रुद्र प्रशाद तिमिल्सिना नेपालगञ्ज स्थित महेन्द्र बहुमुखि क्याम्पसका प्राध्यापक हुन् । बि.स. २०२४ साल बैशाख ११ गते तनहुँको खैरेनीटार (हाल शुक्ला गण्डकी नगरपालिका) मा बुवा स्व. केशब राज उपाध्याय र आमा स्व. टोपला देवि उपाध्यायको न्यानो कोखबाट जन्मेका तिमिल्सिनाको बाल्यकाल गाउँमै बितेको थियो ।
ग्रामिण ईलाकामा बसोबास गर्ने निम्न बर्गिय परिवारमा जन्मेका उनले कक्षा ३ सम्मको अध्ययन गाउँकै सरस्वती प्राथमिक बिद्यालय खैरेनीटारमा गरेका थिए । ५ भाई र ३ दिदि सहित घरकै कान्छो छोरा तिमिल्सिनाका बुवा आमा खेति किसानी गर्ने गर्दथे । कृषिमा आश्रीत परिवार भएका कारण मधेशमा राम्रोे अन्न उत्पादन हुनुका साथै सुविधा पाईने जानकारी पाएपछि उनका बुवा २०३४ सालमा तत्कालिन बर्दियाको टपरा गाउँ पञ्चायत (हाल राजापुर नगरपालिकामा पर्ने) मा परिवार सहित बसाई सरेर आएका थिए । पारिवारिक बसाईसराई तनहुँबाट बर्दिया भएपछि उनको त्यस पछिको पढाई बर्दियाको किसान माध्यमिक बिद्यालयबाट अगाडी बढ्यो । बाल्यकालमा निकै चञ्चल स्वभावका तिमिल्सिनामा सानै देखि नेतृत्व गर्ने खुबि थियो । दिउसोको समय बिद्यालयमा बिताएपछि बिहान साँझको समय भने उनले आफ्नै सहपाटिहरुको नेतृत्व गरि गाउँ कै खोलामा माछा मार्ने, नुहाउन जाने, बारिका काक्रा, मकै खाने लगायतका कार्यमै बेतिथ हुन्थे । बाल्यकालको सम्झना सुनाउँदै उनी भन्छन्– म सहित मेरा साथिहरु खोलामा पानी थुनेर माछा मार्ने गर्दथ्यौं, मारेको माछा टोपी भरी बनाएर घर लगिन्थ्यो । यसरि माछा मार्दै गर्दा कैयौं पटक पानीले लुगा बगाएपछि नाङ्गै घर गएको सम्झना अहिले पनि उनसँग ताजै छ । १३ बर्षकै कलिलो उमेरमै पौडी खेल्नुका साथै डुङ्गा चलाएर नदि वारपार गर्ने गर्दथे । उनलाई सानै देखि भलिबल र फुटबल खेल मन पथ्र्याे भने गित सुन्न र नृत्य हेर्न मन पथ्र्याे ।
सानै देखि आँटिला र जाँगरिला तिमिल्सिनाको डायरीमा असम्भव भन्ने कुरा केही पनि थिएन त्यही भएर उनले जे सोचे त्यो पुरा गरेरै छाडे । कक्षा ९ सम्मको अध्ययन बर्दिया कै स्थानीय बिद्यालयबाट पुरा गरेपछि उनी २०४० सालमा पढाईका लागि नेपालगन्ज आए र नेपालगञ्जको मंगल प्रसाद बिद्यालयमा भर्ना भए । कक्षामा सधै उत्कृष्ट हुने तिमिल्सिनाले २०४२ सालमा एसएलसी पास गरेका थिए । प्रष्ट बोली र अरुलाई प्रभाव पार्न सक्ने क्षमता भएकै कारण उनका बुवाले छोरा वकिल बनोस भन्ने चाहना राखेका थिए । ठुला मान्छेहरुसँग भेटघाट हुने र मुद्धा मामला मिलाउने पेशा वकालत भएकै कारण उनलाई पनि वकालत पेशा प्रतिको आकर्षण विस्तारै बढ्दै गयो । यस बारे उनी भन्छन्– म कक्षा ५ मा पढ्दै गर्दा हाम्रो कक्षामा एक जना बिद्यालय निरिक्षक आउनुभयो र सबैलाई भविष्यमा के बन्ने ईच्छा छ भनेर सोध्नु भयो, जसमा ९९ प्रतिशतले शिक्षक बन्ने ईच्छा जाहेर गरे तर आफुले मात्र वकिल बन्छु भन्दा निरिक्षकले समेत निकै माया गरेर काखमा राखेको थिए ।
पढाईसँगै उनलाई अतिरिक्त क्रियाकलापमा समेत रुचि थियो उनी सानै देखि बिद्यालयमा हुने बक्तृत्वकला, हाजिरीजवाफ लगायतका अतिरिक्त्त क्रियाकलापमा सहभागिता जनाउँथे र उत्कृष्ट हुन्थे । २०४३ सालमा उनी आईएलको अध्ययनका लागि नेपाल ल क्याम्पस काठमाण्डौं भर्ना भए । आईएल गरेपछि उनी पुनः बिएलको अध्ययनका लागि २०४७ सालमा महेन्द्र बहुमुखि क्याम्पस नेपालगन्जमा भर्ना भए र २०५० सालमा उनले बिएलको अध्ययन पुरा गरे । त्यपछि उनी फेरी काठमाण्डौ गएर किर्तिपुर केन्द्रीय क्याम्पसबाट राजनीति शात्रमा स्नातकोत्तरको अध्ययन पुरा गरे ।
थोरै पुजिमा धेरै खुसी ल्याउन सक्ने कला भएका तिमिल्सिना २०४५ सालमा क्याम्पस पढ्दै गर्दा बर्दिया निवासि बन्दना तिमिल्सिनासँग बैवाहिक जीवनमा बाधिएका थिए । बुवाको सपना बमोजिम २०५४/०५५ तिरै उनले अभिवत्ता भई कानुन ब्यवसायीको रुपमा समेत काम गरे । कानुन ब्यवसायीको रुपमा काम गर्दै गर्दा उनी त्यो पेशामा लामो समय रमाउन सकेनन् । उनले निकै सम्मानित पेशाको रुपमा बुझेको कानुन ब्यवसाय ब्यवसायिक रुपमा अगाडी बढदै गर्दा ब्यवसायिक पेशा कम र दलाली बढी गर्नुपर्ने भएपछि उनले त्यो पेशालाई केही समयमैं तिलान्जली दिए । उनी भन्छन्– पेशा भित्रका धेरै बिकृतिका कारण वकालत पेशा छोडेको हुँ ।
वकालत छोडे पछि उनको ध्यान प्राध्यापन तर्फ गयो । बिश्व विद्यालय पढाउने शिक्षक आफ्नो स्वभावसँग सुहाउदो देखेका कारण शिक्षण पेशा तर्फ लागेको उनी बताउँछन् । राजनीति शास्त्रमा स्नातकोत्तर गरेका तिमिल्सिना २०५५ साल माघ देखि महेन्द्र बहुमुखि क्याम्पस नेपालगन्जमा राजनीति शात्र बिषयका लागि करार सेवा अन्तरगत शिक्षण सहायकमा नियुक्त भए ।
क्याम्पसको अध्यायनमा निकै रमाएका उनको २०६४ माघ मा पदोन्नती भयो र उनी उप–प्राध्यापकको रुपमा स्थायी भए । स्थायी भएको एक महिनामै उनलाई जुम्ला बहुमुखि क्याम्पसमा प्रमुखको रुपमा पठाइयो । ४ बर्ष अवधि कुशलता पूर्बक पुरा गरे पश्चात उनको पुनः २०६८ साल चैत्रमा महेन्द्र बहुमुखि क्याम्पस नेपालगन्ज सरुवा भयो । हाल उनी महेन्द्र बहुमुखि क्याम्पसमैं कार्यरत रहेका छन् । प्राध्यापकहरु मध्ये निकै कडा, प्रष्ट र अडिक प्राध्यापकको रुपमा परिचित तिमिल्सिना त्रिभुबन विश्व बिद्यालय अन्तरगत हुने परिक्षालाई ब्यवस्थित गर्ने उत्कृष्ट प्राध्यापकमा चिचिनुु हुन्छ । जसका कारण उनको प्रशंसा चौतर्फि रुपमा हुँदै आएकोछ ।
हरेक चुनौतीको सामना गर्ने आँट भएका ब्यक्ति जस्तो सुकै परिक्षामा पनि उतिर्ण हुन्छ भन्ने मान्यता राख्ने तिमिल्सिनाले पञ्चायत कालमा तत्कालिन नेकपा माले एकता पाँचौंको तेस्रो बाँके जिल्ला अधिबेशनबाट सह–सचिबको रुपमा जिम्मेवारी समेत सम्हालेका थिए । उनले बि.स. २०७१ देखि २०७५ साल सम्म महेन्द्र बहुमुखि क्याम्पस प्राध्यापक सँघ ईकाई समिति सभापतिको जिम्मेवारी समेत सफलता पूर्वक निर्वाह
गरिसकेका छन् । उच्च मनोबलका साथ निजि स्वार्थ र प्रलोभनबाट टाढा भयो भने निष्पक्ष रुपमा काम गर्न सकिने उनको अनुभव छ । हरेक चुनौतीसँग सामना गर्ने साहस भएकै कारण आफु नेतृत्व तहमा पुग्न सफल भएको बताउने तिमिल्सिना पछिल्लो समय शिक्षा क्षेत्रमा देखिएको बिकृती र बिसंगति प्रति चिन्तित देखिन्छन् । उनी भन्छन्– हरेक क्षेत्रमा राजनीतिकरण, चाकडी, चाप्लुसी, कमीसन नहुने हो भने मात्रै परिवर्तन सम्भब हुन्छ तर त्यसको बिपरित पदमा बहाल हरेक ब्यक्ति चाकडी, चाप्लुसी र कमीसनको खेलबाट आसिन भईदिदा सबै कुरा बिग्रिएको छ । जहाँ नेतृत्वमा रहेको ब्यक्ति अर्काको आदेशमा चल्छ त्यहाँ उद्धेश्य अनुरुप काम हुदैन र उसले खुट्टा कमाउन थाल्छ अनी आफ्नो कर्तब्य बिर्सिदै जान्छ ।
नेपालको हरेक क्षेत्र दुसित भएकोमा असन्तुष्ठ देखिएका तिमिल्सिना राज्य सञ्चालकहरु नै दुसित भएमा स्वच्छताको परिकल्पना गर्नु गलत हुने धारणा राख्छन् । मुहान सफा नभए सम्म तलको फोहोर सफा गरेर स्वच्छता नआउने भन्दै तिमिल्सिना भन्छन् – राम्रो काम गर्ने ब्यक्तिलाई पुरस्कृत गर्ने भन्दा पनि पुरस्कार किन्ने सँस्कार समाजमा व्याप्त छ । बिकृती र बिसंगतिका बिच बिकृति बिरुद्ध काम गरिरहेको बताउने तिमिल्सिना सच्चा नागरिकको भुमिका निर्वाह गर्न पाएकोमा सन्तुष्ट छन् । शिक्षा क्षेत्र पबित्र क्षेत्र हो भन्ने कुरा बुझेका प्राध्यापकहरुबाट नै शिक्षालाई ब्यापारिकरण गरिएको भने तिमिल्सिनालाई पटक्कै चित्त बुझेको छैन । हरेक सरकारी क्याम्पसका स्थायी प्राध्यापकहरुको लगानी निजि क्याम्पसमा छ, तलब सरकारी क्याम्पसबाट बुझ्ने थप पैंशा कमाउने लोभमा निजि क्याम्पस खोल्दा शैक्षिक क्षेत्रमा बिकृती पलाएको उनको बुझाई छ । आफुले कुनै पनि निजि क्याम्पसमा लगानी नगरेको र पढाउन समेत हाल सम्म नगएको र नजाने उनी बताउंछन् ।
नेपालमा दण्डहिनताको अभावका कारण बिकृतीले जरा गाडेको निष्कर्ष निकालेका तिमिल्सिना क्याम्पसलाई राजनीतिकरणबाट टाढा राख्नुका साथै, राजनीतिक दलहरुका भातृ संगठनहरु क्याम्पसमा नहुने व्यवस्था मिलाउनु जरुरी रहेको बताउँछन् । सरकारी प्राध्यापकहरुलाई निजि क्षेत्रमा लगानी गर्न निषेध गरि सबै प्राध्यापकहरुका छोरा छोरीहरुलाई सोही क्याम्पसमा पढाउने नियम कडाईका साथ लागु गरेमा मात्र सरकारी क्याम्पसमा सुधार हुन सक्ने उनको भनाई रहेको छ ।
झण्डै दुई दशक बढी समय त्रिभुबन बिश्व विद्यालय अन्तरगत क्याम्पसहरुमा प्राध्यापन गरिसकेका तिमिल्सेना २०५७ सालमा महेन्द्र बहुमुखि क्याम्पसको प्राध्यापक भएकै बेला सुशासनको क्षेत्रमा काम गर्ने उद्धेश्यले स्थापना गरिएको बागेश्वरी असल शासन क्लब (बास) को स्थापना ताका देखि हाल सम्म सहयोग गर्न पाउँदा गौरवान्वित भएको बताउँछन् । उनी भन्छन्– बासले सामाजिक परिवर्तन र भ्रष्टाचार बिरुद्ध देश ब्यापी रुपमा अगाडी बढेको र युवाहरुलाई सत्मार्गमा लाग्न अभिप्ररित गरेको देख्दा निकै खुसी छु ।
नमिठो अनुभवको कल्पना नै नगर्ने र नराम्रो भित्र राम्रो खोज्ने प्रबृती सबैमा हुनु पर्ने उनको भनाई रहेको छ । सबैले आ–आफ्नो कर्तब्य पुरा गरेमा र सदाचारी भई काम गरेमा सबै तिर शान्ति र सुशासन कायम हुने भन्दै सबै युवाहरुलाई आजै देखि बिकृती बिसंगति बिरुद्ध लाग्न उनी अपिल गर्दछन् ।
प्रश्तुती ः हेमराज भट्ट