दश महिना पेटमा बोकी दशधारा पियाई दूध पनि ।
खुवाउँछिन् फकाई फुलाई तिनलाई कोखा र कोखा भनी ।।
आफू ति रहलिन् भोकै पनि कतै दुःख नमानी बरु ।
केही छैन जगतमा खुशी मतारीलाई सन्तान भन्दा अरु ।।
खुवाई पियायी बोकेर पिठ्युँमा कामै गर्दामा पनि ।
राख्दिनन् भुमीमा दुःख हुँदा पनि लौ बाबु बस भनी ।।
रुन्छिन् आमा सधै धुरु धुरु सन्तान काख छोडी जाँदा महा ।
जो बिना उनलाई ठुलो पीडा हुने संसार शुन्य यहाँ ।।
आमा हुन् जगमा सृष्टि गरिदिने भाग्य बनाइदिने ।
बढाइ, पढाई, ठुलो बनाएर के छ र उनले लिने ।।
ठूलो होउ चिरायु होउ तिमी भनी दिन्छिन आशिर्वाद पनि ।
तिम्रा ती पथ सुमार्गमा बढिरहुन् देख्न म पाउँ भनी ।।
छोरा हुन् या छोरी सबै बराबरी कोहि छैन उचनिच अनि ।
देख्छिन् सब सन्तति अति साना वृद्ध हुँदामा पनि ।।
हे आमा तिमिले पाएर अति दुःख जन्म मलाई दियौ ।
पालन पोषण र शिक्षा दीक्षा दिदा सन्ताप धेरै लियौ ।।
जन्मै लिई मैले केही गर्न नसकी ब्यर्थै भएछु यहाँ ।
ममतामयी मेरी मुमा कन फेरि देख्नै म पाउँला कहाँ ।।
खोजेमा सब चिज मिल्ने छ बरु सम्पुर्ण संसार महा ।
जन्माई दश धारा दूध चुसाउने मुमा खोजेर पाउनु कहाँ ।।
गल्ती भो क्षमादान पाउँ हे जननी छोरी अनाथ हो भनी ।
बिन्ती गर्दछु बस्न म पाउँ फेरि पबित्र कोखमा पनि ।।
पछुतो मनमा भएर अहिले तड्पी रहेछु यहाँ ।
दश धारा दुधको भारा पनि कठै तिर्नै नसक्दा महा ।।
यहि लोक औ परलोकमा हजुरको यश, कृति फैलिरहोस् ।
आत्मा शान्ति रहोस् मुमा हजुरको बैकुण्ठमा बास होस् ।।
– रमा देबी शाह
पूर्ब शिक्षक, अछाम
हाल : नेपालगञ्ज, बाँके