मालपोतका खरिदार ठाकुर अख्तियारको फन्दामा

असल शासन प्रतिनिधि

नेपालगञ्ज/केही यस्ता सरकारी कार्यालयहरु छन्, जहाँका कर्मचारीले घुस खाँदैनन् भन्दा कसैलाई बिश्वास लाग्दैन । बिश्वास लागोस् पनि कसरी ? दिनदहाडै बिना घुस कामै नहुने खालको संस्कार त्यस्ता कार्यालयहरुमा व्याप्त छ । भुमीसुधार मालपोत, भन्सार, नापी, यातायात कार्यालयहरुमा दिनहुँ सेवाग्राहीहरु सास्ति भोगिरहेका हुन्छन् ।

हुनुपर्ने काम नहुने, घुस दिने बित्तिकै सबै काम भईहाल्ने संस्कारका कारण आम सेवाग्राहीहरु मर्कामा परिरहेका छन् । यहि पृष्ठभुमीमा गत शुक्रवार एक जना महिलाले जग्गा किनेर आफ्नो नाममा रजिष्ट्रेशन गराउन भुमी सुधार तथा मालपोत कार्यालय नेपालगञ्ज गईन् । बिभिन्न प्रकृयामा अघि बढ्दा, बढ्दै तीन दिन बित्यो, काम नहुने संकेत देखियो । तत्पश्चात मालपोतकै कर्मचारीले सो कामका लागि १ लाख १७ हजार रकम कर तिर्नुपर्ने बताएपछि उनी समस्यामा परिन् ।

एक जना पुरुषबाट जग्गा किनेकि उनलाई जसरी पनि जग्गा आफ्नो नाममा दर्ता गराउनु थियो । बार्गेनिँग गर्दा, गर्दा ५० हजारमा उनको काम गरिदिने मालपोतकै कर्मचारीले बताएपछि उनी उक्त रकम दिन राजि भईन् । अन्ततः सोही रकम घुस बाफत लिँदा, लिँदै ति कर्मचारी अख्तियारको फन्दामा परे ।अख्तियार दुरुपयोग अनुसंन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटेको टोलीले मंगलबार बेलुकीे भुमी सुधार तथा मालपोत कार्यालय नेपालगञ्जका खरिदार सञ्जय कुमार ठाकुर ५० हजार घुससहित कार्यकक्षबाटै रंङ्गेहात पक्राउ गरेकोछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जका कार्यालय प्रमुख गणेश गैरेले दिएको जानकारी अनुसार, भुमी सुधार तथा मालपोत कार्यालयका खरिदार ठाकुरलाई सेवाग्राहीको काम गरिदिने भन्दै लिएको ५० हजार घुससहित साँझ ४ बजे नियन्त्रणमा लिईएको हो । नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको गैरेले बताए ।

मालपोतलाई भ्रष्टाचारमुक्त कार्यालय बनाउने सरकारी घोषणा बमोजिम कार्यालय परिसरमा लेखापढी व्यवसायलाई हटाउनुका साथै कार्यालय कोठा भित्र सेवाग्राहीलाई समेत प्रबेश निषेध गरिएको अवस्थामा कार्यकक्षबाटै घुस सहित रंगेहात पक्राउ हुनुले मालपोत अझै नसुध्रिएको प्रष्ट देखिन्छ ।

कार्यालय प्रमुख प्रेम दौल्याल उक्त घटना सुनेर आफु अचम्मित भएको बताउँछन् । कार्यालय सुधारका लागि प्रयास भईरहेका बेला अख्तियारबाट कर्मचारी पक्राउ पर्दा स्वभाविक रुपमा दुःखित भएको उनले बताए । आवश्यक अनुसन्धान अख्तियारले गर्ला–दौल्यालले भने–गल्ति गर्नेहरु कार्वाहीको भागिदार हुनैपर्छ ।

  • ९ माघ २०७५, बुधबार प्रकाशित

  • Nabintech