सुदूरपश्चिममा ‘सुटिङ खेल’को साख जोगाइरहेका दिलबहादुर

ईन्द्रा कुुमारी केसी

घोडाघोडी (कैलाली), ६ कात्तिक/
विसं २०४१ सालतिर टीकापुरका दिलबहादुर ठकुल्लाको घर नजिकै ३०, ४० जना मानिसको भीड लागिरहेको हुन्थ्यो । के रहेछ भनेर हेर्न जाँदा ‘सुटिङ खेल’ भइरहेको हुन्थ्यो । दिलबहादुरको पनि यसैमा मन बस्यो, पछि त लतै लाग्यो । उहाँको लगाव देखेर तत्कालीन प्रशिक्षक रामराज खरेलले खेलमा प्रवेश गराउनुभयो । ‘त्यसपछि नै हो मेरो व्यावसायिक सुटिङ खेलजीवन सुरु भएको । सुदूरपश्चिममा पनि त्यति बेलादेखि नै खेल भित्रिएको हो”, दिलबहादुर ठकुल्लाले भन्नुभयो ।

विसं २०४१ देखि निरन्तर यो खेलमा लागि रहनुभएका उहाँले पछि प्रशिक्षककै जिम्मेवारी पाउनुभयो । “लहलहैमा यस खेलमा लागियो, करिब १७ वर्षपछि आफैँले खेल सिकाउने जिम्मेवारी पो आयो । विसं २०५८ देखि प्रशिक्षकका रूपमा रहेर खेल सिकाइरहेको छु”, उहाँ भन्नुहुन्छ,“ सुदूरपश्चिममा हामी दुई जनामात्र प्रशिक्षक छौँ, एउटा म र अर्को महेन्द्रनगरका जनक चन्द ।”
२३ वर्षदेखि दिलबहादुरले सुदूरपश्चिममा सुटिङ खेललाई जोगाई रहनुभएको छ तर यस खेलप्रतिको मोह हराउँदै गएकामा उहाँ खिन्न हुनुहुन्छ । “हालसम्म त हामीले धानिरहेका छौँ तर अब सुटिङ खेल जोगाउनै समस्या छ । पहिले खेलाडी आफैँ आउँथे अहिले खोजेर जबरजस्ती ल्याउनुपर्छ । खेलबारे धेरै मान्छे जानकार पनि छैनन् । सुटिङ सिकाउँछुभन्दा फिल्मको सुटिङ हो कि भनेर बुझ्ने गर्छन”, उहाँले सुनाउनुभयो,“यो महँगो खेल हो । खेलका लागि छुट्टै ड्रेस, बन्दुक, राईफल, पेस्तोल गोलीलगायतका सामग्री आवश्यक पर्छन् । खेलाडीले सामग्री किन्न लाखौँ लाग्ने गर्छ । त्यसैले पनि यसप्रतिको मोह हराउँदै गएको हो ।”

ठकुल्ला सरकारले पनि यो खेललाई बेवास्ता र उपेक्षा गर्दा थप समस्या भइरहेको बताउनुहुन्छ । खेलाडीलाई प्रोत्साहन, लगानी, पूर्वाधार नभएको र आफ्नै लगानीमा खेल्नुपर्ने बाध्यताका कारण खेलमा आकर्षण घट्दै गएको उहाँको भनाइ छ । “सुरुआतदेखि नै निःशुल्क रूपमा नै खेल जोगाउनका लागि लागिपरेको छु”, उहाँले भन्नुभयो, “आत्मसम्मान र खुसीका लागि लागेको छु । सामग्री र राम्रो पूर्वाधारको मात्रै व्यवस्था भइदिएको भए हुन्थ्यो भन्ने लाग्छ ।”

गत जेठ २१ गते भएको राष्ट्रिय सुटिङ खेलमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गरेर गएका सुनिल चन्द राइफलमा प्रथम र टीकापुरका महेन्द्रविक्रम रावल पेस्तोलमा तेस्रो हुनुभयो । त्यसबेला मुख्य प्रशिक्षकका रूपमा ठकुल्लाले नै भूमिका खेल्नुभएको थियो । उहाँ भन्नुहुन्छ, “हामीसँग केही नहँुदा त यहाँसम्म पुग्यौँ, खेल पूर्वाधार, लगानी र सामग्री भइदिएको भए यस खेलमार्फत सुदूरपश्चिमलाई धेरैमाथि उठाउन सकिन्थ्यो ।”
यस खेलमा सम्भावना नभएको पनि होइन, राम्रो गर्न सके राष्ट्रिय खेलमा सहभागी भएका खेलाडी विभागीय टोलीले लिने गर्छन् । प्रथमदेखि सातौँ आठौँ स्थान हासिल गरेकासम्मलाई समेत विभागीय टोलीले टिमले लिने गरेको ठकुल्लाले बताउनुभयो । गत जेठ २१ म प्रथम भएका सुनिल र महेन्द्र एपिएफमा आबद्ध भइसकेका र सातौँ भएकी टीकापुरकै पूजा घर्तीलाई पनि सोही टोलीले लिने गरी कुरा भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रशिक्षक ठकुल्लाले सरकारले सहयोग गरेमा सुदूपश्चिमबाट धेरै खेलाडी उत्पादन र राष्ट्रियस्तरमा राम्रो नतिजा हासिल गर्न सकिने बताउनुभयो । “अब केही समयमा राष्ट्रिय खेल हुँदैछ, १४ जनालाई प्रशिक्षण दिने तयारी गरिरहेको छु तर हामीसँग आवश्यक सामग्री र पूर्वाधार छैनन् । खेल सिकाउनका लागि टीकापुरमा १० मिटरको ‘सुटिङ रेञ्ज’ स्थापना गरिएको छ । त्यो पनि काम चलाउ अवस्थामा मात्रै छ । यदी स्थानीय र अन्य सरकारले सहयोग गरेको भए त सुदूरपश्चिमकै नाम रोशन हुन्थ्यो, त्यो गर्न सक्छौँ भन्ने हामीलाई विश्वास छ”, उहाँले भन्नुभयो ।
हाल टीकापुरमा सशस्त्र प्रहरी बलको तालिम केन्द्र छ । त्यहाँ पनि प्रशिक्षणका लागि जङ्गलमा जाने गरिएको छ । प्रशिक्षक ठकुल्ला भन्नुहुन्छ,“यदि यही सुटिङ रेन्जलाई व्यवस्थित गरेको भए त प्रहरीलाई पनि सहज हुने थियो, खेलाडी उत्पादनलाई पनि सहयोग पुग्ने थियो ।”

  • ६ कार्तिक २०८१, मंगलवार प्रकाशित

  • Nabintech