कुरा १८ बर्ष अघिको हो, जतिबेला म सुक्कसुक्क गर्दै आफ्नो मातृभुमि छोडि नयाँ भुमिलाई आफन्त बनाउँन खोज्दै थिए । उच्च शिक्षा हाँसिल गर्ने क्रममा मैले धेरै साथी बनाएँ, ति सबै साथीका नाम अहिले मेरो मानसपटलमा ताजा छैनन् । धेरै साथीहरुका माझ म आफ्नो फरकपनका कारण लोकप्रिय भईसकेको थिएं । सायद त्यहि भएर मेरो एक्लोपनमा क्रमभंगता भएको थियो । दिनहरु बित्दै जाँदा पढाईकै दौरानमा मेरो एकजना केटी साथीसँग परिचय भयो, जुन परिचयको तौर तरिका आफैमा अपरिपक्व थियो । मैले त्यो परिचय दिगो होला भन्ठानेको थिएन । शुरुमा हामी एक अर्कालाई ठिक मान्दैन थियौं । तर समय र परिवेशले उनी र म नजिक भयौं ।
पढाईकै क्रममा म राजनिति गर्न थाले । जसमा अरु साथीहरु पनि थिए र उनी पनि राजनीतिमा चासो राख्न थालिन् । तर उनलाई राजनीती मन पर्थेन, केही कुरा सिक्न र मेरो वा साथीको लहै—लहैमा लागि उनी पनि राजनीतितिर तानिएकि थिईन् । यो भन्दा अघि मेरा केही केटी साथीहरु भएता पनि कोही हेलोहाइमैं सिमित भए त कोही विचार नमिलेर टाढा भए । उनी अर्थात शिवानी मेरो पहिलो केटी साथी थिईन, शायद अन्तिम पनि । करिव १ बर्ष संगै कामको दौरानमा उनले र मैले थुपैं हण्डर खायौं । मैले खाएको हण्डरमा उनले साथ दिईन्, उनको हण्डरमा मैंले ।
एक दिनको कुरा हो, काम बिशेषले म बर्दियाको बाँसगढि गएको थिएं । बाईकमा फर्किदा म ठूलै दुर्घटनामा परें । म रक्ताम्मे भएं, चोटपटकले शरिर भरि निलडाम थिए । यो घटना उनले एकदिनपछि थाहा पाईछन् । थाहा पाउँने बित्तिकै उनी मलाई भेट्न आईन् । मनभरि पीडा लुकाएर भएपनि आफुलाई खासै चोट नलागेको मैले बताईरहंँदा उनले शायद बुझिन् क्यारे, त्यहि भएर गहभरि आँशु निकालिन् । तर आँशु निकालेको कुरा थाहा नदिन उनी दोपट्टाको साहारा लिदैं थिईन् । म भावुक बनें, उनका आँशु देखेर मेरा आँखा पनि कताकता रसाए । मेरा थुप्रै मिल्ने साथीहरु जब मेरो त्यत्रो घटना घट्दा मलाई भेट्न समेत आएनन् । जो मेरो नयाँ साथी, त्यसमा पनि एउटा संगठनको सहयात्री मात्र, शिवानीको यो सद्भावबाट म अनुग्रहित बनें । त्यहिदिन मेरा चहराईरहेका घाउहरुमा उनले मलहम लगाईदिईन्, त्यो मेरो लागि उनले लगाएको ठूलो गूण थियो । शायद त्यहि गुणले म नौनि झैं पग्लिएं र नजाँनिदो तरिकाले माया गर्न थालें ।
त्यसपछिको हाम्रो सम्बन्ध झाँगिदै गयो, सबै कुराहरु साटासाट हुन थाले । हामी दुवै एउटै संगठनमा राजनीति गर्ने, प्रायः हामी सँगै हुन थाल्यौं त्यो हाम्रो सम्बन्धका लागि उपयुक्त अवसर थियो तर कसैका लागि यो संगत विभिन्न कुराहरु गर्ने बहाना बनिसकेको थियो । धेरैको मष्तिष्कमा एउटा रुढिबादको ऐंजेरुले ठूलो झाडि बनाईसकेको थियो । अनेक कुराहरु हाम्रा बारेमा काट्न थालिसकिएको थियो । शिवानीको सामिप्यतामा देखापरेको दिन कसैका लागि असह्यै हुन्थ्यो, मेरा खुट्टा भाँचेर मुरलि बजाउँने धम्कि दिईन्थ्यो । उनी राम्री थिईन्, राम्रीलाई राम्राले भन्दा नराम्राले प्रस्ताब गर्दा रहेछन् भन्ने कुरा शिवानीसँगको सँगतबाट मैले थाहा पाएको थिएं । उनलाई थुपै केटाहरुले प्रस्ताव गर्थे, पिछा लाग्थे तर अहँ उनले कसैको प्रस्ताव स्विकार गरिनन् बरु पिछा लाग्नेहरुलाई टाढा गराउँन मेरो साहारा लिईन् ।
उनको र मेरो कुनै पेशा र व्यवशाय नभएकाले आर्थिक अवस्था त्यति राम्रो थिएन । एकअर्काको समस्या समाधान गर्न हामी दुबै जुनसुकै मूल्य चुकाउन पनि तयार हुन्थ्यौं । त्यति बेलासम्म हामीले एक अर्कालाई प्रेम प्रस्ताव नगरेपनि नजानिदो किसिमले एकअर्कालाई मन पराउन थालिसकेका थियौं ।
उनको र मेरो हिंडाईं, डुलाई र संगत अरुका लागि तगारो बनिरहेको थियो । हाम्रो मित्रता बिभिन्न शंका, उपशंका गर्ने अवसर थियो । वास्तबिक कुरो नबुझि अर्काको खिसिट्युरी गर्नु सायद समाजको सनातन धर्म हो । त्यहि समाजका सदस्यहरुको खिसिट्युरीका बावजुत पनि हामी हाम्रो सम्बन्धलाई दिगो राख्न पछि परेनौं । हामी दुई बिच कहिल्यै पनि झगडा भएन, कति राम्रो समझदारी थियो ।
हामी एक पल पनि एकअर्कासँग छुट्टिन नसक्ने भईसकेका थियौं । जहाँ गए पनि जता गए पनि हामी सँगै हुन्थ्यौं, हामी दुई जनाका कुरा कहिल्यै सकिदैनथें । हामीले कुराकानी गरेको देखेर सुन्ने र हेर्नेहरु दंग हुन्थे, कति रमाईलो कुरा गरेको भनेर । हामी एक अर्कालाई हरेक कुरामा साथ दिन, एक अर्काको बारेमा होसियार हुने गथ्र्यौं ।
एक दिनको कुरा हो, उनका दुबै हातका हत्केला कडा भएछन् । उनले मलाई आफ्नो समस्या भनेपछि मैले उनको हत्केला मुसारें, सायद त्यो स्पर्श हाम्रो नजाँनिदो प्रेमको स्वर्णिम पहिलो अवसर थियो ।
म संगठनको काम विशेषले काठमाण्डौं गएं । के के भुलेजस्तो, के के नगरेजस्तो मलाई भान भयो । म जति दिनको योजना बनाएर गएको थिएं, त्यति दिन नपुग्दै म फर्किए । मैले त्यतिबेला कसैलाई नभने पनि म शिवानीलाई नैं भेट्न आतुर भएर नेपालगञ्ज फर्केको थिएं । म फर्किने थाहा पाएर शिवानी बसपार्क नैं पुगेकी रहिछन्, त्यति बेला म अशिम खुसीको भेलमा डुबुल्कि मार्दै मनमनै खुसी भएको क्षण म कहिल्यै भुल्न सक्दैन ।
हामी दुवैलाई थाहा थियो, हामी एक अर्कालाई प्रेम गर्छौं भन्ने कुरा । तर हामी दुबैले एक अर्कालाई भनेका थिएनौं । मैले म तिमीलाई मन पराउँछु भन्न खोज्दा पनि भन्न सकिरहेको थिईन । उनले त झन् भन्न सक्ने कुरै भएन । मैले एकदम हिम्मत गरेर भन्ने प्रयास गरें तर प्रत्यक्ष सकिन । एउटा गीतको मैले साहारा लिएको थिए । त्यो गीतलाई मैले उनको भावना बुझ्न शिवानीलाई सुनाएको थिएँ ।
मैले त्यति बेला गुनगुनाएको गित थियो – ‘उनको प्रीति पहिले होे कि मेरो प्रीति पैले, जान्दिन म एकैचोटी के भयो कुन्नी कहिले ।’
यो गित सुनेर उनी मुस्कुराईन् । मैले पटकपटक त्यहि गीत गुनगुनाएर उत्तर खोजेपछि उनले ‘मैले’ भनेर उत्तर दिईन् । हाम्रो औपचारिक प्रेम सम्बन्ध त्यो दिन देखि शुरुवात भएको थियो ।
प्रेम पूर्व तयारीका साथ हुंदैन भन्ने कुराको ज्वलन्त उदाहरण थियो हाम्रो प्रेम । संयोग, सहकार्य, सहयात्रा र निरन्तरताले उब्जाएको थियो हामी बिचको प्रेम । हाम्रो पहिलो प्रेम थियो त्यो । अब सबैकुरा पहिलेको तुलनामा बढि आदानप्रदान हुन थाले । प्रेम पुरुषले पनि पक्कै गर्छ तर पुरुष भन्दा बढि प्रेम महिलाले गर्छ, त्यो कुरा मैले शिवानीबाट थाहा पाएको हुँ । जो आफुलाई भन्दा बढि माया मलाई गर्थिन् । त्यति खेर म सोच्थें, कतै त्यो प्रेमलाई म वास्तबिक प्रेममा रुपान्तरण गर्न सक्छु कि सक्दैन भनेर ।
उनले पनि मलाई भन्थिन् – ‘केटाहरु धोकेबाज हुन्छन्, राम्री केटी पाउने बित्तिकै अरु तिर लाग्छन् ।’ अरु केटाहरुको त्यस्तो चाला देखेका कारणले पनि मैले प्रतिवाद गर्थेन, बस् म यति मात्र भन्थें –‘ मलाई अरु केटाहरु जस्तो नठान ।’ अरुको प्रेम कहानीमा भनेजस्तो आकाशका तारा झार्ने जस्ता सपना हामी दुवैले एकअर्कालाई बाँडेनौं । हामी केवल व्यवहारिक पक्षका बारेमा मात्र कुरा गथ्र्यौं । त्यतिखेर मेरा सबै बानी उनलाई मन पर्थे, उनका सबै बानी मलाई मन पर्थे । हामी दुबैको बिवाहका बारेमा समझदारी थियो ।
संयोगले उनलाई संगठनले नेपालगञ्ज बाहिर खटाईदियो । संगठन नैं हाम्रो जग र भविष्य भएका कारण संगठनको निर्णयलाई हामीले मान्नै पथ्र्यो । उनलाई नेपालगञ्जको परिवेश पनि त्यति मन परिरहेको थिएन । उनले जाने सहमति व्यक्त गरिन् र गईन् । भन्ने गरिन्छ, जति माया मिलनमा हुन्छ, त्यो भन्दा बढि माया बिछोडमा हुन्छ रे । तर हाम्रो जीवन विशेष गरि मेरो जीवनमा त्यो कुरा लागु भएन, ठिक बिपरित भयो ।
चलचित्रको रिल सुल्टो नघुमेर उल्टो घुमे झैं भयो । उसलाई राजनीतिमा ल्याउने र राजनीतिका माध्यमबाट यहाँसम्म पु¥याउनुमा उनको निरन्तरता र केही गर्ने ईच्छाशक्ति संगै मेरो ठुलो हात छ, शायद त्यो कुरा पनि उनले भुलिन् । उसो त उनी तपाईंकै मायाका कारणले राजनीतिमा आएको बताउँथिन्, शायद त्यो कुरा पनि उनले भुलिन् क्यारे ।
उनको महत्वपूर्ण जीवनको आरोह र अवरोहमा साथ दिने म थिएं । उनलाई साह्रो गाह्रो पर्दा साथ दिने म थिएं । ति सबै कुरा उनले अतित बनाईदिईन् । उनी नेपालगञ्ज छाडेर बाहिर गएको केही समय पछि उनी मेरो सम्पर्क भन्दा टाढा रहिन्, मैले कैयौं पटक सम्पर्क गर्न खोज्दा पनि उनी सम्पर्कमा आउन चाहिनन् ।
उनी जस्ति सरल, सहज, ईमान्दार र प्रतिबद्ध मान्छे अहिले सम्म मैले देखेको छैन । त्यति नरम र म संग ७ बर्ष प्रेम गरेको मान्छे एकाएक किन म भन्दा टाढा हुन खोज्दै छिन् । म अचम्मित भएं, दिग्भ्रमित भएं । के विगतमा गरेका सबै कुरा चलचित्रमा बोलिएका सम्बाद जस्तै हुन् ? विगतमा गरेको प्रेम के सबै नाटक मात्र हो ? म पागल जस्तैं भएं । उनलाई विगत सम्झाउँदै पटक पटक पत्र लेखें । उनले पत्रको उत्तर दिईनन्, बरु पत्र नैं हराएको भनेर नाटक गरिन् । उनको कार्यक्षेत्रमैं म भेट्न गएं वास्तबिक प्रेमीको नाताले । तर उनले आफुलाई व्यस्त भएको बहाना गर्दे भेट्न खोजिनन् । धेरै प्रयास पछि मैले भेटें ।
उनले आफुबाट कुनै गल्ति नभएको बताईन् । उनको व्यवहार परिवर्तन थियो, हिंडाईं, डुलाई फरक भईसकेको थियो, बोलीचालि फरक भईसकेको थियो । उनको चिनजान पनि ठूलै नेताहरुसँग भईसकेको थियो । त्यो त सबै मेरो लागि खुसीको कुरा थियो । तर उनी अहँ म सँग न त समस्या नैं भन्न चाहन्थिन्, न त कुनै कुरा नैं गर्न चाहन्थिन् । यस्तो यो अस्वभाविक उनको व्यवहार देखेर एउटा विशालकाय सन्त्रासको पहाड बोकेर उनीबाट छुट्टिएर म नेपालगञ्ज फर्किए ।
तर साँच्चिकै उनलाई माया गर्ने भएर होला, उनले म संग बोल्न नचाहे पनि म बोल्न खोज्थें, नजिक हुन खोज्थें । उनले जस्तो व्यवहार गरेपनि म सहन नसकेर पटक—पटक उनलाई भेट्न गईराख्थें, कहिले भेट हुन्थ्यो कहिले हुन्थेन । उनलाई विगत सम्झाउन र आफ्नो प्रभाव मार्न मैले के समेत गरिनं । तर अहँ उनको ढुंगा जस्तो मन पग्लेन । जब पहिल्यै हामीसँग पैंशा थिएन, हामी साईकिलमा हिंड्थ्यौं, त्यति बेलासम्म हाम्रो सम्बन्ध राम्रो थियो । अब उनीे आर्थिक रुपले सम्पन्न भईन्, सानो कार किनिन् र शिक्षातर्फ डिग्री पनि उतिर्ण गरिन् ।अअतब उनी मबाट टाढा भईन् । तर म उनको जस्तो अवस्थामा थिईन, म संग न उनको जति शिक्षा थियो, न गाडी, न घोडा, न अर्थ ।
उनले मसंग राम्रो व्यवहार गर्न छाडेको एक बर्ष भईसक्दा पनि मैले उनसँग सम्बन्ध सुधार्नका लागि हरतरहका प्रयास गरें, अहँ कुनै भाउ चलेन । सबै बालुवामा पानी हाले जस्तै भयो । उनलाई मैले जति सहयोग र प्रेम उनको परिवारले पनि गर्न सकेको छैन होला, त्यो कुरालाई उनले लात मारिदिईन् । उनले एक दिन त मलाई भेट्न नआउनु, मलाई फोन पनि नगर्नु समेत भनिन् । उनको यस्तो एक बर्ष देखिको व्यवहारले म आजित भईसकेको थिएं । म आफुलाई कठोर हृदयको मान्छे मान्थें तर म उनको व्यवहार देखेर म पटकपटक रोएं । अहँ उनले मेरो आँशु पुछिदिने कुरा त टाढाको भयो, नरुनु सम्म भन्ने प्रयास गर्न उचित ठानिनन् ।
उनले एक दिन मैले सोधेको प्रश्नमा आफु अर्कैलाई माया गर्ने गरेको समेत बताईन् । तर पनि म आफ्नो चोखो मायाप्रति बफादार थिएं । उनको कसैले चोरेको वा रणभुल्लमा परेको माया पाउन लागिरहें तर उनी छुट्टै संसारमा रमाईरहिन् । एक दिनको कुरा हो, उनी नेपालगञ्ज आईन्, नेपालगञ्ज आएको थाहा पाएर म उनलाई भेट्न कोठामा गए । उनले अमिलो मुख पारिन्, त्यो अनुहार देखेर मन भुलाउँन उनको टेबुलमा राखेको डायरी हेर्न थालेको थिएं, उनले खोस्न खोजिन् । मैले दिन मानिन, दिन नमानेपछि एक्कासि उनले म सँग दुव्र्यबहार गरिन् । जीन्दगीमा मलाई तिमी समेत भन्न नसक्ने, नमान्ने उनले मलाई तँ तँ भन्दै तथानाम गाली गर्न थालिन् । मैले डायरी हेरेर के गरें र भन्दै थिए, उनी नसुने झैं गरि मलाई एकोहोरा गाली गर्न थालिन् ।
जसलाई मेरो हुनेवाला वास्तबिक जीवन साथीको रुपमा मैले हेरेको थिएं, उनले यसरि गाली गर्दा म साँच्चिकै उनलाई प्रेम नगर्दो हुँ त म पनि उनले गरे जसै गर्थे हुँला । तर म त साँच्चिकै प्रेम गर्ने भएका कारण चित्त दुःखाएर रुनु बाहेक केही गर्न सकिन । म त्यो दिन जति मैले थाहा पाए सम्म त्यति लामो समय सम्म कहिल्यै रोएको थिएन, तर उनलाई मेरो त्यो रुवाई मायाका लागि त टाढाको कुरा भयो दयाका लागि पनि उचित थिएन । म रोएको, आएको घरबेटिलाई थाहा पाए नराम्रो हुने भन्दै मलाई यहाँबाट गईहाल्न भनिन् । म केही समय पछि निस्कें पनि । मान्छेले कुटेको चोट भन्दा बोलेका वचन साह्रै दुःख्छ रे, मलाई पनि त्यस्तै भयो ।
त्यो दिनको गल्ति मेरो नभएपनि फलेको बृक्ष मात्र झुक्छ भनेझैं म उनसँग पुनः नजिक हुन खोजें, अहँ उनी नजिक हुन चाहिनन् । मैले पछि थाहा पाएँ, उनी त्यतिबेला अन्त कतै पल्किसकेकि रहिछिन् । मलाई राख्ने मानसपटलमा अरु कसैलाई राखिसकेकि रहिछन् ।
उनलाई शुरुका दिनमा जुन कुरा मबाट डर थियो, पछि त्यो कुरा उनले गरिन् । मैले उनलाई जीवनसाथी बनाउन सकिदैन भने एउटा असल साथिको रुपमा आफुलाई लिन भनि गरेको अनुरोध पनि उनले स्विकार गरिनन् ।
जीवन केटाकेटी बिचको प्रेम मात्र होईन, जीवन समाज र राष्ट्र प्रतिको प्रेम पनि हो । प्रेम केवल प्राप्ति मात्र होईन, धोका र समर्पण पनि हो । हो मेरो प्रेमीकाले मलाई धोका दिईन्, म आफ्नो प्रेमलाई उनी प्रति नैं समर्पण गर्ने छुँ । म उनी बाहेक अरु कसैसँग प्रेम गर्नेछैन, किनकि मेरो प्रेम त उनका लागि समर्पण गरिसकेको छुं ।
अरु कसैलाई मैले प्रेम गरे भनें त्यो प्रेम केवल बनावटि मात्र हुनेछ । तसर्थ शिवानी नैं मेरो पहिलो र अन्तिम प्रेमिका हुन् । यो कुरा उनलाई पनि भनिदिएको छु । सकेजति थाहा पाएजति प्रत्यक्ष, अप्रत्यक्ष रुपमा उनलाई सहयोग गर्नेछु, अरु कसैसँग झुठो प्रेम गर्नेछैन । त्यहिनैं मेरो उनका लागि सच्चा प्रेम हुनेछ । त्यो नैं मेरो उनी प्रतिको समर्पित प्रेम हुनेछ । उनको जीवनमा म कुनै तगारो बन्ने छैन । न त म उनको प्रेमको अभावमा मृत्युवरण नैं गर्नेछु । जुन अवस्थामा म गुज्रिएंं, त्यो अवस्थामा शिवानी त कहिले गुज्रिने छैनिन् तर मेरो जस्तै अवस्था उनको नयाँ प्रेमीको नआओस्, यहि मेरो शुभकामना ।