जीवनका परिभाषा धेरै हुन्छन् । कोही भन्छन् जीवन भावना हो । कोही भन्छन् जीवन जस्तो भोग्यो त्यस्तै हुन्छ । अनि कसैले जीवनलाई संघर्षसँग लगेर जोड्ने गर्छन । समग्र हिसाबले जिम्मेवारी, संस्कार र संस्कृतिलाई अग्रभागमा राखेर जीवनको विवेचना गर्ने गरेको पनि पाइन्छ । कहिलेकाही देश, काल र परिस्थितिले मान्छेको भविष्यलाई सङ्केत गर्छ । बाध्य भएर योद्धा बनाइदिन्छ । अनि त्यो युद्धमा होमिएका मध्ये कोही विजयी हुन्छन् कोही देवसान हुन्छन । आखिर यो पनि त जीवन नै हो । यस्तै समयकाल खण्डसँग लड्दा लड्दै सफल बन्नेको कथामा भित्र थुप्रै सार तत्वहरु लुकेका हुन्छन् । विक्रम संवत् २०३८ साल असार २० गते बुवा जीवनाथ तिमिल्सिना र आमा मनमाया तिमिल्सिनाको कोखबाट सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ६ माङ्खामा जेठो सन्तानको रूपमा जन्म लिएकी देवकी तिमिल्सिनाको जीवनमा पनि यस्तै अवस्था आयो ।
देवकी तिमिल्सिनाका युद्धकालको संघर्ष र कथा मर्मस्पर्शी छ । यो मर्मस्पर्शी कथाको पात्र बन्न देवकीले धेरै हन्टर र ठक्कर खानु परेको छ । जुन प्रसंगले युद्धकालको जीवन्त कथा बोलेको छ । यो अवधिमा देवकी समीक्षा नामबाट पत्रकार, नेता तथा विविध सांस्कृतिक कार्यक्रममा सहभागी भएर आफ्नो भूमिका निभाएकी छिन् । अहिले सामाजिक तथा साहित्यिक क्षेत्रमा उनको क्रियाशीलता छ ।
देवकीलाई २०५४ देशद्रोहीको मुद्दा लाग्यो । स्कुलबाट प्रशासनले बेला बेलामा लखट्ने गर्थ्यो । त्यपछि देवकीले पूरै समय राजनीतिमा सुम्पनु पर्यो । विक्रम संवत् २०६३ सालको मंसिर ५ को विस्तृत शान्ति सम्झौता नहुन्जेल १० वर्ष जनयुद्धमा बित्यो । अध्ययन गर्ने त्यो अवधिमा उनले बन्दूक र गोलीसँग ज्यानको बाजी थाप्नु पर्यो । विक्रम संवत् २०५४ मा माओवादी पार्टीको पूरा समय होल्डर हुनुभन्दा अगाडि स्कुले जीवनमा वैधानिक कार्यक्रममा सहभागिता जनाउने, महिला र सांस्कृतिक संगठनमा जिल्ला स्तरमै कृयाशील हुने गरेकी थिइन । उनलाई देशद्रोहीको मुद्दा लागेपछि उनले जन्मस्थान सिन्धुपाल्चोक छाड्नु पर्यो । त्यतिबेला पार्टीको सैन्य अवधारणा भर्खरै सुरु भएको थियो । त्यसपछि ६ महिना संगठनमा काम गरेपछि पार्टीबाट महिला र पुरुषको सैन्य परफर्मेशनमा जोडिन पुगिन् ।
विक्रम संवत् २०५६ को २८ गतेबाट २०५७ को पुष २७ सम्म दोलखामा जनयुद्धको सेना बनिन् । त्यसपछि देवकी बुवा आमाको न्यायो काखलाई स्मरण गर्दे युद्धमा होमिन पुगिन् । उनले देश र जनताका लागि भन्दै पहिलो भिडन्तको सामना गरिन् । पहिलो भिडन्त दोलखाको क्षेत्रपा स्कुलमा भएको थियो । त्यहाँ सेनाले घेरा हालेको थियो । भाग्यवश देवकीलाई केही भएन । यसपछि उनी सेनाका रूपमा लड्न परेन । तर आत्मसुरक्षाका लागि हतियार बोकेरै हिँड्न पर्थ्यो । यसपछि उनी सांस्कृतिक क्रियाकलाप र नेतृत्व विकासको काममा सक्रिय हुन थालिन् ।
विक्रम संवत् २०५७ सालमा सैलुङ सांस्कृतिक पूर्वी कमाण्डको गठन भयो । दोलखाको सैलुङ्मा भएको त्यो समितिमा देवकी संस्थापक सदस्यका रूपमा भूमिका निभाउन सुरु गरिन् । त्यसपछि जनसांस्कृति क्रियाकलापका माध्यमबाट जनतालाई संगठन गर्ने, गाउँ टोलमा पुगेर प्रशिक्षण दिने, कलाकार उत्पादन गर्ने काममा अभियन्ताको रूपमा अगाडि बढिन् ।
पूर्वी कमाण्डमा छँदा उनले २५ भन्दा धेरै जिल्लामा काम गरिन् । विभिन्न अभियान, प्रशिक्षण र सांस्कृति विकृतिविरुद्ध, गलत प्रविधिविरुद्ध पार्टीभित्र र पार्टीबाहिर आवाज उठाउन सुरु गरिन् । आमसभा मार्फत् सांस्कृतिक भूमिका निभाउन लागि परिन् । यो कामले संगठन निर्माणमा सहयोग पुगेको उनी बताउँछिन् । विक्रम संवत् २०५८ सालमा नेपाल सरकारसँग जनयुद्धलाई शान्तिपूर्ण बनाउन शान्तिवार्ता भयो । त्यसअवधिमा देवकीले पूर्वाञ्चलभरि सांस्कृतिक कार्यक्रम, विभिन्न जिल्लामा जनसरकार घोषणा गर्ने काममा अग्रसर बनिन् । विक्रम संवत् २०५८ सालको वार्तापछि उनको जिम्मेवारी परिवर्तन भयो । भौगोलिक हिसाबले सगरमाथा व्युरोको नेतृत्व सम्हाल्न पुगिन् । सगरमाथा सांस्कृतिक परिवार (चोमोलुङ्मा) सक्रिय भइन् । चोमोलुङ्मा भनेको सगरमाथा भनेर चिन्ने शब्द हो । उनी यसको संस्थापक अध्यक्ष बन्न सफल भएकी थिइन् । त्यसबेला उनले खोटाङ, भोजपुर, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, सिन्धुली, सिराह, सप्तरीलगायतका स्थानमा काम गर्नु पर्थ्यो । त्यतिबेला उनले अपेरा अभिनय गर्नु पर्थ्यो । अपेरा अभिनय भनेको जस्तो युद्धको परिवेश हुन्छ त्यस्तै अवस्थाको चित्रण हो । नाटकका माध्मबाट युद्धको कथा झल्काउनु निकै चुनौतीपूर्ण थियो । तर पनि देवकीले युद्धको त्यो त्रासदीपूर्ण समयमा कला प्रस्तुत गर्न सधै अब्बल भूमिका निभाइन् । उनको यो कलाकारिताले धेरैलाई रुवाउने गरेको उनी सम्झिन्छिन् ।
देश र जनताका लागि भनेर हिँडेका ती दिन देवकीको मानसपटलमा झल्की रहन्छन् । विक्रम संवत् २०५९ मा शान्ति प्रक्रियाको दोस्रो वार्ता भयो । त्यतिबेला जिल्ला—जिल्लामा जनसरोकार जनसभा गर्ने काम भयो । त्यो अवधिलाई उनी समाज रूपान्तरणमा खर्चिएको समय भनेर गर्व गर्छिन । यो बीचमा दशवटा जिल्लामा पुगेर प्रतिभा पहिचान गर्ने अनि कसरी स्थान दिने भन्ने जिम्मेवारीमा तल्लीन हुन पुगिन् । उनले त्यो बेलाको अवधि स्मरण गर्दैगर्दा अहिले पनि जेलमा रहेका माइला लामालाई स्मरण गरिन् । उनी सम्पूर्ण अङ्ग गुमाएर देश र जनताकै लागि लडेका थिए । उनको नेतृत्वमा सञ्चालन गरेका प्रशिक्षण कार्यक्रमहरुको झल्को अहिले पनि आइरहने देवकी बताउँछिन् ।
विक्रम संवत् २०५९ सालमा तत्कालीन माओवादीले देशभरि ५ वटा रेडियो स्टेशन सञ्चाल ग¥यो । त्यसमा पूर्वी रेडियो जनगणतन्त्र नेपाल पूर्वी प्रसारण सेवामा जिम्मेवारी लिन पुगिन् । त्यतिबेला विक्रम संवत् २०६० साल फागुनमा पहिलोचोटी रेडियोमा बोल्ने अवसर देवकीले प्राप्त गरिन् । रेडियो कस्तो उपकरण हो भन्ने कुरा उनले त्यसबेला मात्र बुझ्ने मौका पाइन । जङ्गलमा सबैभन्दा अग्लो टापुमा जेनेरेटर डोकोमा बोकेर, एन्टेनाको लागि बाँस काँधमा बोकेर उकालो र आरालो क्षणलाई उनी जीवनको अनौठो समय ठान्छिन् । जतिबेला जङ्गलबाट देवकीले आफ्नो आवाज रेडियोबाट छोड्ने गर्थिन । त्यतिबेला उनले रेडियोको महत्व बुझेको बताइन् । त्यस रेडियोबाट पहिलो समाचार वाचन गर्ने बेलाको क्षण देवकीका लागि निकै दुःखदायी छ । त्यतिबेला उनलाई भक्कानिएर रुन मन लाग्यो । तर रुन सक्ने अवस्था नै थिएन । उनी रेडियोमा बोली रहनु परेको थियो । उनले आफ्नै साथीहरु भोजपुर आक्रमण गर्ने बेला खोटाङको सैलुन खर्कमा तत्कालीन शाही जनमुक्ति सेनाको भिडन्त हुँदा साथी गुमाएको खबर पढ्न पुगिन् । त्यतिबेला उनीसँगै काम गरेका साथी कम्पनी कमाण्डर प्रमोदलगायत केहीको साहदत र केही घाइते अवस्थामा छट्पटाइरहेको समाचार वाचन गरेकी थिइन् । यो भिडन्तको समाचार पढ्दै गर्दा उनलाई पीडा खपिनसक्नु भएको थियो । यो घटनाले सुरक्षा चुनौती थपिएको महसुस देवकीले गरिन् । मन धौधौ थामेर अन्य समाचार वाचन गरेको क्षण सुनाउँदा देवकी भक्कानिन् पुगिन् ।
तर यो साहसिलो काम पछि उनले अग्रजबाट स्याबासी पाएकी थिइन् । विक्रम संवत् २०६२ सालसम्म उनले रेडियोमै काम गरिन् । विक्रम संवत् २०६१ वैशाख १० गते त्यहीँ स्टेशनमै उनको जनवादी बिहे भयो । उनले बिना योजना पार्टीको निर्णयमा हुम्लाको सर्केगाउँ गाउँपालिका वडा नम्बर ८ राहदवका डाक्टर दिपेन्द्र रोकायसँग बिहे गरिन । त्यसपछि उनको जिम्मेवारी झनै बढेको उनले महसुस गरिन् । दिपेन्द्र अहिले पत्रकारिता, राजनीतिकलगायत विविध सामाजिक काममा सक्रिय रहेका छन् । अहिले यो दम्पतीका दिपिका र दिव्या गरी दुई छोरी छन् । सिन्धुपाल्चोक पूर्वी जिल्लामा जन्मिएकी देवकीले कर्मस्थान हुम्लालाई रेडियोमै कार्यरत छँदा बनाइन् । जति बेला देवकी २३ वर्षकी थिइन् । उनले श्रीमान्ले लेखेका कथाहरु पढ्ने गरेता पनि खुलेर बोल्ने अवसर भने पाएकी थिइनन् । उनीहरु बीचको चिनजान विक्रम संवत् २०५६ सालबाटै भएता पनि आत्मीयता साट्न पाएका थिएनन् । उनले पार्टीले बिहेको निर्णय सुनाएपछि पात्रका हिसाबले ठीक लाग्यो भनेर मुस्कुराएकी थिइन् ।
कलिलो १२ वर्षको उमेरमा बुवा र आमाको काख छाडेर देश बनाउने सपना बोकेर हिँडेकी देवकीले विक्रम संवत् २०६१ सालमा पार्टीमै बिहे गर्दा बुवा आमालाई सम्झिएर धेरै पीडा भएको बताइन् । बिहे भएको केही समयपछि देवकी बिरामी भइन् । उनलाई स्वास्थ्यले साथ दिएन । उनको पेटमा बच्चा थियो । त्यसपछि उपचार गर्न काठमाडौं पुगिन । आमा र बच्चाको अवस्था चिकित्सकले ठीक छैन आराम गर्नु पर्छ भनेर सुझाव दिएता पनि पार्टीको जिम्मेवारीलाई प्रमुख ठान्दै देवकी रेडियो डोकोमा बोकेर खोटाङ जिल्ला पुगिन् । उनी रेडियो बोकेर कहिले सिन्धुली, कहिले उदयपुर त कहिले खोटाङ गरिरहनु पर्थ्यो । उनी त्यतिबेला एरिया इन्चार्जको भूमिकामा थिइन् ।
उनको पेटमा बच्चा बसेको ४ महिनापछि रगत बग्न सुरु भयो । राजनीतिक नाम समीक्षा राखेकी हुनाले गाउँघरमा चिनेजानेकाले उनलाई समीक्षा भन्थे । तर दुई जीउ कि देवकीलाई स्थानीयले पनि सहयोग गरेनन् । पहिले सहयोग गरिरहने आमा तथा दिदीबहिनीहरुले पनि सोचे अनुसार सहयोग गरेनन् । तर एकजना आमाले दिएको तातो खाना र तातो बिछ्यौनालाई अहिले पनि ममतामयी हृदयबाट सम्झने गरेको देवकी बताउँछिन् । यही पीडामा रहेकै बेला समीक्षाले बच्चासमेत गुमाउनु पर्यो । श्रीमान् अर्को ठाउँमा अनि आफू अर्को ठाउँमा काम गर्ने भएको हुँदा यसबेला देवकीले श्रीमान्लाई धेरै सम्झिए पनि भेटघाट गर्न सक्ने कुनै माध्यम नभएको पीडा पोखिन् ।
सेनाबाट घेराउमा पर्दाको पुनर्जन्म र आमा हुँदाको पुनर्जन्म उस्तै हुँदो रहेछ भनेर बताउँछिन् देवकी । उनको बच्चाको मृत्यु हुँदा लगातार २४ घण्टा भन्दा धेरै समय होस आएको थिएन । उनलाई स्थानीय स्वास्थ्यकर्मीले औषधी उपचार गरेपछि केही सहज भयो । त्यसपछि उनको स्वास्थ्य अवस्थालाई मध्यनजगर गर्दै पार्टीले केही समय घरमा गएर आराम गर्ने अनुमति दियो । त्यसपछि उनले बिहेपछि पहिलोपटक आफ्नो घरमा जाने तयारी गरिन् । शिक्षकको भेषमा खोटाङबाट काठमाडौं पुगिन । अनि काठमाडौंबाट नेपालन्ज हुँदै हुम्ला एक्लै पुगिन् । एक्लै यात्रा गर्दाको यो क्षण सम्झिँदा अहिले पनि मुटु काप्ने उनी बताउँछिन् । संकटपूर्ण अवस्थामा त्यहाँ पुग्न जे पनि हुन सक्थ्यो । उनले हुम्ला पुग्दा आफूले सोचेको भन्दा धेरै फरक पाएको बताइन् । उनलाई हुम्ला जिल्ला उपनिवेशभित्रको पनि उपनिवेश जस्तो लाग्यो । त्यहाँ उनले सिन्धुपाल्चोक भन्दा धेरै कठिनाइ पाएको बताइन् । तर दुर्भाग्य के भइदियो भने उनी हुम्लाको जुन गाउँमा जाँदै थिइन्, त्यहीँ गाउँमा भिडन्त भयो । त्यसबेला देवकीले सेनाका १० देखि १२ वटा घेरा तोड्नु प¥यो । उनी त्यतिबेला ठेँ गाउँमा बसिन् । त्यहाँ उनलाई लिनको लागि आफन्तहरु आउन सक्ने अवस्था नै थिएन । उनी लामो बाटो हिँडेर श्रीमान्को मावली गाउँ हुम्लाको ग्यागरु पुगिन् ।
त्यहाँ उनले डेढघण्टासम्म डराइ–डराइ आफन्तलाई कुरिरहिन् । त्यहाँ तुइनबाट तर्नु पर्ने थियो । त्यहाँ मावली नजिकैका भाइले कुवाको नजिकै बसेको बेला पुगेपछि सहयोग गरे । सुरुमा त उनले आफन्त भनेर विश्वासै गरेनन् । पछि सबै पारिवारिक कथा सुनाएपछि विश्वास गरे । उनी विक्रम संवत् २०७२ को भदौ १४ मा मात्र घर पुगिन् । जसरी युद्धमा ज्यान जोगाउन संघर्ष गर्नुपर्थ्यो त्यस्तै संघर्ष आफ्नो कर्मघर पुग्नका लागि गर्नु पर्यो ।
घरमा पुगेपछि अर्को संघर्षको कथा सुरु भयो । बुहारी भनेर कसैले स्वीकार गर्ने पक्षमा थिएनन् । छोरा आएपछि मात्र भित्र्याउँछौ नत्र भिœयाउँदैनांै भन्दै अडिग भएर बसे । उनले त्यतिबेला ससुरा बुवा, सासूआमा, जेठाजु र जेठानीलाई धेरैबेर सम्झाउनु परेको थियो । कसैले पनि उनलाई बससमेत भनेनन् । जबकी देवकीले घर परिवारका लागि उपहारसमेत बोकेर गएकी थिइन् । बेहुली बनेपछि पहिलोपटक पुनर्जन्म पाएर पुगेकी थिइन् । यो व्यवहारले उनको मन दुखेको थियो तर देशको परिस्थिति त्यस्तै भएकाले उनले यसलाई सामान्य ठान्नुको विकल्प थिएन ।
धेरै बेरको भलाकुसारीपछि उनका ससुरा बुवाले मेरो छोराले बिहे नगरेको भए यति रातिसम्म आफ्नै घर हो भनि बस्ने थिइनन् भनेर दही चामलका लागि अनुमति दिए । दही चामल भनेको घरमा बुहारी भित्र्याउने संस्कार हो । त्यसछि जेठानीहरु पुरी पकाउन लागे । त्यसै वर्षको असोज १४ गते पूर्वको खोटाङबाट उनका श्रीमान आइपुगे । त्यसपछि दुई दिनसम्म देउडा खेलसहित फेरि बिहे भयो । त्यहाँ द्वन्द्वको अवस्थाका कारण बसिरहन सक्ने अवस्था थिएन । त्यसपछि उनीहरु हिँडेर नेपालगन्ज आइपुगे । त्यसबेला पनि जुम्लाको टोप्लाको लेकमा तत्कालीन शाही सेनाले घेरे । त्यसपछि नेता सरला रेग्मीलगायतको टिमलाई सुर्खेतमा भेटेपछि बर्दिया जिल्लातर्फ देवकी पनि लागिन् । त्यसबेला बर्दिया राष्ट्रिय निकुञ्जको जङ्गलमा हराउँदा धेरै दुःखसमेत पाइन् देवकीले । केही दिनपछि बर्दियाको बासगढीमा भिडन्त भयो । उनलाई पूर्वतिरै जाने मन लागेको थियो । किनभने समीक्षा भनेर उनले आफ्नो राम्रो पहिचान बनाएकी थिइन । तर घरपरिवार र श्रीमानको सुझाव अनुसार पश्चिम क्षेत्रमै कर्मथलो बनाएर काम गर्न थालिन् ।
पश्चिम क्षेत्रको जिम्मेवारी लिइरहेको समयमा देवकीले सानैमा छोडेको शिक्षालाई अगाडि बढाउने सोच बनाइन् । उनले विक्रम संवत् २०५४ सिन्धुपाल्चोकस्थित कुपन्या माध्यामिक विद्यालय माङ्खामा कक्षा ८ मा पढ्दै गर्दा विद्यालय छाडेर राजनीतिमा प्रवेश गरेकी थिइन् । त्यसपछि देशमा शान्ति स्थापना भइसकेपछि विक्रम संवत् २०६५ सालमा आफ्नै जिल्लाको सेती पञ्चकन्या विद्यालयमा अध्ययन गर्न पुगेकी थिइन् । उनले प्रथम श्रेणीमा प्रवीणता प्रमाणपत्र अध्ययन गरिन । त्यसपछि उनले उच्च शिक्षा हासिल गर्ने सोच बनाइन् । उनले सिन्धुपाल्चोककै बालशिक्षा उच्च माध्यामिक विद्यालय खाडिचौरमा उच्च शिक्षा हासिल गरिन् । उनले पढाइ छाडेको १२ वर्षपछि उच्च शिक्षामा पनि प्रथम श्रेणीमा पास गर्न सफल भइन् । त्यसपछि उनले स्नातक तह त्रिभुवन विश्वविद्यालयबाट गरिन् । उनले स्वअध्ययन गर्दै शैक्षिक यात्रा पार गरिन् । विक्रम संवत् २०७७ सालमा देवकीले राजनीतिक शास्त्रमा स्नाकोत्तर तह उत्तीर्ण गरिन् ।
देवकीले बाल्यबालमै राजनीतिक योद्धाको रूपमा रहनुका पछाडि केही सामाजिक तथा सांस्कृतिक कारण रहेको बताउँछिन् । छोरीले महिनावारी हुँदा बार्नु पर्ने अवस्था देवकीलाई चित्त बुझ्थेन । बालविवाहको समस्या पनि उस्तै थियो । ११ वर्षको उमेरमा घरमा केटा माग्नको लागि आउने गर्थे । सानै उमेरमा धेरै सन्तान जन्माउने र आमाको मृत्यु हुने गरेको अवस्था थियो । छोरा जन्माउनुनै पर्छ भन्ने मान्यताले जरो गाडेको थियो । महिलालाई हुने विभेद उनलाई मन पर्थेन । यस्ता क्रियाकलापविरुद्ध देवकीले युद्धका बेला सांस्कृतिक शैलीबाट चेतना फैलाउन भूमिका खेलेको समयलाई जीवनको उपलब्धिपूर्ण समय ठान्छिन् । सामाजिक सेवाको भाव सानैदेखि आफूमा भएको देवकी बताउँछिन् । पहिलो दिन घर छाड्दा देवकीले जन्मघरलाई निकै सम्झिएकी थिइन । घर छाडेपछिको पहिलो दसैँ देवकीको रोएरै बित्यो । देशद्रोहीको मुद्दा लागेपछि घर छोड्दा बुवा आमाले हौसला दिए पनि मन निकै रोएको थियो देवकीको । आफू बेस्सरी रुँदा बुवा आमाको मन रोला भनेर सहनशील हुनु परेको थियो देवकीलाई । जब उनले जुत्ताको तुना कसिन उनले त्यो तुना नखस्ने गरी बान्ने सोच बनाइन् । किनकी त्यो तुनाले उनको यात्रालाई सङ्केत गरेको महसुस उनले गरिन् । पार्टीको जिम्मामा देवकीलाई सुम्पदा देवकीका बुवा आमाले छाती ठूलो गरेर पठाएका थिए ।
देवकीले युद्धका क्रममा एक सन्तानलाई संसार देखाउन नपाएता पनि विक्रम संवत् २०६३ साल असोजमा पहिलो सन्तान जन्माएकी हुन् । त्यसपछि उनी बर्दिया जिल्लाको कालिका स्थित पार्टीको सेल्टरमा बस्न थालिन् । श्रीमानसँगै उनको बसाइँ थियो । त्यहाँ बस्ने वातावरण राम्रो नभएपछि देवकी माइत गइन् भने उनका श्रीमान् काठमाडौं पुगे । दुई वर्ष उनले माइतमा बस्दा त्यहाँ पनि विभिन्न राजनीतिक क्रियाकलापमा सहभागी भइन् । बच्चा हुर्काउँदै देवकीले जनआस्थालगायत राष्ट्रिय रूपमा चर्चा पाएका सञ्चार माध्यममा लेखहरु प्रकाशन गरिन् । नानी बोकेरै कर्म गर्न छाडिनन् । बाँके र बर्दिया बस्दा देवकीले युद्धकालमा सिकेको पत्रकारितालाई निखारता ल्याउने कोसिस गरिन् । उनले भेरी कर्णाली जनादेश संस्करणमा २०६२ सालमा काम गरिन् । त्यसपछि काठमाडौंमा रेडियो मिरमिरेको संस्थापक सदस्यको रूपमा र संवाददाता भएर काम गरिन् । जनदिशा राष्ट्रिय दैनिकको पनि संवाददाताको रूपमा काम गर्ने अवसर प्राप्त गरिन् । २०६५ सालमा नयाँ कर्णाली मासिकको कार्यकारी सम्पादक भएर काम गर्नुको साथै नेपालगन्जबाट प्रकाशन हुने नौलो जनादेश पत्रिकाको पनि संवाददाताको रूपमा काम गरेकी देवकी हाल संवाद डबली प्रेस क्लबको उपाध्यक्ष छिन् । यसका साथै अहिले देवकीले विभिन्न सामाजिक विषयमा खोज तथा अनुसन्धान, विपद व्यवस्थापनका लागि जनचेतना, समता र सभ्य समाज निर्माणका लागि समय खर्चिरहेकी छिन् । अहिले उनी कर्णाली प्रदेशमा अन्तर्राष्ट्रिय पत्रकार महासंघको प्रशिक्षकका रूपमा समेत आफूलाई उभ्याउन सफल भएकी छिन् । यसका साथै लैङ्गिक समानता र सामाजिक समावेशीकरणको पनि प्रशिक्षकका रूपमा काम गर्दै आएकी छिन् । साथै नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको साधारण सदस्यसमेत छिन् । पत्रकारिता, सामाजिक तथा राजनीतिक क्षेत्रमा बेग्लै पहिचान बनाएकी देवकीले रेडियो गणतन्त्र एफएम धरानद्वारा रेडियो योगदान सम्मान (२०७३), प्रेस सेन्टर महिला विभागद्वारा महिला युद्ध पुरस्कार सम्मान (२०७४), मनोरमा सिर्जना यात्रा २ द्वारा साहित्य सिर्जना सम्मान (२०७४), सांस्कृतिक संस्थान र आरङ्ग नेपाल, सुर्खेतद्वारा रारा नाटक महोत्सव सफल सम्मान (२०७५) र तिमिल्सिना समाज नेपालद्वारा साहित्य सिर्जना र पत्रकारिता सम्मान (२०७६) बाट सम्मानित भइसकेकी छिन् । उनका प्रकाशित कृतिमा योद्धाको सपना कविता,२०७६ र छुटेका सपनाहरु मुक्तक संग्रह २०७७ रहेका छन् ।
देवकीको अबको योजना पत्रकारिता, सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील रहने नै छ । हिजो युद्ध गर्ने बेला जुन सपना बोकेर बन्दुक उठाएकी थिइन देवकीले अहिले पनि ती सपनाहरु उनको आँखा अगाडि छन् । यी सपना साकार पार्न राज्यले बनाएका नीतिहरुको व्यवहारिक कार्यान्वयन हुनु पर्ने उनी बताउँछिन् । सुसभ्य समाज निर्माण गर्ने देवकीको बाल्यकालको सोच अहिले पनि उस्तै छ । सामाजिक सेवाभावको जाँगर अझै मौलाउँदै जाओस् शुभकामना ।