नबिन अभिलाशी
साहित्यकार
१. तपाईँको जीवनको आदर्श के हो ?
– धार्मिक अन्धता, कुरिती र कुपरम्पराले गाँजेको नेपाली समाजको विकास र परिवर्तनका लागि निरन्तर वैज्ञानिक विचार तथा सामाजिक आन्दोलन मार्फत सत्य र न्यायका लागि दृढ रहनु मेरो जीवनको आदर्श हो ।
२. कसको उत्प्रेरणाले तपाई यहाँसम्म आईपुग्नुभयो ?
– मैले बाँचेको समय र समाजको प्रवृतिहरुमाथि समाट विश्लेषण गर्न सक्ने भएपछि यो न्यायसँगत छैन भन्ने अनुभूतिले मलाई आजको स्थितिसम्म ल्याइ पुर्याएको हो । वर्गभेद, रंग लाञ्छना, जात, धर्म र भूगोलको कित्ताकाटले निर्माण गरेका वर्गको अन्त्यका लागि मैले निर्माण गरेको विचार नै मेरो उत्प्रेरणा हुन्छन् ।
३. तपाईले समाजका लागि के गरिरहनुभएको छ ?
– आजको यति खराब समयमा बाँचिदिनुमात्र पनि ठूलो कुरा हुन्छ । तर सचेततापूर्वक समाज निर्माणका क्रममा देखा परेका असङ्गतिका छिद्रहरु विरुद्ध बोल्नु, लेख्नु नै मेरो काम हो । १६ वर्षदेखि पत्रकारितामा छु, र त्यति नै समयदेखि जातपात र विभेद विरुद्धको अभियान, सुशासन र असल समाजको अभियान र युवाको मनोवृत्तिलाई उकास्ने अभियानमा सम्लग्न छु ।
४. तपाईको जीवनको अविस्मरणीय क्षण ?
– अविस्मरणीय क्षणहरुको कुरा गर्दा मेरो स्मृतिमा अनेक घटनाहरु आउछन् एकैपटक । जातव्यवस्थाको असर मेरो सिंगो जीवनभर रहनेछ, दश वर्षे युद्धले निम्त्याएको असरले मेरो विगत भरिएको छ, यस्ता अनेक घटनाहरु छन् । तर त्यसले आजको स्थितीसम्म आईपुग्दा मेरो विचार, व्यक्तित्व र व्यवहार निर्माणमा सहयोगी बनेका छन् ।
५. तपाईको बुझाईमा असल शासन भनेको के हो ?
– असल शासन भनेको विकासशील समाज निर्माणका लागि सहअस्तित्व कायम गर्ने एउटा प्रणाली हो । यसले नागरिक हितलाई प्राथमिकतामा राख्छ । अधिकारको रक्षा गर्छ र समाजलाई स्थिरता, समृद्धि र न्यायको दिशामा अगाडि बढाउछ । असल शासन कायम गर्नका लागि प्रमुख रुपमा पारदर्शिता, जवाफदेहिता, कानुनी शासन, समावेशीता जस्ता विषयमाथि निरन्तर काम गरिन्छ ।
६. समाजका लागि तपाईको प्रतिवद्धता के हो ?
– सहअस्तित्व र समतामूलक राज्यका प्रणालीमाथि खबरदारी गरिरहनु मेरो प्रतिवद्धता हो । हाम्रा तमाम सामाजिक कार्यहरु न्याय सङ्गत छैनन् । हाम्रा विकास प्रणालीहरुमा सहअस्तित्वको अभाव छ । हाम्रा धर्म, परम्परा र व्यवहारहरु परपीडक बनेका छन् । त्यसका लागि काम गर्नु जरुरी छ ।