लोक बहादुर घर्ती
नेपालगन्ज/नेपालगन्ज उपमहानगरपालिका वडा न. २२ का सन्तोष बढा मगर र उनका दाजु अशोक बुढा मगर ८ महिना पहिले जागिरको सिलसिलामा भारत गएका थिए । भारतको श्रीरामपुर महाराष्ट्रमा गएका उनीहरु एक होटलमा काम गर्न थाले । अशोक राम्रो कुक भएकाले कुकमा रहे भने सन्तोष भने सहयोगीको रुपमा काम गर्न थाले । सबै कुरा राम्रै थियो सन्तोषलाई कामसंग संगै दाजुले कुकिङ् कला पनि सिकाई रहेका थिए । कमाई पनि राम्रै भइरहेको थियो । काममा लागेको र काम थालनी गरेको केहि महिना पछि विश्व महामारीको रुपमा फैलिरहेको कोरोनाका कारण होटल बन्द भयो । होटल बन्द भए सँगै होटेलको सबै कामहरु समेत बन्द भए । यसैको कारण दुबै भाइहरुको रोजगारी समेत गुमेर गयो ।
सन्तोषका अनुसार सुरुमा केहि समय हो खुलिहाल्छ जस्तो उनीहरुलाई लाग्यो र सोही अनुसार होटल खुल्ने प्रतिक्षामा बसे । हप्ता बित्यो, महिना बित्यो तर होटल खुलेन ।
२ महिना १५ दिन बित्दा सम्म होटलमा काम सुरु नभए पछि दाजुभाईले घर फर्कने निर्णय गरे । यतिका दिन सम्म काम नगरी खाँदा बस्दा खानपिनमै लगभग ३२ हजार रकम सकियो ।
होटेलमा काम गर्दाको केही पारिश्रमिक ती दुई दाजुभाईले लिनु पनि थियो । तर होटेलले दिन मानेन । अर्काको देशमा जबरजस्ती पनि गर्न नमिल्ने त्यसपछि निराश भएर दुबै भाईहरु घर फर्किने तयारीमा जुटे ।
भारत सरकारले सार्बजनिक सवारी साधन चल्न नदिएको हुँदा १६ हजार रकममा सानो गाडि रिजर्ब गरेर ती दाजुभाइहरु नेपालगन्ज बोर्डर सम्म आए ।
रिजर्ब गरिएको गाडिमा आएको हुँदा कोरोनाको खासै डर उनीहरुलाई थिएन । जब नेपाल प्रबेश गरे उनीहरुलाई महेन्द्र बहुमुखि क्याम्पस नेपालगञ्जमा बनाइएको क्वारेन्टाइनमा राखियो । त्यहाँ मानिसको भिड देख्दा संक्रमित भइन्छ की भन्ने डरले ती दाजुभाई रात भरी सुत्न सक्ने अवस्था थिएन ।
१४ दिन क्वारेन्टाइनको बसाई र कोरोना परिक्षेण रिपोर्ट नेगेटिभ आए संगै डाक्टरको सल्लाह अनुसार १३ दिन होम क्वारेन्टाइनको बसाई पश्चात कोरोको मनोबैज्ञानिक डर ती दाजु भाईको मनबाट हट्यो ।
जे भए पनि नेपालमा केही गर्छु मरे पनि नेपालमै मर्छु भनेर नेपाल फर्किएका ती दाजुभाई आज भोली निराश छन् । उनी भन्छन्, बैदेशिक रोजगारबाट फर्केकाहरुका लागि स्थानीय सरकारले केही गरेन ।