आत्मनिर्भर बन्दै सुनवलका महिला

छविलाल सुनार

नवलपरासी / कोरोना महामारीका कारण बेरोजगार बनेका नवलपरासी सुनवलका महिलाहरु उद्यमबाट आत्मनिर्भर बन्न थालेका छन् ।नवलपरासीको सुनवलस्थित महिला उद्यम केन्द्रमार्फत् ती महिलाहरुले अहिले विभिन्न प्रकारका झोला, खादा, दोसल्ला उत्पादन गरिरहेका छन् ।

कोरोना महामारी पूर्व सो केद्रमा  १५ जना महिलाहरु काम गर्दै आएकोमा लकडाउनपछि केही समय उद्यम बन्द भएको थियो । अवस्था सामान्य भएसँगै केन्द्रको काम सुरु भएको थियो अहिले केन्द्रमा ३० जना महिला काम गर्दै आएका छन् । महिला उद्यम केन्द्रमा काम गर्दै आएका महिलाले झोला तयार गरे बापत प्रति पिस ४० देखि ८० रुपैंयाँ पाउने गरेको उनीहरुले बताए । एक जनाले एक दिनमा १० वटासम्म झोला बनाउने गरेको उनीहरुले बताए ।
हिंसामा परेका विपन्न, एकल, दलित, जनजाति, क्षेत्री र अन्य महिला उद्यम केन्द्रबाट लाभान्वित भएका छन् । महिला उद्यम केन्द्रमा वडा स्थित सात वटा आमा समूहबाट ११ सदस्सीय समिति चयन गरि काम गरिरहेका छन् । यसरी महिलाहरु संगठित र आत्मनिर्भर भएपछि महिला माथि हुने हिंसामा कमी आएको बताइन्छ ।
युएसएआईडीको सहयोगमा तयार नेपालले व्यवसायी सहजीकरण कार्यक्रम मार्फत् साना तथा मझौला उद्यम व्यवसायीलाई सहजीकरण कार्यक्रम सुनवल नगरपालिकामा प्रयाक्टीकल एक्सन मार्फत् सञ्चालन भइरहेको छ । सो कार्यक्रम अन्तर्गत १० वटा व्यवसाय दर्तामा सहजीकरण, ८७ व्यवसाय सहजीकरण परामर्श, ८२ वटा व्यवसायिक योजना निर्माण, ८२ वटा व्यवसायीलाई लक्ष्मी बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंकमार्फत् ऋणका लागि सहजीकरण गरेको बताइएको छ । घरेलु तथा साना उद्योग कार्यालयको सिफारिसमा ३ लाख देखि १० लाख सम्मको ऋणका लागि र नवलपरासी कृषि ज्ञान केन्द्र मार्फत् १ लाख देखी १ करोडसम्मको ऋण लगानी गर्न आवश्यक सहयोग तथा सहजीकरण गरिरहेको संस्थाको भनाइ छ ।
सुनवल नगरपालिका वडा नं ५ का महिलाहरु उक्त परियोजनाबाट लाभान्वित भएको प्राक्टीकल एक्सनका सहजकर्ता रामबहादुर क्षेत्रीले बताए ।  सुनवल नगरपालिकाले गृहणी महिलाहरुलाई आर्थिक आय आर्जन र जीविकोपार्जनमा टेवा पुर्‍याउन नगरपालिकाका  १३ वटा वडामा महिला उद्यम केन्द्र गठन गरी सवै वडामा ५ लाख रुपैया सहयोग गरेको उनले बताए । यसैगरी उद्यमीहरुको सीप प्रवर्द्धनका लागि सहयोग, सिलाइ मेसिन र दराज र्‍याक लगायतका आवश्यक सामाग्री खरिद गरी हस्तान्तरण गरेको बताए । स्थानीय महिलालाई सिलाइ कटाइमार्फत् रोजगारी श्रृजना गर्नका लागि मेसिन खरिद गरिएको उनको भनाइ थियो ।
यसरी संगठित महिलाहरुको कामबाट प्रभावित भएर सुनवल नगरपालिका वडा नं ५ का वडा अध्यक्ष थमन सिंह नेपालीले आफ्नो तलबको २५ हजार रकम सहयोग गरेको बताए ।


आगामी वर्षहमा विद्यालयमा अध्ययन गर्ने बालबालिका तथा शिक्षकलाई लक्षित गरी पोसाक तथा सामाग्री उत्पादन र बिक्री वितरण गर्ने गरी नगरपालिकाले समन्वय गरेको छ । अहिले महिला उद्यम केन्द्र नवलपरासीमा मात्र नभई आसपासका जिल्लामा समेत आर्थिक निर्भरताको उदाहरण बन्न पुगेको छ । केन्द्रबाट भएका कामको अवलोकन गर्न छिमेकी जिल्लाबाट उद्यमी, व्यवसायी आउने गरेको केन्द्रका अध्यक्ष जुठिमाया पुनले बताइन् ।
दलित तथा पछाडि पारिएका महिलाहरुलाई तयार नेपालले गरेको सहजीकरणबाट व्यवसायमा लगानी, ऋणको अवसरहरु, बजारको सम्भावनाहरु, उत्पादित बस्तुको मूल्य र बजार व्यवस्थापन के कसरी गर्न सकिन्छ लगायतका विषयमा जानकारी हासिल गर्दै आएको
बताइन्छ ।

 

 

 

  • २९ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech