अवको आवश्यकता सामुहिक वकालत – अध्यक्ष बर्मा

असल शासन प्रतिनिधि

आशिष बर्मा यो क्षेत्रमैं परिचित नाम हो । जिल्ला युवा क्लब सञ्जाल बाँकेको अध्यक्ष पदमा रहि काम गरिरहेका बर्मा गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखाका सचिव हुन् । २०४७ साल माघ १५ गते बिद्या राम र ज्ञानमतीको कोखबाट जन्मेका बर्माले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । २०५९ सालमा साबिक पुरैनी गा.बि.स.मा गठीत गोल्डेन बालक्लबको सचिब पदबाट सामाजिक कार्यको शुरुवात गरेका उनले जिल्ला बाल क्लब संजाल बाँकेको संस्थापक सदस्य हुँदै २०६२ देखि २०६४ सम्म अध्यक्ष भएर काम गरेका थिए । बाल्य अवस्था पार गरिसकेपछि राइजिङ आइडल्स नामक संस्था स्थापना गरि नेतृत्व गरेका बर्मा हाल सो संस्थाको कार्यकारी निर्देशक रहेका छन् । २०६७ साल बैशाख २५ गते स्थापना भएको जिल्ला युवा क्लब सञ्जालको संस्थापक अध्यक्ष हुँदै हाल सम्म नेतृत्व प्रदान गरिरहेका युवा अभियन्ता बर्मासँग गरिएको कुराकानी यहाँ प्रश्तुत गरिएको छ :
बाँकेमा युवा दिवस कसरी मनाईंदै आएको छ ? र यस बर्ष के, के गरियो ?
सबैको साझेदारीमा विभिन्न रचनात्मक कार्यक्रमहरु संचालन गर्दै बाँके जिल्लामा २००६ बाट युवा दिवस मनाईंदै आएको छ । युवाहरुको प्रतिभा पहिचान गर्नका लागि मेरो बिग स्टोरी, युवा सम्मान कार्यक्रम, विभिन्न सवालहरुमा संवाद जस्ता कार्यक्रमहरु आयोजना गरि युवा दिवस मनाइएको छ । यस वर्ष कोरोना भाइरसको कारण भौतिक उपस्थितीमा दिवस नमनाएता पनि कोरोना भाइरस रोकथाममा युवाको भुमिका अभ्यास र अवसरहरु विषयक अनालइन छलफल, युवा बिशेष बुलेटिन प्रकाशन, एक युवा एक बिरुवा कार्यक्रम, टेलिभिजन तथा रेडियो कार्यक्रमको आयोजना गरी यस वर्ष युवा दिवस मनाइएको छ ।
बाँकेमा युवाका के, के सवालहरु छन् ? क कसले के, के काम गरिरहेका छन् ?
यस जिल्लामा लागु औषध दुव्र्यसनको बढ्दो प्रयोग, युवा बेरोजगारी, व्यवसाय, कृषि, प्राबिधिक शिक्षामा न्यून लगानी लगायतका सवालहरु रहेका छन् । यि बिभिन्न सवालहरुमा सरकारी तथा गैरसरकारी निकायहरुले काम गरिरहेका छन् ।
काम गर्दाका चुनौतीहरु के छन् ?
युवा उमेर समूह रोजगरी तथा आर्थिक गतिविधीमा लाग्ने उमेर भएको हुँदा युवासँग काम गर्न चुनौती छ । साथै सरकारले राष्ट्रिय युवानिती २०६६, युवा समितीको क्रियाशीलता, युथभिजन २०२० तथा स्थानीय तहबाट प्रभावकारी कामहरु नहुँदा युवाका क्षेत्रमा काम गर्न समस्या रहेको छ । तथापी हामीहरु उच्च मनोवलका साथ काम गरिरहेका छौं ।

युवाको सवालहरु सम्वोधन गर्न अव कसले के गर्नु पर्दछ ?
नेपालमा युवाको जनंसख्या ४०.३ प्रतिशत रहेको छ । जनसंख्याको अनुपातमा नेपालको तीन बटै तहबाट युवा विशेष कार्यक्रमहरु संचालन नभइरहेको अवस्था छ । जसको लागि तीन वटै सरकारले प्रभावकारी योजना तथा कार्यक्रमहरु ल्याउनु पर्दछ । युवाहरुको नेतृत्व बिकास, आयआर्जन र व्यवसायिकरणका लागि सरोकारवालाहरुको ध्यान जानु पर्दछ । युवाहरु पनि स्वयं जागरुक हुनु पर्दछ ।
भावी योजना के छ ?
कोरोना भाइरसको कारण हाल बिश्वनैं तहस, नहस छ । यसले सबैभन्दा बढी युवाहरुलाई असर गरेकोछ । यस्तो अवस्थामा कोरोना भाइरस बिरुद्ध सरकारलाई सघाउने र स्वयं युवाहरुलाई परिचालन गरि अघि बढ्ने हाम्रो योजना रहेको छ यसका साथै युवाका मुद्धाहरुलाई सम्वोधन गर्न सरकोरवालाहरुलाई जवाफदेहि बनाउने, कोरोना बिरुद्ध जागरण गर्ने, सामाजिक जवाफदेहिता अभिबृद्धि, युवा संस्थाहरुको सञ्जालिकरण गर्ने र सामुहिक सवालहरुमा वकालत गर्ने रहेको छ ।

  • ३२ श्रावण २०७७, आईतवार प्रकाशित

  • Nabintech