– छबिलाल सुनार –
कोरोना रोगको संक्रमणबाट निको हुनेको संख्या ३ लाख भन्दा बढि छन्, नेपालमा हाल सम्म कुनै दुःखद समचार सुन्न परेको छैन । तर जोखिका क्षेत्रहरु ज्यूँका त्यूँ छन् । कोरोना भाईरस विरुद्धको एकता र हौसला बाट मात्र यो लडाई सम्भव छ, स्वास्थ्यकर्मीहरु, शुरक्षाकर्मीहरु, फोेहर व्यवस्थापनमा खटिएका जनशक्ति, तरकारी वितरक, पानी वितरक, किराना, डेरी पसले, संचारकर्मीहरुले पल पलमा कोरोनासंग जुध्नुपरेको छ ।
विदेशमा रहेका नेपाली र विदेशको भयावह अवस्थाले हामीलाई साँच्चिकै भावुक बनाएको छ । तथापी, कोरोनालाई जितेका पनि थुपै उदाहरणहरु हाम्रो अगाडी छ । यतिखेर विदेशमा रहेका नेपालीहरु असहज जीवन यापन गरिरहेका छन् ।
गैर आवासिय नेपालीहरु कोरोनाबाट सजग र सचेत हुनुपर्ने देखिन्छ । नेपालका अधिकांश नागरिकहरु विश्वका विभिन्न मुलुकहरुमा गएर जिविकोपार्जन गर्नुपर्ने बाध्यताले बिदेशी भूमीमा छन् । छिमेकी देश भारतबाट फर्केका नेपालीहरु महाकालि नदि तरेर नेपाल प्रवेश गर्नुपर्ने र नेपाल भूमीमा आईसकेपछि अपराधि जस्तो व्यवहार सहनु पर्ने बाध्यताले पिरोलिएका छन् ।
कुनै पनि आफ्ना नागरिकलाई संरक्षण गर्नुपर्ने कर्तव्य राज्यको हुन्छ जुन संविधानले सुनिश्चीत गरेको हुन्छ । तर यस कुरामा सरकार चुकेकोछ । अर्काे आश्चर्य लाग्दो कुरा कोरोना परिक्षण, सामाग्री खरिद प्रकृया, राहत वितरण प्रकृया अपारदर्शी र गैरजिम्मेवारीपनका नमुना हुन् ।
बैदेशिक सहायता र बैदेशिक रोजगारीले टिकेको हाम्रो देश अहिलेको विषम परिस्थितिका कारण झन पछि पर्ने निश्चित छ । यो कोरोना कहरका कारण हजारौ नेपालीहरुले रोजगार गुमाउनुपर्ने अवस्था श्रृजना भएको छ । यसबाट विश्व अर्थतन्त्रसंग संगै नेपालको अर्थतन्त्रमा ठुलो प्रभाव पार्ने देखिन्छ । विश्वबजारमा रहेका नेपालीहरुको संरक्षणका लागि निरन्तर समन्वय गर्न जरुरी छ ।
नेपालको अर्थतन्त्र र जिविकोपार्जनमा परनिर्भर हुनुपर्ने क्षेत्र भने कृषि र निजि क्षेत्र हो । कृषि क्षेत्रमा कोरोनाको प्रभावलाई कम गर्न कृषि मजदुर, कृषक, र कृषि क्षेत्रलाई सहयोग गर्ने गरि सरकारले भुमिका निर्वाह गर्नु पर्दछ । कृषि क्षेत्रलाई सहयोग पुग्ने गरि हाल केही स्थानीय तहहरुले कृषि एम्बुलेन्स संचालनमा ल्याएका छन् । कृषिजन्य उत्पादन संग, संगै कृषि जन्य दैनिक उपभोगका बस्तुहरु, दुध जन्य उत्पादन, तरकारी, फलफुल खाद्यन्नको सहज रुपमा खपत र बजारीकरण हुन नसकेको अवस्था छ । बजार क्षेत्रमा नियमित रुपमा यस्ता बस्तु तथा सेवाको निर्यात र सहज उपलब्धता हुन सकेको छैन ।
अर्थतन्त्रलाई व्यवस्थीत गर्दै राज्यलाई यथास्थितिमा ल्याउने योजना बनाई कार्यान्वयन गर्नुनैं अहिलेको आवश्यकता हो । पाउरोटी उद्योग, खाद्य तथा फलफुल, तरकारी र दैनिक उपभोगका बस्तु तथा सेवा उत्पादन गर्ने उद्योग, कलकारखाना र व्यवसायहरु लामो समय सम्म बन्द हुँदा उत्पादन र वितरण चक्रमा असर परिरहेकोछ । जसले अर्थतन्त्रमा नोक्सान हुनुका साथै अत्यावश्यक बस्तुको अभावमा समस्या परेको छ ।
अहिलेको अवस्थाले स्वास्थ्य, शिक्षामा ठूलो समस्या पारिरहेको छ ।लक डाउनका कारण सबै क्षेत्रहरु प्रभावित छन् । सबै भन्दा बढि मारमा गरिव बर्ग छन्, कोरोनाको कहर त एका तिर छँदैछ, खान नपाएर मर्ने स्थिती सिर्जना हुन थाल्यो । लक डाउन बढ्दै जाँदा निम्न बर्गका व्यक्तिहरु मात्र होईन, मध्यम बर्गका व्यक्तिहरुलाई समेत जीवन यापन गर्न असज हुने स्थिती सिर्जना हुँदैछ ।
अव तीनै तहका सरकारले हरेक नागरिकको स्वास्थ्यको नैसर्गिक अधिकारको सुनिश्चीत गर्न कोरोनाको विरुद्धको अभियानलाई प्रभावकारी र गुणस्तरिय बनाउँदै लैजानु पर्दछ । केवल लक डाउनमा मात्रै अन्तिम उपाय होईन । शारिरीक दुरी कायम गर्दै उच्च सर्तकता अपनाउँदै बढि संबेदशनशिल क्षेत्र बाहेकका क्षेत्रहरुमा अव लक डाउनलाई बिस्तारै हटाउनु पर्दछ तर सिमा भने तत्कालै सुचारु गर्नु हुँदैन ।
सचेतनाका सबै तरिकाहरु अवलम्वन गर्दै कोरोना प्रभावबाट प्रभावितका लागि प्रभावकारी रुपमा राहत व्यवस्थापन गनुपर्दछ । अत्यावश्यक उद्योग, कलकारखानहरु विस्तारै खोल्नु पर्दछ । परीक्षणको दायरालाई फराकिलो बनाउँदै उपचारलाई प्रभावकारी बनाउनुका साथै राहतलाई प्रभावकारी र पारदर्शी बनाउन जरुरी छ ।