सुर्खेत/ कर्णालीमा आजपनि विभेदका धेरै रुप छन् । महिला र पुरुषमा विभेद, दलित र गैर दलितमा विभेद अनी महिलाहरुमा पनि दलित महिलाहरुको अवस्था त झनै दयनिय छ । लामो समयदेखी कर्णालीको यही विभेदको न्युनिकरणको संघर्षमा छन् मञ्जु सुनार । मञ्जु सुनार दलित महिला संघ सुर्खेतकी अध्यक्ष हुन् ।
समग्र महिलाहरुमा पनि दलित महिलाहरुमा हुने विभेदका विरुद्धमा संघर्षरत वीरेन्द्रनगर सुर्खेतकी मञ्जु सुनार संघको केन्द्रिय उपाअध्यक्ष समेत हुन् । भारतको आसाममा वि.स २०३० साल भदौ ४ गते जन्मिएकी मञ्जु घरको चौथो सन्तानको रुपमा जन्मिएकी हुन् । बुवा भक्तबहादुर सुनार र आमा नर्मादेवी सुनारको कोखबाट जन्मिएकी मञ्जु ५ वर्षको हुँदा नेपाल आएकी हुन् । मञ्जुले प्राथमिक शिक्षा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेत बाट गरिन् । उनले माध्यमिक तहको शिक्षा जन नमूना माध्यमिक विद्यालय र स्नातक तहको शिक्षा सुर्खेत शिक्षा क्याम्पसबाट गरेकी हुन् । बुवा भारतीय सेना भएपनि उनीहरुको पारिवारिक अवस्था भने मध्यम खालको थियो । छोरीले पढ्नु हुन्न भन्ने प्रचलन त्यो बेला थियो । त्यसमा पनि दलीत समुदायका महिलालाई त झन् मौका नैं दिइदैन थियो । तर पनि मञ्जुले पढ्ने मौका प्राप्त गरिन् । बुवा भारतिय सेना भएको कारण पनि मञ्जुले त्यो बेलामा पढ्ने अवसर पाइन् र आफ्नो पढाइलाई निरन्तर अगाडी बढाइन् ।
विवाहपछि पनि पढाइलाई निरन्तरता २०४६ फाल्गुन २८ गते मञ्जुको मागी विवाह भयो । त्यो बेला मञ्जु ९ कक्षामा पढ्दै थिइन् । मञ्जुले पढ्न चाहेको र उसलाई पढाउनु पर्ने सर्तमा उनको बुबाले मञ्जुको विवाह शिक्षक डम्मर बहादुर नेपाली संग गरिदिए । जब मञ्जुको विवाह भयो । त्यसपछि झनै उनको पढ्ने ईच्छामा मलजल भयो । त्यसमा उनका श्रीमान्ले साथ दिए । विवाह गर्दा उनी जम्मा १६ वर्षकी थिइन् । मञ्जुको पढ्ने ईच्छालाई श्रीमान् मात्रै होइन घरपरिवार सबैले साथ दिए । सानै उमेरमा विवाह गरेपनि उनलाई आफ्नो पढाई अगाडी बढाउन कुनै समस्या भएन । छोरीले पढ्नुहुन्न भन्ने मान्यताको समाजमा हुर्किएकी भएपनि उनले पढ्ने अवसर पाइनर र आज उनी निडर र सफल सामाजिक अभियान्ताको रुपमा उभिएकी छन् । सामाजिक क्षेत्रमा मञ्जुको यात्रा मञ्जुले २०५० सालमा शिक्षक पेशा अपनाईन । मञ्जु शिक्षक भएता पनि विद्यालयमा धेरै विभेद सहनु पर्यो । उनलाई याद छ, हरिहरपुर गाविस –२ श्रीनगर सुर्खेतमा अध्यापनका लागि जाँदा बस्नलाई कोठा भाडामा नपाएपछि उनलाई धेरै अप्ठ्यारो भएको थियो । दलित भएकै कारण उनी शिक्षक भएपनि बस्नलाई कोठा पाइनन् । विद्यालयको नजिकै बस्ने कोठा नपाएपछि उनी दलित बस्ती खोजेर बस्न थालिन् । दलित बस्ती बाट विद्यालयमा आउँदा करिब डेढ घण्टा लाग्थ्यो । मञ्जुले अध्यापन गराउने विद्यालयमा उनीसहित ५ जना शिक्षक थिए जसमा महिला उनी मात्रै थिइन् त्यो पनि दलित समुदायकी । चारजना पुरुष शिक्षकहरुसंग काम गर्न पनि उनलाई अप्ठ्यारो भयो । समाजले हेर्ने दृष्टिकोण पनि गलत नै थियो ।
त्यति मात्रै होइन विद्यालयमै उनले जातीय विभेद भाग्नुपर्र्यो । विद्यालयमा खानेपानी उनले छुन कहिल्यै पाइनन् किनकी उनले छोएको पानी नत गैरदलित शिक्षकहरुले खान्थे नत विद्यार्थीहरुले नै । मञ्जुले विभेदको सामना गर्दै उक्त विद्यालयमा ३ वर्ष अध्यापन गराइन् । सरकारले महिलालाई पेशामा जोड्नका लागि एउटा परियोजना तयार गरेको थियो र त्यसमा शिक्षकले नै सहजीकरण गर्नुपर्ने प्रावधान राखेको थियो । सोही परियोजनामा मञ्जुले पनि काम गर्ने मौका पाइन् । महिला समुह निर्माण गरी हरेक शुक्रबार छोरीलाई पढाउनु पर्छ, भन्ने अभियान सञ्चालन गर्नुपर्ने थियो । छोरी पढाउने अभियानकै क्रममा मञ्जुले धेरै तालिम लिने अवसर प्राप्त गरिन् । त्यती मात्रै होइन कार्यक्रमकै शिलशिलामा मञ्जुले एउटा भिडियो हेर्ने मौका पाइन् । त्यो भिडियोमा एउटा महिला बालविवाह गरेको र थुप्रै यातनाहरु भोगेको देखिन्त । त्यस्तो अवस्थामा आत्मा हत्या गर्न सम्म तयार भएकी महिलालाई त्यहाँका सामाजिक अभियन्ताहरुले परामर्श दिन्छन् र उनको जिवनमा ठुलो परिवर्तन आउँछ । उनी त्यो समस्याबाट उम्किएर देश हाँक्ने भुमीकामा पुग्छिन् र आफ्नो जस्तो अवस्थाका महिलाहरुको लागि राम्रो काम गर्छिन् । त्यही भिडियो हेरेकै कारण मञ्जुलाई पनि केही गर्ने आँट आयो ।
जब मञ्जुको सरुवा घरपाएक सरुवा भएपछि उनलाई काम गर्न सहज भयो । त्यसपछि उनले शिक्षण पेशा संगसंगै नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले गठन गर्ने समुहमा आवद्ध भइन् र सामाजिक अभियान्ताको रुपमा आँफुलाई प्रस्तुत गर्न थालिन् । जातीय विभेद विरुद्ध मञ्जुको कदम लामो समयसम्म शिक्षण पेशामा हुँदा भोगेको विभेद विरुद्ध आावज उठाउने प्रयास उनले नगरेकी होइनन् तर त्यसका लागि समुह र संगठनको आवश्यकता पर्दोरहेछ भन्ने महशुष भएपछि उनी २०५६ मा दलीत महिला संघको केन्द्रीय सदस्य भइन् । त्यसपछि उनले दलीत महिला,बालबालिका, किशोरी र किशोरका क्षमता वृद्धि र दलित वर्ग समुदायको आर्थिक स्तरमा सुधार ल्याउनका लागि थुप्रै कामहरु गर्न सुरु गरिन् । २०५९ सालमा मञ्जु सुनार दलित महिला संघमा आवद्ध भएर त्यसको जिल्ला अध्यक्षको रुपमा काम गर्न थालिन् । त्यो समयदेखी अहिलेसम्म पनि दलित महिला संघले थुप्रै काम गरेको छ ।
दलित महिलाहरुको विषयमा वकालत मात्रै होइन उनीहरुलाई कसरी आर्थिक रुपमा बलियो बनाउन सकिन्छ भन्ने उदेश्यले संघले विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको छ । त्यो बेलामा दलितहरूलाई सामूहिक रूपमा काम गर्न नदिने, सामूहिक धारामा लाइनमा बसेर अलगै सबै भन्दा ढिलो भर्न पाउने, कसैको घरमा काम गर्न गएपनि बाहिर आगनको छेउमा बस्नु पर्ने, मठमन्दिर जान नपाइने अवस्थाबाट आजभोली अधिकारका कुरा गर्ने सम्म परिवर्तन भएको उनी बताउँछिन् । उनी भन्छिन् “अझै पनि यो क्षेत्रमा काम गर्न धेरै बाँकी छ । जसका लागि म लगाएत हाम्रो टिम लागिरहेका छौं ।”