बाँके जिल्लाको सामाजिक क्षेत्र र खेलकुद क्षेत्रमा चिरपरिचित नाम हो अजितकुमार शर्मा । तत्कालीन समयमा नेपालमा प्रजातान्त्रिक क्रान्तिको आवाज उत्कर्षमा थियो त्यहीँ समयमा बुवा स्व.अमरेन्द्रनाथ शर्मा रेग्मी र आमा स्व. लक्ष्मी देवी शर्माको न्यानो कोखबाट शर्माले यस धर्तीमा पाइला टेके । नेपालगन्जको बेलासपुरमा स्थायी घर भए पनि उनको जन्म रौतहटको गौर दोस्तियामा वि.सं. २००७ साल श्रावण १३ गते भएको थियो । रौतहट गौरमा शर्माका आमाको मामा जागिर गर्दथे, आमा गौर गएको बेला देशैभर क्रान्ति झनै बल्झियो, एक स्थानबाट अर्को स्थानमा जान नसकिने अवस्था सिर्जना भएपछि शर्माको जन्म गौरमा हुन गयो ।
जन्मिएको केही समयपछि आमा नेपालगन्ज आउनु भयो, शर्मा बाल्यकालदेखि नै तीक्ष्ण र चञ्चल स्वभावका थिए भने उनमा भद्रता समेत उत्तिकै थियो । सानैदेखि पढाइ र खेलकुदमा औधि रुचि राख्ने शर्माले सानै उमेरमा आमा बुवाको स्नेहबाट विमुख भए । उनी अढाइ वर्षको हँुदा उनका बुवाको निधन भएपछि उनी माथि ठूलो बज्रपात प¥यो । बुवाको निधनपछि आमाले उनको रेखदेखको सम्पूर्ण जिम्मेवारी मामा स्व. पूर्णराज उपाध्यायलाई सुम्पिनु भयो । त्यसपछिको उनको बाल्यकाल नेपालगन्जको घरबारीटोलस्थित मामा घरमा नै बित्यो । उनका मामा एक प्रतिष्ठित व्यक्ति थिए, सबै कुरामा चासो राख्ने मामाले भान्जाको राम्रो हेरचाह गरे । मामाको रुचि भान्जाले राम्रोसँग पढोस् भन्ने थियो । शर्माको प्रारम्भिक कक्षाको सुरुवात नेपालगन्जस्थित मंगल प्रसाद विद्यालयबाट भयो । ६ कक्षा उत्तीर्ण गरेपछि उनी नारायण विद्यालयमा भर्ना भए र वि.सं. २०२२ सालमा एसएलसी उत्तीर्ण गरे । पढाइमा अब्बल विद्यार्थीको रूपमा रहेका शर्माको अंग्रेजी निकै राम्रो थियो । माध्यमिक तह उत्तीर्ण गरेसँगै उनी नेपालगन्जको श्री ५ महेन्द्र क्याम्पसमा प्रवीणता प्रमाणपत्र तहको अध्ययनका लागि भर्ना भए र उनले विज्ञान सङ्कायतर्फ यस क्षेत्रमै पहिलो ब्याचको विद्यार्थीको रूपमा वि.सं. २०२४ सालमा उत्तीर्ण गरे । नेपालगन्ज छिमेकी देश भारतसँग जोडिएका कारण पहिलेदेखि नै नेपालबाट भारतका विभिन्न स्थानमा उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरू जाने गर्दथे । उनका मामाले उनलाई उच्च शिक्षा अध्ययनका लागि भारतको लखनउस्थित लखनउ विश्वविद्यालय पठाए । लखनउमा उनले निकै मिहेनतसाथ पढाइलाई अगाडि बढाए र वि.सं. २०२८ सालमा लखनउ विश्व विद्यालयबाट मानव विज्ञानमा स्नातकोत्तरको अध्ययन पूरा गरे ।
मध्यम वर्गीय परिवारमा जन्मिएका शर्मा लखनउ र नेपालगन्ज दुवैतर्फको नियमित सम्पर्कमा रहन्थे । तत्कालीन समयको स्मरण गर्दै शर्मा भन्छन्,‘नेपालगन्ज लखनउ निकै नजिक थियो, हामी हरेक शनिबार ट्रेन चढेर नेपालगन्ज आउने र आइतबार फर्किने
गर्दथ्यौं । नेपालगन्जदेखि लखनउको ट्रेन भाडा ८ रूपैयाँ २० पैसा थियो । क्याम्पसको शुल्क मासिक ११ रूपैयाँ थियो, १५ पैसामा कोकाकोला खान पाइथ्यो, ४४ रूपैयाँमा मासिक खाना खान पुग्यो । मासिक १५० रूपैयाँ घरबाट लग्ने गर्थे जसले दुईजनाको लखनउ खर्च व्यवस्थापन हुन्थ्यो ।’ बाल्यकालमा सिनेमा हेर्न शर्मा हौसिन्थे तर पैसाको निकै अभाव हुन्थ्यो, खाने मुखलाई जुँगाले छेक्दैन भनेझंै शर्माले सिनेमा हेर्ने नयाँ जुक्ति निकालेका थिए, हप्ताभरिको कपडा नेपालगन्ज घर आएर धुने र लुगा धुन साबुन किन्ने पैसाले सिनेमा हेर्ने गरेको स्मरण उनी गर्दछन् । उसो त उनले भारतमा अध्ययन गर्दा समेत कहिले पनि क्याम्पसलाई शुल्क तिरेनन्, क्याम्पसमा हुने हरेक प्रतियोगितामा उनी सहभागी हुन्थे र उत्कृष्ट हुन्थे त्यसै कारण उनले लखनउ विश्व विद्यालयबाट छात्रवृत्तिमा अध्ययन गरेका थिए ।
पढाइ र खेलकुदका अलावा सानैदेखि शर्माको सामाजिक सेवा गर्ने तीव्र अभिलाषा थियो । उनी अध्ययन गर्दै गर्दा नेपालगन्जमा हुने हरेक क्रियाकलापमा सहभागिता जनाउने गर्दथे । लखनउमा पढ्दै गर्दा उनी विश्व विद्यालय अन्तर्गत गठित क्यअष्ययिनथ ब्ककयअष्बतष्यल को सचिवको जिम्मेवारी पूरा गरेका थिए । उनको नेपालगन्जमा पुराना समाजसेवी सनत रेग्मीलगायतसँग नियमित रूपमा सम्पर्क भइरहन्थ्यो । नेपालगन्ज आएको बेला खेलकुदमा निकै चासो राख्ने शर्मा समय मिल्यो कि मैदानमा अभ्यासका लागि उत्रिहाल्थे । नेपालगन्ज उहिल्यैदेखि खेलकुदको उर्वर भूमिको रूपमा रहँदै आएको छ । त्यतिखेर क्रिकेट, एथलेटिक्स र भलिबल बढी खेलिन्थ्यो कारण अरू खेल महँगो हुन्थे । फुटबल, भलिबलमा उत्कृष्ट कहलिएका शर्माले वि.सं. २०३० सालमा राष्ट्रिय टिममा सहभागिता जनाएका थिए । वि.सं. २०३१ देखि विभिन्न देशमा आयोजना गरिएका अन्तर्राष्ट्रिय खेलमा समेत उनको सङ्लग्नता हँुदै गयो । जिल्लामा खासै प्रतियोगिता नहुने भए पनि राष्ट्रिय टिममा प्राथमिकताका साथ उनी छनोटमा पर्दथे ।
आफूसँग सीप र क्षमता छ भने सबै काम गर्न सकिन्छ भन्ने उदाहरणको रूपमा रहेका शर्माको अन्तर्राष्ट्रिय भाषा अंग्रेजी राम्रो भएका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलनमा भाग लिने थुप्रै अवसर प्राप्त गरे ।
सामाजिक सेवा गर्ने शर्माको सामाजिक सेवाको औपचारिक सुरुवात नेपाल रेडक्रस सोसाइटीबाट भएको थियो । सामाजिक क्षेत्रमा जोडिँदाका ती दिन सम्झिँदै शर्मा भन्छन्,‘वि.सं. २०३० सालको कुरा हो । एक दिन नेपालगन्ज रंगशालाबाट साथीहरूसँगै फर्किदै थिएँ हाल जिल्ला प्रशासन कार्यालय (तत्कालीन अञ्चलाधीशको कार्यालय) को डबलीमा केही मानिसहरूको भिड थियो । के रहेछ भनेर नजिकै गयौं त्यहाँ रेडक्रसको चुनाव भइरहेको रहेछ । मैले पनि आफ्नो उम्मेदवारी दर्ता गरे, मेरो प्रतिस्पर्धा जैनेन्द्रकुमार टण्डनसँग हुने भयो । निर्णयका लागि भोटिङ भयो, त्यहाँ उपस्थित सहभागीका बीचमा हात उठाएर शर्माको पक्षमा भोट गर्न अपिल गरियो सबैले हात उठाए म जित्ने भए भन्दै ढुक्क भएँ, त्यसपछि जैनेन्द्रको पक्षमा हात उठाउन भन्दा सबैले पुनः हात उठाए दुवैजनाको समान समर्थन भए पनि अन्तिम निर्णय गर्ने अधिकार अञ्चलाधीश सत्यनारायण झासँग थियो जुन निर्णय मेरो विपक्षमा भयो ।’ उनले हारे पनि उनलाई हारको अपसोच थिएन । उनी त्यो कुरा बिर्सेर खेलमा व्यस्त हुन थाले ।
जसले बोक्छ भारी, खान्छ मेख मारी भनेझैं केही समयपछि नेपाल रेडक्रस सोसाइटीबाट नै उनलाई १ महिने तालिमका लागि अफर आयो । वि.सं. २०३० मा काठमाडौंमा हुने तालिमका लागि उनी भारतको रक्सौल हँुदै सहभागी भए । त्यो तालिम निकै प्रभावकारी र उनको सामाजिक सेवामा भोक बढाउने महत्वपूर्ण क्षण बन्यो । उनी भन्छन्,‘तालिमपछि सामाजिक सेवामा काम गर्ने मेरो अभिलाषा निकै बढेर आयो । त्यतिखेर मलाई धेरै ठाउँबाट जागिरको अवसर आएको थियो तर जागिर नखाएर सामाजिक सेवा गर्ने अठोटका साथ अगाडि बढें ।’
क्रान्तिकारी स्वभावका शर्मा बहुदलीय व्यवस्थाका पक्षपाती थिए तर उनमा यति धेरै क्षमता र दक्षता थियो की उनी पञ्चायती विरोधी हँुदासमेत देशको पहिलो रेफ्रीको रूपमा आफूलाई स्थापित गर्न सफल भए । वि.सं. १९८७ मा कोरियामा भएको एसियाडमा नेपालको तर्फबाट उनले रेफ्रीको भूमिकामा सहभागिता जनाए । अन्तर्राष्ट्रिय प्रतियोगितामा रेफ्रीको रूपमा सहभागिता जनाएपश्चात् उनको खेल जीवनले थप उचाइ बनाउँदै गयो । वि.सं. २०३१ देखि २०४४ सम्म १४ वर्षको अवधिमा जिल्ला र अञ्चल तहमा हुनै सबै खेलमा शर्माको दब्दबा रहन्थ्यो । नियमित हुने प्रतियोगितादेखि वीरेन्द्र रनिङ सिल्डलगायतका सबै खेल उनले खेलाउथे । उनले भेरी अञ्चल भलिबल एसोसिएसनका सचिव, भेरी अञ्चल खेलकुद विकास समिति सदस्यलगायतको जिम्मेवारी निर्वाह गरेका थिए । उनको जीवनमा रेडक्रस र खेलकुदको नशा यति धेरै थियो कि उनले सबै कुरालाई तिलाञ्जली दिँदै जीवन नै सामाजिक सेवा र खेलकुदमा समर्पित गरिदिए ।
वि.सं. २०३२ मा भएको निर्वाचनपछि शर्माले वैधानिक रूपमा नेपाल रेडक्रसको सदस्यता प्राप्त गरे । उनी जहाँ जान्थे त्यसको गहिराइसम्म पुगेर त्यसमै समर्पित हुन सक्ने खुबी उनमा थियो ।
नेपाल रेडक्रसको सदस्य भएपछि उनी जिल्ला सभापतिबाहेक जिल्ला समितिको सबै पदमा जिम्मेवारी निर्वाह गरे, त्यसपछि १६ वर्ष केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा रही काम गरे । त्यसका अलावा वि.सं. २०३४ मा नेपाल परिवार नियोजन संघको बाँके शाखा गठन गर्ने र त्यसमा सभापति बन्न उनलाई अफर आयो तर उनले सभापति अर्कैलाई बनाउन आग्रह गरी आफू संस्थापक सचिवको भूमिकामा रहे । उनी परिवार नियोजनमा रहँदा नेपालगन्जस्थित कार्यालय भवन निर्माणमा सहयोग गरेका थिए । काम गर्दा सबैलाई समेटेर लैजानु पर्छ भन्ने भावनाबाट उत्प्रेरित शर्मा नेपाल परिवार नियोजनसँगबाट उत्कृष्ट स्वयम् सेवकको रूपमा नगदसहित सम्मानित भइसक्नु भएको छ । आत्म सन्तुष्टिका लागि गरिने सेवा नै समाज सेवा हो भन्ने मान्यता राख्ने शर्मा वि.सं. २०३८ र २०४२ मा प्रधानपञ्चका लागि नेपालगन्जमा चुनावसमेत लडेका थिए तर उनले सफलता हात पार्न सकेनन् । सामाजिक सेवाको सिङ्गो इतिहासको रूपमा रहेका शर्माको समाज सेवाको परिभाषा फरक छ । उनी भन्छन्,‘घरपरिवारलाई तिलाञ्जली दिएर गरिने सेवा समाज सेवा होइन् ।’ परिवार व्यवस्थापन र सामाजिक सेवासँगै लैजान सके मात्रै त्यो सामाजिक सेवा हुने उनी बताउँछन् । अहिले सामाजिक सेवा नाफामुखी हुँदै गएको तर्क गर्ने शर्मा नाफामुखी सेवाप्रति असन्तुष्टि जताउँछन् । उनका बिचारमा लगानी जोडेर नाफा हासिल हुन्छ भने त्यो व्यापार हो जुन सामाजिक सेवामा हुनु हँुदैन । सामाजिक क्षेत्रमा पारदर्शिताको कमी रहेकोले सामाजिक क्षेत्रलाई राजनीतिकरणबाट टाढा राख्नु पर्ने उनको सुझाव छ । हरेक व्यक्ति नैतिक रूपमा स्वच्छ भएमा मात्रै समाज स्वच्छ हुने उनको बुझाइ छ ।
समाज सेवामा लागेर कहिले पनि कुण्ठाबोध नभएको बताउने शर्माले हालसम्म २५ बढी देशको भ्रमण गरिसक्नु भएको छ । विभिन्न देशको स्मरण गर्दै उनी भन्छन्,‘म हालसम्म चीन, जापान, भारत, जर्मनी, पाकिस्तान, तिब्बत, अमेरिका, अष्टे«लिया, टर्की, ब्रिटेन, बंगलादेश, मेक्सीको, केन्या, म्यानमार, थाइलेन्ड, श्रीलंका, हङकङ, ताइवानलगायत २५ देशमा विभिन्न कार्यक्रम तथा प्रतियोगितामा सहभागी भइसकेको छु ।’ जीवनको अविस्मणीय क्षण के हो भन्ने प्रश्नको जवाफमा पुराना घटनाको स्मरण गर्दै शर्मा भन्छन्,‘एकपटक नेपालगन्जको भेरी अस्पतालमा जाँदै गर्दा एकजना महिला रुदै म कहाँ आइन । त्यतिखेर रक्त सञ्चार केन्द्र भर्खरै स्थापना भएको थियो उनले मलाई आफन्त सिकिस्त बिरामी भएको र रगतको आवश्यकता भएको भन्दै रगत दिन हारगुहार गरिन् । उनको त्यो पीडालाई नाइँ भन्न सकेन र मैले रगत दिए । रगत दिएर म काममा लागे त्यसको १ महिनापछि उनी मलाई खोज्दै म कहाँ आइन म हिँड्दै गर्दा बाटोमा भेट भयो । उनी मेरो खुट्टामा लम्पसार परिन् मैले उनलाई चिनेको पनि थिएन म अक्क न बक्क भए मैले उनको अनुहारसमेत बिर्सिसकेको थिएँ । के भयो किन खुट्टा ढोगेको भन्दा तपार्इंले दिएको रगतले मेरो मान्छेले पुनर्जिवन पायो त्यो गुन म बिर्सन सक्दैन भन्दै रुन थालिन, मैले उनलाई उठाएर सम्झाइ बुझाइ गरी घर पठाएको थिए । यो घटनालाई मैले सम्झिई रहन्छु ।’ मलाई सामाजिक सेवामा झक्झक्याइँ रहने यो अविस्मरणीय घटना हो । जीवनको अर्को यस्तै घटना स्मरण गर्दै उनी भन्छन्,‘ एकपटक विदेश जाँदा जहाजमा रोटी र मासु खान दियो हेर्दा निकै खाउखाउ लाग्ने थियो । मैले रोटीसँग मासु खानै लाग्दा मेरो साथीले मलाई रोक्यो उसले भन्यो यो गाईको मासु हो । म एकैचोटी छाङ्गाबाट खसे जस्तो भयो मलाई ठूलो गल्तीबाट बचेको महसुस भएको थियो ।’
खोला होइन तिर्खा धाउँछ भनेझैं उनको सामाजिक सेवाको अविरल यात्रा अनवरत रूपमा अगाडि बढी रहेको छ । कामले काम सिकाउँछ भन्ने नेपाली उखान उनका लागि चरितार्थ भएको छ । सामाजिक क्षेत्रमा सिक्ने र सिकाउने क्रममा उनको भाबी योजना नेपाल रेडक्रस सोसाइटीको अध्यक्षको जिम्मेवारीवहन गर्ने रहेको छ । सधैँ आफ्नो कार्यमा सक्रिय शर्माको भावी योजना सफल हुँदै जाओस् शुभकामना ।