अभिराज क्षेत्री लागु औषध बिरुद्धका अभियन्ता हुन् । २०३८ भाद्र २१ गते बाल बहादुर र रम्भा के.सी. क्षेत्रीको काखबाट जन्मेका उनको बाल्यअवस्था सुखका साथ बितेको थियो । सम्पन्न परिवारमा जन्मेर होला उनको बाल्यकाल रवाफिलो तरिकाले बित्यो । हाईस्कुल सम्म पढ्दा उनले बिदेशबाटै ल्याएका लत्ता, कपडा लगाउँथे । राम्रो बन्नु पर्छ, ठूलो बन्नु पर्छ, रमाईलो गर्नुपर्छ भन्ने भावना उनमा थियो । उनको बालापनमा अभाव भएन तर उनको भावना बमोजिमको रमाईलो भने उनले गर्न पाएनन् । महेन्द्र नमुना उच्च माबिमा १२ सम्मको अध्ययन गरेका अभिराजले माध्यामिक तह सम्मको अध्ययन गर्ने क्रममा पढाई बाहेक अरु तिर ध्यान दिन पाएनन् । बिद्यालयको मेहेनेति, जेहेन्दार बिद्यार्थीको रुपमाख परिचित उनले कक्षा १ देखि १० सम्म कहिले चौथो हुनु परेन, तेस्रो, दोश्रो र प्रथम स्थानमा जहिले उनीसँगैका २, ३ जना सहपाठी बिच प्रतिष्पर्धा हुन्थ्यो ।
कक्षा ९ मा अध्ययन गर्दा बिद्यालयको शुल्क बुझाउन पालो पर्खन नसकेर घरबाट लिएको पैंशा अन्यत्रै खर्च गरेको थाहा पाएपछि आफ्ना वुवाले हात, खुट्टा बाँधेर घर नजिकको तलाउमा फ्याँकेको घटना उनको अविश्मरणिय क्षण हो । उनी भन्छन्–जेहेन्दार बिद्यार्थी म किन लाईन लाग्ने ? भन्ने दम्भका कारण आफु लाईन नलाग्दा बुवाबाट पिटाई खानु पर्यो ।
स्कुले जीवनमा केटा, केटी सँगै बस्ने, हिँड्ने, बोल्ने बाताबरण थिएन तर पनि उनलाई सँगै पढ्ने एक जना केटी साथि मन पथ्र्याे । मैले मन पराउने केटी साथीको नाम सँग जोडेर मेरो नाम साथीहरुले लेखेदिन्थे–अभिराज बिगत सम्झन्छन्–जसले स्कुलमा हङ्गामा मच्चिन्थ्यो । कतिपय केटी साथीहरुलाई मलाई सम्झाउँथे, तिमी जेहेन्दार बिद्यार्थी हौ, पढ अरु कुरामा ध्यान नदेउ भनेर ।
२०५३ मा एसएलसि उतिर्ण गरेका उनले २०५६ तिर बाणिज्य बिषयमा प्रबिणता प्रमाणपत्र तह उतिर्ण गरेका थिए । २०५३ सालमा एसएलसि परिक्षा दिने क्रममा बिद्यार्थीहरुलेनैं कोहलपुरको चटारमा बनभोज कार्यक्रम आयोजना गरे । उनका लागि यो जीवनको पहिलो बनभोज थियो । यस्तो दिन कहाँ आउँछ र ? भनेर उनी लगायत सबै उन्मुक्त भएर बनभोजमा रमाए । शिक्षक, अभिभावक सहभागि नरहेको सो बनभोजमा भारतिय चलचित्रको प्रभाव परेका बिद्यार्थीहरुले जे, जे मन लाग्छ त्यहि गरे । त्यहि क्रममा उनका केही साथिहरुले चुरोट र रक्सि खान दिए । उनले रमाईलो गर्न त आएको भन्दै चुरोटको पहिलो सर्काे ताने, रक्सिको चुस्कि मारे त्यहि सर्काे र चुस्कीले उनलाई लागु औषधको दल, दलमा पुर्यायो । लागु औषध प्रयोग गर्ने, नगर्ने नितान्त व्यक्तिगत कुरा हो –उनी भन्छन्–सँगतले केही हद सम्म फरक पार्ला तर निर्णय गर्ने आफैले हो ।
क्षेत्रीको जीवनमा बनभोजको रमझम सकियो, चुरोट र रक्सिको रमाईलो सकिएन । एक पटक खाएको त हो नि भन्दै चुरोट, रक्सि सेवन गर्ने क्रम जारी रह्यो । बिस्तारै दिनको ३, ४ पटक चुरोट नतानी नहुने भयो उनलाई । बिस्तारै उनी कुलतको दल, दलमा फसे । परिवार सम्पन्न, शिक्षित मात्र भएर हुँदैन, जागरुक, सचेत नभए सम्म सन्तति सहि बाटोमा नलाग्ने सम्भवाना रहन्छ । उनको जीवनमा पनि त्यहि भयो । महिलाले बच्चाहरु हेर्नु पर्दछ भन्ने भावना आफ्नो बुवामा रहेको अनुभव अभिराजको छ । उनी भन्छन्–थर्काउने, दण्ड दिने काममा मात्र आफ्नो बुवासँग भेट हुन्थ्यो, आफ्नो सबै रेखदेख आमाले गर्नुहुन्थ्यो ।
२०५४ साल तिरको करा हो, पढाईमा अव्वल भएका कारण उनको साथीले एसएलसिमा कम्पार्ट परिक्षा दिन लागेकि बहिनिलाई ट्युसन पढाउन आग्रह गरे । पढ्ने, पढाउने रुचि भएका कारण साथीको आग्रहलाई स्विकार्दै उनले ट्युसन पढाउन शुरु गरे । साथीकी बहिनीलाई ट्युसन पढाउँदा, पढाउँदै अभिराजको उनीसँग माया, प्रेम शुरु भयो । सो क्रम गहिरिदै गयो । कहिले कसो त उनलाई अभिराज भेट्न मध्यरात पनि उनको घर पुगिदिन्थे । दुबै एक, अर्कालाई माया गर्थे तर सो कुरा एक अर्कालाई भनिएको थिएन । यसरी डेढ बर्ष सम्म अव्यक्त प्रेम चल्यो ।
यसै क्रममा दशैंको बेला उनी पहाड घर गईन् । दशैंको अन्तिम दिन सम्म नेपालगञ्ज फर्किहाल्नु पर्ने उनी २, ३ महिना सम्म नफर्केपछि अभिराज बिरक्तिएर उनको खोजीमा काठमाण्डौं गए । केटी पक्षकाख नातेदारहरुको घर काठमाण्डौंमा भएकाले भेट्ने अभिलाशाका साथ राजधानी हानिएका अभिराजले सोचे जस्तो भएन । घण्टा बिते, दिने बिते, हप्ता बित्यो अभिराजकी प्रेमिका भेटिनन्, उनी निराश भए । १५ दिन सम्म उनको खोजीमा समय खर्चिदा पनि केही हात नलागेपछि बिद्यालयमा सँगै पढेको एक जना साथीको समिपमा उनी पुगे । चुरोट, रक्सिको लतमा सिमित रहेका अभिराजले पहिलो पटक साथीको सँगतमा सुईको माध्यमबाट लागु औषध लिए, ट्यावहरु मिलाएर खाए ।
लागु औषध प्रयोग गर्नेहरुको भावनात्मक सतह एकदम कमजोर हुन्छ–अभिराज भन्छन्–मेरो प्रेमको भावनालाई भुलाउन साथिले मलाई सुई लगाउन लगायो, मलाई पनि त्यस्तै लाग्यो । केही समय पछि उनी नेपालगञ्ज फर्किए । काठमाण्डौंमा सेवन गरिरहेको कडा खालको लागु औषध नेपालगञ्जमा पनि पाईन थालेपछि करिव २ बर्ष उनले त्यहि सेवन गरे । लामो समय टिकाउ रहने उक्त लागुऔषधले प्रेमको पीडा भुलाए जस्तो लाग्थ्यो उनलाई । एक दिनको कुरा हो, उनकी प्रेमिका नेपालगञ्ज घर आएको थाहा पाए । उनी खुसीले दौडेर घर पुगे । तर उनको खुसीको क्षण एकैछिनमा चकनाचुर भयो । उनले आफ्नो औंलाको औठि देखाउँदै I am engaged भनिन् । अभिराज अवाक भए, पहाड खसे जस्तो लाग्यो ।
केही प्रतिकृया नदिएर उनी सधैं मेडिकल गए त्यहि औषधिको शरणमा परे । उनी सँगै चलचित्र हेर्न गएको, पहिलो पटक उनसँग रेष्टुरेण्ट गएका सबै क्षणहरु अव सबै बिगत भए उनीहरुका लागि । ऐश्वर्या रानी जस्तो सम्झेर गाजल रुपि तिम्रो आँखा गित गाएको, बसन्ती उपन्यासको बसन्ति क्यारेक्टर देख्ने अभिराजको सपना सबै भताभुँग भए । केटीको बिबाह भयो । अभिराजले पींडामा यस्तो कविता लेखे – हृदयको क्षणिक घाउ हो, दुखाई मिठो, मिठो हुन्छ, जहाँ चिसो खरानीको पनि राप तातो, तातो हुन्छ ।
रहरमा लागु औषध शुरु गरेका अभिराजलाई प्रेमको असफलता पछि लागु औषध बाध्यता भयो । रुपैडिया जाने, आउने क्रम चलिरहँदा उनले कोरेक्स, ब्राउनसुगर सम्म सेवन गरे । त्यति मात्र होईन उनले यस क्रममा मोजको पानी, कालोपत्रे, पेट्रोल, स्प्रिट, तारकोल समेत खान भ्याए । जसरी भएपनि नशा लिनु उनको त्यसताकाको दैनिकि थियो । चिया, चुरोट, हलुवा, परौठा खाँदै रुपैडिया जाँदा ठाउँ, ठाउँमा बस्ने, रिक्शा बुक गर्ने, रिक्शावालालाई लुट्ने यि सबै कार्य उनबाट भए । त्यति मात्र होईन घरको धन, दौलत, भाँडा, कुँडा सबै सक्याएपछि अभिराजले लागु औषधका लागि चोरी, ठगि सबै गरे । चोरी, ठगि सम्भव नहुँदा उनलाई कसैले भरिया बनाएर पैंशा दिए हुन्थ्यो, किड्नी बेच्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । शान्त स्वभावका अभिराज क्रोनिक भएपछि झगडा, बबाल गर्ने व्यक्ति भए । यस क्रममा लाखौं रकम स्वाहा भयो ।
कसैले पनि नशा खाएर मर्छु भन्ने सोचेको हुँदैन, अभिराज भन्छन् –अति भएपछि अव सुध्रिनुपर्छ सोचें तर सम्भव भईरहेको थिएन । पहिलो प्रेमको असफलताले रन्थनिएका दोश्रो प्रेम शुरु गरे र दोश्रो प्रेमिकासँग २०५९, २०६० मा बिबाह गरे ।
२०६२, २०६३ कोे कुरा हो, लागु औषध खोज्न ढिलो भएको कारण स्कुल पढाउने श्रीमतीलाई स्कुल छोड्न जान अभिराजलाई ढिलाई भयो, उनी रिसाएर माईत गईछन्, अभिराज माईतै गएर फकाएर ल्याए । दुबै जनाको रुपैडिया जाने सल्लाह भयो, जस अनुरुप घरवारीटोलमा गएर खाजा खाएर रुपैडिया जाने उनीहरु दुई बिच कुरा भयो । अभिराज श्रीमतीलाई बाईकमा राखेर चारबाहिनि, त्रिभुवनचौक, घरवारीटोल हुँदै धम्बोझि पुगे । धम्वोझी पुग्दै गर्दा उनको मोटरशाईकललाई रुपैडियाबाट आउँदै गरेको ट्याँकरले ठक्कर दियो । मोटरशाईकल तल अभिराज, मोटरशाईकल माथि ट्याँकर भएपछि उनी ठूलो कालबाट जोगिए ।
प्रत्यक्षदर्शीहरु धेरै भएका कारण उनलाई ट्याँकरले व्याक गरेर मार्न पाएन । श्रीमति उछिट्टिएर टाढा खसिन, अभिराज रक्ताम्य भए, खुट्टा चुँडिने अवस्थामा पुग्यो, उनलाई तत्काल नेपालगञ्ज मेडिकल कलेज पुर्याईयो, बरिष्ठ चिकित्सकहरु कोही त्यहाँ नहुँदा उनलाई लखनउ पुर्याईयो, धेरै रगत बगेका कारण उनको अवस्था दयनिय बन्दै गएको थियो । लखनउको साहारा अस्पतालमा उनको उपचार गरियो, उनको दायाँ खट्टा काट्नु पर्यो ।
यति ठूलो दुर्घटना भएपनि अभिराजले लागु औषध छाडेनन्, धेरै उपचार गरे, पुर्नस्र्थापना केन्द्रहरुमा बसे उनमा सुधार आएन, धेरैले अभिराज सुध्रदैन भन्थें, उनी सम्झिन्छन्–पछि आफैमा सुध्रिनुको उपाय छैन भनेर प्रतिबद्धताका साथ पुर्नस्र्थापना केन्द्रहरुमा बसेर सुध्रिएँ । उनी सुध्रिन नसक्ने भनिएका अभिराज सबैका लागि उत्प्रेरणाको स्रोत बन्न सफल भए ।
उनले २०७० मा साहरा हाउस स्थापना गरे । जसबाट ८ सय बढिको उपचार गर्न उनी सफल भए । लागु औषध बिरुद्धको अभियन्ताको परिचय बनाएका अभिराज एक दशक देखि लागु औषध बिरुद्ध सशक्त रुपमा क्रियाशिल रहेका छन् । उनको क्रियाशिलतालाई समाजले सम्मान गरिरहेको छ । उनलाई नेपाल प्रहरी, राष्ट्रिय सेवा दल, सामुदायिक सेवा केन्द्र, बास, लाईन्स क्लब, राष्ट्रिय युवा परिषद, हिभ नेपाल लगायत संस्थाहरुले सम्मान प्रदान गरिसकेका छन् ।