लमजुङ्ग जिल्ला बेसिशहर नगरपालिका वडा नम्बर ११ स्थायी घर भएका केबी मसाल स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष हुन् । बि.स. २०१२ चैत्र २५ गते स्व. बुवा महानिधि तिवारी र स्व. आमा ज्ञान कुमारी तिवारीको कोखबाट जन्मिएका मसालले सानै देखि देशका विभिन्न जिल्लाहरु पुग्ने अवसर प्राप्त गरेका थिए । मसालका बुवा सरकारी जागिरे भएका कारण उनी सानै उमेर देखि बुवासँगै विभिन्न जिल्ला पुगेका थिए । प्रारम्भिक कक्षा सम्मको अध्ययन जिल्लामै गरेका मसालले २०३५ सालमा बिज्ञान बिषयमा स्नातक गरे पछि २०३६ सालमा लोक सेवा आयोगबाट शाखा अधिकृतको पदमा निजामति सेवा प्रबेश गरेका थिए ।
बाल्यकाल देखि नै देशका विभिन्न जिल्लाहरुमा घुमेका मसालको ध्यान ओझेलमा परेका देशका महत्वपूर्ण पर्यटकिय स्थलहरु तर्फ गयो र उनी सोही बिषयमा अध्ययन गर्न थाले । नयाँ—नयाँ ठाँउ घुम्ने र लेखन तर्फ अभिरुचि बढ्दै गएपछि निजामति कर्मचारीको रुपमा जिम्मेवारी सम्हालेका उनको निजामती सेवाको यात्रा लामो समय टिक्न सकेन । निजामति सेवा असहज भएपछि उनी निजामति सेवा छाडेर २०४४/०४५ साल देखि पत्रकारिता पेशा अंगाल्न पुगे । पत्रकारिता पेशामा संलग्न भएसँगै उनको पहिचान बढ्दै गयो भने निरन्तरको लेखाईले उनमा निखारता ल्यायो । सामाजिक क्षेत्रमा समेत लगाव बढ्दै गएपछि उनी विभिन्न सामाजिक संस्थाहरुमा आबद्ध भई सामाजिक कार्यमा ब्यस्त हुन थाले ।
उनले शुरुवातका दिनहरुमा पत्रकारिता गर्दै गर्दा २०५० सालमा लमजुङ्गको विकास निर्माण सम्बन्धी उनले एउटा लेख लेखेका थिए जुन लेख तत्कालिन गोरखापत्रमा प्रकाशित भएको थियो । आफुले लेखेको लेखले गोरखा पत्र जस्तो राष्ट्रिय स्तरको सरकारी पत्रिकामा प्रकाशित भए पछि उनलाई पत्रकारिता र लेखनमा थप उर्जा प्राप्त भयो । गोरखा पत्रमा आफुले लेखेको लेख प्रकाशित भएपछि निकै उत्साहित भएका मसाल घर जाँदा त्यो पत्रिका झोलामा हालेर लगेको अनुभव सुनाउँछन् । उनको प्रकाशित लेख देखेपछि गाउँका शिक्षकहरु लगाएत साथिहरुले बधाई दिएको उनलाई अझै सम्झना छ ।
प्रदेश नम्बर ५ को दाङ्गमा बसोबास गर्दै अभिछिन्न रुपमा पत्रकारिता पेशालाई अगाढी बढाएका उनी २०६१ सालमा नेपाल पत्रकार महासँघ दांगको अध्यक्षमा निर्वाचित भएका थिए । उनले दांगबाट प्रकाशित हुने राप्ती समाचार पत्रिकाको प्रकाशक÷सम्पादन को रुपमा जिम्मेवारी सम्हालि सकेका छन् । झण्डै तिन दशक देखि पत्रकारिता पेशामा संलग्न रहेका मसालल पञ्चायत कालको पत्रकारितालाई असहज ठान्छन् । विकासको क्रमसँगै पत्रकारितामा समेत सुधार हुदै गएको बताउने मसाल २०४६ साल यता पत्रकारितामा विकासको चरण शुरु भएको बताउँछन् ।
पत्रकारिताको विकाससँगै स्वच्छ र निष्पक्ष पत्रकारिताको अभाव भएकोमा भने उनको चित्त बुझेको छैन । पत्रकारिता पेशा मर्यादिन नहुको पछाडी राज्यले पत्रकारलाई हेर्ने दृष्टिकोण समान नभएको उनी बताउँछन् । उनी भन्छन्— देशको दुर्गम क्षेत्रमा रही निकै समस्याका बावजुत पत्रकारले पत्रकारिता गरिरहेको हुन्छ तर सरकारी सम्मान तथा अनुदान उपत्यका बाहिरका पत्रकारले पाएको देखिदैन जुन सरकारको पत्रकार प्रतिको दृष्टिकोण फरक हुनुको उपज हो । पत्रकारहरुको हक हितका लागि गठन गरिएको नेपाल पत्रकार महासँघको कामको बारेमा सोध्दा भन्छन्—पत्रकार महासँघ गैरसरकारी संस्थाको रुपमा चलेको छ । महासँघले अलि पहिले शाखा सशक्तिकरण लगाएतका राम्रा कामहरु गर्दथ्यो तर अहिले पूर्ण रुपमा त्यो देखिदैन । उनी भन्छन्—पत्रकार महासँघले पत्रकारहरुको हक हितमा काम गर्नु पर्दछ ।
बि.स. २०७५ साल देखि स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय अध्यक्ष भई काम गरिरहेका मसाललाई स्वतन्त्र पत्रकार सँघको आवश्यकता बारे भन्छन्— निष्पक्ष र स्वतन्त्र पत्रकारिताका लागि स्वतन्त्र पत्रकार सँघको आवश्यकता छ । पत्रकार स्वयम नैतिक बन्धनमा बाधिनुपर्ने तर्क दिदै पत्रकार महासँघको विधान निकै फितलो र समय अनुसार परिमार्जन समेत नहुँदा गलत प्रबृतीहरु हावि हुदै गएको उनी बताउँछन् । अधिकांश पत्रकारहरु राजनीतिक आस्था लिई खोलिएका संगठनहरुमा आबद्ध भएपछि त्यो भन्दा बाहिर रहेका पेशागत पत्रकारहरुले निष्पक्ष र स्वतन्त्र ढंगले पत्रकारिता गर्ने उद्धेश्यले स्वतन्त्र पत्रकार संघको स्थापना गरि काम गरिरहेको उनको भनाई थियो । उनी भन्छन् —स्वतन्त्र पत्रकार संघले परिवर्तन गर्न खोजेको छ ।
पत्रकारले गलत कामको पर्दाफास गर्ने हो अर्कालाई दिशा निर्देश गर्ने हो तर हाल पत्रकारिता सम्बद्ध संगठनहरुमा सुशासन हात्तिले देखाउने दाँत जस्तै भएकोछ —उनी भन्छन्— बाहिर भ्रष्टाचार बिरुद्ध आवाज उठाउने तर आन्तरीक रुपमा भ्रष्टाचार मा लिप्त हुने प्रबृती बढ्दै गएकोछ । सञ्चार विना समाजको परिकल्पना नै गर्न नसकिने भएकाले पत्रकारिता पेशामा योग्य र ईमान्दार युवाहरुको खाँचो रहेको उनको भनाई छ । अध्ययन बिना पत्रकारिता सम्भव नहुने भएकाले शिक्षीत ब्यक्ति पत्रकारितामा आउनु पर्ने उनी बताउँछन् । अहिले खोजी पत्रकारिताको अभाव रहेकाले नैतिक रुपमा जिम्मेवार भई पत्रकारिता पेशामा सबै पत्रकार लाग्ने हो भने पत्रकारिता ब्यवस्थित हुने भनाई मसालको रहेको छ ।
चार भाई र दुई दिदि मध्ये परिवारका जेठा मसाल हाल सम्म रक्तदान केन्द्र दाङ्गको सँस्थापक संयोजक, द्धन्द्ध मानवअधिकार संरक्षण प्रतिष्ठान नेपालको संस्थापक अध्यक्ष, स्तम्भकार समाजका अध्यक्ष, पत्रकार महासंघ दाङ्गको पूर्ब अध्यक्ष, नागरिक संस्थाको अध्यक्ष, जिल्ला स्तरीय पर्यटन समितिको सदस्यको जिम्मेवारी सम्हालि सकेका छन् । नेपालका ७७ वटै जिल्ला घुमिसकेको बताउने मसालले सबै जिल्लाको अवलोकन पश्चात अहिले आएर पर्यटन लेखन कार्यलाई अगाडी बढाई रहेका छन् ।
उनले देशका सबै प्रदेशहरुमा रहेका प्रमुख प्रर्यटकिय स्थलहरुको बिषयमा कलम चलाई सकेका छन् । देशका सबै ७ ओटै प्रदेशमा ओझेलमा रहेका पर्यटकिय स्थलहरुको संगालो पुस्तक प्रकाशनको तयारीमा आफु रहेको उनले बताए । आफ्नो तयारीको बारेमा बताउँदै मसाल भन्छन् — गण्डकी प्रदेशका पर्यटकिय गन्तब्यको पुस्तक प्रकाशनको तयारीमा रहेको छ । प्रदेश नम्बर ५, कर्णाली प्रदेशका पर्यटकिय स्थलको चिनारी सहितको सामाग्री तयार गरिरहेकोछु ।
नेपाल बाहिर क्यानडा, अमेरिका, जर्मनी, फिलिपिन्स लगायत दर्जन बढी देशहरुको भ्रमण गरिसकेका मसाल नेपाल र बिदेशको मिडियाहरुको फरकका बिषयमा भन्छन्—बिदेशका मिडियाहरुमा सरकारी लगानी रहनुका साथै श्रोतले सक्षम रहेको आफूले पाएको बताउँछन् । उनी भन्छन्— नेपालका सञ्चार गृहहरुमा आवश्यक श्रोतको कमी छ त्यसैले नेपालका सञ्चार माध्यम र सञ्चारकर्मीहरुको भविष्य उज्वल देखिदैन ।
सामाजिक परिवर्तनका लागि काम गर्ने हो पुरस्कारका लागि होईन भन्ने सोचाई राख्ने मसालले नेपाल पत्रकार महासँघ दांग शाखाद्धारा प्रदान गर्ने प्रतिमा पुरस्कार प्राप्त गरिसकेका छन् । पछिल्लो समय भागभण्डाको आधारमा पुरस्कार बितरण भईरहेको बताउने मसाल काम नगरेरै पुरस्कार थाप्ने प्रबृतीको अन्त्य हुनुपर्ने बताउँछन् ।
द्धन्द्धको समयमा शान्ति पुरस्कार प्राप्त गरेको मसाल स्थानीय सरकारहरु अलमलमा परेको बताउने मसालको आगामी योजना पर्यटकिय स्थलहरुको अवलोकनसँगै लेखनमा बिताउने भाबी योजना छ । योजना सफल रहोस् हार्दिक शुभकामना ।
प्रश्तुती : हेमराज भट्ट