घर, घरमा ग्यास, पड्किने त्रास

असल शासन प्रतिनिधि

घर, घरमा ग्यास, पड्किने त्रास

नेपालगञ्ज/केही बर्ष अघि नेपालगञ्जमा सम्पन्न एउटा अन्तरक्रियामा एक जना अधिबक्ताले भनेका थिए —सबैका घर, घरमा बम छन्, बमबाट बच्नु होला । उनको संकेत घर, घरमा रहेका एलपिजि ग्यास सिलिण्डर तर्फ हो । उनले भने जस्तै घरमा रहेका सिलिण्डरहरुबाटै असुरक्षित हुनु पर्ने अवस्था छ ।

बाँकेमा पुराना ग्यास सिलिण्डर बिक्रि, बितरण भईरहेको पाईएको छ । ग्यास विक्रेताहरुले ग्यास सिलिण्डरहरुमा रंगरोगन गरी पुराना सिलण्डिरहरु विक्री गर्दै आएको गुनासो छ ।

बजारमा म्याद नाघेका ग्यासहरु भेटिएको गुनासो आईराख्दा पनि बजार अनुगमनको जिम्मेवारी पाएका जिल्ला प्रशासन, बाणिज्य कार्यालय, नेपाल आयल निगम लगाएतका निकायहरुले सिलिण्डरहरुको अनुगमन गरेको पाईदैन भने उपभोक्ता हकहितका क्षेत्रमा काम गर्ने संस्थाहरु समेत मौन रहेका छन् ।

एउटा सिलिण्डर उत्पादन भएको १० वर्षसम्म मात्र प्रयोग गर्न पाउने कानूनी ब्यवस्था रहेता पनि सो व्यवस्था कार्यान्वयन नहुँदा समस्या भईरहेको उपभोक्ताहरु बताउँछन् । बाँकेमा तीन वटा ग्यास उद्योगले ६ सय ९५ थोक विक्रेता मार्फत ग्यास बजारमा पठाउँछन् । नियमनकारी निकायको तदारुकताको अभावमा म्याद नाघेका ग्यास सिलिण्डरहरु बजार पठाउने गरेका छन् ।

ग्यास सिलिण्डरमा तौल, उत्पादन मिति र म्याद जाने मिति स्पष्ट देखिने गरि लेख्नुपर्ने नियम भए पनि यहाँका अधिकांश ग्यास सिलिण्डरमा सो कुरा उल्लेख गरिएको छैन । जानकारी अनुसार बाँकेमा रहेका भेरी ग्यास उद्योग, मनकामना ग्यास उद्योग र राप्ती ग्यास उद्योगका सयौं ग्यास सिलिण्डर खराव छन् । उचित अनुगमनको अभावमा यथार्थ अवस्था कुनै निकायसँग छैन । भेरी ग्यास उद्योगको क्षमता पाँच सय ५० मेट्रिक टन छ भने दुई सय २० अधिकृत बिक्रेता रहेको मनकामना ग्यास उद्योगमा तीन लाख ३५ हजार सिलिण्डर बजारमा छन् । राप्ती ग्यासका एक सय ३४ अधिकृत बिक्रेता छन् । राप्तीसँग एक लाख ८४ हजार सिलिण्डर छन् । यसको क्षमता एक सय मेट्रिक टन छ । नेपाल आयल निगमका अनुसार देशभर करिब ४२ लाख ८२ हजारले खाना पकाउने एलपी ग्यासको प्रयोग गर्छन् । यो क्रम वर्षेनी १५ प्रतिशतले वृद्धि हँदै गएको निगमको तथ्यांक छ । यसबाहेक मासिकरुपमा करिब २३ लाख एलपी ग्यास सिलिण्डर खपत हुने गरेको छ ।

खाना पकाउने ग्यासको उपभोग वर्षेनी बढ्दै गएसँगै त्यो पड्किने घटना समेत बढ्दै गएको छ । गत पुस ५ गते बीरगंजस्थित सुपा ग्यास उद्योगमा आगलागी हुँदा दुई जना अग्नी नियन्त्रकको मृत्यु भयो । सो उद्योगमा ग्यास लिक भई आगलागी भएको थियो । गत पुस ७ गते धादिङको गल्छीमा पुरानो एलपी ग्यास पड्किदा एक घर जलेर पूर्णरुपमा नष्टभयो । गत वर्षको फागुनमा ग्यास सिलिण्डर पडकिँदा एक जना प्रहरी जवानको मृत्यु भयो भने आठ जना घाइते भए । तर हालसम्म ग्यास पड्किएर ज्यान गुमाउनेको यकिन संख्या भने आधिकारीक निकायसँग छैन ।
किन पडकिन्छन् ग्यास ?
एलपीजी ग्यासको सिलिण्डर पडकिनुका पछाडि रेगुलेटरबाट हुने ग्यास लिक प्रमूख कारण रहेको छ । बिज्ञहरु भन्छन् -सिलिण्डर जथाभावीरुपमा प्रयोग गर्ने, रेगुलेटर तथा चुल्होको नव राम्रोसँग बन्द नगर्ने जस्ता कारणले गर्दा खाना पकाउने ग्यास पडकिने गर्दछ । यसबाहेक कमसल तथा गुणस्तर प्रमाणित नभएका चुल्हो, रेगुलेटर, रबर पाइप जस्ता उपकरणका कारण पनि त्यस्ता घटना हुने गरेको पाइएको छ । यस्तै धेरै पुरानो सिलिण्डरको प्रयोग अर्काे प्रमुख कारण हो ।

अपनाउनु पर्ने सचेतना : 
सिलिण्डर ल्याउँदा नगुडाउनुहोस्, सकभर सुतीको कपडा लगाएर मात्र खाना पकाउनुहोस् । भार पर्नेगरी सिलिण्डरमाथि कुनै सामान नराख्नुहोस् । ग्यास भरिएको सिलिण्डरको भार बढी नै हुन्छ । त्यसमाथि सामान राख्दा भार थपिने भएकाले यसले जोखिम बढाउँछ ।
एउटै भान्सामा दुई वटा सिलिण्डर सकेसम्म नराख्नुहोस् । एकातिर खाना पकाइरहँदा अर्को सिलिण्डरबाट ग्यास लिक भएमा त्यो निकै जोखिम हुन्छ । सकेसम्म सिलिण्डरलाई साइडमा आधार दिने गर्नुहोस् । ताकि भुइँचालो जाँदा हुने कम्पनबाट सिलिण्डर नढलोस् । त्यसका लागि कुनो प्रयोग गर्न सक्नुहुन्छ। तर सिलिण्डरलाई कहिलै पनि ढलाएर वा कोल्टो पारेर नराख्नुहोस् । सिलिण्डर भन्दा कम्तीमा ६ इन्च माथि ग्यास चुलो राख्नुहोस् । कहिलै पनि चुलोभन्दा सिलिण्डर माथि राख्नु हुँदैन । सिलिन्डरमा ग्यास सकिनासाथ भान्साभन्दा बाहिर राख्ने गर्नुहोस् वा सम्वन्धित विक्रेतालाई बुझाउनुहोस् । पुराना सिलिण्डर प्रयोग नगर्नुहोस् ।

सिलिन्डरबाट ग्यास लिक भएको थाहा पाउनासाथ रेगुलेटर बन्द गर्नुहोस् । त्यसपछि लिक भएको ठाउँ पत्ता लगाउन पाइप, चुलो, रेगुलेटर वा सिलिण्डरको छुट्छाछुट्टै परीक्षण गर्नुहोस् । यदी सिलिण्डरबाटै लिक भएको भए चुल्हो, लाइटर, धुप तथा कोठाको बिजुली बत्ती निभाउनुहोस तथा सबै झेयाल ढोका खोलि ग्यासको मात्रा घटाउने तर्फ लाग्नुहोस् । पाइपबाट लिक भएमा पाइप फेर्नुहोस्। लिक भएको पाइपलाई नै टेपले टाँसेर प्रयोग गर्ने मुर्खता नगर्नुहोस् । धेरै पुरानो पाइप प्रयोग नगर्नुहोस् । त्यस्तै रेगुलेटरबाट ग्यास लिक भएमा सिलिण्डरको भल्वमा सेटी क्याम्प लगाएर घर बाहिर खुल्ला ठाउँमा राख्नुहोस र नजिकको ग्यास विक्रेता वा सम्बन्धीत ग्यास उद्योगलाई खबर गर्नुहोस् । रेगुलेटर नमिलेर वा बिग्रेर पनि ग्यास लिक हुन सक्छ । सिलिण्डर फेरिसकेपछि रेगुलेटर राम्ररी कस्नुहोस, खाना बनाइसकेपछि बन्द गर्ने गर्नुहोस् ।

  • १८ माघ २०७६, शनिबार प्रकाशित

  • Nabintech