विवाहपश्चात्का दिन अत्यन्तै रमाइलोसँग बिते । म हिमेशको मायामा संसार भुलेर हाँसीहाँसी दिनहरु बिताइरहेकी थिएँ । हिमेश जसलाई पाउनको लागि मैले मलाई जन्म दिने बुवा आमा र आफन्त सबैलाई त्यागेर हिँडेको थिएँ । आमाले विवाहको लागि तयार गरेको केटालाई इन्कार गरी विद्रोह गरेर जन्म घर छोडेको थिएँ । त्यो आफू खुसी हुनको लागि पहिलो कदम चाल्दा पनि मलाई कुनै पश्चाताप थिएन ।
दुई वर्ष साथमा बिताएपछि हिमेश विदेश जाने भए । यो कुरा मलाई सहन धेरै गाह्रो भयो । आफ्नो ठाउँमा जे जस्तो गरेर भए पनि साथमा रहेर दुःख सुख गरिरहेका थियौं । जन्म घरको सुख सयल सबै कुरा भुलेर पनि बाँच्न र हाँस्न सक्ने वातावरण हिमेशले दिएको थियो । हिमेशलाई पाएर जन्मदिने बुवा आमालाई छोड्नु पर्दा पनि मलाई कुनै किसिमको पश्चाताप थिएन ।
विदेश जानु पर्ने बाध्यतालाई आत्मसात् गरेर जबरजस्ती मैले आफ्नो मनलाई सम्हालेर मुटु माथि ढुङ्गा राखेर बिदाइका हात हल्लाउन काठमाडौं एयरपोर्टसम्म गएँ । जानेबेलामा अँगालोभरि बेरेर भनेको थियो,‘ मेरी आमालाई तिम्रो जिम्मा छोडेको छु राम्रोसँग हेरविचार गर्नु, म तीन वर्षपछि आउँछु ।’ कति सजिलोसँग भन्यो उसले । उसको आमाको हेरचाह गर्नलाई त म थिएँ, तर मेरो हेरचाह कस्ले गर्ने ? ऊ बिना बाँच्नु मेरा लागि कति कठिन थियो ? कसरी व्यक्त गर्नु ? पेटमा सात महिनाको बच्चा थियो । एक्लै बच्चालाई जन्मदिनु, हुर्काउनु, पालनपोषण गर्नु सजिलो कुरा थिएन ।
हिमेश उडेपछि म धेरैबेरसम्म आकासमा हेरेर टोलाइ रहें । मन पनि उसैसँग आकासमा लहरिँदै उतै पुगेको थियो तर भौतिक शरीर भने जहाँको तहीँ थियो । हिमेश मलेसियामा पुगेर काममा पनि लागिसकेको थियो । यता मलाई भने दिनप्रतिदिन समस्या हुँदै गयो । पेटमा बच्चाको अवस्था गम्भीर छ भनेर डाक्टरले भनेका थिए । बुढी सासू आमा दमको रोगी, समयमा औषधि पानीको ख्याल गर्नु पर्ने । आफ्नो स्वास्थ्यमा दिनप्रतिदिन समस्या हुँदै गयो । तब जन्म घर र आमा बुवाको यादले व्याकुल बनाउथ्यो । पढ्दापढ्दै बुवा आमाको बेवास्ता गरेर हिँडेकोमा पश्चाताप लागिरह्यो । बुवा आमाको ठूलो घरको गेटसम्म पुगेर धेरै दिन फर्केर आएको थिएँ । भित्र पसेर दुख पोख्ने साहस ममा आएन ।
उता विदेशमा रहेको हिमेशलाई कति टेन्सन दिनु सोचेर सानोतिनो कुराहरू, समस्याहरु लुकाएर पनि एक्लै सङ्घर्ष गरिरहें । तीन दिनको सुत्केरी व्यथा पछि बच्चा जन्मियो । विडम्बना अस्पतालले घोषणा गर्यो बच्चाको मुटुमा प्वाल छ, अप्रेशनको लागि तुरुन्त पैसा जम्मा गर्नुपर्छ । पैसा धेरै नै लाग्ने कुरा थाहा पाएपछि म हैरान भएँ । हिमेशलाई फोन गरेर सबै कुरा सुनाए । उसले आफू भर्खर काममा लागेको त्यत्रो पैसा पठाउन नसक्ने कुरा बतायो । जन्मिँदै रोगी भएर जन्मेको सन्तानले मलाई पीडा मात्रै दियो । सबै कुरा भगवान् भरोसा सम्झेर रोगी बच्चालाई काखी च्यापेर म घरमा आएँ । सन्तान चाहे जस्तोसुकै होस् माया लाग्दो रहेछ । सबैले भन्थे यस्तो बच्चालाई पालेर के गर्छौं ? मर्न देऊ !
हिमेशले धेरै दिनसम्म हाम्रो ख्याल राख्न सकेनन् । बिस्तारै फोन र कुराकानी कम हुन थाल्यो । यता आमाको अवस्था पनि दिनदिनै बिग्रदै थियो । बच्चा हेर्दा स्वस्थ नै देखिन्थ्यो तर उसले दिएको पीडा अतुलनीय थियो । रातदिन अविरल रोइरहन्थ्यो । उसको जन्म पश्चात् कुनै रात पनि आँखा बन्द गरेर आनन्दले निदाउन सकिन ।
कलिलो उमेरमा विवाहा गर्नु कति हानिकारक रहेछ ? मैले बल्ल बुझें । दस कक्षामा पढ्दापढ्दै विवाह गर्नुको नतिजा मैले गज्ज्बले पाइसकेको थिएँ । शरीर परिपक्व नहुनाले जन्मने बच्चा रोगी भयो । आफू स्वयम् पनि रोगको सिकार भए । मानसिक, आर्थिक, पारिवारिक र सामाजिक जिम्मेवारीको भारीले थिच्दा सबै कुरा लथालिङ भएको थियो । क्षणिक रोमाञ्च जिन्दगी होइन रहेछ !
बिस्तारै हिमेशले फोन गर्न चटक्कै छोड्यो । मेरो गुनासो, सधैंको दुःख भरिएको कहानी सुन्न सायद उसलाई मन परेन ! कति सजिलो छ है ? छोरा मान्छेले जे गरे पनि हुने ! उसको नम्बरमा फोन गर्दा अर्कै कोही महिलाको आवाज आउन थाल्यो । एउटा सहयोगी संस्थासँग सहयोग मागेर म काठमाडौंसम्म पुगें । कान्ति बाल अस्पतालमा छोरालाई उपचारार्थ भर्ना गरें । उसको अवस्था गम्भीर हुँदै गएको थियो । आमा हुँ, उसको प्राण रहेसम्म त्यसै त्यागेर बस्न पनि सकिनँ । तीन वर्षसम्म आफूसँग रहेको सन्तानले अन्तिम स्वास फेरिरहेको थियो । म चुपचाप आँसुका धारा बगाउँदै उसको साथ निभाउँदै थिएँ । तर अस्पताल भर्ना गरेको केही समयमै उसले पनि मलाई छोडेर गयो ।
उसको लास बोकेर म पशुपतिमा भौतारिँदै थिएँ तब मैले हिमेशलाई एकजना राम्री तरुनीको हात समातेर मस्की मस्की हिँडिरहेको देखें । मेरा आँखा चार भएँ । म निःशब्द चिच्याइरहे । लास अन्त्येष्टि गर्ने व्यक्तिसँग कुरा गरेर उसको दाह संस्कार गरेपछि म त्यहाँबाट हिँडे ।
मलेसिया पठाउने कम्पनीको नम्बर खोजेर हिमेशको बारेमा खोजीनिधि गरेपछि थाहा भयो कि, दुई हप्ता पहिले नै ऊ नेपाल फर्केको रहेछ । अघि देखेको दृश्य गलत होस् । म यस्तै चाहन्थे तर त्यो सत्य भइदियो । मैले विश्वास गरेको मान्छे धोकेबाज भइदियो । उसैको कारण मेरो जीवन व्यर्थको भएको छ । त्यसपछि म पागल सरी भौतारिँदै हिँडिरहेको छु यही सहरमा । मलाई एकपटक हिमेशलाई भेटेर सोध्नु छ, किन ग¥यो यस्तो खेलवाड मेरो जीवनमा ? तिमीले दिएको जिम्मेवारी मैले सम्हालेर बसें । तिमी छिट्टै आउँछु भनेका थियौं । तिम्रो लागि मैले सबै कुरा त्यागे तर तिमीले त सरासर धोका दियौं । किन ग¥यौं यस्तो ?
सरिता बस्नेत, दाङ , तुल्सीपुर