नेपालगन्ज/पश्चिम नेपालकै एक मात्र मुर्तीकला केन्द्र नेपालगञ्जमा छ । जो ३० वर्ष पुरानो हो । उक्त केन्द्रलाई बिश्वकर्मा परिवारले चलाईरहेको छ ।
नेपालगन्ज ५ निवासी त्रिभुवन प्रसाद विश्वकर्माको परिवारले विश्वकर्मा वर्क सप तथा न्यू विश्वकर्मा कला केन्द्र चलाईरहेको छ । जसबाट पश्चिम नेपाल भर मुर्ती र शालिकहरु बनेर जान्छन् ।
उमेरले ६६ वर्ष पुगेका त्रिभुवन प्रसाद विश्वकर्माको पेसानै मूर्तिकला हो । उनका बुवाले कृषीयन्त्र बनाउने कामसँगै ठेक्का पट्टाको काम गर्ने गरेको उनी बताउँछन् । फलामको काम गर्ने परिवारमा जन्मेर हुर्किएका त्रिभुवन आफैंले पनि वुवासँगै सानैदेखि फलामको काम गरेका थिए ।
माध्यामिक तहसम्मको शिक्षा अध्ययन गरेका विश्वकर्माले शुरुका केहि वर्ष फलामका बिभिन्न यन्त्रहरु बनाउनमा समय विताए । कृषीयन्त्र बनाउने कामबाट सन्तुष्ट नभएका त्रिभुवनले त्यसपछि आफ्नै बिस्कुट कारखाना खोलेर ४ वर्ष काम गरे । त्यसपछि बिस्कुट कारखाना छोडेर ७ बर्ष कोइला सप्लाई गर्ने काम गरेका उनले जीवनमा धेरै कुराको अनुभव गरेका छन् ।
कोइला सप्लाइको काम छोडे पछी नेपालगन्जको वसपार्क नजिक आफ्नै इट्टा भट्टा संचालन गरेका विश्वकर्माले त्यो कामलाई पनि निरन्तरता दिन सकेनन् । ५ वर्षसम्म इट्टा भट्टामा काम गरेका उनलाई इट्टा भट्टाबाट फाइदा भन्दा पनि धेरै नोक्सान बेहोर्नु परेकोे थियो । अविरल वर्षाको कारण इट्टा भट्टामा रहेका इट्टा सबै बिग्रिएपछि उनले त्यो पेसालाई त्यत्तिकै छोडिदिए । इट्टा भट्टा संचालनको क्रममा धेरै ब्यक्तिहरुबाट लिएको कर्जा रकम तिर्नका लागि उनले आफुसँग भएको १४ बिगाह जग्गा जम्मा ४२ हजारमा बेच्न बाध्य भएका थिए । त्यतिमात्रै होइन रकम तिर्नकै लागि उनले आफ्नो घर समेत बेचे ।
त्यतिबेला सम्म उनका वुवाले आफ्नो पुरानो पेसालाई छोडेका थिएनन् । सबै क्षेत्रको अनुभव लिएका त्रिभुवनले केही फरक काम गर्ने क्रममा माटोलाई सिंगारेर मूर्तिका आकार बनाउन सुरु गरे । बिभिन्न क्षेत्र, बाटोघाटो र चोकहरुमा राखिएका सालिक तथा मुर्ति देखेर त्यस्तै बनाउन इच्छा जागेर आएपछि सुरुवातको समयमा दशैको दिन निस्किने रामलिला शोभायात्राको क्रममा बच्चाहरुलाई भगवानको रुप दिएर सिंगार पटार गरी मुर्तीको आकार बनाउने गरेका विश्वकर्माले विस्तारै त्यहि कामलाई आफ्नो पेसा बनाए ।
सुरुवातमा माटोबाट मुर्तीका आकार बनाउन सुरु गरेका त्रिभुवनले पछि सिमेण्टबाट मुर्ती बनाउन थाले । आफुसँग भएको घर समेत पहिल्यै बिक्रि गरेकाले उनको परिवार लामो समय भाडामै बस्न बाध्य भयो । विश्वकर्माले मुर्ती कलाको काम गर्दै गएपछि आम्दानी पनि राम्रै हुँदै गयो । १८ बर्ष सम्म भाडामा बसेका विश्वकर्माले मुर्ती बेचेर कमाएको रकमबाट आफैले बचेको घर किन्न सफल भए । ६५ हजारमा बचेको घर ४ लाख ५० हजारमा किनेको विश्वकर्मा बताउँछन् ।
पश्चिम क्षेत्रकै पुरानो मुर्ती कला केन्द्रको रुपमा रहेको उनको यो ब्यवसाय विस्तारै फस्टाउँदै गएको पाइन्छ । नेपालगन्जमा माटोबाट मुर्ती बनाउने ब्यक्तिहरु भएपनि ढुँगा र सिमेण्टबाट मुर्ति बनाउने १ मात्र विश्वकर्मा परिवार हो ।
कतैबाट तालिम नलिएका र कसैको प्रेरणाबाट नसिकी आफ्नै मेहनतबाट सुरुवात गरेको विश्वकर्माको यो कला साच्चिकै सबैका लागि प्रेरणादायी छ । सुरुमा सामान्य लगानीबाट सुरुवात गरेको उनको ब्यवसायको अहिले चौतर्फी चर्चा हुने गरेको छ ।
सुरुवातको समयदेखिनै राम्रो आम्दानी हुँदै आएको उनकोे व्यापारको क्षेत्र विस्तार भएको छ । सुरुमा अन्य कामबाट परिवार पाल्न मुस्किल हुने गरेकोमा अहिले राम्रो आम्दानी हुने गरेको उनले बताए ।
‘त्यसबेला फलामको काम त सबैले गर्थे । अलि फरक गर्छु भन्ने बुद्धि आयो,’ उनले भने, ‘कसैले नसिकाई सुरु गरेको पेसा अहिले राम्रै भएको छ’ । विश्वकर्माको ११ जनाको परिवार अहिले त्यहि पेसाबाट पालिएको छ । सुरुमा त्रिभुवन एक्लैले सुरुवात गरेको यो पेसामा अहिले उनका २ जना छोरा समेत सामेल भएका छन् । बाबुुसँगै २ जना छोराहरु पनि मूर्तिका आकृति बनाउने सँगै सिलालेख लेख्ने काममा दैनिकी बिताइरहेका छन् ।
‘बुबाले मूर्ति बनाएको देखेरै आफले पनि सिकेको छोराहरु बताउँछन् । बुबाको काम देखेर पढाइ समेत छोडी छोराहरु समेत त्यहि काममा लाग्दा उनीहरुको ब्यवसायले झन फस्टाउने मौका पायो । अहिले विश्वकर्मा परिवारले न्यू विश्वकर्मा कला केन्द्र र विश्वकर्मा वर्क सप गरी २ वटा व्यवसाय दर्ता गरेर काम गरिरहेका छन् ।
मुर्ती बनाउने कामसँगै सिलालेख बनाउने र सालिकहरु बनाउने काम समेत सँगै गर्दै आएका छन् । सुरुमा सबै काम एक्लैले गर्दै आएकोमा अहिले सिलालेख बनाउने काम छोराहरुले गर्छन् भने मुर्ती र सालिक बनाउने काम त्रिभुवन एक्लैले गर्दै आएका छन् । छोराहरुले काम सिकेपछि आफुलाई केहि हल्का भएको त्रिभुवनको अनुभव छ ।
सामान्यतया १ सय देखि ३० हजारसम्मका मूर्ति बनाउने गरेको विश्वकर्मा बताउँछन् । सानो आकारको मुर्ती बनाउन कम्तिमा ४ देखि ७ दिन र अलि ठुलो आकारको मुर्ती बनाउन १ महिना सम्मको समय लाग्ने उनको भनाइ छ ।
२ वर्ष समय लगाएर भर्खरै मात्र कोहलपुरको मदन चोकमा ५१ फिटको हुनुमानजीको मुर्ती आफैले तयार गरेको विश्वकर्माले बताए । उक्त मुर्तीबाट मात्रै उनले २ लाख रुपैया आम्दानी गरेका छन् ।
सुरुमा मुर्तीको माग बढी आउने गरेको भएपनि अहिले सिलालेख र मुर्ती दुइवटै काम बराबर हुने गरेको उनले बताए । १२ औं महिना काममा व्यस्त हुने विश्कर्मा परिवारलाई कहिल्यै फुर्सद मिल्दैन, काम भ्याइ नभ्याइ हुने गर्छ । चाडपर्व अनुसार फरक–फरक मूर्तिको माग हुने गरेको उनको भनाइ छ । विश्वकर्माको परिवारले बनाएका मूर्ति बाँके सहित सुर्खेत, बर्दिया, दैलेख, दाङ्ग, कालिकोट, सल्यान, जुम्ला, हुम्ला, डोल्पा देखि वटुवल र काठमाडौँ सम्म जाने गर्छन् । विश्वकर्माको परिवारको बार्षिक आम्दानी ७, ८ लाख पुग्छ । बिभिन्न जिल्लाको बिभिन्न ठाउँमा पुर्ती तथा सिलालेखको माग पुरा गर्दै आएका त्रिभुवनले हाल सम्म १ सय भन्दा बढी त बिभिन्न ब्यक्तिहरुका सालिक बनाएका छन् ।
सिमेण्ट र ढुँगाको मुर्ती, चाँदीको ताम्रपत्र, मार्वलको सिलालेखसँगै सालिक तयार गर्ने काम गर्ने त्रिभुवनले बिभिन्न सम्मान समेत प्राप्त गरेका छन् । उनको काम र कलाको मुल्याँकन गर्दै ललितकला प्रतिष्ठान काठमाण्डौँ, प्रहरी तालिम केन्द्र नेपालगन्ज, बिभिन्न क्याम्पस तथा बिद्यालय र बिभिन्न संस्थाहरुले सम्मान गरेका छन् ।
बिहानको ८ बजेदेखि रातीको १० वजे सम्म काममै ब्यस्त हुने विश्वकर्मा परिवार मुर्तीकलाको क्षेत्रमा काम गर्न चाहने ब्यक्तिहरुका लागि प्रेरणाको स्रोत बनेको छ ।