नेपालगन्जको पर्यटकीय स्थलहरूको नाम लिँदा बहुप्रतिक्षित अत्याधुनिक सुविधा सम्पन्न बसपार्कको नाम पनि लिइन्छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुर स्थित झण्डै साढे चार बिघा क्षेत्रफलमा फैलिएको यो बसपार्क पश्चिम नेपालकै सुविधा सम्पन्न बसपार्कको रूपमा परिचित छ । देशका सात ओटै प्रदेश सडक सञ्जालले जोडेको नेपालगन्ज बसपार्क १६ करोड १६ लाख रूपैयाँको निर्माण लागतमा अत्याधुनिक सुविधासहित २०७६ सालदेखि सञ्चालनमा आएको हो ।
२०७६ असोज १२ गते प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेसँगै संचालनमा आएको नेपालगन्ज बसपार्कमा सवारी साधनको पार्किङ, सरसफाइलगायत व्यवस्थापन हेर्न लायकको छ । बसपार्कको समग्र संरचना तथा विकासको नमुना हेर्न आन्तरिक तथा बाह्य पर्यटकसमेत आउने निश्चित छ ।
हाल निर्माण सम्पन्न अत्याधुनिक सुविधा सम्पन्न बसपार्कभित्र टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेनागृह, पक्की पार्किङ क्षेत्र निर्माण गरिएको छ । अहिले नेपालगन्ज बसपार्कमा १८ ओटा पुरानो र ४३ वटा नयाँ गरि ६१ को हाराहारीमा व्यवसायिक सटरहरू सञ्चालनमा रहेका छन् । हाल नेपालगन्ज बसपार्कबाट काठमाडौँलगायत पूर्व–पश्चिम तथा उत्तरतर्फ गरी दैनिक ३०० बढी साना ठूला बस सञ्चालन हँुदै आएका छन् ।
नेपालगन्ज बसपार्कको इतिहास तीन दशक भन्दा लामो छ । वि.सं. २०४२ सालमा नेपालगन्ज नगर पञ्चायतको स्थापना भएपछि नेपालगन्जले विकासको रूप लिएको पाइन्छ । वि.सं. २०४३ सालमा तत्कालीन नेपालगन्ज पञ्चायतका प्रमुख मदनकुमार श्रेष्ठको पहलमा नेपालगन्ज बसपार्कको अवधारणा विकसित भएको पाइन्छ । हाल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित नयाँ बसपार्क नजिकै ५ विगाह जमिन तत्कालीन नेपालगन्ज नगर पञ्चायतले खरिद गरी बसपार्क सञ्चालनमा ल्याएको बताइन्छ । वि.सं. २०४३ पूर्व सो स्थानमा एउटा इँटा भट्टा रहेको र पछि त्यो बन्द भएपछि खण्डहरको रूपमा परिणत जमिनसँगै अन्य व्यक्तिगत जमिन खरिद गरी बसपार्कको स्थापना गरिएको पाइन्छ । यसरी स्थापित बसपार्कमा सुरुवातका वर्षहरूमा आधा दर्जनको हाराहारीमा मात्रै बसहरू आवतजावत गर्ने गर्दथे । वि.सं. २०४५ सालमा पञ्चायत रजत जयन्तीको अवसरमा मदनकुमार श्रेष्ठकै पहलमा बसपार्कको गेट निर्माण गरिएको थियो ।
नेपालगन्ज बसपार्क सञ्चालनमा आएसँगै नेपालगन्जदेखि देशका विभिन्न जिल्लाहरूमा सवारी आवागमन तथा यात्रुहरूको ओहोरदोहोर गर्ने संख्या बढ्दै गयो, वि.सं. २०४६ सालपछि नेपालमा बहुदल आएपछि २०५६ सालमा नेपालगन्ज नगरपालिकामा परिणत भयो । नेपालगन्ज नगपालिकाको प्रमुखमा धवल शम्सेर राणा विजयी भए । धवल शम्सेर राणा नेपालगन्ज नगरपालिका मेयर भएपछि उनले बसपार्कमा लगानी बढाएको पाइन्छ । तत्कालीन समयमा बसपार्कमा जीर्ण अवस्थामा रहेको टर्मिनल भवनको जिर्णोद्वार नगरपालिकाको लगानीमा भएको थियो । बसपार्कमा दुई दर्जन जति संख्यामा सटरहरू निर्माण गरिए भने बसपार्कमा शौचालय निर्माण, सेवा बुकिङ काउण्टर, प्रतीक्षालय, बिद्युत र खानेपानी, ट्य्वेलको समेत मेयर राणाले जडान गरेको बताइन्छ । बसपार्कको भौतिक विकाससँगै देशका विभिन्न स्थानबाट व्यवसायीहरू आई नेपालगन्जमा व्यवसाय सञ्चालन गर्न थालेको पाइन्छ ।
वि.सं. २०४२ तिर नेपालगन्जबाट काठमाडौं, पोखराका लागि मात्रै बस सेवाको सुरुवात भएको थियो । पछि यातायात सेवा बिस्तार हँुदै राजविराज, जनकपुर, काँकडभिट्टा, बिराटनगरसम्म रात्रि सेवाका बसहरू सञ्चालन भए । यसरी २०४२ सालमा काठमाडांै र पोखराबाट सुरु भएको बस सेवा २०५२ सम्म आइपुग्दा बिराटनगरसम्म सञ्चालन गरिएको पाइन्छ । दिनमा ५/६ को संख्यामा बसहरू सञ्चालन हुने नेपालगन्ज बसपार्कबाट पछि गएर छोटोदूरीका सवारी साधन दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, बुटबलतिर गुड्न थालेपछि सवारी साधनको संख्या बढ्दै गएको नेपालगन्जका पुराना व्यवसायी केशवराज गिरिले बताए । उनका अनुसार तत्कालीन समयमा लामो साइजका बसहरू मात्रै सञ्चालनमा थिए । वि.सं. २०४२ देखि २०५३ को बीचको अवधिमा नेपालगन्जदेखि काठमाडांैको गाडी भाडा औषत १०६ रूपैयाँ रहेको बताइन्छ, जबकी नेपालगन्जदेखि हवाईजहाजको भाडा भने ५४० रूपैयाँ कायम रहेको थियो ।
दशकौ पुरानो इतिहास बोकेको नेपालगन्ज बसपार्क अहिले सुविधा सम्पन्न बसपार्कको रूपमा अगाडि आएको छ नेपालगन्ज बसपार्कको इतिहास हेर्ने हो भने बसपार्कको सञ्चालन मदनकुमार श्रेष्ठले गरेको भए पनि त्यसलाई व्यवस्थापन गर्ने काम तत्कालीन समय नेपालगन्ज नगरपालिकाका मेयर धवल शम्सेर राणाले गरेको देखिन्छ भने संयोगवश हालको अत्याधुनिक बसपार्कसमेत नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाकै पालामा सञ्चालनमा आएको छ । यसरी करोडांैको लगानीमा बनेको नेपालगन्ज बसपार्क यात्रुहरूका लागि मात्रै हैन पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण छ । सुविधा सम्पन्न नेपालगन्ज बसपार्कको आकर्षण बढाइराख्न सबै सवारी साधनलाई अनिवार्य बसपार्कबाट मात्रै यात्रु चढाउने र उतार्ने नियम लागू गराउन सबै व्यवसायीहरूले जोड दिन जरुरी छ ।
–हेमराज भट्ट