गन्तव्यका क्रममा ठेस लागेपछि यात्रा नगरेरै फर्कने धेरै हुन्छन् । गन्तव्यमा त्यहीँ व्यक्ति पुग्छ जसले यात्राका विभिन्न अवरोधहरु पन्छाएर लक्ष्यसम्म पुग्छ । जिन्दगीका अनगिन्ती दुःख र सुःख साट्दै समाज परिवर्तनको दौडानमा निरन्तर १४ वर्ष पार गरिसकेकी छिन् अधिकारकर्मी निर्मलाले । मान्छेलाई मान्छेले सम्मान नगर्ने सामाजिक परिवेशमा हुर्किएकी निर्मला तिनै कुरीतिविरुद्ध खुलेर बहस गर्दै आएकी छिन् । बालापनदेखिको जातीय छुवाछुतको घेराभित्र परेकी निर्मलालाई यही परिवेशले आज कुशल अधिकारकर्मीका रूपमा परिचय स्थापित गराएको छ । अहिले निर्मला दलित महिला संघ बाँकेको अध्यक्ष छिन् । यो उनको मुख्य कर्म गर्ने संस्था हो । योसँगै उनी विभिन्न संघसंस्था तथा समूहमा फरक—फरक भूमिकामा छिन् । उनले जातीय तथा लैङ्गिक विभेदविरुद्ध अभियान सञ्चालन गर्ने गर्छिन । दलित समुदाय व्यक्तिलाई आर्थिक रूपमा क्षमता अभिवृद्धि गर्ने र चेनता फैलाउने काम गर्छिन् । सरोकारवाला निकाय नियमित छलफल गर्ने र सामाजिक परिवर्तनका लागि योजना बनाउँछिन् । दलित समुदायका विपन्न बालबालिकालाई शिक्षा र स्वस्थ्यमा सहयोग गर्ने गर्छिन् । यो काम उनले संस्थाको नेतृत्वकर्ताको भूमिकाका रूपमा गरिरहेकी छिन् । संविधानमा लेखेका जातीय छुवाछुतविरुद्धका कानुनी धारा र उपधाराहरु कार्यान्वयनका लागि आवाज उठाइरहेकी छिन् । समाजमा बढ्दै गएका जातीय छुवाछुतका घटनाविरुद्ध निर्मलाका आवाजहरु अझै बुलन्द भइरहेका छन् ।
निर्मलाको बाल्यकाल सुखद् रहेन । सामान्य किसिमले उनका बालापनहरु बिते । जाजरकोट जिल्लाको हालको नलगाड नगरपालिका वडा नम्बर १ चिउरीमा उनको जन्म भयो । विक्रम संवत् २०४० साल वैशाख २२ गते बुवा नरबहादुर रावत र आमा पार्वती रावतको कान्छी छोरीको रूपमा जन्म भयो । उनका दुई दाजु र एक दिदी रहेका छन् । उनले सुरुको शिक्षा गाउँकै नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरिन् । त्यसपछिको शिक्षा हासिल गर्न छिमेकी गाउँ दल्ली पुगिन । त्यहाँ उनले १० कक्षासम्म अध्ययन गरिन् । विक्रम संवत् २०५६ सालमा उनले माध्यामिक तहको शिक्षा हासिल गरिन् । उनले उच्च माध्यामिक तहसम्म अध्ययन गरेकी छिन् । उच्च माध्यामिक शिक्षा पनि उनले छिमेकी गाउँको विद्यालय दल्लीमै गरिन् । उच्च शिक्षा हासिल भने उनले बिहेपछि नै गरेकी हुन् । उनको बिहे २०५६ सालमा १५ वर्षको कलिलो उमेरमा भयो । उनका श्रीमान नेपाल प्रहरीमा कार्यरत थिए । अहिले निर्मलाका २ वटा छोरा छन् । पहिलो सन्तानलाई संसार देखाउँदा निर्मला १७ वर्षकी थिइन् । श्रीमान प्रहरी हुँदा उनी विभिन्न जिल्लामा बसेर त्यहाँको वातावरण अनुभव गर्ने अवसर प्राप्त गरिन् ।
विक्रम संवत् २०६४ सालमा छुवाछुतविरुद्धको अभियानमा लागिन् । यो अभियानमा लाग्नु पछाडि सङ्घर्षको लामो कथा छ । जतिबेला निर्मलाले बाल्यकाल गुर्जादै थिइन् त्यतिबेला मान्छे चिन्ने भएकी थिइन् । बुवा आमा र साथीभाइ अनि छरछिमेक छुट्याउन सक्ने भएकी थिइन् । त्यति नै बेला उनले जातीय छुवाछुतको हिमालमा यात्रा गर्न थालिन् । कहिले ती हिमालबाट खसेका पहरामा बगिन त कहिले च्यापिन पुगिन । अनि कहिले ओइलाएको महसुस गरिन् कहिले दुर्गादेवी जस्तै बलवान् बन्ने कोसिस गरिन् । तरह तरहका कठिनाइलाई चिरेर समाजमा नाम कमाएकी निर्मलाले बाल्यकालमा छुवाछुतका कारण विद्यालयमा कहिल्यै पानी समेत खान पाइनन् । उनी उपल्लो जात कहलिएका साथीभाइ बसेको स्थानमा समेत बस्न पाइनन् । शिक्षकहरुले पनि तँ भनेर सम्बोधन गर्ने र अरु साथीलाई जस्तो माया गर्दैनथे । त्यो बेला निर्मलाको कलिलो मस्तिष्कमा सानो जात र ठूलो जातको सामाजिक ऐना छर्लङ्ग भयो । गाउँको स्कुल जहाँ उनले प्राथमिक तहको शिक्षा हासिल गरेकी थिइन । त्यसबेला उनले घरपरिवार र समाजमा हुने जातीय विभेदविरुद्ध मनमा अनेक धारणा बनाउने गर्थिन् । उनका बुवा आमाले क्षेत्री, बाहुन, ठकुरीलगायतका जातिलाई सानो उमेरको भए पनि मालिक भनेर ढोग गरेको दृश्यले सानैदेखि मन पिरोल्ने गथ्र्याे । उनले कक्षा ५ को अध्ययन सकेर छिमेकी गाउँको विद्यालय पढ्न गएको अवधिमा अझै पीडादायक अवस्था झेलिन । घण्टौघण्टा हिँडेर विद्यालय पुग्नु पर्ने बाध्यता त छँदै थियो । त्यसमा धेरै विद्यार्थी र शिक्षक ठकुरी समाजका थिए । जब विद्यालयमा खानका लागि राखिएको पानी खान दिइँदैन्थ्यो त्यतिबेला निर्मलाले हिँडेको पहाड भन्दा पनि गहु्रँगो हुन्थ्यो उनको मन । विद्यालयमा शिक्षक पढाउँदा पढाउँदै पानी खान मन लाग्यो भने उकालो–ओरालो गरेर पानी खान जानु प¥थ्यो । त्यतिबेला पढाइ पनि छुट्ने ग¥थ्यो । एकातर्फ पानीसमेत खान नपाउने पीडा अर्कोतर्फ पढाइ छुट्यो भनेर खाएको शिक्षकको कुटाइ निर्मलाका लागि अविस्मरणीय छ । यतिमात्र नभई हेपेरसमेत बोल्ने गरिन्थ्यो । आफू बसेको गाउँमा सबै दलित भएकाले जीवनयापन गर्न सजिलो नै थियो । तर छिमेकी वडामा जाँदा सम्मान कहिल्यै पनि पाइनन् निर्मलाले ।
निर्मलाको बुवाले उपल्नो जात कहलिएका व्यक्तिसँग मितेरी साइनो लगाएका थिए । जतिबेला निर्मला मित बुवाको घरमा जान्थिन खाएको थाल माझेर अलग्गै राख्न लगाइन्थ्यो । त्यो व्यवहार निर्मलालाई कत्ति पनि मन नपरे पनि केही भन्न सक्दिनथिन । त्यहाँ त्यतिबेला बोलेको अवस्थामा गाउँ नै बहिष्कार गर्नुपर्ने अवस्था थियो । निर्मलाका बुवा रावत अर्थात् क्षेत्री समुदायका हुन् । तर उनले दलित समुदायको श्रीमती बिहे गरेपछि निर्मलाका बुवा जातबाट झरे भन्ने उनले बुझिन् ।अनि रावत लेखेता पनि समाजले उनलाई दलित वर्गभित्र राखिदियो । सामाजिक रीतिरिवाज र रहनसहनहरु झेल्दै गर्दा उमेर बित्दै गएपछि बिहेवारी आफ्नै दलित समुदायको व्यक्तिसँग गरेकाले उनले घरपरिवारबाट जातीय छुवाछुतको अवस्था झेल्न परेन । तर समाजबाट अनेक नमीठा शब्दहरु प्रयोग हुने गर्दथ्यो जुन शब्दले निर्मलालाई अझै निन्द्रामा पनि झल्यास्स ब्युझाउँदछ । निर्मलाका सुसुरा बुवाले सुनारको काम गर्थे । वर्षभरि काम गर्दा थोरै मात्र अन्न मिल्ने ग¥थ्यो । जसलाई गाउँघरमा अझै पनि बालिघरे प्रथा भनिन्छ । उनलाई समुदायका अन्य व्यक्तिहरुले सुनारनी र लुहारनी जस्ता शब्दहरु प्रयोग गरेर बोलाउने गर्थे । यो शब्दले निर्मलाको छाती पोल्ने ग¥थ्यो । यतिमात्र होइन द्वन्द्वको बेला निर्मलाको परिवारले नमीठो जातीय छुवाछुतको यातना भोगेको छ ।
निर्मलाका पति नेपाल प्रहरीमा थिए । देशमा द्वन्द्व दिन प्रतिदिन चर्किरहेको थियो । त्यसबेला निर्मलाका सुसुरा बुवालाई सुराकीको आरोप लगाइयो । गाउँलेले जुत्ताको माला लगाएर गाउँ निकाला गरेको क्षण निर्मलाका लागि दुःखद् छ । यो कुरा निर्मलाले कतै नसुनाए पनि यो कथा अब सुनाउनै पर्छ भन्ने ठानेको बताउँछिन् । किनभने यो कथाले जातीय छुवाछुतको त्यो बेलाको अवस्था नयाँ पुस्तालाई ज्ञात हुनेछ । यो घटनापछि निर्मलाको परिवार विक्रम संवत् २०६० सालमा विस्थापित भएर बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ४ गाभारमा आइपुग्यो । तत्कालीन अवस्थामा यो स्थान नौबस्ता गाउँपालिकामा थियो । हालको निर्मलाको बसाइँ भने कोहलपुर नगरपालिका वडा नम्बर २ आनन्दनगरमा छ । बसाइँ आनन्द नगरमा भएता पनि निर्मलाको जीवनमा थुप्रै अप्ठेराहरुको भारी छ । बसाइँ बाँकेको गाभरमा आएपछि धेरै जातीय छुवाछुत झेल्नु पर्दैन होला भन्ने लागेको थियो निर्मलालाई । पहाडको अवस्थाभन्दा केही सामान्य अवस्था हुन्छ होला भन्ने सोचेकी थिइन् । तर त्यहाँको झल्को दिने अर्को प्रकृतिको जातीय छुवाछुतको भुमरीभित्र रुमलिन पुगिन निर्मला । निर्मला नाम कति स्वच्छ र सुन्दर छ । तर यो सालिन व्यक्तित्वमा थपिएको छुवाछुतको अर्को पाटोले मानसपटल नै खलबल्याई दियो ।
गाभारमा आउँदा निर्मलाको काखे बच्चा थियो । निर्मलाको दूध पर्याप्त आएन । उनले छिमेकिको घरबाट महिनावारी दूध लगाइन । उनलाई त्यतिबेलासम्म दूध उपलब्ध गराइयो जतिबेलासम्म त्यस व्यक्तिलाई निर्मला दलित जातकी हुन भन्ने थाहा थिएन । जब त्यस व्यक्तिले निर्मला दलित जातकी हुन् भन्ने थाहा पायो अनि दूध ल्याउन बन्द गर्ने कुरा राख्यो । उसले अनेक बाहाना बनाउन थाल्यो । यो कुरा निर्मलालाई असह्य भयो । उनले यसविरुद्ध आवाज उठाइन् । रिसको झोकमा दूध ल्याउने व्यक्तिको दूधको भाँडो छताछुल्ल पारिदिइन् । त्यसपछि दलित महिला संघको शरणमा पुगिन् । त्यहाँ पुगेपछि त्यस व्यक्तिलाई माफी माग्न लगाइयो तर निर्मलाले दूध त्यहाँबाट ल्याइनन् । उनले नजिकैको दूध डेरीमा पुगेर बच्चालाई दूध किनेर खुवाउन थालिन् । वरिपरि पहाडी जिल्ला जुम्ला, हुम्ला,जाजरकोट र अछामलगायतका जिल्लाबाट बसाइँ सरेर आएका छिमेकी थिए । ती छिमेकीले न त निर्मलालाई दुःखको बेला साथ दिए न सुखको बेला । ती छिमेकीहरु अझै पनि निर्मलाको घरमा गए भने धाराबाट आफैं पानी ल्याएर खान्छन् । पूजाआजामा छुट्टै भान्साको माग गर्छन् । सकभर जाँदैनन् । बिहेवारी तथा पूजाआजामा ब्राह्मणसमेत नआउने समस्या मात्र होइन प्रसाद खान बोलाएका छिमेकीसमेत नआउने समस्या निर्मलाले अहिले पनि झेलिरहेकी छिन् । समाजले प्रयोग गर्ने तुच्छ शब्द ‘दमाईं र कामी, एकदमै नमीठो लाग्ने गर्छ निर्मलालाई ।
२०६० सालमा बाँके झरेकी निर्मलाको जीवनमा श्रीमानले द्वन्द्वका कारण जागिर छाड्न परेपछि अर्को दुःखको आर्थिक कथा सुरु भयो । घरव्यवहार चलाउनसमेत अप्ठेरो हुन थाल्यो । श्रीमान भारतमा रोजगारीका लागि जान थाले । अनि निर्मलाले विक्रम संवत् २०६३ सालमा कस्मेटिक पसल खोलिन् । व्यापार गरेर जीविकोपार्जन गर्न थालिन् । यो अवधिमा भोगेका जातीय छुवाछुतका घटनाले निर्मलालाई पिरोल्दै गयो । अब चुप लागेर बस्नु हुँदैन भन्ने भावना पलाउन थाल्यो । त्यसपछि निर्मला विक्रम संवत् २०६४ सालमा दलित महिला संघमा कार्यसमिति सदस्यका रूपमा आबद्ध भइन् । अब निर्मलाको जीवनमा दुई पाटो जोडियो एउटा पाटो सामाजिक भने अर्को पाटो पारिवार । यी दुवै यात्रा सुरु गर्दा निर्मलाले जीवनमा ढुङ्गा चपाउनु सरह छ । यो अभियानमा काम गर्दा सामाजिक चुतौतीको पहाड खन्नु पर्ने अवस्था त छँदै थियो त्यो भन्दा अग्ला चुनौतीहरु घरभित्रै थिए । महिला भएर धेरै बोल्नु हँुदैन ? एकजना बोलेर के हुन्छ ? बाहिर जानु पर्दैन ? घरमा मात्र समय दिनुप¥यो जस्ता अनेक सवाल जवाफ सहुनु प¥यो । कहिले मानसिक तथा कहिले शारीरिक यातना सहनु प¥यो । त्यतिबेला निर्मलालाई जातीय छुवाछुत र महिला अधिकारका लागि आवाज उठाउने काम छोडी दिऊँ कि भन्ने लाग्यो ।
निर्मलाका पाइलाहरु घिस्रिन सुरु गर्दाको अवस्थामै रोक लगाउन खोजियो । कहिले दौडिँदा दौडिँदै बामे सर्नु पर्यो । कहिले यात्रा गर्दा गर्दै खुट्टा भाँचिएको महसुस भयो । दिनभरिको कार्यक्रममा समानता, अधिकार र सभ्य समाजका लागि उनले आवाज उठाउने गर्थिन् । घर घरमा पुग्नु भन्दा पहिला डराउने गर्थिन् । आज कस्तो खालको मानसिक र शारीरिक पीडा सहनु पर्ने होला भन्दै मनमा सोच्दै घरमा पुग्ने गर्थिन् । त्यतिबेला सासू, ससुरा, नन्द र देवर मात्र होइन श्रीमानबाट पनि पीडा सहनु प¥यो निर्मलालाई । यो पीडाले निर्मलालाई घरपरिवार छोडेर माइती गएर बसौं कि जस्तो भयो । पीडा पोख्न कहाँ जाउँ भन्ने भयो । अनेकन भावनाहरु मनमा पैदा भए । साथमा दुईवटा छोरा भएकाले उनले घरपरिवार छाड्न सकिनन् । अब अनेकन् यातना सहेरै समाज परिवर्तनका लागि लाग्नुपर्छ भन्ने भावनाको विकास भयो । पीडालाई शक्तिमा बदल्दै घरको सबै काम सकेर सामाजिक काममा निस्कने गर्थिन्, अनि बेलुका गएर आफ्नो सबै जिम्मेवारी निभाउने गर्थिन् । यो क्रम निर्मलाको जीवनमा चल्दै गयो । सामाजिक छुवाछुतको दर्दनाक अवस्था देख्दा निर्मलालाई आफ्नो पीडा सामान्य लाग्न लाग्यो । उनका सङ्घर्षका पाइलाहरु कतै रोकिएनन् । विक्रम संवत् २०६४ सालमा कार्यसमिति सदस्य पदमा कार्यरत निर्मला उनको मेहनतको परिणाम विक्रम संवत् २०६७ सालमा सचिव पदमा रहेर काम गर्न थालिन् । उनको कामप्रतिको निरन्तरता र मेहनतको परिणाम निर्मला विक्रम संवत् २०७१ सालदेखि हालसम्म अध्यक्षको भूमिकामा जातीय छुवाछुत निर्मूलको अभियानमा छिन् ।
विक्रम संवत् २०७६ सालदेखि गैर सरकारी संस्था महासंघ बाँके शाखाको कार्यसमितिमा आवद्ध छिन् । उनी अहिले कोषाध्यक्षको भूमिकामा छिन् । उनी आफ्नो सन्तान अध्ययन गर्ने विद्यालयमा अभिभावक संघको अध्यक्ष छिन् । त्यस्तै विभिन्न सामाजिक संघ संस्थामा आबद्ध छिन् । निर्मलाले अहिले सामाजिक अभियान्ताको रूपमा समाजमा आफूलाई स्थापित गराइसकेकी छिन् । सामाजीक काममा सक्रिय रहँदा भोगेका छुवाछुतको घटनाले निर्मलालाई आगामी यात्राका लागि थप ऊर्जा मिलेको छ ।
विक्रम संवत् २०७१ सालमा निर्मलाले घरमा ठूलो पूजा लगाइन् । घरमा पण्डित बोलाउँदा आएनन् । त्यसपछि आफ्नै समुदायको पण्डित बोलाएर पूजा सम्पन्न गरिन् । बिहे, पूजा जस्ता कार्यमा पात टिप्ने काममा सहभागी नगराउने, टपरी लगाउन नदिने जस्ता अवस्थाको सामना अझै निर्मलाले गरिरहेकी छिन् । उनले छिकेकमा दलित समुदायको बिहेमा बोलाएका पण्डित पछि दलित भन्ने थाहा पाएर भागेर गए । यो घटनाले आफूलाई निकै दुःखी बनाएको निर्मला बताउँछिन् । निर्मलाले स्कुले जीवनमा विभिन्न अतिरिक्त प्रतियोगितामा भाग लिँदा पाएका पुरस्कारले अहिले पनि मेहनत गर्ने प्रेरणा मिलेको बताउँछिन् । सामाजिक क्षेत्रमा काम गर्दै जाँदा निर्मलाले राष्ट्रिय मानव अधिकार सञ्जालबाट विक्रम संवत् २०७७ सालमा सम्मानित भइन् । साना किसान कृषि सहकारी संस्था २०७६ सालमा उत्कृष्ट कर्मचारीको पुरस्कार प्राप्त गरिन् । उनले आयोजना गरिएका कार्यक्रमबाट पाउने पुरस्कार भन्दा सामाजिक समस्या समाधानपछि मिलेको खुसीलाई सबैभन्दा ठूलो खुसीका रूपमा लिने गरेकी छिन् । जीवन सङ्घर्ष हो भन्ने निर्मलाको जीवन साँच्चिकै सङ्घर्षशील छ । सभ्य समाज निर्माण लागि लागि परेकी निर्मलालाई हिजोका दिनमा घरपरिवारबाट अपहेलना र असहयोग भए पनि आजका दिनमा पर्याप्त सहयोग छ । निर्मलाले समाजमा राम्रो छाप छोड्न सफल भएपछि घरपरिवारले हिजोको दिनमा गरेको व्यवहार दोहोरिएको छैन ।
अहिले घरपरिवारबाट पनि राम्रो सम्मान मिलेको छ । घरपरिवार तथा छरछिमेकीले पनि हिजो जस्तो अपमानित शब्द बोले पनि अहिले मेडम भनेर बोलाउने गर्छन । घरभित्रै आएर खाना नखाएता पनि सन्चो बिसन्चो सोध्ने गर्छन् । उनका सामाजिक क्षेत्रका सहपाठीले पनि राम्रो सहयोग गर्ने गरेका छन् । अहिले विभिन्न सञ्चार माध्यामले अन्तर्वार्ता लिने र जीवनीहरु प्रकाशन गर्ने काम भएपछि निर्मलाको चर्चा चुलिँदै गएको छ । उनको कामको मूल्याङ्कन भएको महसुस निर्मलालाई भएको छ । हिजोको त्यो अप्ठेरो अवस्था आज आएर सहज भइदिएको छ । निर्मलाको आगामी यात्रा अझै सफल रहोस् । शुभकामना ।