जीवन महत्वपूर्ण भाग हो । जीवन आफ्नो नजरमा कहिल्यै खस्नु हुँदैन । अनि यस्तो काम कहिल्यै गर्नु हुँदैन । समय अनुसार काम गरेमा जीवन सफल हुन्छ । जीवन सफल बनाउन विशिष्ट काम नै गर्नुपर्छ भन्ने होइन सञ्चालित काम तथा योजनालाई केही फरक र विशिष्ट किसिमले गरे पुग्छ । यस्ता भावनाले ओतप्रोत र जीवनसँग कहिल्यै सम्झौता नगरेका पात्र हुन् बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ स्थित सीतापुरमा स्थायी बसोबास गर्दै आएका सामाजिक तथा राजनीतिक अभियन्ता तेजविक्रम शाह । तेजविक्रमको जीवनका कालखण्डहरु आश्चर्यजनक छन् । उनले बाल्यकालदेखि अहिले कुदिरहेको ५६ वर्षको उमेरसम्म आइपुग्दा क्रान्तिकारी भाव बोकेका छन् र विद्रोही छन् । सहीलाई सही र गलतलाई गलत भनेर छुट्टाउन बाल्यकालदेखि नै सक्षम तेजविक्रमको दैनिकीमा पनि बाल्यकालमा सुखसयल भोग गर्ने अवसर मिलेन । राजकीय सेवा त्याग गरेर उनका बुवा जाजरकोटबाट बाँके फर्किएपछि उनले ३ वर्षको उमेरदेखि सामान्य किसिमको जीवनशैली सुरु गरे । आमा तिला देवी शाह र बुबा ललितबहादुर शाहको कोखबाट विक्रम संवत् २०२० साल भदौ ५ गते जन्मिएका तेजविक्रम तेस्रो सन्तान हुन् । उनका ५ जना दाजुभाइ र एक जना दिदी छिन । उनको जन्म जाजरकोटको खलङ्गा बजारमा भएको हो । बुबा र आमाले मुख्य पेसा खेतीपाती नै रोजे । तेजविक्रम पनि खेतीपातीको काममा रमाउन सिके । बुवा आमा सँग सँगै खेतबारीमा सहयोग गर्न जान्थे । निकै मिलनसार स्वभाव र सहयोगी भावना भएका तेजविक्रमसँग मिल्ने र असल व्यक्तिको समूहभित्र पर्ने गर्थे । जन्मलिइसकेपछि केही गर्नुपर्छ भन्ने भाव लिएका तेजविक्रमको कथा हामीले देखेको पात्र भन्दा निकै फरक छ ।
तेजविक्रम हुनत राजकीय सम्मान पाएका कुल खानदानका हुन् । पृथ्वी नारायण शाहको पालादेखि कायमै रहेको २२ सय २४ सय राज्यको परिधिभित्र तेजविक्रमको घरपरिवार पनि पर्छ । उनका बाजे जिजुबाजेले यो अवसर प्राप्त गरे पनि बुवाले भने प्राप्त गरेनन् । यो परम्पराको लामो अनुभव उनको घरपरिवारसँग रहेको छ । यही क्रम चल्दै जाँदा विक्रम संवत २०२३ सालमा उनको परिवारमा सम्पत्ति भागबण्डाको कुरा चल्यो । परम्परा अनुसार जेठो सन्तानले सबै भन्दा धेरै सम्पत्ति लिने र राजगद्दीमा बस्ने भन्ने नियम थियो । जसलाई बिर्तावाल भनिन्छ । बिर्तावाल भनेको घरपरिवारको जेठो छोराबाट जन्मेको जेठो सन्तान राजगद्दीमा बस्नु भन्ने अर्थ लाग्छ । तेजविक्रमका बुबा उनको हजुरबुवा जगतबहादुर शाहका साहिँलो सन्तान थिए । नियमअनुसार उनका बुवाले थोरै सम्पत्ति पाउने कुरा थियो । यो कुरा उनका बुबालाई मन परेन । त्यसपछि उनका बुबाले सम्पत्ति कत्ति पनि नलिएर ठाउँ नै छाड्ने ठूलो निर्णय गरे । त्यसपछि आफ्नो भागमा परेको कुनै पनि सम्पत्ति नलिई बाँके जिल्लाका लागि यात्रा सुरु गरे । सामान्य खेतीपाती गरेर जीवन निर्वाह गर्न थाले । यतिबेला तेजविक्रम मात्र २ वर्ष पूरा भएर ३ वर्षमा प्रवेश गरेका थिए । तेजविक्रमका पुस्ताले राजकीय सम्मान पाएको र अनुभव गरेको लामो कथा सुने पनि अनुभव गर्न तेजविक्रमले कहिल्यै पाएनन । यहाँसम्म कि विक्रम संवत् २०२३ सालमा बाँके आएका तेजविक्रम कुल पूजाको बाहनामा एकैचोटी विक्रम संवत् २०४० सालमा मात्र त्यहाँ पुगे । उनका बुबा त झन धेरै लामो समय पछि विक्रम संवत् २०६९ सालमा ४६ वर्षपछि तेजविक्रमको आग्रहमा मात्र पुगे । पुस्ताले बनाएको भेदभावको नियमविरुद्ध विद्रोह गरेर गृह जिल्ला छाडेका तेजविक्रमका बुबाको प्रभाव तेजविक्रमको जीवनमा पनि परेको छ । बुबाको सामाजिक न्यायको छत्रछायामा जन्मिएका तेजविक्रमले सामजमा सुशासन कायम गर्नका लागि राम्रा—राम्रा अवसर गुमाएका छन् भने महत्वपूर्ण जिम्मेवारीहरु स्वयम् त्याग गर्न सक्षम बनेका छन् । समाजमा उनले गरेका निर्णयहरु र राखेका विचारहरु बौद्धिक र तार्किक रहेका छन् । यो तार्किकताको क्षमता उनको जन्मदात गुण पनि हो । जुन बुबा र आमाबाट प्राप्त भएको छ । उनकी आमा पनि निकै सहनशील र जस्तो पीडामा पनि शान्त रहन सक्ने स्वभाव भएको तेजविक्रम बताउँछन् । तेजविक्रमलाई सानैमा थातथलो छोडेका कारण जाजरकोटी राज्यको मौलिक संस्कारबारे ज्ञानको व्यवहारिक अनुभव छैन । उनलाई त्यो बेलाका कुराहरु सुन्दा एकादेशको कथाजस्तै लाग्छ । एकातिर आफ्नो परिवारको गौरवपूर्ण इतिहास अर्कोतिर अभाव उनको जीवनको अविष्मरणीय पाटो हुन । सम्पत्ति प्रशस्त हुँदा हुँदै पनि अभावमा गर्नु परेको संघर्ष तेजविक्रमका लागि सफल जीवनको पाटो बनिदिएको छ ।
ठकुरी भनेर चिनिने वर्गमा पर्ने तेजविक्रमले बाँके बसाइँका क्रममा सामाजिक रूपमा उच्च वर्गमा गणना भएकै कारण धेरै मानसिक रूपमा अपहेलना झेल्नु प¥यो । यसको कारण थियो समाजमा आफ्नो समुदायको एकता कम हुनु । तर पनि सामाजिक मेलमिलापको पाटोलाई सानैदेखि सन्तुलनमा राख्दै महत्वपूर्ण भूमिका खेल्नसमेत तेजबिक्रमले आफ्नै माता र पिताबाट सिके । उनका बुबामा यतिधेरै इमान्दारिता थियो की उनका बुबाले भन्ने गर्थे सम्पत्ति नाशवाला कुरा हो । उनका बुबाको पारिवारिक पृष्ठभूमि उच्च कुल घरानाको भए पनि उनले सामान्य शैलीमा जीवनका ९० औँ बसन्त गुजारे । जीवनलाई कर्मसँग तुलना गरेको यस परिवारले गलतलाई कहिल्यै गलत भनेन । यो कुरामा तेजविक्रम गर्व गर्दछन् । तेजविक्रम जान्ने सुन्ने भएको बेलामा उनका बुबाको सम्पत्ति अर्कोको नाममा गइसकेको थियो । तर त्यो सम्पत्तिको लोभलालच केही नरहेको तेजविक्रम बताउँछन् । जीवनमा पुख्र्यौली सम्पत्ति गुमेकोमा कहिल्यै गुनासो उनका बुबाले समेत गरेनन् ।
तेजविक्रमको बाल्यकाल सामान्य रूपमा बित्यो । स्थानीय राष्ट्रिय प्राथमिक विद्यालय गौरीनगरमा कक्षा २ सम्म अध्ययन गरेका तेजविक्रमले त्यसपछि छिमेकी गाउँको विद्यालय शुक्र नमुना निमाविमा कक्षा३ देखि ७ सम्म अध्ययन गरे । त्यसपछि उनले खजुरा क्षेत्रकै जनता माध्यामिक विद्यालय सन्तकुटीमा विक्रम संवत् २०३९ सालमा एसएलसीसम्मको अध्ययन पूरा गरे । उच्च शिक्षा उनले नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा सुरु गरे । विक्रम संवत् २०४० सालमा वाणिज्य विषयमा आइकमसम्मको अध्ययन पूरा गरेपछि तेजविक्रमले विक्रम संवत् २०६० सालमा स्नातक तहमा राजनीतिक शास्त्र विषय रोज्न पुगे । राजनीतिक शास्त्र विषयमा स्नाकोत्तरसम्मको अध्ययन पूरा गरिसकेका छन् तेजविक्रमले । उनले विक्रम् संवत् २०४२ सालमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्नाकोत्तर र काठौमाडौंस्थित त्रिचन्द्र कलेजमा विक्रम संवत् २०४६ सालमा स्नाकोत्तर तह उत्तीर्ण गरेका हुन् । यसैगरी उनले राजकीय इन्टर कलेज बहराइचबाट आइएसम्मको अध्ययन पूरा गरेका छन् । यो अध्ययन उनले विक्रम संवत् २०४२ सालमा पूरा गरेका हुन् । त्यसैगरी गैर सरकारी संस्था महासंघ नेपालबाट छात्रवृत्ति अध्ययन अन्तर्गत सर्टिफिकेट इन म्यानेजमेन्ट कोर्स पूरा गरिसकेका छन् । उनले ओपन युनिभर्सिटी युकेबाट यो अध्ययन पूरा गरेका हुन । दूर शिक्षाको माध्यमबाट पूरा गरेको यो अध्ययन उनका लागि निकै उपलब्धिपूर्ण रहन गयो ।
तेजविक्रमको रुचि सानैदेखि फुटबलमा थियो । उनी फुटबल खेल्न निकै रुचाउने गर्थे । सानोमा पढेर के बन्ने भन्ने एउटै लक्ष्य नभए पनि सामाजिक सेवाको भाव उनमा सानैदेखि थियो । तर मनमा एउटा अठोट ठूलो खेलाडी बन्छु भन्ने नै थियो । महान खेलाडी बन्ने सपना बुनेर दिनरात खेलमैदानमा समय दिन्थे तेजविक्रमले । त्यतिबेला नेपालमा फुटबलको क्रेज बढिरहेको थियो । महेन्द्र पुलिस क्लब, एपिएफलगायतको टिमको खेलको चर्चा उनले निकै सुनेका थिए । प्लेले खेलेको फुटबलको चर्चा उनको मानसपटलमा थियो । रातदिन उनको दिमागमा फुटबल मात्रै थियो । स्थानीय, जिल्ला स्तरीय र राष्ट्रिय स्तरका खेलमा समेत उनको सहभागिता छ । उनी भन्छन्,‘आफ्नो क्षमता चिन्न सक्नु पर्ने रहेछ । खेल भइरहेको थियो । म जानी जानी खेल हेर्न गएको थिइनँ । किनकी मैले त्यहाँ आफ्नो क्षमता प्रदर्शन गर्नु पर्ने थियो । हाम्रो समूहले आधा खेल सकिँदासम्म ६ गोल खाइसकेको थियो । आधा खेलपछि मेरो प्रवेश भयो । मैले लगातार खाएको ६ गोलको बदला अर्को टिमलाई दिएँ । त्यसपछि मेरो चर्चा चुलियो । मेरो नाम सोध्ने काम भयो । थाइल्याण्डको जुनियर टिममा लैजाने कुरा भयो । तर मेरो उमेर धेरै भएका कारण मलाई त्यता जाने अवसर मिलेन । त्यसपछि म भेरी अञ्चल स्तरीय सिनियर टिममा आबद्ध भएँ । म खेल खेल्न कैलाली पुगें ।” खेलमा आफूले सोचका सपनाहरु पूरा हुन्छन् कि जस्तो महसुस उनले गरेका छन् । तर देशमा विक्रम संवत्२०४२देखि सुरु भएको राजनीतिक अस्थिरताले खेल क्षेत्र धराशायी भएसँगै उनका योजनाहरु पनि धराशायी बन्न पुगे । देशमा राजनीतिक अस्थिरता बढेपछि तेजविक्रम अध्ययन गर्न काठमाण्डौं पुगे । त्यहाँ बस्दा उनले विश्व कप हेर्ने अवसर प्राप्त गरे । त्यसपछि उनी गृह जिल्ला बाँके फर्किए । विक्रम संवत् २०४७ सालमा स्थानीय स्तरमा २० टिममा फुटबल खेल भएको थियो । त्यसबेला तेजविक्रमको भूमिकामा उनको टिम प्रथम भयो । काठमाण्डौमा हरेको वल्र्डकपको अनुभव उनले यहाँ प्रस्तुत गर्ने मौका पाएको बताउँछन् । उनी भन्छन्,“खेलका क्रममा साथी घाइते भएपछि मैले सबै भूमिका एक्लैले निभाएँ । बुद्धिमतापूर्वक खेल खेलें । मेरो बुद्धिमताको प्रशंसा खुलेर गर्ने काम भयो । स्थानीय अगुवा खेलाडी लालबहादुर खत्रीले सबैभन्दा धेरै खुसी व्यक्त गरे । उनले ११ खेलाडीले भन्दा पनि तेजविक्रमकले खेल जितेको भनेर प्रशंसा गरेको सुनेपछि म थप उत्साहित बनें । यो नै मेरो जीवनको अन्तिम खेल थियो ।”
तेजविक्रमको युवा अवस्था संघर्षपूर्ण नै रहन गयो । उनको जागिरे जीवन जिउने इच्छा थिएन । कहिल्यै पनि लोक सेवा आयोगबाट पास भएर जागिर खानुपर्छ भन्ने सोचेनन् । सामाजिक र राजनीतिक कामसँगै उनले विक्रम संवत् २०४९ सालतिर २ विगाह जमिनमा माछा पालन गरे । तर सफल हुन सकेनन् । राम्रो उत्पादन नभएपछि उनले घाटा सहेर यो व्यावसाय अगाडि बढाउन सकेनन् । त्यसपछि उनको समय विद्यार्थीहरुलाई पढाउने काममा व्यतीत हुन थाल्यो । उनले योगिनी मावि गौघाट खजुरा बाँकेमा अध्यापन गराउने अवसर प्राप्त गरे । यहाँ उनलाई कक्षा १० सम्म अर्थशास्त्र विषय अध्ययन गराउने अवसर प्राप्त भएको थियो । तर एक शिक्षकले अंग्रेजी विषय पढाउन भनेपछि उनले निर्धक्क भएर अंग्रेजी विषय पढाइ दिए । यो देखेर पढाउन आग्रह गर्ने शिक्षक र विद्यार्थी प्रभावित भए । त्यसपछि उनले अर्थशास्त्रसँगै अतिरिक्त समयमा अंग्रेजी विषय पनि पढाउन थाले । यो विद्यार्थीहरुको नै माग थियो । त्यस अवधिमा पनि तेजविक्रमले विद्यालयमा हुने अनुपस्थिति र विद्यार्थीहरुको गुणस्तरीय शिक्षाा र असल आचरणविरुद्धको क्रियाकलापको खुलेर विरोध गर्ने गर्थे । राष्ट्रिय प्रजातन्त्र पार्टीमा आस्थावान तेजविक्रमलाई अन्य दलका तर्फबाट विद्यालयमा अध्यापन गराउने वातावरण बिथोल्ने प्रयास भयो तर तेजविक्रम डगमगाएनन् । उनी निरन्तर विद्यालयमा गुणस्तर शिक्षा र सुशासनका लागि लागिरहे । विद्यार्थीहरुलाई अंग्रेजी व्याकरण सिकाएको कुरा उनलाई यादगार लाग्छ । उनको मेहनत देखेर सुरुमा विरोध गरेका स्थानीयले पछि सधै स्थायी रूपमा त्यहीँ बस्न आग्रह गरे । तर उनले त्यो गाउँ छाड्न चाहन्थे । यो सोचाइका बीच उनले सोचे झै भयो । विक्रम संवत् २०५१ सालको मध्यावधि निर्वाचन पछि बाँकेका फत्तेसिङ थारु मन्त्री थिए । त्यसबेला उनले ऊन विकास समितिमा अधिकृतको नियुक्ति पाए । त्यहाँ उनले ३ वर्ष बिताए । त्यहाँ रहँदा उनले देशमा हुने गरेको राजस्व हिनामिनाविरुद्ध आवाज उठाए । यो आवाजले लामो समय उनी त्यहाँ बस्ने वातावरण भएन । देशको रकम हिनामिना गर्न बानी परेकाले उनको जागिर खोसिदिए । गुणस्तरहीन सामानलाई गुणस्तरीय भनेर तेजविक्रमको कलमले प्रमाणित गर्न मानेन । तोकिएको रकम भन्दा धेरैको बिलमा उनको कलमले हस्ताक्षर गरेन । बरु उनले मन्त्रालय अन्तर्गतको जागिर नै छाडिदिए । यस्तो माहानता कमै व्यक्तिमा मात्र हुने गर्छ । मन्त्रालयका सचिवले समेत यो काममा सामेल हुन र चुप रहन आग्रह गरे तर तेजविक्रमले मानेनन् । त्यतिबेला उनले ठूल्ठूला व्यापारीहरुलाई कारबाही गरे । यसको बदलामा विक्रम संवत् २०५४ सालमा जागिर छाडेका उनले ३ वर्ष विभिन्न विद्याका पुस्तक अध्ययन गरेर बिताए । समाजलाई नजिकैबाट नियाले । सामाजिक समस्याहरु पहिचान गरे । विक्रम संवत् २०५७ सालमा वातावरण तथा बालअधिकार संरक्षण केन्द्र भनेर संस्था स्थापना गरे । संस्था सुरु गरेर कामलाई अगाडि बढाए । यसै अभियान अन्तर्गत उनले विक्रम संवत् २०५९ सालदेखि नेपालमा म्याद गुज्रेका विषादीलाई सुरक्षित व्यवस्थापन गर्न १० वर्षे लामो अभियानको सुरुवात गरे र सफल पनि भए । यो अभियान सफल बनाउन उनले धेरै संघर्ष गर्नुपर्यो । यो संघर्षलाई जीवनको महत्वपूर्ण समय ठानेका छन् तेजविक्रमले । यो कामपछि नेपालको कृषि बालीमा म्याद गुज्रेका बिषादी छर्नु पर्ने बाध्यताको अन्त्य भयो । बाँकेमा थन्किएको ३ सय क्विन्टल विषादी बिसर्जन गर्ने अभियान सफल हुनु आफैंमा चुनौतीपूर्ण काम हो । यसले प्राणी र वनस्पति जगतमा पार्ने असर खतरनाक भएका कारण नै उनले यो अभियान सुरु गर्नु परेको हो । यो विषादी भारतको कोलकताबाट पानी जहाज मार्फत् जर्मन पुराएर बिसर्जन गरेको लामो कथाको तीतो–मिठो अनुभव उनीसँग छ । यसबेला सञ्चार जगतले उनलाई धेरै सहयोग गरेको उनी बताउँछन् ।
उनी विक्रम संवत् २०६३ सालमा गैर सरकारी संस्था महासंघ बाँकेको अध्यक्षमा निर्वाचित भए । तर उनले डेढ वर्ष भन्दा बढी काम गरेनन् । राजनीतिक दबाब र काम गर्ने वातवारण नभएका कारण उनले अधिकारकर्मी धर्म रोकायलाई कार्यकारी दिएर पद छाडेको बताउँछन् । संस्थाको सुशासन र पादरर्शिताका लागि गरेको प्रयासमा उनले कसैको पनि साथ नपाएपछि विद्रोह गरेका हुन् । त्यसपछि विक्रम संवत् २०६३ सालमा विस्तृत शान्ति सम्झौतापछि स्थानिय शान्ति समितिको स्थापना जिल्ला जिल्लामा भयो । त्यसबेलानै उनी शान्ति समितिमा आउन चाहन्थे । तर त्यहाँ पनि उनको विरोध भयो । लामो प्रयासपछि उनी विक्रम संवत् २०६६ सालमा समितिमा आबद्ध भए र विक्रम संवत् २०६७ सालमा स्थानीय शान्ति समिति बाँकेको संयोजक बने । त्यसबेला पनि उनलाई कसैले साथ दिएनन् । कार्यक्रम सञ्चालन गरिदिने मान्छे समेत उनले पाएनन् । आफैंले अध्यक्षता गर्ने र आफंै कार्यक्रम सञ्चालन गर्ने व्यक्ति हुन तेजविक्रम । उनले त्यसबेला गरेको राम्रो कामलाई सम्मान गर्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विक्रम संवत् २०६८ सालमा शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निभाएको भन्दै सम्मानसमेत गरेका थिए । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसँगको समन्वयात्मक कामको प्रभावकारिताको मूल्याङ्कन भएकोमा उनले गर्व महसुस गरे । उनले जीवनमा राम्रा—राम्रा अवसर गुमाएका छन् । यो अवसर किन गुम्यो भन्ने प्रश्नको जवाफ स्वयम् उनीसँग नै छैन । तर यो कुनै जालझेल हुन सक्ने उनले अनुमान गरेका छन् । उनी मन्त्रालय उन विकास समितिमा कार्यरत रहँदा अमेरिकाको एडलाण्टा सिटीमा मार्केट रिसर्चको लागि पठाउने योजना बन्यो तर उनी अन्तिम समयमा पुगेपछि जान पाएनन् । यस्तै उनले गैरसरकारी संस्था महासंघ नेपाल बाँकेमा अध्यक्षको भूमिका छोडिसकेपछि शान्ति निर्माण सम्बन्धी एक तालिमका लागि प्रस्ताव आह्वानमा आवेदन दिए । यहाँ उनको नाम निस्कियो । यस तालिममा पनि उनले उत्कृष्टता हासिल गरे । उनको क्षमता देखेर उनका प्रशिक्षक समेत अचम्मित भएको कथा उनीसँग छ । यसको परिणाम विक्रम संवत् २०६२ सालमा उनी उत्कृष्ट शान्ति निर्माणकर्तामा छानिए । अनुभवले निखारिएका तेजविक्रमलाई यो उपलब्धि कर्मको फल थियो। उनले यसको केही समयपछि कम्बोडियामा तीन वर्ष पिएचडी कोर्सको अध्ययनको लागि छनोट भए । नेपालबाटै छनोट भएको यो खुसी आमाको स्वास्थ्य अवस्था बिग्रदा पूरा हुन सकेन ।
विक्रम संवत् २०४२ सालमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरका ममता केसीसँग बैवाहिक सम्बन्ध गासेका तेजविक्रमका २ छोरी र १ छोरा छन् । उनका दुई छोरीहरु पूजा र हिमानीको बिहे भैसकेको छ भने छोरा अष्ट्रेलियामा रहेका छन् । उनले अन्तर्जातीय बिहे गरेता पनि घरपरिवारले सहर्ष स्वीकार गरेकोमा उनी खुसी व्यक्त गर्छन । यस्तै आफूले पढाएको विद्यार्थी दीप चन्दले अष्ट्रेलियाबाट टमाटर खेतीका विषयमा पिएचडी गरेको कुराले उनलाई निकै खुसी मिल्छ । त्यसैगरी उनले आफ्नो गृह जिल्लाका साथी चन्द्रबहादुर थापा र राजधानीका साथी विनय विक्रम शाहले गरेको सहयोग कहिल्यै नर्बिसने बताउँछन् । उनका बुवाको विक्रम संवत् २०७६ पुस १७ गते र आमाकोे विक्रम संवत् २०७० साल जेठ १७ गते स्वर्गारोहण भएपछिको क्षण उनलाई निकै दुःखद् लाग्छ । यो घटनापछि अझै सामाजिक काममा क्रियाशीलता बढेको उनी बताउँछन् ।
अबको उनको यात्रा सामाजिक र राजनीतिक क्षेत्रमा नै क्रियाशील रहने छ । राजनीतिक क्षेत्रमा अब भने उनी स्वतन्त्र बनिसकेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको ३० वर्षे यात्रा सकिएको र आफू स्वतन्त्र बनेको कुरा उनले विक्रम संवत् २०७७ साल चैत्र २० गते सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् । सामाजिक कामबाट नै राजनीतिक मुद्दा उठान गर्ने उनको सोच छ । सधँै एउटै पदका लागि एकजना मात्र मरिहत्ते गर्ने प्रवृत्तिको अन्त्य हुनु पर्ने तेजविक्रम बताउँछन् । तेजविक्रमको सामाजिक रूपान्तरणको यात्रा अझै शिखरमा पुगोस् शुभकामना ।