जाजरकोट जिल्लाको भेरी नगरपालिका २, तत्कालिन खलंगा ६ रिसाङमा जन्मिएको म कक्षा ८ सम्म त्रिभुवन निम्न माध्यामिक बिद्यालय रिसाङ र त्रिभुवन उच्च माध्यमिक बिद्यालय खलंगा तल्लो थाप्लेबाट २०५७ सालमा एस एल सी दिएर बुवा, आमा भाई, बहिनीहरुको साथ जाजरकोटबाट बसाई सरेर बर्दिया जिल्लाको तत्कालिन डेउढाकला ६ बर्दिया हालको बाँसगढी नगरपालिका ७ राधाकृष्णचोक बर्दियामा आएका थियौं ।
उच्च शिक्षा अध्ययनको लागि बर्दिया देखी नेपालगञ्ज आएर महेन्द्र बहुमुखी क्याम्पसमा अध्यन गर्दै गर्दा म मा पढाई सँग, सगै पत्रकारितामा रुची बढेपछि नेपालगञ्जको चारबाहिनीमा रहेको टुडे नेपाल दैनिकको कार्यालय गएँ । सयोंगबस त्यहाँ दुईहप्ते पत्रकारिता तालिम खुलेको रहेछ, म पनि सो तालिममा सहभागी भएर तालिम सिकें । तालिम पश्चात बिभिन्न अग्रज पत्रकारहरुसँग चिनजान हुने क्रममा टुडे नेपालका प्रधान सम्पादक बिष्णु कुमार श्रेष्ठ, चन्द्र श्रेष्ठ, तिर्थ हमाल पथिक, लियाकत अलि, अछरी पोख्रेल, सन्तोष रेग्मी लगायतका ब्यक्तिहरुसँग चिनजान भयो । तालिम पश्चात सोही पत्रिकामै केही समय मैले काम गर्ने मौका पाएँ ।
प्रशिक्षार्थी पत्रकारको रुपमा काम गर्ने शिलशिलामै २०५९ सालको एकदिन समाचार संकलनको लागि भेरी अस्पताल जाँदा अस्पतालमा फलफुल बितरण कार्यक्रम गरिएको जानकारी पाएँ । सो कार्यक्रम त्यति बेलाको बागेश्वरी असल शासन क्लबले गरेको थाहा पाएँ । सो कार्यक्रम बारे संस्थाका अध्यक्ष पत्रकार नमस्कार शाहलाई बुझ्न कसैले मलाई सुझाव दिए अनुरुप म शाहलाई भेट्न जिल्ला प्रशासन कार्यालय बाँके अगाडी रहेको क्रिष्टल फोटो स्टुडियोमा पुगें । वहाँ भर्खरै कार्यक्रम सकेर त्यहाँ पुग्नु भएको रहेछ । वहाँको नाम पहिले पनि सुनेको थिएँ तर भेटघाट, चिनजान भएको थिएन । त्यहि समाचारको बहानामा वहाँसँग मेरो भेट भएर चिनाजान भयो । वहाँले दिएको जानकारीका आधारमा मैले टुडे नेपालकोलागि समाचार बनाएँ । मैले टुडे नेपाल दैनिकमा काम गर्दा दिनमा २ देखी ३ वटा सम्म समाचार लेख्नै पथ्र्यो । समाचार लेखनमा त्यति खेर तिर्थ हमाल पथिक र सन्तोष रेग्मीले धेरै सहयोग गर्नुभएको थियो ।
आफ्नो पढाई र पत्रकारीता गर्दै गर्दा नेपालगञ्जमा शम्भुराजा रेग्मीसँग भेट भयो । उहाँ हाम्रै गाउँ बर्दियाको हुनुहुन्थ्यो । नेपालगञ्जमा पत्रकारीता सँगै बागेश्वरी असल शासन क्लव नेपालगञ्जमा आबद्ध हुनुहन्थ्यो । उहाँसँगै एकदिन आदर्शनगरको गणेश मन्दिरको धर्मशालामा रहेको असल शासनको कार्यालयमा पुगें । जुन बेलुका ५ बजे देखी खुल्दो रहेछ । केही दिन अगाडी समाचार संकलनको क्रममा भेटिनु भएका ब्यक्ति नमस्कार शाह सोही कार्यालयमा भेटिनु भयो । सानो टेबलमा एउटा काठको कुर्सीमा वहाँ बस्नु भएको थियो । एउटा सानो फलामको बेन्चमा अन्य पदाधिकारीहरु बस्नुभएको थियो । दुई घण्टा जति उहाँहरुसँगै बसेर उहाँहरुको कुराहरु सुनें साथै उहाँहरुको भ्रष्टाचार बिरोधी कार्यक्रमहरुको बारेमा जानकारी पाएपछि त्यही दिननै क्लवको साधारण सदस्यता लगें ।
साधारण सदस्यता लिएको ३ महिनामै क्लवको अबिधेशन भयो । सोही अबिधेशन बाट म सहसचिव पदमा बिजय भै मेजर फाईभमा काम गर्ने अवसर पाएँ । त्यति खेर संयोगबस म भन्दा अग्रज सिता बोहरासँग निर्वाचन लडेको थिएँ । वहाँ पराजित भएर आफु बिजयि हुँदा खासै म खुसी थिएन । संस्थामा काम गर्दै गर्दा बिभिन्न चरणमा असल शासनका लागि स्थानिय जागरण तालिम, उद्घोषण तालिम, नेतृत्व बिकास तालिम, आधारभुत पत्रकारिता तालिम लिने अवसर पाएँ भने प्रो पब्लिक असल शासन कार्यक्रमका निर्र्देशक केदार खड्काबाट असल शासनका लागि स्थानीय जागरण तालिमको प्रशिक्षक प्रशिक्षण तालिम (TOT) पनि लिने मौका पाएँ । जसमा बिभिन्न जिल्लाहरुबाट आएका असल शासन क्लवका साथीहरु सँग भेट भयो ।
संस्थामा काम गर्दै गर्दा नमस्कार शाह, शम्भुराजा रेग्मी, गणेश खड्का, सिता बोहरा, उमा थापामगर, बिबेक पराजुली, टेकराज रानाभाट, ईश्वर जिसी, खडक रावत, शिव थापा, रमेश सिटौला, युवराज जंग शाह, शिवा शाह, संगिता जि.सी., चम्फा कडायत, सरिता काफ्ले, मणीराम बटाला, दिनेश गौतम, ईश्वर बिक, राजु लामिछाने, रज्जव बागवान, कल्पना अधिकारी, भुपेन्द्र बस्नेत, सुशिल थापा, खड्क केसी, चिरिञ्जीबी वली लगायत बाँके जिल्लाका तत्कालिन गाबिसहरुका रहेका असल शासनका उपशाखाका धेरै साथीहरु सँग सहकार्य गर्ने अवसर प्राप्त भएको थियो । बिभन्न भ्रष्टाचार बिरुद्ध कामहरु गर्ने क्रममा हामीले बिभिन्न सरकारी कार्यालयका कर्मचारीहरु समयमा कार्यालय उपस्थित हुन्छने की हुदैनन् भनेर फरक फरक कार्यालयमा नागरिक अनुगमन गथ्र्याै भने भ्रष्टाचार बिरुद्ध शुद्धीकरण कार्यक्रमहरु गर्ने गर्दथ्यौं । सार्बजनिक सरोकार राख्ने कार्यालयहरुमा नागरिकहरुले सरल तरिकाले सेवा पाए, नपाएको बिषयमा गुनासो लेखन कार्यक्रमहरु गथ्र्याैं । रेडीयो श्रोता क्लबबाटै भ्रष्टाचार बिरुद्धका कार्यक्रमहरु गर्दै आए पनि २०६० सालमा जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता गरेर बागेश्वरी असल शासन क्लव गैर सरकारी संस्थाको रुपमा काम गर्न शुरु गरेको थियो ।
हाम्रो संस्थामा आम्दानीको श्रोत केही थिएन, हामी सबै पदाधिकारीहरु संस्थामा पूर्णकालिन कर्मचारीको रुपमा काम गथ्र्याैं । शुरुमा बेलुकी ५.०० बजे देखि खुल्ने कार्यालय बिस्तारै ४.०० बजे, ३.०० बजे, १२.०० बजे हुँदै पछि गएर १०.०० बजे देखि ४, ५.०० बजे सम्मै खोल्न थाल्यौं । संस्थालाई चलाउन त्यति सहज थिएन तर हामी सबै दत्तचित्त भएर लागेका कारण संस्था अगाडी बढाउँदै गयौं । धेरै दुःखका दिनहरु गुजार्यौं, धेरै संघर्ष गर्यौं, संस्थालाई बलियो बनाउन हामीले के सम्म गरेनौं, आर्थिक संकटको महाभारतले हामीलाई थिलथिलो बनाएपनि हामी कटिबद्ध भएर लागिरह्यौं, दिनानुदिन आक्रामक तरिकाले कार्यक्रमहरु सञ्चालन गर्दै गयौं, पत्रिका पनि प्रकाशन भईरह्या्, पत्रिकामा तहल्का मच्चाउने समाचारहरु सनसनिपूर्ण तरिकाले सम्प्रेषण गथ्र्याैं, हामी सबै किशोरावस्ताका थियौं डर कसैको लाग्थेन । सो क्रममा धेरै धम्किहरु भोग्नु पुर्यो तर पनि हामी डगमगाएनौं ।
दिनभरी साईकलमा तालिम दिन बिभिन्न गाबिसहरुमा जान्थ्यौं, नास्ता खाने पैंसा समेत हुँदैनथ्यो । दिनभरी समाज र देशको भलाईका लागि भ्रष्टाचार बिरुद्धको अभियानमा हिँडिन्थ्यो भने बेलुका कोठामा खाने तरकारी समेत हुँदैनथ्यो । तर पनि कोही प्रति गुनासो थिएन, किनकि आफैले रोजेको काम थियो ।
बिभिन्न आरोह अबरोह पार गर्दै गर्दा नेपालगञ्ज बुलबुलियामा रहेको नेपाल प्रेस ईन्सिटिच्युटमा ३ महिने पत्रकारीता तालिम खुलेको जानकारी प्राप्त भयो, क्लबका अध्यक्ष नमस्कार शाहको पहलिमा उक्त तालिम लिने अवसर प्राप्त भयो ।
तालिम पश्चात बरिष्ठ पत्रकार बासुदेब श्रेष्ठको पत्रिका उज्यालो साप्ताहिकमा काम गरें । पुर्ण ढकाल सम्पादक रहेको पत्रिका दिशानिर्देश साप्ताहिक र हाम्रै संस्थाबाट प्रकाशित असल शासन मासिकको सहसम्पादकमा रहेर काम गरें । असल शासनका लागि स्थानिय जागरण तालिम र उदघोषण तालिम दिन एक्लै झोला बोकेर बर्दियाको बग्नाह, भुरीगाँउ, टिकापुर बाँकेका बनकटवा, नौबस्ता, चिासापानी, कम्दी, सितापुर, राधापुर र फत्तेपुर, कचनापुर, समशेरगञ्ज र नरैनापुर सम्म पुगें । कहिले काँही त झोला बोकेर हिँडेपछि अफिसमा एक हप्ता पछि मात्र आउँथे । बाँकेका बिभिन्न गाँउ बिकास समितिमा उपशाखा गठन गर्ने र उनीहरलाई सुशासन, पारदर्शिता, जवाफदेहीता र सुचनाको हकको बिषमा तालिम दिनुका साथै मासिक पत्रिकामा समाचार लेख्ने काम गर्दै आएको म केही समय आफैले लेखेका समाचारका कारण धेरै तनाव ग्रस्त भएँ ।
आफ्नै गाउँको स्वास्थ्य चौकीको हबिगतको बारेमा समाचार लेख्दा ६ महिना सम्म घर जान नपाएको पीडा अहिले पनि ताजै छ । गोकर्णको तालुमा आलु, नर्सिङ होम हात्तीको देखाउने दाँत, स्वास्थ्यका कर्मचारीको हालीमुहाली लगायतका समाचारका कारण सम्बद्धहरुले दिन सम्म तनाव दिए । संस्थाका अध्यक्ष नमस्कार शाहको साथ र उहाँको जोश र जाँगरले भ्रष्टाचार बिरुद्धको यात्रामा हौसिएको म सहसचिव भएर काम गर्दै आएपनि केही समय कोषाध्यक्षको जिम्मेवारी पनि सम्हालेको थिएँ । सोही क्रममा २०६१ को अधिबेशनमा सबैको सल्लाह र आग्रहमा केन्द्रीय उपाध्यक्षमा लडेँ र साथी शिव थापासँग झिनो मतले पराजित भएँ ।
भ्रष्टाचार बिरुद्धको अभियानमा सक्रिय हुन अध्यक्ष नमस्कार शाहको प्रेरणाले गर्दा पराजित भएपनि यो यात्रामा अगाडी बढ्ने मेरो चाहना रोकिएन । जस्ले गर्दा केही समय पछिनै रिक्त भएको केन्द्रीय उपाध्यक्ष पदमै रहेर काम गर्ने अवसर पाएँ । त्यति बेला सम्म हाम्रो कार्यालय आदर्शनगर स्थित गणेश मन्दिरको धर्मशालाबाट सरेर नेपालगञ्ज औद्योगिक क्षेत्रमा आईसकेको थिएँ । सोही क्रममा कार्यालयमा दैनिक हाँजिर हुनेहरु मध्ये केही साथीहरु न्युनतम पारिश्रमिक लिने गरी कर्मचारीको रुपमा काम गर्ने अवसर पाएँ । जसमा अध्यक्ष नमस्कार शाह टिम लिडर, म सहायक टिम लिडर, कोषाध्यक्ष सिता बोहरा लेखापालकोे भुमिकामा थियौं । केही समय पछि टिम लिडर र सहायक टिम लिडरको पद परिवर्तन गरि निर्देशक, उपनिर्देशक राखियो । जति खेर मेरो तलव ४ हजार थियो जुन त्यतिखेर राम्रै तलब पाएको महशुस भएको थियो । पहिलोपटक तलव पाउनेगरी काम गर्दा निकै उत्साहित भएँ । त्यो भन्दा पनि यस संस्थामा लागेर धेरै कुरा सिक्ने अवसर प्राप्त गरेको थिएँ, आफ्नो पहिचान बनाएको थिएँ ।
स्कुले जीवनमा कसैसंग नि बोल्न डराउने, आफ्नो परिचय पनि दिन अड् लाग्ने म मा धेरैे मान्छे अथवा समुहमा बोल्न सक्ने हिम्मत बढेको थियो । २०६० देखि २०६२ सम्म संस्थाले कठिन परिस्थिती पार गर्यो । आदर्शले भोको पेट पाल्न सकिदैन भनेर शम्भुराजा रेग्मीले पदिय जिम्मेवारी छोड्नु भयो, अरु साथिहरु पनि बिस्तारै निस्क्रिय भएको बेला अध्यक्ष नमस्कार शाहलाई साथ दिने म, उमा थापा, सिता बोहरा, खड्क रावत, बिबेक पराजुली लगायत मात्रै थियौं । वहाँहरु मध्ये पनि पछि त अध्यक्ष शाह, म, सिता बोहरा र बिबेक पराजुली मात्रै थियौं । पछि कर्मचारीको रुपमा ईश्वर बि.क. बासमा आउनु भयो, वहाँले पनि निकै साथ दिनु भयो । जस्तो सुकै परिस्थिती आउँदा पनि नमस्कार शाहले हार मान्नु भएन, कसै न कसैको साथ लिएर वहाँ अगाडी बढ्नु भयो र त आज बास, बास हुन पुग्यो, नमस्कार शाह, नमस्कार शाह हुनु भयो ।
त्यो क्रममा संस्था भित्रको चरम आर्थिक संकट टार्न मैले के सम्म गरिन्, गाउँ, गाउँमा गएर भुड्कि बितरण गरिन् कि किताब बेच्न काठमाण्डौं सम्म पुगिन कि उद्यारो असुल गर्न कार्यालय आउने व्यक्तिहरुबाट लुक्न टेबल तल लुकिन कि के सम्म गरिन ? त्यसको सबै साक्षि नमस्कार सर हुनुहुन्छ । मैले ईमान्दारितापूर्ब संस्थालाई १०० प्रतिशत योगदान दिएको त्यसबेलाको सम्झना मलाई अहिले पनि आउँछ । संस्था र नेतृत्वलाई असफल पार्न संस्था भित्रै भएको गुटबन्दि बिरुद्ध म सधैं लागिरहें । म जहिले नेतृत्वको पक्षमा रहें र सघाएँ ।
२०६२, २०६३ को जनआन्दोलन सफल पार्नका लागि पनि बासले महत्वपूर्ण भूमिका निर्बाह गर्यो, जसमा मैले पनि केही योगदान दिएँ । एक दिन महादेबवुरी तालिम दिन जान लाग्दा अध्यक्ष शाह र म कोहलपुर त्रिभुवन मानि नजिक मोटरसाईकल दुर्घटनामा पर्दा पनि रगत चुहाउँदै तालिम दिन महादेबवपुरी पुगेको घटना म कहिल्यै भुल्दिन । ४, ५ बर्षका यि स्वर्णिम दिनहरुमा घटेका सबै घटनाहरु अविश्मरणिय छन् । ति सबै पलहरु लेख्दा लामै फेहरिस्त बन्न सक्दछ ।
अनेक प्रयास गर्दा पनि संस्थाको आर्थिक अवस्था नसुध्रिए पछि मैले बैदेशिक यात्रामा जाने निधो गरें । जुन निर्णय मेरो लागि, संस्थाको लागि अप्रिय भएतापनि अर्काे बिकल्प थिएन । सो कुरा सुनेर अध्यक्ष तथा निर्देशक नमस्कार शाहले बिदेश नजान सुझाव दिनुभयो, मलाई सम्झाउन घरै जानु भयो तर पनि म गएँ ।
बिभिन्न कार्य ब्यस्तता, बिभिन्न समय परिस्थितिका बाबजुत म जहाँ रहेपनि नमस्कार शाहसँग प्रत्यक्ष सम्पर्क भई रहेर संस्थाका बिभिन्न गतिबिधिहरुका बारे अवगतनै हुन्थे । बिचमा नेपाल आएको बेला बासमा जान्थें, साथिहरुलाई भेट्थें, मन बासमैं हुन्थ्यो । किनकि म रहरले होईन बाध्यताले बिदेश गएको थिएँ ।
म बिचमा आउँदा पनि बासले मलाई बिदेश नजाने गरि तालिमहरु सञ्चालन गर्ने अवसर दिएपनि म दोश्रो पटक पनि बिदेश जान बाध्य भएँ । कोभिड १९ को समयमा बासले सञ्चालन गरेको अभियानमा सानो सहयोग पनि गरें । सोही क्रममा बास नेपालले मलाई बिदेश प्रतिनिधिको पनि जिम्मेवारी प्रदान गरेको थियो ।
बैदेशिक यात्रा सकेर २०७८ मा स्वदेश फर्केपछि फेरी पनि बास नेपाल सँग जोडिन पुगें । स्वदेशमै बसेर कर्म गर्ने सोच मैले राखेको बेला बासले मेरो पुरानो योगदानलाई कदर गर्दै बास नेपालको जनसम्पर्क अधिकृत तथा असल शासन पोष्टको सह–सम्पादकको रुपमा जिम्मेवारी दिएको छ । काम गर्दै जाँदा बिभिन्न चुनौती त हुन्छन् नै तर पनि चुनौती भन्दा नि धेरै उपलब्धिहरु भएको महशुस गरेको छु । बास नेपाल जस्तो संस्थामा लागेर भ्रष्टाचार बिरुद्धको अभियानमा लागेर गर्वको महशुस गरेको छु ।
काम त जस्ले पनि जहाँ पनि गर्न सक्छ तर भ्रष्टाचार बिरुद्धको अभियानमा काम गर्नु चानचुने कुरा हैन । ७७ जिल्लामा संगठन बिस्तार गरेको यस संस्थामा मैले सबै जिल्लाहरु सँग समन्वय र सहकार्य गर्दै आएको छु । सबै जिल्लाहरुसँग सम्पर्क भएको छ, सम्बन्ध बिस्तार भएको छ । सबै जिल्ला शाखाहरुबाट संस्थाको उद्धेश्य अनुरुपको अभियान सञ्चालन भएको छ त्यो नै खुशी लाग्छ । पहिलेको अत्यन्तै कठिन समयमा काम गर्दाको अवस्था र अहिले बिशाल भईसकेको संस्थामा काम गर्दा धेरै फरक महसुस भईरहेको छ । परिवर्तित अवस्थामा आफुलाई परिणत गरेर दत्तचित्त भएर काम गरिरहेको छुँ । यात्रा अबिचलित रुपमा अघि बढिरहेको छ । यस अवसरका लागि बास नेपाललाई धन्यवाद ।
जय बास, जय शुसासन ।
(कार्की बास नेपालका जनसम्पर्क अधिकृत हुन् ।)