रतिशन बढि घरधुरी बढि घरधुरीमाधारा निर्माण गरेर खानेपानी, सरसफाई, करेसाबारी व्यवस्थापन गरिएको छ ।
स्थानीय तहमा काम गर्दा चुनौती के के छन् ?
– स्थानीय सरकार जनताको घरदैलोको सरकार हो । मानिसका दिनानुदिनका समस्या पालिकासम्म पुग्ने गरेका छन् । आर्थिक स्रोतसाधनको अभाव हाम्रो प्रमुख समस्या हो । सीमित स्रोतसाधनबाट समेत जनताका समस्या सामाधान गर्न प्रयत्नशील छौँ । युवा स्वरोजगार कोषसँग मिलेर सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने प्रयास गरिरहेका छौँ । सबै सङ्घसंस्था, स्थानीय, प्रदेश, र सङ्घ सरकारका साथै सरोकारवालाहरुको साथ सहयोगको अपेक्षा छ । सबैसँग हातेमालो गरेर निकट भविष्यमै सुन्दर, समृद्ध र विकसित अपि हिमाल बनाउन सकिनेमा विश्वस्त छु ।
गोरखापत्रबाट साभार