अछामको बागेश्वरी मन्दिरमा भव्यताकाका साथ पुजा सम्पन्न

असल शासन प्रतिनिधि

अछाम/अछामको तुर्माखाँद गाउँपालिका वडानम्वर ५ नागपर्वत नाडा स्थित बागेश्वरी मन्दिरमा भव्यताकाका साथ पुजा सम्पन्न भएको छ ।

आज भन्दा करिव २४५ वर्ष अगाडी देखि उक्त मन्दिरमा श्रावण मालिका चतुर्दशीका दिन धुमधामका साथ वैदिक विधि पूर्वक वागेश्वरी देविको पुजाआजा हुने क्रममा यस बर्ष पनि धुमधामका साथ पुजा सम्पन्न भएको हो ।

श्रद्धालु भक्तजनहरु एकादसी देखि चतुदर्शीसम्म एकचित्त भावले ब्रत उपासन गरी रुद्री पुजा समेत गर्ने, चतुदर्शीका दिन विहानै देखि बालवृद्ध नरनारी भक्तजनहरुको उपस्थितिमा उक्त मन्दिरमा दिउसो विशाल धार्मिक मेला लाग्ने परम्परा रहेको छ ।

उक्त क्षेत्रमा रहेका बागेश्वरी, धवलपुरा र गणेश मन्दिरमा बैदिक बिधि अनुसार पुजा, आजा भएको थियो । मेलामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहेको थियो । बागेश्वरी मन्दिरका मुल पुजारी, मुलकर्ता नाईठाकुर मिन बहादुर शाही, ब्राम्हण पुरोहित जयलाल उपाध्याय, सहायक जयमणि जैशी, धवलपुराका पुजारी नरहरि जैशी र गणेश मन्दिरका पुजारी दुर्गा प्रसाद उपाध्यायले दर्शनार्थीहरुलाई प्रसाद, तिलक बितरण गर्नुभएको थियो । उक्त धार्मिक क्षेत्रमा पुरोहितहरुद्वारा वेदमन्त्र उच्चारण भएको थियो ।

वि.सं. २०६७ सालको चतुर्दशी पर्वमा दर्शनार्थीहरुलाई दर्शन गर्ने उचित व्यवस्था नभएकोले केही असहाय महिलाहरुले चढाउन लगेको फलफूल अछेता भूइमा पोखिन गएपछि  पर्बको  उचित व्यवस्था मिलाउन शुरुमा पुजा समिति गठन गरी दर्शनार्थीहरुलाई शान्तिपूर्ण तरिकाले दर्शन गर्ने व्यवस्था मिलाइएको थियो । सोही समितिलाई बागेश्वरी मन्दिर मुल व्यवस्थापन समितिको नामबाट संस्था स्थापना गरियो र हाल सो संस्थाको नाम परिवर्तन गरि बागेश्वरी धार्मिक तथा प्राकृतिक पर्यटकिय क्षेत्र बिकास समिति नामाकरण गरिएको छ ।

मेलामा उक्त धार्मिक तथा पर्यटकीय क्षेत्रको सर्बाङ्गिण बिकासका लागि स्थापित बागेश्वरी धार्मिक तथा प्राकृतिक पर्यटकिय क्षेत्र बिकास समितिका अध्यक्ष लोकेन्द्र बहादुर शाह, सचिव शम्शेर बहादुर शाही, कोषाध्यक्ष छत्रकला बयक, सदस्यहरु जीत बहादुर शाही, खगेन्द्र बहादुर बयक लगायतको उपस्थिती रहेको थियो ।

धार्मिक मेलामा अध्यक्ष शाहले संस्थाले सञ्चालन गरेका गतिबिधिहरु बारे जानकारी गराउनु भएको थियो । शाहले २०६८ साल भाद्र १ संस्थाको स्थापना भई २०६९ असार १७ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता गरि क्षेत्रको समग्र बिकासका लागि काम गरिरहेको बताउनु भयो ।

शाहका अनुसार, संस्थाको स्थापना भए यता पर्वको दिन समितिले महिला, पुरुषहरुको लाईन व्यवस्थापन गर्ने लगायतका कार्यहरु गर्दै आएको छ । यस बर्ष पनि मेला व्यवस्थापनका लागि स्वयंसेवकहरु परिचालन गरेको थियो । मेला व्यवस्थापनका लागि तुर्माखाँद र ढुङ्गाचाल्ना प्रहरी चौकीका सुरक्षाकर्मी परिचालन भएका थिए ।

भारत र नेपालको उत्तरमा रहेको पर्वतको सेरोफेरोलाई हिमखण्ड, मानसरोवरखण्ड, केदारखण्ड, जालन्धरखण्ड, जुम्बु कश्मिर खण्डमा विभाजन गरिएको छ । मानसरोवरखण्ड अन्तर्गत नेपालको सुदुरपश्चिम तथा मध्यपश्चिम क्षेत्र पर्दछ । पूर्वमा भेरी, कर्णाली, पश्चिममा महाकाली र नन्दा नदि, कुमाउ गढवाल सिमाना सम्मको अवस्थित भूभागलाई मानसखण्ड भनिएको छ । मानस खण्ड भित्र मानस क्षेत्र, छापाक्षेत्र, ज्वालाक्षेत्र, वैजनाथ क्षेत्र, मालिका क्षेत्र, तितौडा, त्रिपुरापर्वत, वागेश्वरी नागपर्वत, बगलदेउ गौरीपर्वत क्षेत्र पर्दछन् ।

पौराणिक कथाका आधारमा पुराण मानसखण्डमा शिव पार्वती कैलास पर्वतबाट बनविहार गर्न जाँदा शिवजीले पार्वतीलाई छलगरी अछाम गौरीपर्वत शिवगुफा बगलदेउमा लुकेपछि पार्वतीले शिवजीलाई खोज्दा—खोज्दै नभेटाई चिन्ता गर्न लाग्दा, त्रिपुरेश्वरी र वागेश्वरी देविको दर्शन भई पार्वतीलाई शिवजी लुकेको गौरीपर्वत गुफा बगलदेउ बासुधारामा भएको बताएकी थिइन् र पार्वती गौरीगुफामा गई शिवजीसँग दर्शन भेट भई प्रशन्नताका साथ शिव–पार्वती कैलास तर्फ लाग्नु भएको ईतिहास छ ।

सोही बेलादेखि नागपर्वतमा बागेश्वरी, त्रिपुरापर्वतमा त्रिपुरेश्वरी र बगलदेउ शिवगुफा बासुधारामा शिव पार्वतीको पूजा अति प्राचिन समय देखि भईरहेकोले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र भनिएको हो ।

बागेश्वरी धार्मिक तथा पर्यटकिय क्षेत्र अछाम जिल्ला तुर्माखाँद गाउँपालिका वडा नं. ५ मोयाकाडाँ र बुदे लेकको बिचमा पर्ने नागपर्वतमा श्री बागेश्वरी देवीको मन्दिर प्राचिन धार्मिक महत्व बोकेको यस क्षेत्र भित्र धवलपुरा देवताको मन्दिर र पुराना बागेश्वरीका मन्दिर स्थलहरु नागजस्तै तल माथि घुमेका साना–ठुला, अग्ला होचा अनेक पर्वत श्रृंखलाहरु रहेका साथै मनोरम हरियाली दृश्य, बन्यजन्तु र बसन्त ऋतुमा राष्ट्रिय फुल लाली गुराँस चौतर्फी फुलेको लालिम्यता हेर्न वर्षभरि सयौैंको संख्यामा आगमन भईरहने साथै वर्षको दुईपटक लाग्ने धार्मिक मेलामा मन्दिरमा दर्शन गर्न आउने भक्तजन धार्मिक तिर्थयात्रीहरु समेतको घुईंचो लाग्ने गर्दछ ।

२४५ वर्ष अगाडी धुर्ढाङ्टा मौजाका मुखिया भगवती शाहीले पाएको वरदान स्वरुप मालिका नगई मालिका चर्तुदशीका दिन वागेश्वरीमै पुजाआजा गर्ने, दर सन्तान नायक ठाकुर बागेश्वरीको मूलकर्ता भई त्रयोदशीको दिन देखि एकाग्र चित्तले खडरात्री गरी पुजा गर्ने परम्परा रहेको छ ।

यस धार्मिक धाममा डोटी, कैलाली, सुर्खेत, दैलेख जिल्ला लगायत अछामको पूर्वीभेक नाडा, तुर्माखाँद, भैरवस्थान, रहफ, ढुंगाचाल्ना, बाँच्कोट, ढकारी, बलाँता, हिच्मा, तोषि, धमाली, रानीवन, मुली, कमलबजार, घोडासैन, लाची घेगण, बजगाउँ सम्मका दर्शनार्थीहरु दर्शन गर्न आउने गर्दछन्, यहाँ दर्शन गर्दा विद्या, धन सम्पती, पशुवस्तु, सन्तान तथा सुस्वास्थ्यको वरदान मिल्ने विश्वास रहेको छ ।

  • २५ श्रावण २०७७, आईतवार प्रकाशित

  • Nabintech