सरकार ! मसँग दुइटा हात छन्
जाे सधैं तिम्रो बेथिति विरुद्ध मुठ्ठी उचाल्छन्,
बजाउदैनन् तिम्रो वाहवाहीमा थपडी
यस्ता हातहरु तिम्रा अभियुक्त हुन्
यीनलाई हतकडी लगाउ !
सरकार ! मसँग दुइटा आँखा छन्
जसले देखिरहेेछन्
तिम्रा सुनियोजित भ्रस्टाचारका काण्डैकाण्ड
देख्दैनन् त केवल तिम्रा स्तुति सभाहरु
सरकार !
यस्ता आखा अपराधी हुन्, यीनलाई गिरफ्तार गर
सरकार ! मसँग दुइटा कान छन्,
जसले सुनिरहेछन्
तिम्रो कुटिल षड्यन्त्रका प्रायोजित रागहरु
सुन्दैनन् त केवल तिम्रा भक्तिगान
यस्ता कान पूर्वाग्रही हुन, यीनलाई गाेलघरमा जाकि दे
सरकार ! मसँग नाकपनि छ एउटा
जसमा आइरहेछ नमिठाे गन्ध अनि, सरकार ! मेरो शरीरभरि छालैछाला छ
जसमा पुरै एलर्जी भएको छ,
दुश्मनका फाेहाेरी हात लागेर
सायद !
यी आखाले हेर्न चाहेका समृद्धिका सपना
यी कानले सुन्न चाहेका पुर्खाका सौर्यगाथा
यो नाकले ग्रहण गर्न चाहेको
मृगस्थली, स्वर्गद्वारी र बडिमालिकाकाे पवित्र वायु
वैटिकनसिटी पुर्यायौ कि
यो छालाले महसुस गर्न खाेजेकाे
महाकाली,काेशी,गण्डककाे पवित्र जल
दिल्ली पुर्यायौ !
सरकार !
बेथिति र बेइमानीका विरुद्ध मुठ्ठी उचाल्ने हात भएको,
समृद्धिका सपना देख्न चाहने आँखा भएको,
पुर्खाका सौर्यगाथा सुन्न चाहने कान भएको
माटोको स्नेह अनुभूत गर्न खाेज्ने छाला भएको
मृगस्थली, स्वर्गद्वारी र बडिमालिकाकाे
पवित्र वायु ग्रहण गर्न चाहने नाक भएको
यो भुइँमान्छे खुँखार अपराधी हो
यसलाई तुरुन्तै गिरफ्तार गर,
छाला काढेर घाममा सुकाइ दे,
त्यतिले पनि नपुगे गाेलघरमा जाकि दे ।
अझै पुगेनछ भने,
घैंटे र चरी झैं गाेली हान
तर सरकार जसरी पनि यस्तो मान्छे खुल्ला छाड्नुहुन्न !
–(२५ माघ २०७७, महेन्द्रनगर)