मानिस सामाजिक प्राणी हो । समाजको महत्वपूर्ण हिस्सा व्यक्ति र परिवारले ओगटेको हुन्छ । मानिसको व्यवहारले नै समाजको संकेत गर्दछ । नेपाली समाजमा विशेष गरी दुईवटा धार रहँदै आएको भनिँदै आइएको छ । एउटा सकारात्मकतामा जोडिएर अघि बढ्न चाहने र अर्को यसको ठीक विपरीत । समाजमा जब नकारात्मक कुराले स्थान पाउ“छ त्यसपछि समाज सुधारको अभियानको आवश्यकता पर्दछ । थोरै व्यक्तिहरु मात्रै समाजलाई सभ्य बनाउने यात्रामा होमिन्छन् । यस्तै अभियानमा झन्डै २ दशकको यात्रा पार गरी सकेका छन् नेपालगन्ज–१० निवासी दिपेन्द्रकुमार जोशीले ।
२०५८ सालमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संस्थापक सदस्य बनेका जोशी अहिले अध्यक्षको जिम्मेवारीमा छन् । २१ सदस्सीय सेवा केन्द्रका अध्यक्ष जोशी छैटौं अध्यक्ष हुन् । यो जिल्ला प्रहरी कार्यालय बा“केस“ग आबद्ध संस्था हो । सदस्य, सहसचिव, सचिव, उपाध्यक्ष हु“दै जोशीले अध्यक्ष पदभार ग्रहण गरेका हुन् । उनको निरन्तरको मेहनत र कामप्रतिको लगनशीलताले नै उनलाई यो अवसर प्राप्त भएको हो । यो अवसरलाई उनले आफ्नो जीवनको महत्वपूर्ण समय ठानेका छन् । पद लिने तर काम नगर्ने प्रवृत्ति उनलाई मन पर्दैन । समुदायमा सकारात्क ऊर्जा थप्न आफूले लिएको नेतृत्व सफल हुनेमा जोशी विश्वस्त छन् । उनी काम गर्नको लागि पद नै चाहिन्छ भन्ने कुरामा सहमत छैनन् । यसअघि सदस्य, सहसचिव, सचिव र उपाध्यक्ष हु“दा पनि निरन्तर सामाजिक काममा खटिएर लागेको अनुभव उनीस“ग छ । पद नलिँदा पनि समाजमा थुप्रै उदाहरणीय काम गर्न सकिन्छ भन्ने उदाहरण बनिसकेका जोशी अबको यात्रालाई अझै सशक्त बनाउने योजनामा छन् । यो यात्रामा उनले थुप्रै अवसर र समस्याहरु देखेका छन् । समाजमा रहेका राम्रा पक्ष र नराम्रा पक्षहरुलाई केलाउँदै आफ्ना योजनालाई मूर्तरूप दिने उनको सोच छ ।
२०२६ चैत्र ५ गते बुबा नन्दकुमार जोशी र आमा स्व. रत्नकुमारी जोशीको कोखबाट बाग्लुङ जिल्लामा जन्मिएका जोशीले कर्मथलो भने नेपालगन्जलाई बनाउन पुगे । बाल्यकाल बाग्लुङमै बिताए पनि पढाइको सिलसिलामा विभिन्न जिल्ला पुगेका जोशीमा सामाजिक कामप्रतिको लगाव उत्तिकै छ । उनी समाजमा बढ्दै गएका विकृति र विसङ्गतिप्रति चिन्तित छन् । गलत काम गर्नेलाई समर्थन गर्दै जाने प्रवृत्तिका कारण समाजमा अपराधिक घटना बढ्दै गएको उनको बुझाइ छ । यतिमात्र नभई न्यायको पक्षमा साथ नदिने प्रवृत्ति सबैका लागि हानिकारक हो भन्ने जोशीको भनाइ छ । अध्यक्ष पद सम्हालेसँगै जोशीले नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडामा जनचेतनामूलक कार्यक्रम गर्ने, विद्यालय तथा कलेजहरुमा निरन्तर अनुगमन गर्ने तथा जनचेतना अभिवृद्धि गर्ने, विभिन्न साझेदार संंस्था तथा स्थानीय तहसं“ग समन्वय र सहकार्य गर्ने, लागू औषध निषेध अभियान सञ्चालन गर्ने योजना बनाएका छन् । धेरै जस्तो संस्थामा योजना बनाउने तर कार्यान्वयन प्रभावकारी नहुने प्रवृत्तिलाई नजिकैबाट नियालेका जोशीले संस्थागत एकतालाई पनि जोड दिएका छन् । योजना कार्यान्वयन गर्नका लागि पहिलो चरणमा गैर सरकारी क्षेत्रमा काम गर्ने संघसंस्थास“ग मिलेर योजनालाई पूर्ण रूप दिने तयारीमा छन । यसका लागि प्रत्येक स्थानीय तहमा वडा स्तरीय लागुऔषध निषेध अभियानका लागि ८१ वटै वडामा कमिटी गठनको कामलाई मुख्य प्राथमिकतामा राखेका छन् ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले निःशुल्क रूपमा परामर्श दिने काम गर्छ । यसका साथै महिला हिंसा न्यूनीकरणका लागि सहजीकरण गर्ने, लागु औषध नियन्त्रणका लागि विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्ने, कानुनी उपचार प्रदान गर्ने, लैङ्गिक अपराध न्यूनीकरणको लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने काम गर्छ । समाजमा आपराधिक घटना नघटून् भन्ने उद्देश्यले जनचेतना अभिवृद्धिको कामलाई जोड दिँदै आएको जोशीले बताए ।
जोशी पेसाले भने कृषक हुन् । जोशी फ्रेस हाइजनिक फुडका सञ्चालक हुन् । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ७ सिमलघारीमा रहेको उक्त फ्रेश हाइजनिक फुडबाट मासु प्रशोधनबाट राम्रो आम्दानी गर्दै आएका छन् । उक्त फ्रेश हाइजनिक फुडबाट मासु प्रशोधन गरी नेपालगन्जको भाटभटेनीबाट बिक्री वितरण हुँदै आएको छ । त्यसैगरी एनभी कृषि तथा पशु पालन फर्ममार्फत् बँगुर तथा खसी पालन कृषक समूहसँग सहकार्य गरेर काम गरिरहेका छन् उनले । जिल्ला प्रहरी कार्यालय बाँके र नेपालगन्ज उपमहानगरपालिकाद्वारा नेपालगन्ज–१० मा सञ्चालित लागु औषध निःशुल्क परामर्श सेवा केन्द्रमा परामर्शकर्ताको रूपमा काम गर्दै आएका जोशी लागु औषधविरुद्धको अभियानमा समेत सक्रिय रूपमा लागेका छन् ।
सामाजिक सेवा र कृषि कर्म भिन्न भिन्न क्षेत्र भएता पनि उनले दुवैलाई उत्तिकै समय दिएका छन् । दुवै क्षेत्रमा उनको राम्रो अनुभव छ । जोशीको जीवनमा नसोचेका क्षणहरु आइरहेका हुन्छन् । यसलाई उनले समयको माग ठान्छन् । समाजको आवश्यकता अनुसार आफूले भूमिका निभाउँदै आएको उनको तर्क छ । आइकमसम्मको अध्ययन गरेका जोशीले कृषि पेसामा लागेपछि थुप्रै देशहरुको भ्रमण गर्ने अवसर पाएका छन् । उनले अमेरिका, जापान, कोरिया, जर्मन, बेल्जियम, नेदरल्याण्ड, फ्रान्स, स्विजरल्याण्डलगायत १ दर्जन बढी देशहरुको भ्रमण गरेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा सात वर्ष विदेशमा बसेका जोशी विभिन्न सम्मानबाट सम्मानित भएका छन् । विदेशबाट फर्किएपछि विदेशबाट सिकेर आएको सीपलाई प्रयोगमा ल्याएबापत नेपाल सरकारबाट नगद रु. ५० हजारसहित सम्मानित भएका जोशी, कोरियन एम्बेसी र अंकुर नेपाल संस्थाबाट सात प्रदेशमध्ये लुम्बिनी प्रदेशभरिबाट कृषि उद्यमशीलता पुरस्कारबाट समेत पुरस्कृत भएका हुन् । कृषि क्षेत्रको प्रविधि विकास गरेबापत जोशी विभिन्न निकाय तथा संस्थाबाट पुरस्कृत र सम्मानित भएका छन् ।
स्कुले जीवनमा उनले पढेर जागिर खाने सोच बनाएका थिए । आइकम पढाइ सकेपछि सुरुका केही वर्ष नेपालगन्जमा रहेको नेपाल चिम उद्योगमा जागिर गरेका जोशीले पछि आफ्नो पेशा परिवर्तन गरे । मासिक ३०० तलबबाट जागिर सुरु गरे पनि समय बित्दै जाँदा उनको सोचाइमा परिवर्तन आयो । यो परिवर्तनले उनलाई एक सफल कृषक र सफल सामाजिक अभियन्ता बनायो । मध्यम वर्गीय परिवारमा जन्मिएका जोशीले अबको समय पनि समाज सेवा र कृषिमा नै समर्पित गर्ने अठोट लिएका छन् ।
अबको २ वर्षे कार्यकालमा आफूले बनाएका सबै योजनालाई मूर्तरूप दिने उनको सोच छ । एक्लो प्रयासले मात्र समाज सुधार गर्न नसकिने भएकाले सबैको सहयोग पाउने अपेक्षा उनको छ । समाजमा विभिन्न किसिमका आपराधिक घटना बढ्नुका पछाडि उनले आर्थिक अवस्थालाई प्रमुख कारण मानेका छन् । आर्थिक अवस्था नाजुक भएका स्थानमा विभिन्न खाले हिंसाका स्वरूपहरु देखा परेको र त्यस्ता क्षेत्रमा जनचेतना फैलाउन पनि असहज हुने गरेको उनी बताउँछन् । देशको भविष्य बनाउने युवाहरु नै कुलतमा फसेको देख्दा उनलाई दुःख लाग्छ । विद्यालय तथा कलेजमा अध्ययनरत युवाहरु अध्ययन समय छोडेर बरालिएको दृश्यले झनै भावुक बनाउ“छ । अनि चेलीबेटीहरु विभिन्न बाहानामा बेचिनु परेको अवस्थाले मर्माहत बनाउँछ । समाजमा घटिरहेका यस्ता घटनाहरु समाजमै लुकाइनु र मिलाइनु आफ्नो अभियानमा सबैभन्दा चुनौतीपूर्ण रहेको उनले बताए । यो चुनौतीको सामना जोशी र उनका सहकर्मीहरुले निरन्तर झेल्दै आएका छन् । समाजमा शान्ति स्थापनाका लागि भएका प्रयासहरु सफल नहुनुको प्रमुख कारण नीति कार्यान्वयन हुन नसक्नु रहेको उनको बुझाइ छ । उनी समाजमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जाँदा कानुनी जानकारीलाई प्राथमिकतामा राख्छन् । समाजमा घटनाहरु लुकाएर बस्ने प्रवृत्ति उनलाई मन पर्दैन । यो प्रवृत्तिको अन्त्य हुनु पर्छ भन्ने कुरामा उनको जोड छ ।
हिजोको दिनमा यसरी सामाजिक काममा तल्लीन हुने कुरा उनका लागि टाढाको विषय थियो । तर समाजमा घटिरहेका आपराधिक घटनाले जोशीलाई झस्क्यायो । समाजमा जन्मेपछि केही न केही महत्वपूर्ण काम गर्नुपर्छ भन्ने उनलाई लाग्यो । यसलाई पनि उनी समयको माग ठान्छन् । आफू बुझ्ने भएदेखि नै समाजमा हुने अन्यायका विरुद्ध बोल्न सुरु गरेका जोशीको यात्राले अहिले मूर्त रूप लिएको छ । उनको सामाजिक काम प्रतिको सेवाभावले नै आगामी यात्रालाई अझै फराकिलो बनाउने छ । उनले सामाजिक मान प्रतिष्ठाका लागि भन्दा पनि समाजलाई सुसूचित र सभ्य बनाउन सामाजिक कामलाई रोजेको बताए । अबका दिनमा जोशीले सामाजिक एकता र मेलमिलापको कुरालाई प्राथमिकता दिने सोच बनाएका छन् । एकले अर्कालाई समर्थन र सहयोग गर्ने संस्कृति हराउँदै गएकाले मेलमिलापको वातावरण बनाउन जरूरी रहेको कुरामा उनी चिन्तनशील छन् । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ भन्ने जोशीको तर्क छ । उनको यो यात्रामा घरपरिवारले पनि साथ र सहयोग गर्दै आएका छन् । यस्तै उनका सहकर्मी र साथीभाइले पनि हौसला प्रदान गरेकोमा उनी खुसी छन् ।
सामाजिक कामका लागि धेरै समय खर्चदा उनलाई आनन्द महसुस हुने गर्छ । पीडितले न्याय पाएको समयमा सबैभन्दा धेरै खुसी मिल्ने गरेको जोशीले बताए । तर कतिपय पीडितहरुले लामो समयसम्म पनि न्याय पाउन नसक्दा भने निकै दुःख लाग्ने गर्छ जोशीलाई । सामाजिक कामको यात्रामा अनवरत रूपमा लागि परेका जोशीको आगामी यात्रा अझै उज्ज्वल बनोस् । सफलताको शुभकामना ।