– दिला शाह –
मेरा सबै साथीहरूलाई नमस्कार । सबैलाई हृदयदेखि नै सम्झेको छु । तपाईहरुलाई कस्तो छ ? सबैजना सचेत भई आफ्नो सुरक्षा गर्नुहोला । म गत चार दिन देखि आइसोलेसनमा छु । यो ठाउँबाट मेरा साथीहरू आफन्त सबलाई अझ धेरै सम्झेको छु । तपाईंहरु मलाई चिन्नु हुने सबै सबै ब्यक्तित्वहरु भनेको मेरो घरको परिवार हो । परिवारसँग केही कुरा पनि लुकाईंदैन । फेरि यो लुकाउने कुरा पनि होइन त्यसैले आज मेरो अवस्थाको बारेमा भन्न मन लाग्यो र सम्पूर्ण बस्तुस्थितिको बारेमा जानकारी दिदै छु ।
भुसको आगोजस्तो भित्र भित्रै सल्किरहेको कोभिड १९ को आगोको झिल्कोले मलाई पनि छोइसकेछ थाहै भएन । अचानक पोजेटिभ रिपोर्ट आउँदा आफुले टेकेको जमिनमा भुँइचालो आएको जस्तो भयो । पत्याउनै गाह्रो भयो तर पनि सत्य सत्य थियो । कि त विज्ञानलाईनै बिश्वास गर्न भएन न त सत्यलाई स्विकार्नु सिवाय अर्को विकल्प थिएन । घरमासँगै बसेका, सँगै सुतेका, खाएका, खेलेका साना बच्चाहरु आत्तिएर रुन थालेका थिए । स्वास्थ्यकर्मीले फोन गरेर छिटोभन्दा छिटो आईसोलेसनमा आउनुपर्छ भनेपछि यहि २४ गते राति ८ः३० को समयमा म घरबाट निक्लिएँ । सानो छोराले आँसु पुछ्दै गेट सम्म पुगेर बिदाई गर्यो । ठूलो छोरा बाहिर निस्कनै सकेन । भित्र बाटै ढोकाको साइडबाट मम्मी बि केयर फुल, हाम्रो चिन्ता नलिनु, आफ्नो केयर गर्नु । भाइलाई म सम्हालेर राख्छु भनेर भन्यो । उसले मलाई हिम्मत दिदै थियो, आफ्नो दर्द लुकाउने कोसिश गर्दै थियो । शायद उसले पनि दुई हातले आँशु पुछ्दै थियो होला । आमा हुँ सन्तानको पीडा सहजै महसुश गरेकी थिएँ । तर पनि म लाचार र बिवश थिएँ । पापी कोरोना प्रति रिस उठेको थियो । यो साँझमा गुडमा बसेका बचेरासँग छुट्टिनुपरेको चरी झै एकदमै निरीह आफुलाई महशुस भईरह्यो । केही हुँदैन मलाई राम्रोसँग बस ल, भन्दै म घरबाट हिंडे । पानी पर्ला जस्तो आकासमा कालो बादल थियो ।
निषेधाज्ञा जारी भएकोले होला वातावरण एकदमै सुनसान थियो । तर मेरो मनमा भने धेरै ठूलो सुनामी आएको थियो । आकासतिर हेरे ताराहरु उदाएका थिएनन् । कालो रात त्यसैमा बादल त्यो भन्दा पनि घना बादल मेरो मनमा लागेको थियो । स्कुटीको स्पिड एकदमै स्लो थियो । अलि अगाडि आएर घरतिर हेरेर धेरै बेर सम्म रोएँ । आइसोलेसन तिर जान मन मानेकै थिएन । अरुबेला भने सुनसान सडकमा ड्राइभिङ्ग गर्न अत्यन्तै रमाउने मान्छे म त्यो दिन एक्सिलेटर बेटार्न मनै लागेन । आफुलाई केलाएर हेर्छु । कहिकतै दुखाई थिएन । बिरामी हुँ जस्तो मनमा लाग्दै लागेन । फर्किएर घरको दैलोमै जाऊ र बेचैनीले आत्तिएका ती बचेराहरुलाई अङ्गालो हालेर सुतौ कि ? जस्तो लाग्यो । बिना कसुरको अपराधी जस्तो । जेलमा जाँदैछु कि, जस्तो नमिठो अनुभुती भइरह्यो । अगाडि बढ्न मनै थिएन । तर उताबाट स्वास्थ्यकर्मीको फोन लगातार आईरहेको थियो । नौ बज्न लागिसक्यो तपाईं कतिबेला पुग्नुहुन्छ भनेर ।
एक पटक फेरि अनुरोध गरें –सर मलाई होम क्वारेन्टाईनमा बस्न दिनुहोस् न है । उताबाट अलि रिसाए जस्तो आवाजमा उत्तर आयो– अहँ हुँदैन । होम क्वारेन्टाइनको ब्यवस्था छैन । अहिलेसम्म अनुमति दिएको छैन । तपाईंलाई कसरी दिने ? बरु छिटो आऊनुस् । त्यसपछि म अघि बढ्नुको बिकल्प भएन । अरुबेला पाँच मिनेट पनि नलाग्ने बाटो हजारौं माइल लामो जस्तो लाग्यो । क्वारेन्टाइनको पहिलो रात आत्मअनुभुतिमै बित्यो । बार बार हजारौं बार आफुलाई कसरी कोरोना लाग्यो होला ? भनेर सोचिरहें । कतिपय साथीहरूले थाहा पाइसकेका रहेछन् । म्यासेन्जर र फोनमा कुरा गर्नुभयो । पछि बार बार एउटैमात्र कुरा गर्न उचित लागेन र फोन स्वीअफ गरेर राखेँ । फेरि सानो बाबुको याद आउँथ्यो र फोन अन गर्थें । उनीहरुको अगाडि हाँसेको अभिनय गर्थें । सानो छोराले आँसु पुछ्दै गेट वेल सुन मम्मी भन्थ्यो फोन काटेपछि बेस्सरी रुन्थें ।
पहिलो रात अनेकौं अनुत्तरित प्रश्नहरु आफुले आफैलाई गरिरहें । केही पश्चाताप केही आत्म ग्लानी, केही बेचैनी, छट्पटी र सान्तोना यसरी नै बित्यो । बिहान ढोकाको बेल बेस्सरी बजिरहेको थियो उठे । फोहोर उठाउने भाइ आएको रहेछ । बच्चाहरूलाई हेरे अनलाइन थिएनन् । नुवाईधुवाइ सकेर योगा ध्यान प्रणायाम गरें । मनमनै सोचिरहें यति धेरै योगाभ्यास गर्दा पनि मलाईनै कोरोना किन ? भाइरसले आक्रमण गरेर आइसोलेसनमा आउँदा धेरै धेरै पटक घन्टौंसम्म घोत्लिएर आत्म मुल्यांकन गरें । कहाँ कहाँ गएँ ? को कोलाई भेटें ? को सँग थियोे होला भाइरस ? कसरी पस्यो होला मेरो भित्र ? बिगत तीन चार महिना देखिका धेरै स्थान, वातावरण र परिस्थितिलाई नियाल्ने कोशिस गरें । अह स्पस्ट चित्र र चित्त बुझ्दो जवाफ पाउन सकिन र आफैमा चुपचाप अनुत्तरित भएँ । मनमा हरपल सकारात्मक सोचलाई प्राथमिकता दिनुपर्छ भन्ने सोच्दा सोच्दै पनि हजार बार मनले नेगेटिभ कुरा सोचिहाल्ने । यो मनको प्रकृतिलाई पनि बुझ्नै गाह्रो हुनेरहेछ ।
कोभिड १९ को त्रासले तर्साएको मात्रै थियो तर अहिले प्रत्यक्ष हमला गरिरहेको छ । यो सुनसान एक्लै कोठाभित्र म अनेक कुराहरू सोच्दै गर्दा कोरोना भाइरस यतै कतै चारैतिरबाट मलाई नै हेरेर हाँसीरहेको जस्तो महसुुस गर्छु । म भन्ने गर्थें दह्रो आत्म विश्वास र सकारात्मक सोचाइ भयो भने कोरोनाले हामीलाई छुनै सक्दैन । मेरो यो भनाइ उपर विजय हाँसिल गरेकोमा कोरोनाले आफ्नो जित उपर जस्न मनाए जस्तो महशुस गर्छु । हरेक दिनका चौबीस घन्टा भित्रका अनगिन्ती बेचैनी र छट्पटीहरुलाई म गन्ती गर्न सक्दिन र ती अनुभुतीहरुलाई ब्यक्त गर्न प्रर्याप्त शब्दहरु पनि म सँग छैनन् । यस्तै अनेकन तर्क बितर्क र छट्पटीसँगै पनि आफुमा उच्च मनोबल राख्दै आइसोलेसनका कठिन दिनरातहरु बिताईरहेकी थिएँ ।
आइसुलेसनको तेस्रो रात अबेरसम्म नेट चलाए । घर परिवारसँग कुरा गरें । धेरै साथी शुभचिन्तकहरुले हालखबर सोधिरहनु भयो । स्वास्थ लाभको कामना गरिरहनु भयो । सुस्त सुस्त अब आइसोलेनका रात र दिनहरुमा आफुलाई अभ्यस्त बनाउँदै थिए । आइसोलेनके तेस्रो रात अत्यन्तै भयावह भयो मेरो लागि । रातको तीन बजेको रहेछ । पछि थाहा भयो । मलाई होस आउँदा म पसिना पसिना भएको थिए । मुटुमा प्वाल नै परे जसरी दुःखिरहेको थियो । टाउको एकदमै भारी भएको थियो । यसी लगाएको कोठा चिसो थियो तर पसिना खलखली बगिरहेको थियो । कोल्टो परेर उठ्न खोजे सक्दै सकिन । मुटु यसरी दुःखिरहेको थियो कि, भित्र कसैले तिखो छुरीले धेरै टुक्रा पारेको छ । चिनको वुहान सहरमा कोरोना लागेर मरिरहेका मान्छेहरुको कारुणीक दृश्य देखेको छाप शायद मनमा गहिरोसँग बसेको रहेछ क्यारे । मैले आफुलाई त्यतै कतै भएको जस्तो महसुश गरें । घाँटीमा पहलमानको बलियो हातले अठ्याँएको जस्तो श्वासप्रश्वास रोकिएको थियो । शरीरका नशाहरु बाउँडिएका थिए । रक्तसञ्चार रोकिएझै भएको थियो । हात खुट्टाका नशाहरु फुलेर मोटो मोटो भएका थिए । बल्लतल्ल उठेर स्वास्थ्यकर्मीको नम्बरमा
कल गरे । तुरुन्तै फोन उठ्यो । म आत्तिएर एकै सासमा सबै कुरा सुनाऊ भन्थे तर सकिन । बिस्तारै सबै कुरा सुनाएँ । कत्ति पनि नआत्तिन आग्रह गर्दै एकैछिनमा दुईजना स्वास्थ्यकर्मीहरु आउनु भयो । लत्रिदै गएँ र ढोका खोलेँ । कोरोना उपचार युनिफर्म लगाएका दुई डाक्टरले मेरो सम्पूर्ण शारीरिक अवस्थालाई चेक गर्नुभयो । मनमा धेरै कुरा खेलाएर आत्तिएको कारण तपाईंलाई प्रेसर बढेको हो, निश्चिन्त भएर बस्नुस् भनेर सम्झाउनु भयो । दुईवटा गोली खान दिनुभयो ।
उहाँहरूलाई देखेपछि भने मलाई आत्म बिश्वास जागेर आयो । सेतै ड्रेसमा शरीरका सबै अंगहरु ढाकछोप गरेर, मास्क, पन्जा, चस्मा लगाएका ती स्वास्थ्यकर्मीहरूको पुर्ण चेहरा त मैले हेर्न पाएन तर दुबैजना महान ब्यक्तिहरुलाई साक्षात भगवानको रुपमा भने मैले अवश्य देखें । मनमनै भगवानसँग कृतज्ञ भएँ । त्यसरी रात दिन नभनेर खटिने स्वास्थ्यकर्मी प्रति नतमस्तक भएँ । वहाँहरुको परामर्श पछि सबै कुरा नर्मल हुँदै गयो । म आफुलाई सहजरूपमा पाएँ । पहिले जस्तो दुखाइ थिएन । मनमनै ती स्वास्थ्यकर्मीलाई धन्यवाद दिएँ जसले मलाई आइसोलेसनमा आउनुपर्छ भनेर दवाव दिनुभयो । उहाँहरुलाई पनि धन्यवाद दिएँ जसले कोरोना टेस्ट गर्न अनुरोध गर्नुभयो । नत्र के थाहा रु म ठीक छु भन्दाभन्दै भित्र भित्रै खोक्रो पनि भइसकेको हुन सक्थे । यति सुन्दर जीवनलाई बिना कारण अध्याँरोमै बिलिन बनाउन पथ्र्याे की ?
गीता सारले भन्छ – जे हुन्छ राम्रैको लागि हुन्छ । उक्त सत्य वचनको सार्थकता यत्रो जीवन काल सम्म पनि बुझेको रहेनछु । आफुलाई बच्चै छु कि ? जस्तो लाग्यो र एक्लै मुस्कुराएँ । म एक्लै हाँस्दै थिए, मुवाको फोन आयो । हेलो भन्न नपाउँदै मुवाको दर्दभरिएको आवाज मेरो कानमा पर्यो । उहाँ त रुन पो थालिस्यो । तिमीलाई कोरोना लागेछ । मलाई बिदेशबाट फोन गरेर थाहा पाएँ । कस्तो छ ? भन्न पनि भनिनौ । मन साह्रै आत्तिएको छ । चार बजेदेखि फोन गरेको स्वीच अफ मात्रै भन्छ । कस्तो छ ? बाबुहरु खै ? उफ ! आमाको मन म अवाक भएँ । जे नहुनु थियो त्यही भयो । उहाँहरुलाई पीडा हुन्छ भनेर नै मैले कसैलाई भनेको थिएन । तर अब केही बाँकी रहेन । आँसु त मेरो पनि झरिरहेका थिए । तैपनि आफुलाई सम्हालेर हाँस्दै हाँस्दै नरमल कुरा गरे । अनफुलाई केही नभएको कुरा कनफर्म गराएँ । उहाँको आशिर्वाद पाइसकेपछि झनै ताकत बढे जस्तो लागेको छ ।
यो बिचमा मलाई धेरै साथीहरूले सम्झनु भएको छ । मेरो सिघ्र स्वास्थ्य लाभको कामन गर्नुभएको छ । अप्ठ्यारोमा परेको बेला आफन्त साथीहरूको शुभेच्छा हौसला र मायाले बाँच्ने हिम्मत दिदोरहेछ । म सँग क्लोज कन्ट्याकमा रहेका सबै सबैले पिसिआर टेस्ट गराउनुहोला ढुक्क हुनलाई । तर मेरो कामना चाहिँ कसैलाई पनि पोजेटिभ हुन नपरोस्, सबैको रिपोर्ट नेगेटिभ आवस् । पोजेटिभ रिपोर्ट आउँदा नेगेटिभ हुनपर्ने यो रोगबाट सबैलाई चाँडोभन्दा चाँडो उन्मुक्ति मिलोस् । सारा संसार स्वस्थ होस् । फेरि पहिलेको जस्तै वातावरण रहोस् । विश्व नै कोरोना मुक्त होस् । पोजेटिभ परिणामको नेगेटिभ समयलाई शक्तिमा बदल्दै अगाडि बढ्न सक्ने शक्ति भगवानले प्रदान गरुन् ।
त्यो भयानक रात पछिको मेरो जीवन साह्रै सहज भएको छ । अब म आफुलाई एकदमै बलियो बनाउन प्रयासरत छु । जीवन के नै रहेछ र कसैले पनि घमण्ड नगरौं । आआफ्नो घरमा सुरक्षित रहौँ । भौतिक दुरी कायम गरौँ । कोरोना पोजेटिभ भएको ब्यक्ति र उसको घर परिवारको यतिबेला यसै पनि मन दुखेको हुन्छ । यस्तो समयमा ए फलानोलाई त कोरोना भए छ है भन्दै हुन्डरी मच्चाउँदै हिड्नु ठीक होइन । घरको दैलोमै गएर घरका ब्यक्ति बच्चाहरूलाई असर पर्ने गरेर भैलो खेल्नु ठीक होइन । यो अदृश्य भाइरस हो । सचेत रहँदा रहँदै पनि कहाँबाट कसरी कतिबेला शरीरमा प्रवेश गर्छ थाहा नहुने रहेछ । म त सुरक्षित छु भनेर ढुक्क बस्ने अवस्था छैन ।
कोरोना पोजेटिभहरुलाई खाना पानीको लागि जतिखेर पनि खटिएका ब्यक्तित्वहरुलाई धेरै धेरै सम्मान छ । स्वास्थ्यकर्मी जो आफ्नो ज्यु ज्यानको प्रवाह नगरी दिनरात रोगी बिरामीको सेवामा खटिनुभएको छ उहाँहरुलाई सम्मान गर्नको लागि शब्दहरु भेटेको छैन । जनहितको लागि आफ्नो हरेक दिनका चौबीसै घन्टा तल्लीन रहेर काम गरिरहेका सुरक्षा कर्मीको सम्मान गरौँ । स्थानीय सरकार उपमहानगरपालिकाका मेयर, उपमेयर ज्युहरुलाई सलाम छ । जो हरेक पल नगरबासीको स्वास्थ र सुरक्षाको लागि चिन्तित हुनुहुन्छ ।
बाँकेका जनताको स्वास्थ सुरक्षा र सहज जनजीवनको लागि आफ्नो ज्यानको बाजि लगाएर परेडमा उत्रिएका शुरक्षाकर्मी, प्रशासक, सैनिकले आफ्नो जिन्दगी अर्पण गर्नुभएको छ । उहाँहरुलाई सम्मान गर्ने उचित शब्दहरु अहिले मैले भेटिरहेको छैन । चिल्लो गाडीमा एक फन्को लगाएर दिनभर आरामको जिन्दगी बिताउन पनि त सक्नुहुन्थ्यो तर उहाँको आत्म स्वभाव र लगनशीलताले त्यो कुरा स्वीकार गर्दैन । उहाँहरुको अनवरत मेहनतलाई सम्मान गरेर हामीहरूले पनि आ–आफ्नो ठाउँबाट सहयोग गरौँ । हामी र हाम्रो लागि आफ्नो ज्यु ज्यान अर्पण गर्ने यस्ता नेपाल आमाका सन्तानहरुलाई सम्मान र हौसला गर्दै आ–आफ्नो ठाउँबाट सहयोग गरौँ । तोकिएको नियम र व्यवहारमा आफुले आफैलाई सजक राख्न सक्यौं भने । फेरि पनि हामी हाम्रो सुन्दर संसारमा रमाउन पाउँनेछौ ।