नेपालको सामाजिक अभियानमा क्रियाशील सामाजिक युवा अभियन्ताको अग्रणी स्थानमा आउने नाम हो नरेन खतिवडा । उदयपुर जिल्लाको वेलका नगरपालिका ठोकसेलामा बुवा स्व. नवराज खतिवडा र आमा गीता खतिवडाको न्यानो कोखबाट वि.सं. २०३९ साल साउन १५ गते नरेन खतिवडाको जन्म भएको थियो । मध्यम परिवारमा जन्मिएका खतिवडाको बाल्यकाल सामान्य नै बित्यो । परिवारको आर्थिक अवस्था न्यून भएका कारण उनको बाल्यकालमा विभिन्न उथलपुथल देखिए । बाल्यकाल उदयपुरमा बिताएका उनको परिवार २०४६ सालमा सुनसरीको तरहरा बसाइ स¥यो । सानै उमेरदेखि विद्रोही स्वभावका नरेनले श्री जनसहयोग मावि तरहराबाट २०५५ सालमा प्रथम डिभिजनमा एसएलसी पास गरेका थिए । एसएलसीमा राम्रो नतिजा ल्याएर पास भएका उनको सुनसरी बसाइ पनि दिगो रहन सकेन र एक वर्ष झापा हँुदै सपरिवार देशको राजधानी काठमाडौं छिरेका थिए ।
जीवन एक यात्रा हो उनको जीवनको बाल्यकालदेखि नै यात्रैयात्रा रह्यो । बाल्यकालदेखि नै निकै मेहेनती नरेनले पढाइबाट बचेको समय परिवारलाई सघाउथे । परिवार कृषि पेशामा संलग्न भएका कारण उनले बाल्यकाल र किशोरावस्था पढाइसँगै परिवारमै बित्यो ।
समाजमा हुने विभेद रत्तिभर पनि नसहने स्वभावका नरेन विद्यालय तहमा पढदापढ्दै कैयौँपटक शिक्षकहरूले नियमित नपढाउँदा र लापरबाहीको खुलेर विरोध गरेको स्मरण गर्दछन् । चञ्चल स्वभाव र साथीभाइसँग चाँडै घुलमिल हुन सक्ने खुबी भएका उनको रुचि फुटबलमा समेत उत्तिकै थियो । विद्यालय अध्ययनकै क्रममा केही समय फुटबल खेले पनि विभिन्न कारणले उनले आफ्नो खेल क्षेत्रलाई निरन्तरता दिन सकेनन् ।
झापादेखि वि.सं. २०६० सालमा सपरिवार काठमाडौं बसाइ सरेका खतिवडाले परिवारलाई नयाँ ठाउँमा स्थापित गर्न २ वर्षको आफ्नो अमूल्य समय खर्चिए । त्यो समय उनको उच्च शिक्षा अध्ययनको महत्वपूर्ण समय थियो तर उनलाई पढाइ भन्दा धेरै महत्वपूर्ण परिवारलाई सम्झिँदै आफूलाई समर्पित गरे । दुई वर्षको कठिन सङ्घर्ष पछि उनले पुनः रोकिएको अध्ययन र सामाजिक क्षेत्रलाई अगाडि बढाए ।
उनी सामाजिक क्षेत्रमा होमिँदा तत्कालीन समयमा नेपालमा २०६२÷०६३ को जन आन्दोलनको विजारोपण भइरहेको थियो । संक्रमणकालीन अवस्थामा फरक काम गर्न सक्यो भने अवश्य स्थापित भइन्छ भन्ने कुरा राम्रोसँग बुझेका खतिवडाले सो अवसरलाई सदुपयोग गर्दै देशलाई योगदान दिने र आफू स्थापित हुने प्रतिज्ञा गरे ।
जहाँ इच्छा त्यहाँ उपाय भनेझैं उनले काम गर्ने आधार खोजीरहेका थिए जुन कुरा उनी स्वयम् सेवकको रूपमा कोक्याप नामक संस्थाले पूरा गर्यो । उनले संस्थामार्फत् आन्दोलनमा नेतृत्व गर्दै विभिन्न अभियान सञ्चालन गर्न थाले । आफूले छाडेको अध्ययनलाई समेत निरन्तरता दिँदै आरआरएन क्याम्पसमा आबद्ध भए ।
स्वयम् सेवकको रूपमा सामाजिक क्षेत्रमा काम गर्दै गर्दा उनको मन केही समय बरालियो । उनले काम गर्न विदेश जाने निधो गरे र मेनपावर धाउन थाले । दुवै जाने भन्दै अन्तर्वार्तासमेत दिए त्यसको प्रक्रियामा जाँदासम्म उनले स्वयम् सेवाबाट राम्रै नाम र सम्मान कमाइसकेका थिए । उनको उठबस खगेन्द्र संग्रौला, कृष्ण पहाडीलगायतका विशिष्ट व्यक्तिसँग बढ्न थाल्यो जसले उनको मन फेरियो र आफूले गरिरहेको कामप्रति सन्तुष्ट हुन थाले ।
सन्तुष्टि र आत्मसम्मानले उनलाई कामप्रतिको मोह बढ्दै गयो भने विदेशको सपना विस्तारे हट्दै गयो । अन्ततः उनी नेपालमै बसेर केही गर्ने निश्चयमा पुगे । झण्डै ६÷७ वर्ष कोक्यापमा काम गरेपछि उनको कद र गरिमा बढ्यो । नेपालको युवा अभियानमा नेतृत्व सूचिमा उनी स्थापित भए ।
युवा अभियन्ताको रूपमा सबैमाझ उनी परिचित त भए अब त्यसलाई निरन्तरता दिँदै केही गरेर देखाउन भने उनका लागि फलामको चिउरा चपाउनु सरह थियो । उनी त्यो चुनौतीलाई चिर्दै अगाडि बढे र २०६५÷०६६ मा संविधान निर्माणको समयमा ३५ दिने मेची–महाकाली यात्रा, संविधान जारी गर्न जनजागरण अभियान, जातीय छुवाछुतविरुद्धका अभियान र पुनः मेची–महाकाली यात्रा जस्ता महत्वकाङ्क्षी योजना सम्पन्न गरे । केही महिना देश दौडाहामा खर्चिएको उनको यात्राले उनलाई आगडि बढ्न थप हौसला र उत्साह थप्यो । उनी भन्छन्,‘यो अवधिमा मैले मेची–महाकाली यात्रा सँगै विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना, सडक आन्दोलन, दोश्रो संविधान सभामा पर्यवेक्षण, संविधान जारी गर्ने सवालमा दबाब सिर्जनालगायतका अभियानमा सक्रियतापूर्वक संलग्न भए । आबद्ध संस्थामा उत्कृष्ट स्वयम् सेवकको रूपमा काम गरेपश्चात् उनलाई कोक्यापको कार्यसमितिमा चयन गरियो सन् २०११ सम्म उनले कार्यसमिति सदस्यको रूपमा काम गरे ।
त्यहाँसम्म आइपुग्दा उनी एक परिपक्क युवाको रूपमा स्थापित भइसकेका थिए । उनलाई आफ्नो अधिकारको पैरवी आफंैले गर्ने हो भन्ने कुराको राम्रोसँग हेक्का थियो र उनले त्यसपछिको जीवन युवा पैरबीमा खर्चिने संकल्पका साथ सन् २०१३ मा युथ एड्भोकेसी नेपाल नामक संस्था स्थापना गरी सामाजिक यात्रालाई थप सशक्त बनाए । संस्था स्थापनासँगै उनले संक्रमणकालीन न्याय, मानव अधिकार, युवा नीति निर्माणमा दबाब सिर्जना गर्ने काममा सक्रिय रहे । सन् २०१४ मा युवा नीति कार्यान्वयनको दबाबका लागि युथ सिविक सोसाइटी गठन गरी सरकारलाई दबाब दिए । त्यसैबेला उनका लागि अर्को महत्वपूर्ण अवसर आयो उनले १०औं मानव अधिकार महाभेलाको नेतृत्व गर्ने अवसर प्राप्त गरे । उनी भन्छन्,‘मैले र मेरो टिमले युवा परिषदका विकृतिविरुद्धको अभियान, ऐन नीति तथा नियम बनाउने र परिमार्जन गर्ने लगायतका सवालमा गरेको पैरवीले गौरवाम्बित बनाउँछ ।’
सन् २०१२ मा पैसा कमाउने अभिलाषाले दुबई उड्न लागेका खतिवडा विदेश नगएर स्वदेशमै बस्ने जीवनको युटर्न निर्णयले उनको जीवनमा अवसर नै अवसर आयो । विदेशको सपना मनमा बुनेका उनको सपना केही समयमानै साकार भयो र उनी कोक्यापबाट नै कार्यक्रममा सहभागिता जनाउन पहिलोपटक जर्मनी पुगे । उनी भन्छन्,‘जर्मनीमा भएको कार्यक्रममा सहभागी भएपछि मेरो मन पूर्ण रूपमा फेरियो मैले काम गर्न विदेश जाने सपना सधैँका लागि बिर्सिदिएँ ।’
हाल युथ एड्भोकेसी नेपालको अध्यक्ष, मानव अधिकार महाभेलाको सल्लाहकार, नेपाल डिजे फोरमलगायत आधा दर्जन बढी युवा मञ्चमा आबद्ध रहँदै कार्यरत खतिवडाको बुझाइ नेपाली युवा सधैँ विभेदको सिकार भएको छ । उनी भन्छन्,‘नेपाली युवा निर्णायक तहमा कहिले पुगेनन् र पुग्न दिइएन, देशले युवा शक्तिलाई चिन्ने चेष्टा गरेन् केवल प्रयोग मात्रै गरियो । उनी भन्छन्,‘युवाको सवाल सम्बोधनका लागि सिष्टम नै परिवर्तन गर्नुपर्छ । देशमा राजनीतिक स्थिरतासँगै शिक्षा, स्वास्थ्य, यातायात र सामाजिक सुरक्षाबाहेकको जिम्मेवारी सरकारले निजी क्षेत्रलाई सुम्पिनु पर्ने धारणा उनको छ । सरकारले युवाको हरेक तह र तप्कामा निर्णयसहितको सहभागिता सुनिश्चित गर्न जरुरी छ ।’
नेपाली युवा बुढ्यौली पुस्ताको फेरो समात्ने र भ¥याङ मात्रै बन्ने काममा व्यस्त रहेको संस्कारमा रुम्मलिए उनको दुखेसो थियो । नेपालको निर्णायक तहमा कम्तीमा २० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्नुपर्ने उनको माग छ । हालसम्म अफ्रिका, चीन, जर्मन, भारतलगायतका देशको भ्रमण गरिसक्नु भएका खतिवडाले नेपालमा अध्ययन बिनाको गफ दिने संस्कारले युवालाई अगाडि बढ्न रोकिरहेको तर्क दिन्छन् । त्यसका लागि युवाहरू स्वयम् अगाडि बढ्ने बेला आएको उनको भनाइ छ ।
झण्डै एक दशक बढी समय सक्रिय सामाजिक क्षेत्रमा खर्चिएका खतिवडालाई नेपालको ऐतिहासिक संविधान निर्माणमा भूमिका निर्वाह गरेको, नेपालका राष्ट्रिपति, प्रधानमन्त्रीलगायत उच्च पदस्त व्यक्तिसँगै एउटै मञ्चमा बसेर काम गर्ने अवसर पाएको, सामाजिक मुद्दामा अगुवाइ गरिरहेको, वैदेशिक भ्रमण गरेको, ५ हजार बढी युवालाई आफूसँगै अभियानमा जोड्न सफल भएकोलगायत प्राप्त उपलब्धि गर्भिला लाग्छन् । रात–दिन सामाजिक क्षेत्रमा खटिँदासमेत कहीँ कतैँ त्यो सम्मान नपाइँदा खिन्न लाग्ने उनी बताउँछन् । उनका विचारमा गफ दिने भन्दा काम गर्नेलाई स्वाबासी दिने संस्कारको विकास गर्न जरूरी छ ।
देशमा सुशासनको अवस्था कस्तो छ भन्ने प्रश्नमा युवा अभियन्ता खतिवडा एकपटक अट्किन्छन् र सोचेर जवाफ दिन्छन्,‘कमजोर छ, ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टले समेत नेपालको भ्रष्टाचारको अवस्था उदाङ्गो बनाएको छ,’ उनी थप्छन्,‘देशका सबै अंकमा भ्रष्ट मनोवृत्ति विद्यमान छ यसलाई निर्मूल पार्न नीतिगत भ्रष्टाचारको अन्त्य जरूरी छ । भ्रष्टहरूको अगाडि राज्य लाचार छ तर लाचारीपनलाई साहसमा बदल्ने चेष्टा सरकारले ढिलो चाँडो गर्नै पर्छ ।
सामाजिक क्षेत्रमा काम गर्दा अपुरो अध्ययनमा अड्किएका खतिवडाको स्नात्तकोतर पूरा गरी पिएचडी गर्ने, अनुसन्धान केन्द्र सञ्चालन गर्ने र युथ एड्भोकेसी नेपालको सञ्जाल विस्तार गरी देशव्यापी बनाउने भावी योजना छ । नवीन सोचका साथ अगाडि बढे सफल भइन्छ भन्ने गतिलो उदाहरण बनेका खतिवडाको आगामी योजना सफल होस् शुभेच्क्षा ।