उमेर बढ्दै गएपछि मेरो बिबाहका लागि दवाव आईरहेको थियो । यहि क्रममा अमेरिकामा बस्ने पिआर वाला केटा भनेपछि बुवा आमा मख्ख पर्नु भयो । यस्तो अमेरिकन ज्वाइँ वाला रिस्ता बुवा आमालाई मन नपर्ने कुरै भएन । मेरो बिवाह हुने भयो । बिवाह मेरो हुँदै थियो तर अनुमति या विमति मेरो केही रहेन ! किनकि बुवा आमाको कुरा काट्न मेरो सस्कारले दिदैनथ्यो ! केटा एकदमै राम्रो छ यता पनि प्रसस्त सम्पत्ति भएको, हेर्दा पनि जिउडाल राम्रो, घर परिवार पनि खानदानीअझ अमेरिकी डलर कमाउँछ भनेपछि त झन् के चाहियो र ?
सपना जस्तै लाग्छ मंसिर महिनामा मेरो बिवाह भयो । मलाई बिवाह गर्न कै लागि मात्र नेपाल आएको रे पवन । बिवाहा भएको एक हप्ता पछि हामी जाने भयौं अमेरिका मन उदास भएको थियो । आफ्नो देश छोडेर प्रदेशमा जान पटक्कै मन थिएन । मेरा साथीहरू भने प्रसंशा गर्थे वाह ! तेरो भाग्य अमेरिका जान पाउने भयौ । सपनाको सहरमा प्रत्यक्ष पुग्न पाउने भयौ । यस्तै यस्तै ।
अन्तर्राष्ट्रिय विमान स्थलमा पुगेर बिदाइका हातहरु हल्लाउँदै गर्दा म आँसु आँसु भएकी थिएँ । बुढा बुवा आमालाई छाडेर प्रदेश जान पटक्कै मन थिएन । भाइ त बुवाआमाको साथमा थियो तर पनि बुवाआमालाई एक्लै छोडेर जाँदै छु जस्तो अनुभुति भएको थियो । विमान आकासमा जति–जति माथि जान्थ्यो मन तल–तल खस्थ्यो । सम्झना आफ्नै सेरोफेरोको आईरहन्थ्योे । सम्झिदै म आँसु पुछिरहे तर अचम्म त यो थियो कि, मेरो श्रीमान पवन भने चुपचाप न्युज फिडमा आफ्नो ध्यानाकर्षण गराएर निर्धक्क साथ बसिरहेका थिए । उनलाई हेरें उनी ब्यस्त नै थिए अचम्म लागिरह्यो ।
अमेरिका पुगेपछि भने मेरो जीवनको असली संघर्ष सुरु हुनथाल्यो । अमेरिकाको टेक्सास शहरमा चिटिक्क परेको घरमा किचन, बेडरुम, डाइनिङ् रुम र एटेज बाथरुम सहितको राम्रो घरमा कोठा थियो हाम्रो । समय आफ्नै गतिमा चलिरहेको थियो । पवनको अफिस जाने, आउने र अन्य काम चलिरहेकै थियो । मलाई चुपचाप घरमा बस्नुपर्दा बेचैनीले ब्याकुल बनाउँथ्यो । पवन राति अबेर घरमा आउथ्यो र बिहान अलि छिटो नै घरबाट निस्किन्थ्यो । उनिसँग सामान्य कुराकानी बाहेक अन्य केही कुराहरू हुँदैनथ्यो । रातमा उनको पुरुषत्व जाग्यो भने आफ्नो ईच्छा पूरा गर्थे तर मेरो ईच्छा के छ ? म कस्तो छु ? उनलाई केही प्रवाह हुदैनथ्यो ।
बाबाले मलाई जहिले मेरो छोरा भनेर सम्बोधन गर्नुहुन्थ्यो म आफुलाई कुनै कुरामा पनि कम छु जस्तो कल्पना पनि गर्दैनथे । त्यस्तो बैंकको सम्पुर्ण जिम्मेवारी सम्हालेर काम गरेको मान्छे म नेपालमा तर त्यहाँ बिल्कुल निरीह जस्तो हुँदै गइरहेकी थिएँ । आमासँग प्रायः कुरा भइरहन्थ्यो । भन्थे, आमा म एकदमै ठीक छु राम्रो छु । पवनले मेरो खुब ख्याल गर्छन् हामी धेरै रमाईलोसँग धुमफेर गर्छाैं ।
अमेरिकाको टेक्सास सिटीका हरेक पार्क र उधानहरुमा पुगेका छौ । रेष्टुरेन्टमा खाना खाएका छौ र सपिङ्ग मलहरुमा पुगेका छौ यही भन्थे म तर आँसुका अनगिन्ती धाराहरु बगिरहेका हुन्थे आँखाबाट । पवनसँग केही कुरा सोध्न खोज्यो कि, एकदमै झर्किन्थ्यो । म आफुलाई सन्चो नहुँदा पनि उठेर उनको लागि खाना खाजा कपडा सम्पूर्ण सामान तयार गर्थे तर उनी भन्थे, दिनभरि घरमा बस्नु छ के को बिरामीको नाटक हो यो ? म कैदी भएको थिएँ ! बिल्कुल कैदी ! अमेरिकन जेलको कैदी !
यसरी नै एक बर्ष बित्यो । बुवा दमको रोगी हुनुहुन्थ्यो । उहाँहरुलाई आफ्नो अवस्थाको बारेमा कुरा गरेर दुःखी गराउन सक्दैनथे । तर म भित्र भित्रै जलिरहेकोथिएँ । गलिरहेको थिए । आमाले सुनाउनु भएको थियो तेरो भाइले बिवाह गर्यो ।
काम छोडेर ब्यवसाय गर्छु भनेर घर बैंकमा राखेको छ । त्यो सुन्दा मेरो मन चसक्क हुन्थ्यो । नेपालबाट भाइले पनि भुल्दै गएको थियो । फोनमा कुरा हुनै छोडेको थियो । बुवा पनि कहिलेकाही मात्र बोल्नुहुन्थ्यो । मलाई थाहा थियो बुवालाई समस्या भएको हुनुपर्छ तथापि मलाई दुःखी हुन्छे भनेर उहाँले केही कुरा भन्नु हुन्न ।
समय बितिरहेकै थियो । पवनले हरेक दिन लगाउँने वचन त छदै थियो तर एकदिन उनले आफ्नो हद पार गरे । गर्लफेन्ड अर्थात पार्टनरलाई घरमा लिएर आए । म अचम्मित भएँ । उनको नजिक पुगेंर को हो उहाँ भनेर मात्र के सोध्न पाएको थिएँ, उनले मलाई बेस्सरी हिर्काए ! म रन्थनिएर घरको भित्तामा बजारिन पुगेछु । केही समयपछि होस आयो । म त्यहाँ एक्लै लडिरहेकी थिएँ । बल्लतल्ल उठेर यताउता हेरे तब दुबै जना बेडरुममा थिए । मलाई तब त्यो अत्याचार सहेर बस्नु थिएन । वार कि पार हुनु थियो । उनीहरुको बेडरुमको ढोका ढकढक्याउन गएँ । पवन झन् आगो भए आमाको कुरा मानेर यो पखेनीलाई बिवाह गरेर ल्याउनु मेरा जीवनको सबभन्दा ठूलो गल्ती भयो । जुन दिन देखि यो मेरो जीवनमा आई, गलाको पासो बनेर अल्झेकी छ ! मेरा हरेक कुरामा इन्टरफेयर गर्ने तँलाई अधिकार छैन ! जा भाग् उसले मलाई फेरि हिर्कायो र ढोका ढ्याङ् पारेर बन्द गर्यो ।
त्यो रात नै मैले निर्णय गरे कि, अब मैले यो मान्छेलाई त्याग्नै पर्छ । रातभरि रुँदै बसे । बिहानको समय भएको थियो, मैले मेरो साथी सुधालाई सम्झिएँ । अमेरिकामा भएकी सुधासँग कहिलेकाही दुखका कुराहरू आदान प्रदान गर्ने गर्दथे । बिरानो शहरमा सुधा मात्रै त थिई मलाई चिन्ने र मेरो चिन्ता गर्ने ! उसले ढाडस दिने गर्दथी, हौसला राख् जीवन यस्तै हो एकदिन सब ठीक हुन्छ भनेर सम्झाउथिन् तर खै उसले भने जस्तो सब ठीक हुने दिन कहिल्यै आएन ! बरु सबै बिग्रँदै थियो । कतै यही बिग्रनुलाई नै ठीक हुनुको नाम दिऊ कि, खै के गरूँ ? त्यो रात मैले रुँदै सबै कुरा उसलाई भने ।
बिहान भयो, म कोठामा पसेर आफ्ना केही डकुमेन्ट र एक जोड कपडा सुटकेसमा हालेर किस्कीन थाले । पवनले आफ्नो दम्भ देखाउँदै भन्दै थियो, कहाँ जान्छेस् ? दिनभर आरामले घरमा बसेर घिचेकि छस् । कुकुरलाई घ्यू पच्दैन भनेको यही हो । यो तेरो नेपाल होइन ! गवाँर ! जहाँ गएपनि फर्केर आउने त हो नि तँलाई रहर छ भने जा फर्केर नआउनु नि फेरि । त्यस्तो पाखन्डी मान्छेसँग मलाई केही बोल्नु थिएन र उसले सोचे जस्तो कमजोर पनि म थिइन किनकि उसले मलाई कहिल्यै बुझ्ने कोशिस गरेन मलाई बुझ्नको लागि त मेरै बराबरको हैसियत हुनु पर्दथ्यो । सोचें जुन मान्छे मेरो बराबरको छैन त्यस्तोसँग के मुख लाग्नु ?
सुधाले मलाई दुःखमा साथ दिई । मैले राम्रो काम पाएँ । मेरो बाबाले मलाई दिएको शिक्षा ज्ञान र आत्म सम्मानले सदैव हौसला दियो । बैंक अफ अमेरिकामा राम्रो स्थानमा काम पाएँ । नेपालको बैंकमा काम गरेकोे अनुभव र डकुमेन्टले गर्दा अमेरिका जस्तो ठाउँमा पनि बेरोजगार भएर बस्नु परेन । त्यो बिचमा आमासँग धेरै कम कुरा हुन्थ्यो । बुवासँग कुरा नभएको धेरै भएको थियो । दुई बर्ष जति काम गरेर नेपाल फर्किने योजना बनाएँ ।
अचानक घरको ढोकामा पुगेर आमा बुवालाई सरप्राइज दिन्छु सोचेकी थिएँ । मुल ढोकाको बेल बज्ने बित्तिकै ढोकामा आमालाई देखें । आमाको हातमा पनि सुटकेश थियो । फुङ्ङ् उडेको अनुहार सेतो साडीमा आमालाई देखेर मैले छाँगाबाट खसे जस्तो महसुस गरेकी थिएँ । आमा पनि मलाई अचानक देखेर केही बोल्नै सक्नुभएन । दुबैको आँखामा बलिन्द्र आँशु बगिरहेका थिए । भित्तामा हेरें बुवाको फोटोमा फुलको हार झुन्ड्याइएको थियो । बुवा यो संसारमा रहनुभएन छ झनै छाती भत्तभति पोल्न थाल्यो । हामी एक अर्कोलाई केही सोध्न सकिरहेका थिएनौं दुबै खुब रोएका थियौं ।
मैले मेरो अमेरिकन जीवनका सबै तीता यथार्थहरु बताएँ । आमाले पनि सबै कुरा भन्नू भयो । भाइले बिवाहा पश्चात् घर छोडेर गएछ ! ब्यवसायको लागि बैंकमा राखिएको घरको किस्ता ब्याजको एक सुको पनि तिरेन छ र बैंकले छिट्टै घर लिलाम गर्दै रहेछ । पटक–पटक छोरोलाई फोन गर्दा पनि आमाको मतलब नगरेर बृदाश्रममा गएर बस्न आग्रह गरेछ विवश आमा रुँदै घर छोड्न बाध्य हुनुभएको रहेछ । बृद्धाश्रममा पनि बेड खाली छैन भनेर रोकेको रहेछ । त्यही दिन बिहान मात्रै फोन आएकोले आमा घर लिलाम हुनुभन्दा अगाडि नै बृद्धाश्रम जाँदैहुनुहुन्थ्यो ! मैले सोचे संघर्ष र संयोग जिन्दगीको मिल्दै जाने रहेछ । मेरी आमाको घर मैले उहाँलाई नै फिर्ता गर्न सकें । मेरो भाइको लागि निकालेको ऋण तिरेर आमाको घर बनाइदिएँ ।
फेरि पनि म नेपालमा बैंककै प्रमुख भएर काम गर्दैछु । आफु बाँच्दा सम्म आमालाई साथ दिने बाचा गरेको छु । आमाको अनुहारमा सुर्यको किरण जस्तो उज्यालो देसखरहेको छु । बुवालाई भेट्न नपाएकोमा एउटा गहिरो दुःख मनमा छ तर उहाँको नाममा “वीरता“ नामक पुस्तकालय खडा गरेकी छु । जुन धरानको बिच शहरको उद्यान नजिकै छ । जहाँ धेरै अध्यनशील ब्यक्तिहरु आएर निशूल्क अध्ययन गर्नुहुन्छ ।
बृद्धाश्रमलाई मासिक बीस हजार दिदै आएकी छु जुन बृद्धाश्रमले मेरी आमालाई कठिन घडीमा साथ दिने बचन दिएको थियो । खुशीले मन प्रफुल्ल हुन्छ । आमा र म एक अर्कोका लागि साथी साथी भएका छौँ । म उहाँको छोरी भएर जन्मन पाएकोमा खुसी छु । सदैव खुसी रहनेछु । जीवनमा गरेको एउटा गल्ती बिवाह म अब फेरि गर्न चाहन्न ।
– आभा पाण्डे, धरान