२०२६ सालमा कंचनपुरको शुक्लाफाँटामा शिकार खेल्न गएको बेला श्री ५ महेन्द्रलाई अचानक मुटुको व्यथा लाग्यो। त्यहाँबाट उद्धार नहुँदासम्म मौसूफको शिर प्रधानमन्त्री श्री कीर्तिनिधि विष्टको काखमा राखेर शिकारको लागि बनाइएको मचानमैं मौसूफलाई सुकला गराइयो।
त्यही समयमा मौसूफबाट भावुक स्वरमा कीर्तिनिधि विष्टलाई हुकुम भो-
“कीर्ति! म मरे पनि मेरो देश बाँचिराखोस्।”
पछि यो कुरा प्रधानमन्त्री विष्टले काठमाडौको एक कार्यक्रममा रुँदै सार्वजनिक गर्नु भो।
बिस्तारै “म मरे पनि मेरो देश बाँचिराखोस्” स्वर्गीय श्री ५ महेन्द्रको यो महावाणि नेपालीहरूका जिब्रोमा झुण्डिन पुग्यो। सोही महावाणीलाई समेटेर कवि श्री प्रेमप्रकाश मल्लले एउटा राष्ट्रभक्तिपूर्ण गीतको रचना गर्नु भएको थियो। सो गीतको संगीत पनि उहाँले नै दिनु भो र श्री शिवशंकर माथेमाले गाउनु भयो। रेकर्ड गरियो। नेपालीका मनमुटुमा बस्यो त्यो गीत ।
त्यसका अतिरिक्त प्रेमप्रकाश मल्लले “माटोमाथि लडिबुडी खेलिरहुँ जस्तो लाग्छ” जस्ता ओजस्वी राष्ट्रिय भावनाले ओतप्रोत गीतको रचना, संगीत र गायन गर्नु भो ।
आफ्नो समयका बहुप्रतिभाशाली साङ्गीतिक तथा साहित्यिक व्यक्तित्व स्व. प्रेमप्रकाश मल्ल “महेन्द्र मधुकर” जीवितै हुनुहुन्थ्यो भने आज २०८१ साल श्रावण ११ गते ८८ वर्ष पुरा परेर ८९ वर्षमा प्रवेश गर्नु हुने थियो। तर विधिको विडम्बना उहाँको स्वर्गारोहण भएको नै नौ वर्ष भैसक्यो।
उहाँद्वारा रचित “एउटा त्यो अजेय शिखर”, “मधुकर छोटो जीवन लामो कहानी”, “पञ्चगान”, “अनुभूतिका स्वरहरु”, “सजल”, “उनी”, “ओछ्यानबाट अनुभूतिहरू”, “गाउँदागाउँदै” जस्ता पुस्तकहरु र अनेकौं गीत, कविता, गजल र मुक्तकहरुले उहाँलाई हाम्रो स्मृतिपटलबाट ओझेल पर्न दिएका छैनन् र दिने पनि छैनन् ।
(उहाँलाई विस्तृत रुपमा चिन्न, बुझ्न र जान्नको लागि श्री सिर्जन लम्सालज्यूद्वारा सम्पादित “प्रेमप्रकाश : पीडाको सगरमाथा”, श्री इन्द्रराज पौडेलज्यूद्वारा रचित खण्डकाव्य “प्रेमाञ्जली” र श्री हरि तिमिल्सिनाज्यू तथा श्री लेक प्याकुरेलज्यूका शोधग्रन्थ पढ्नु होला)
आज ८९ औं प्रेमप्रकाश जयन्तीको अवसरमा एक आदर्श र आत्मीय स्रष्टामा हार्दिक भावपूर्ण श्रद्धाञ्जली ।
(प्रस्तुत चित्र उहाँको देहावसान हुनु भन्दा तीन वर्षअघि नेपालगन्ज धम्बोझीस्थित उहाँका छोरीजुवाइँको निवासमा उहाँकै शयन कक्षमा खिचिएको हो।)