भनिन्छ सफलताको शिखर चुम्न त्यसले मात्रै सक्छ, जसले संघर्ष, असहजता र चुनौतीसँग मुकाबिला गर्न तयार हुन्छ । सबैले कुनै न कुनै कार्यक्षेत्र रोज्छन् र काम गर्छन् । एउटै कार्य क्षेत्रमा निरन्तर रूपमा लाग्ने र निरन्तरता दिने व्यक्ति कमै हुन्छन् । धेरै व्यक्तिहरू आफ्नो व्यक्तिगत स्वार्थपूर्ति हुने र आफूलाई नाफा हुने कामको खोजीमा दाँैडिन्छन्, अवसर पाएपछि कार्यक्षेत्र बदल्छन्, पेशा बदल्छन्, अनि बढी भन्दा बढी सुख सुविधा प्राप्त गर्नेतर्फ केन्द्रित हुन्छन् । आफ्नो लागि भन्दा पनि समाजको हितको लागि काम गर्ने र जस्तोसुकै चुनौतीको सामना गर्दै निरन्तर रूपमा एउटै पेशामा अविछिन्न लागिरहेको व्यक्ति कमै पाउन सकिन्छ आजको समयमा । त्यहीँ कमै व्यक्तिमध्येका एक हुन्– पूर्ण लाल चुके ।
बुवा स्व. ज्योतिलाल चुके र आमा स्व. लालकुमारी चुकेको कोखबाट वि.सं. २०१२ साल असोज २६ गते गुल्मी जिल्लाको साबिक बामी टक्सार बजार, हाल मुसीकोट नगरपालिकामा जन्मिएका उनी २०३१ सालदेखि नेपालगन्जको सुर्खेतरोडमा बस्दै आएका छन् । चुकेको बाल्यकाल आफ्नै जन्मस्थानमा सामान्य रूपमा बित्यो । माध्यमिक तहसम्मको अध्ययन गाउँकै महेन्द्र आदर्श माध्यमिक विद्यालयमा गरेका चुकेले भारतको मद्रासबाट आम सञ्चारमा स्नातक तहसम्मको अध्ययन गरेका छन् । सामान्य परिवारमा जन्मिएका उनले बाल्यकालमा घरको कमजोर आर्थिक अवस्थाको सामना गर्नु परेको थियो । प्राथमिक कक्षामा पढ्दा कहिले गृह कार्य नगरेर, कहिले स्कुले पोसाक नलगाएको कारण गुरुहरूबाट कुखुरा (मुर्गा) बनाइएको र सिस्नोको झोप्पाले सजाय पाएको कुरा उनको बाल्यकालका अविस्मणीय क्षण हुन् । बाल्यकालमा कुनै समय पहाडमा अनिकालले सामान्य आर्थिक अवस्था भएका परिवारको लागि भोकमरीको समस्या हुँदा आमाले उनका दाजु, भाइ र दिदीबहिनीलाई मकैको भात, दाल र तरकारीको सट्टा चामलको माड र कोदोको ढिंडो खुवाएर भोक मेटाउनुका साथै आमा कैयौं छाक भोकै बसेको सम्झिन्छन् चुके । कमजोर आर्थिक अवस्थाको कारण प्रावि तह पढ्दा उनको पार्कर कलमले लेख्ने धोको अधूरै रहेको पनि आजसम्म उनले बिर्सन सकेका छैनन् ।
१८ वर्षको कलिलै उमेरमा सामाजिक क्षेत्रमा आबद्ध भई निरन्तर क्रियाशील रहेका चुकेले हालसम्म पनि त्यो क्षेत्रलाई छोड्न सकेका छैनन् । वि.सं. २०२८ सालमा लुम्बिनी प्रदेशमा पर्ने रूपन्देही जिल्लाको गणेश जनता माध्यमिक विद्यालय, बुटवलमा अध्यापन गरेका चुकेले जीवनको पहिलो जागिरे अनुभव गरे । सो विद्यालयमा २ वर्षसम्म मासिक रु. १५० रुपैयाँ तलबको शिक्षण गरेपश्चात् शिक्षण पेसा छोडेर सामाजिक क्षेत्रमा आबद्ध भए । २०३० सालमा नवजागृति पुस्तकालय, बुटवलमा आबद्ध भई सामाजिक क्षेत्रमा लागेका उनी नेपाल क्षयरोग निवारण संस्था बाँकेमा २०३९ सालदेखि आबद्ध भई शाखा सहसचिव, शाखा अध्यक्ष र केन्द्रीय सदस्यसम्म भई हालसम्म निरन्तर काम गरिरहेका छन् ।
बाँके जिल्लामा सामाजिक क्षेत्रमा लामो अनुभव सँगालेका पुरानो व्यक्ति मध्येका एक चुकेले यो अवधिमा दुई दर्जन जति विभिन्न संस्था, समिति, समूह, सञ्जालका विभिन्न पद तथा जिम्मेवारीमा रहेर कार्य गरिसकेका छन् । सामाजिक क्षेत्रलाई आफ्नो अत्यधिक रुचिका साथ महत्व दिने चुके नेपालगन्ज जेसिजमा सन् १९८८ देखि आवद्ध भई सन् १९९३ मा अध्यक्ष र १९९४ मा राष्ट्रिय उपाध्यक्ष भई काम गरेका थिए ।
२०५८ देखि नेपाल—भारत संयुक्त पत्रकार मञ्च, नेपाल समूहको संयोजकको जिम्मेवारीवहन गरिरहेका उनी गैर सरकारी संस्था महासंघ नेपाल, बा“के शाखाको २ कार्यकाल (२०५८ देखि २०६३ सम्म) अध्यक्ष भई जिम्मेवारी निर्वाह गरिसहेका छन् । भ्रष्टाचार, सामाजिक विकृति, गरिबी, अशिक्षा, रोगभोक, पछौटेपन, रुढीवादी ग्रस्त समाजमा घटिरहने घटना नै समाज सेवामा लाग्ने प्रेरणाको स्रोत भएको बताउने चुकेले सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । सामाजिक क्षेत्र र समाज सेवाको लामो अनुभव सँगालेका चुकेका अनुसार बाँके जिल्ला प्रशासन कार्यालयमा २०३९ सालमा पहिलो संस्था दर्ता भएदेखि २०७७ असोज २२ गतेसम्म १६४१ संस्था दर्ता भएको चुके बताउँछन् ।
गैर सरकारी संस्था महासंघ नेपालको बाँके शाखा, मध्यपश्चिमाञ्चल विकास क्षेत्रमै पहिलो शाखाको रूपमा २०५४ तिर स्थापना भएको बताउने चुकेको गैससमा काम गर्दाका केही अनुभवहरू छन् । महासंघको केन्द्रीय अध्यक्ष बासुदेव न्यौपाने र महासचिव राघवराज रेग्मी भएको समयमा शाखाको स्थापना भएको बताउने उनलाई महासंघले बाँके र बर्दिया जिल्लाको फोकल पर्सनको रूपमा जिम्मेवारी दिएको थियो । त्यो जिम्मेवारी पछि नेपालगन्जको बाँके गाउँस्थित नारी विकास केन्द्रमा पहिलोपटक क्षेत्रीय स्तरको अभिमुखीकरण गोष्ठीको आयोजना गरिएको चुकेको सम्झनामा ताजै छ । चुकेको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा गैसस महासंघका महासचिव राघवराज रेग्मी प्रमुख अतिथिको रूपमा उपस्थित थिए भने गोष्ठीमा तत्कालीन विश्व हिन्दू महासंघका अध्यक्ष स्व. कृष्ण गोपाल टण्डन, स्व. नर्वदा शर्मा, सनत रेग्मी, पूर्व मन्त्री डिल्ली चौधरीलगायत मध्यपश्चिमाञ्चल विकास क्षेत्रका करिब ४ दर्जन सामाजिक अभियन्ताहरूको सहभागिता रहेको थियो । गैर सरकारी संस्था महासंघ नेपालको बाँके शाखा स्थापनाकालदेखि नै सक्रिय भूमिकामा रहेका चुकेले २०५५ देखि २०५७ सम्म महासंघको केन्द्रीय सदस्य भएर काम गर्ने अवसर पाएका थिए ।
“मानव सेवा र समाज सेवा नै मूल धर्म हो” भन्ने भनाइबाट प्रेरित व्यक्तित्व पूर्णलाल चुकेले सामाजिक क्षेत्रमा काम नगरेको र अनुभव नगरेको सायद कुनै पनि क्षेत्र बाँकी छैनन् । नेपाल पत्रकार संघको केन्द्रीय सदस्य, बाँके शाखा अध्यक्ष, ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको अध्यक्ष, क्षेत्रीय सञ्चार स्रोत केन्द्र परामर्श समिति। प्रवन्ध समितिको संस्थापक सदस्य (१९९५ देखि हालसम्म), कोहलपुर नगर विकास समितिको संस्थापक सदस्य, नेपाल घरेलु तथा साना उद्योग महासंघ, बा“केको अध्यक्ष (१९९६—२००० सम्म दुई कार्यकाल), श्री ५ को सरकार एकद्वार समितिको सदस्य (१९९८—२०००), नेपाल युवक संगठन, बा“केको सदस्य (२०४३—२०४६), स्वास्थ्य अधिकार तथा सुर्तीजन्य वस्तु नियन्त्रण सञ्जालको क्षेत्रीय तथा जिल्ला संयोजक लगायत थुप्रै संस्थाहरूको विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका चुकेले २०४८ को आमनिर्वाचनमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोग) को संयोजकको जिम्मेवारी पनि निर्वाह
गरेका थिए ।
नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटी र प्राकृतिक स्वास्थ्य संस्थाको आजीवन सदस्य रहेका चुके २०६५ सालदेखि निरन्तर रूपमा नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद् छन् । विभिन्न सामाजिक संघ संस्थामा आबद्ध भएर काम गरेबापत उनले न त कुनै आर्थिक लाभ प्राप्त गरे न त कुनै स्वार्थ पूरा गरे । तर, समाज सेवामा निरन्तर लागेका कारण उनले मानसम्मान भने थुप्रै पाए, इज्जत प्रतिष्ठा कमाए्, शुभचिन्तक कमाए, मान्छे कमाए । उनीसँगै सामाजिक क्षेत्रमा लागेका, पत्रकारिता पेसामा काम गर्ने धेरैले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विभिन्न आर्थिक लाभ र अन्य लाभ प्राप्त गरे, धन सम्पत्ति आर्जन गरे र महल
ठड्याए, बदली–बदली चिल्ला कारमा कुदे । तर, चुके पैसा र धन सम्पत्तिको पछि कहिल्यै लागेनन्, उनी निष्ठाका साथा निरन्तर रूपमा समाज सेवा र पत्रकारितामा लागि रहे ।
सकारात्मक पत्रकारिता र निःस्वार्थ समाज सेवाको मान्यतालाई अङ्गीकार गर्ने पूर्णलाल चुकेको नाम सामाजिक क्षेत्रमा मात्रै नभई पत्रकारिता क्षेत्रमा समेत अग्रपङ्क्तिमा आउँछ । सामाजिक क्षेत्र र पत्रकारिता क्षेत्रलाई संँगसँगै सुरुवात गरेका चुकेले दुवै क्षेत्रलाई आफ्नो कार्यक्षेत्र बनाएर निःस्वार्थ भावले लागी रहे । नेपाली समाजमा व्याप्त विकृति, विसङ्गति, भ्रष्टाचार, दुराचारविरुद्ध आवाजविहीनको आवाज बुलन्द र उजागर गर्ने उद्देश्यले पत्रकारिता रोजेका चुके २०३१ सालदेखि पत्रकारिता क्षेत्रमा अविछिन्न रूपमा लागिरहेका छन् । हिमाली हुलाक साप्ताहिक, काठमाडांैबाट पत्रकारिता सुरुवात गरेका उनले अर्पण साप्ताहिकको संवाददाता, मध्य र सुदूर पश्चिमाञ्चल क्षेत्रीय प्रतिनिधिको रूपमा निष्पक्ष ध्वनि साप्ताहिक, भैरहवा (पछि विचार साप्ताहिकको रूपमा नाम परिवर्तन) ५ वर्ष काम गरे भने र कान्तिपुर राष्ट्रिय दैनिकमा समेत सुरुको वर्ष २०४८ तिर केही समय काम गरेको अनुभव छ ।
देशमा पञ्चायतकाल भएको समयमा पत्रकारिता क्षेत्रमा लागेका चुकेले पञ्चायतदेखि, बहुदल, लोकतन्त्र र गणतान्त्रिक व्यवस्थासम्म आइपुग्दा पत्रकारिता क्षेत्रमा लामो अनुभव बटुलेका छन् । बाँके जिल्लाका पुराना पत्रकार मध्येका एक चुकेले २०३६ सालमा जनमत दैनिक अस्थायी दर्ता गरे भने २०३९ सालमा आफंै सम्पादक भएको पत्रिका जनमत अद्र्ध साप्ताहिक दर्ता गरे । विभिन्न समस्या र चुनौतीहरूको समाना गर्दै जनमत अद्र्ध साप्ताहिकलाई हालसम्म निरन्तरता दिइरहेका छन् । जनमत अद्र्ध साप्ताहिकसँगै अवलोकन साहित्यिक पत्रिका, अङ्कुर (पश्चिम नेपालको पहिलो साहित्यिक मासिक), नवरत्न (पश्चिम नेपालको पहिलो साहित्यिक गोजिका), धरा साहित्यिक मासिक पत्रिका, विगुल त्रैमासिक पत्रिका, नेपालगञ्ज जेसीज, युवाध्वनि त्रैमासिक पत्रिका, उद्यम द्वैमासिक पत्रिका, मध्य पश्चिमाञ्चलमा इन्सेकः एक दशक (२०५्र८), प्रथम क्षेत्रीय औद्योगिक व्यापार मेलाको स्मारिका (२०५७) नेपालगन्ज उद्योग व्यापार संघको त्रैमासिक बुलेटिनको (२०५६–२०५९) लगायतका पत्रिका तथा बुलेटिनको सम्पादन गरिसकेका चुकेले सुर्खेतबाट प्रकाशित हुने हाम्रो गाउँघर द्वैमासिक पत्रिका, नेपालका सिर्जनशील पत्रकारहरूको सम्पादन सल्लाहकार समेत रहेका थिए भने उनले विभिन्न कृति प्रकाशन समेत गरेका छन् । उषालाई पत्र (कविता सङ्ग्रह) २०३२ चुकेको पहिलो कृति हो ।
पत्रकारिता र सामाजिक कार्यसँगै चुकेले पटक पटक राष्ट्रिय, क्षेत्रीय तथा स्थानीय स्तरको गोष्ठीहरूमा पत्रकारिता, साहित्यिक पत्रकारिता, मिडिया आयोगलगायतका विषयमा कार्यपत्रहरू पनि प्रस्तुत गर्दै आएका छन् ।
पत्रकार चुकेले लेखेको कोभिड–१९ को बेला नेपालका विभिन्न सञ्चार माध्यममा कोभिड–१९ को बारेमा लेख प्रकाशित भएका छन् भने जर्मनीको एक वेभ म्यागाजिनमा जर्मन भाषामा र पोर्चुगलको इडिटर नामक वेभ म्यागाजिनमा पोर्चुगल भाषामा “नेपाली खानपान र जीवन शैली ः कोरोना विरुद्ध लड्ने शक्ति” र “नेपाल र बाँके जिल्लामा कोरोना संक्रमणको वर्तमान अवस्था” नामक लेख पनि प्रकाशित भएका छन् ।
निःस्वार्थ भावनाले समाज सेवा र पत्रकारितामा निरन्तर रूपमा काम गरेबापत विभिन्न पुरस्कार तथा सम्मान पाएका छन् । सन् १९९३ मा स्व. श्री ५ वीरेन्द्रद्वारा सामाजिक कार्यकर्ताको हैसियतले “बाढी पीडित्तोद्वार पदक” बाट विभूषित भएका चुकेले विभिन्न दर्जनौं निकाय तथा संस्थाहरूबाट सम्मानित भएका छन् । स्व. श्री ५ वीरेन्द्रद्वारा शुभ राज्याभिषेक पदकबाट विभूषित (२०५६), स्व. श्री ५ वीरेन्द्र–ऐश्वर्य सेवा पदकबाट विभूषित (२०५८) ।, सन् २००२ मा प्रेस चौतारी नेपालद्वारा वरिष्ठ पत्रकार अभिनन्दन, सन् २००२ मा नेपाल कम्युनिष्ट पार्टी एमालेद्वारा प्रतिभा पत्रकार सम्मान, २००४ मा विश्व क्षयरोग दिवसमा “दिक्षा दक्ष पदक” पुरस्कारबाट पुरस्कृत, सन् २००५ मा युनिभर्सल पिस फेडेरेसन नेपालद्वारा “शान्ति दूत” को रूपमा सम्मानित, सन् २०१० मा लायन्स क्लब अफ नेपालगन्जबाट वरिष्ठ पत्रकार सम्मान, सन् २०१० मा भारतको फैजावादमा जनमोर्चा राष्ट्रिय दैनिक (भारतको एकमात्र सहकारितामा आधारित अखबार) बाट सम्मान, सन् २०११ मा भारतको लखनऊमा यु.पि. श्रमजीवि पत्रकार युनियनबाट सम्मान, सन् २०१३ मा जनजाति पत्रकार महासंघबाट सम्मान, सन् २०१६ मा नेपाल पत्रकार महासंघ बाँकेबाट सम्मान, नेपाल निजामति कर्मचारी संगठन केन्द्रीय समितिद्वारा कर्मचारी आन्दोलनमा सहयोग गरे वापत कदर पत्र (२०४८), ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालयबाट अभिनन्दन (२०५९), सामाजिक सचेतना मञ्च, बा“केद्वारा कदर पत्र (२०६१), श्री ५ ज्ञानेन्द्र तथा नेपाल सरकारबाट गोरखा दक्षिण बाहु चौथो पदकबाट विभूषित (२०६२), उत्तर प्रदेश श्रमजीवी पत्रकार युनियन, भारतद्वारा ‘सम्मान’ – (२००९), अवध पत्रकार कल्याण संस्थान उत्तर प्रदेश लखनऊ, भारतद्वारा ‘अभिनन्दन’ – (२०१०), एशोसियशन आफ प्रिन्ट एण्ड इलेक्ट्रोनिक मिडिया लखनऊ, भारतद्वारा ‘सम्मान’ (२०१५), आदर्श पत्रकार मञ्च बहराइज, भारतद्वारा ‘सम्मान’ (२०१७), –स्वास्थ्यमन्त्रीबाट दिक्षा दक्ष सामाजिक सेवा पुरस्कार (२००४), नेपाल पत्रकार महासंघ, बाँकेद्वारा क्रियाशील पत्रकारिता पुरस्कार (२०७३), नेपाल पत्रकार महासंघ, बाँकेद्वारा ‘सम्मान’ (२०७३), गुल्मेली समाज बाँकेद्वारा सम्मान (२०७५)
त्यसैगरी गैरसरकारी संस्था महासंघ नेपालद्वारा कदर पत्र – (२०७५) गैरसरकारी संस्था महासंघ बाँकेद्वारा ‘सम्मान’ (२०७५), नेवाः देय दवू, बाँकेद्वारा सम्मान (२०७५), नेपाल घरेलु तथा उद्योग महासंघ बाँकेद्वारा ‘सम्मान’ (२०७५), घरेलु तथा उद्योग सहकारी संस्था बाँकेद्वारा ‘सम्मान’ (२०७५), स्वतन्त्र पत्रकार संघ, नेपाल बाँकेद्वारा सम्मान’ (२०७५) जय बागेश्वरी इ.मि. उच्च माध्यमिक विद्यालयद्वारा सम्मान (२०७५), नेपाल क्षयरोग निवारण संस्था बाँकेद्वारा सम्मान (२०७६), नेपालगन्ज जेसिजद्वारा ‘सम्मान’ (२०७७) नेपाल जेसिज राष्ट्रिय समितिबाट उत्कृष्ट सदस्य (१९९२), नेपाल घरेलु उद्योग महासंघ केन्द्रीय समिति नेपालको उत्कृष्ट शाखा अध्यक्ष सम्मान (१९९९) उद्योग मन्त्रीबाट आदि आदि चुकेले पाएका सम्मान हुन् ।
त्यसैगरी भेरी साहित्य समाज केन्द्रीय समिति, प्रगतिशील लेखक संघ नेपाल, कवि लेखनाथ ज्ञवाली स्मृति साहित्यिक प्रतिष्ठान, रूपन्देहीबाट सम्मान, प्रेम प्रकाश मल्ल स्मृति प्रतिष्ठानद्वारा सम्मान र पुरस्कार, वाङमय साहित्यिक प्रतिष्ठान नेपाल, साहू समाज नेपालगन्ज लगायतबाट पनि सम्मानसमेत पाइसकेका छन् ।
जीवनको लामो कालखण्डसम्म सामाजिक क्षेत्रमा काम गरेर कमाएको सम्पत्ति नै यी सम्मान र पुरस्कार भएको चुके बताउँछन् । सामाजिक क्षेत्रमा लागेकै कारण चुकेले विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सेमिनार र अध्ययन भ्रमणका क्रममा थाइल्याण्डमा ७ पटक, मलेसिया, म्यानमार, सिंगापुर, हङ्कङ्ग, रिपब्लिक अफ चाइना ताइवान, सिंगापुर, फिलिपिन्स, कतार, संघीय गणतन्त्र जर्मनी, दक्षिण कोरिया, भारतका विभिन्न शहरमा सहभागिता र सम्मिलित हुने अवसर प्राप्त गरेका छन् भने २००२, जुलाई ९–१८ सम्म श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहको प्रथम राजकीय भ्रमणमा जनवादी गणतन्त्र चीनको भ्रमण टोलीमा राजधानी बाहिरको एकमात्र पत्रकारको रूपमा सहभागी भएका थिए । यो क्षेत्रमा काम गर्दा विभिन्न समस्या तथा चुनौतीहरूको सामना गरेका चुके निरन्तर यो क्षेत्रमा लागिरहँदा आत्मसन्तुष्टि मिलेको बताउँछन् । पत्रकारिता र समाज सेवामा लामो अनुभव बटुलेका चुकेले पत्रकारिता र सामाजिक जीवनमा भोगेका आरोह अवरोहका वास्तविक चित्रलाई आत्मकथाको रूपमा प्रकाशित गर्न उत्प्रेरित गर्ने केही साथीहरूको आग्रह भएकोले त्यसतर्फ पनि सोच बनाएका छन् ।