मिना ‘यु–ट्युब’बाट मालामाल

सावित्री गिरी

आजभोलि सामाजिक सञ्जालमा पहुँच नभएका कमै व्यक्ति होलान् । कुनै न कुनै माध्यमले मानिसले दिनहुँ फेसबुक, टिकटक, इन्ट्राग्राम र युट्युबलगायतका सामाजिक सञ्जाल चलाइनै रहेका हुन्छन् । केहीले त्यसलाई समय बिताउने माध्यमका रूपमा चलाइरहेका हुन्छन् भने केहीले त्यसबाट राम्रो ज्ञान पनि हासिल गर्छन् । युट्युबका माध्यमबाट आर्थिक उपार्जनका विषय वस्तु हेरेर व्यवसाय नै चलाउन सक्ने भएकी छिन् मिना पुन । त्यति मात्र होइन बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ४ स्थित बैजनाथ पोल्ट्री फार्म सञ्चालन गरेर मिना पुनले मनग्गे आम्दानीसमेत गरिरहेकी छिन् ।


मिना पहिले बेरोजगार थिइन, के गरांै र कसो गरांै भएको थियो । पछि उनले सामाजिक सञ्जालको सही सदुपयोग गरिन । यु—ट्युबमा टर्की पालन गरेर सफल बनेका व्यक्तिको प्रोफाइल रिपोर्ट हेरेपछि मिनाले टर्की पाल्न सुरु गरिन । व्यवसाय सुरु गरेपछि मिनालाई बिहान उठेदेखि बेलुकासम्म दिन बितेको थाहा नै हुँदैन । बिहान टर्कीलाई दाना पानी हाल्ने, खुला ठाउँमा छोडिदिने गर्छिन । व्यसायबाट राम्रो आम्दानी भएपछि ५ हजार टर्की पाल्ने मिना पुनको सपना छ ।
मिना पुन टर्कीसँगै दिनरात रमाउँछिन् । यो व्यवसायमा उनी लागेको २ वर्ष भयो । यो छोटो समयमा नै उनी यो व्यवसायबाट सफल बनिन् । मिना पुनले यति छिटै सफलता पाउँछु भनेर सोचेकी थिइनन् । अहिले उनीसँग साढे ४ लाख बराबरको टर्की र कुखुरा छन् ।
पछिल्लो समय टर्की व्यवसाय निकै राम्रो मानिएको छ । वैज्ञानिक दृष्टिकोणबाट पनि टर्कीको मासु मानव स्वास्थ्यका लागि निकै राम्रो मानिएको छ । थोरै लगानीमा पनि राम्रो मुनाफा हुने भएपछि यो व्यवसाय प्रतिको आकर्षण बढेको हो । र, यसको बजार माग पनि उत्तिकै बढ्दो छ ।


मिनाले टर्कीसँगै कडकनाथ कुखुरा पनि पालेकिछिन् । कुखुरी र कुखुराको मूल्य बोइलरको तुलनामा दुई गुणा बढी हुन्छ । कडकनाथ भारतमा पाइने एक मात्र कालो मासु भएको कुखुरा हो । अनुसन्धान अनुसार, यो मासुुमा सेतो कुखुराको तुलनामा कोलेस्ट्रोल स्तर कम छ । यसमा अमिनो एसिड कम हुन्छ । भारतका विभिन्न भागमा यो कुखुरा पाइन्छ । केही जरूरी कुरामा ध्यान दिँदा यसलाई नेपालमा पनि पाल्न सकिन्छ । यो कुखुराको मासु र अण्डा महँगो मूल्यमा बिक्छ । दक्षिण एसिया गरिबमुखी पशुपालन नीति कार्यक्रमअन्तर्गत गरिएको एक अध्ययनअनुसार, ६ महिनाको देशी कुखुरा भारु ८० देखि ९० रुपैयाँमा बिक्छ । कडकनाथ कुखुराको मूल्य चाहिँ भारु सयदेखि १५० रुपैयाँ पर्छ ।
अहिले मिना यो व्यवसायबाट सन्तुष्टछिन् । टर्कीकोे मासु ५ महिनादेखि खान तयार हुन्छ । मासु प्रतिकिलो ९ सय रुपैयाँसम्म बिक्री गरेको मिनाले बताइन् । उनको घर नजिकैको बजार कोहलपुर र छिमेकी जिल्लामा मात्र होइन टर्कीको मासु जुम्लासम्म पुग्ने गरेको मिनाको भनाइ छ ।

टर्कीसँगै बटई पालन

मिना पुनले बटई चरा पनि पालेकिछिन् । आजभोलि यसको अण्डा र मासुको व्यापार पनि बढिरहेको छ । सानो ठाउँमा पनि धेरै बटई पाल्न सकिन्छ । यसको अण्डा कुखुराको अण्डा भन्दा सस्तो र बढी लाभदायी हुन्छ । यसबाट पनि मिनाले राम्रो आम्दानी गरेकीछिन् । गरे के हँुदैन भन्ने उदाहरण बनेकी छिन् मिना । यो व्यवसायमा लागेपछि मिनाले आम्दानी मात्र होइन नाम पनि कमाएकी छिन् । अहिले मिनालाई सफल कृषक भनेर सबैले चिन्छन् । उनको फार्म अवलोकन गर्न आउँछन् । यो खुसी मिनाको परिश्रमको परिणाम हो ।

  • १६ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech