मेरो जन्म अभिषाप कि बरदान ?

कसैले मामु भन्थे, कसैले छक्का भन्थे, कसैले हिजडा भन्थे, कसैले गे भन्थे त कोही नानी भन्थे ।

प्रश्तुतिकरण : दिला शाह

“जन्मदै आँधी हुरी चल्यो पातहरु सबै झरेर गए !
हौसला राखेपछि आफैसँग फेरि हराभरा भयो !

मैले जवदेखि होस सम्हालें तब देखि नै एक अलग घृणित जीवन बिताउन थालें । मलाई देख्नेहरु सबैले औल्याएर गिज्याउँथे । कसैले मामु भन्थे, कसैले छक्का भन्थे, कसैले हिजडा भन्थे, कसैले गे भन्थे त कोही नानी भन्थे । मैले होस सम्हाले देखि नै म यस्तै यस्तै नामले पुकारिन्थे ।

एकजोडी प्रेमका उदाहरण मेरो मातापिताको सपना चक्नाचुर भएको थियो । अस्पतालमा जन्मेको म डाक्टरले महिला र पुरुष कुन संज्ञा दिऊ यो बच्चालाई ? भनेर सोधेपछि बुवा आमा झसङ्ग भएर आत्तिएका थिए रे । तर पनि आफ्नो सन्तानलाई त्याग्नसक्ने सामथ्र्य उनिहरुमा भएन र घरमा लिएर गए । त्यो रात आमाबुवा रातभरि सुतेनन् रे । एकले अर्कोसँग प्रश्न गर्दागर्दै उज्यालो भयो होला शायद !

आफ्नो पहिलो सन्तान जन्मेको खुसी बाँड्ने सौभाग्य उहाँहरूले पाउनु भएन । एकदमै नजिकका बाहेक बाहिरका मान्छेहरूले मलाई देखेका थिएनन् । तर पनि यदि भोलि समाजले थाहा पाए भने कति लाज होला यस्तै थियो उहाँहरुको मनमा न भन्दै त्यस्तै भयो । म जब जब ठूलो हुँदै गएँ तब म मा एक अनौठो परिवर्तन आउँदै गयो । मेरो आधा शरीर पुरुषको जस्तो आधा महिलाको जस्तो लाग्ने भयो ! उसै त हाम्रो समाज त्यसमा झन् मेरो अवस्थाले त उल्कापत नै खडा गर्यो । जब स्कुल जान थाल्थे, हिजडा आई हिजडा भनेर ढुङ्गा हान्थे । घरका झ्याल ढोकाबाट हेरेर ए छक्का भनेर बोलाउँथे । ए छक्का नचनिया यस्तै के के हो के के ? मलाई समाजले यत्रतत्र जताततै गलत नजरले हेर्न थाल्यो, अर्कै ग्रहको प्राणी जस्तो ब्यवहार गर्न थाल्यो । म भित्र भित्रै गलिसकेको थिएँ । यस्तो लाग्थ्यो, यो धर्ती दुई टुक्रा परेर फाटोस् अनि म त्यसैमा भित्र कतै बिलिन होऊ !

पहिलो सन्तान यस्तो जन्मिएको पिडाले धेरै बर्ष सम्म बुवा आमाले दोस्रो सन्तान बनाएनन् । तर पछि बुवा र बुवाका बुवा आमा, आफन्तको चाहना बमोजिम तेह्र बर्ष पछि आमा फेरि गर्भवती हुनुभयोे । त्यसपछि मेरो जीवन झनै कठिन भएको थियो । हरदिन घर परिवारले भन्थ्यो कि, यो हिजडाको अनुहार हेर्नू हुँदैन । फेरि जन्मने बच्चा पनि यस्तै हिजडा भएर जन्मन्छ ।

अब यति कुरा थाहा भएपछि भने अब मलाई त्यो घरमा बस्न मनै लागेन । मैले तत्कालै त्यो घर छोड्ने सोच बनाएँ । कहाँ जाने ? के गर्ने ? केही पनि थाहा थिएन । तर जसरी पनि म त्यो समाजबाट धेरै टाढा जान चाहन्थे । घरबाट त हिडें तर जहाँ गएपनि समाज त त्यही थियो । म मान्छेहरुका खेदाईहरु भन्दा टाढा कतै जान सकिन ।

हिजडाको हुलमा हिडेर कम्मर मर्काएर नाच्न अब मलाई मेरो अन्तर आत्माले दिएन । म त्यो भिडबाट आफुलाई अलग गर्न चाहन्थे । हामीलाई लगाइएको हिजडाको ट्यागको बारेमा लड्न चाहन्थे । मेरो शरीर अजंगको थियो साथै शक्ति पनि त्यत्तिकै अंजगकै थियो । मैले सोचे अब केही गर्नुपर्छ । मैले मेरो शरीर र जीवनलाई सम्मान गर्नुपर्छ । ताकि म जस्ता धेरै बेनाम जिन्दगीलाई नाम र पहिचान दिनुपर्छ । तब देखि म एउटा गोदाम घरमा काम गर्नथाले । साँझ बिहान दिउसो गोदामका सामानहरु मिलाउने बोरिहरु उठाउने आदि ईत्यादी । यति गरेपछि दुई छाक खाना र रात बिताउनको लागि गोदामको एउटा कुनामा छत पनि मिलेको थियो । मलाई देख्ने मान्छेहरुले अनौठो तरिकाले हेर्थे तर मलाई दुनियाँको मतलब थिएन । अब आफ्नो इरादामा म झुक्नेवाला थिएन ।

गोदाम घरको मालिकसँग कुरा गरेपछि बिस्तारै म आफ्नो पढाइलाई निरन्तरता दिनथाले । साँझ बिहान खुब काम गर्थे दिनमा स्कुल । पढ्दै गए । काम गर्दै रहें । आफु र आफ्नो जिन्दगीसँग खुसी हुँदै गएँ । भगवान शिवले नटेश्वर रुप धारण गरेझैं म आफुले आफैलाई भगवान सरह सम्मान दिन थालें । तब देखि मेरो जिन्दगी बदलिँदै गयो । भनिन्छ नि, आफै प्रति विश्वास राख, आफैलाई सम्मान गर । दुनियाँले घृणा गरेर केही फरक पर्दैन । तब ममा उमंगले भरिएको एउटा सुन्दर ज्वाजल्यमान ज्वाला मै भित्र पैदा भयो । तब न यो समाजले गर्ने जस्तोसुकै पीडाहरुलाई पनि राग पार्नसक्ने एउटा दरिलो विश्वास ममा पैदा भयो ।

म उनीहरुको लागि लड्नु थियो जो मानवरुपी आकार मन र पुर्ण जीवन पाएर पनि यो समाजले किन स्वीकार गर्दैन ? तेस्रो लिंगि भनेर हाम्रो पहिचान कहिले हुने ? यावत बिषयमा धेरै लडाइँ गर्नुपर्यो । सुप्रिमकोटको ढोका सम्म धेरै पटक पटक पुगेर लडेको छु । यो संसारमा जन्मिएका मानिसको पहिचान महिला पुरुष अर्थात छोरा र छोरी मात्र नभएर अन्य भनेर लेख्ने अप्सन राखिनु पर्छ भनेर धेरै लडियो । हामी जस्तै समाजले घृणित गरेका धेरै पात्रहरुको स सम्मानित जीवनको लागि आवाज उठाउन मेरो पछाडि हजारौंको संख्यामा जन सागर उर्लियो र आखिरमा सरकारले तेस्रो लिंगीको दर्जा दिएर छाड्यो ।

मेरो नाम बिसखा हो । बि, सखा मतलब कुनै साथी नभएको प्राणी यस्तै थियो रे पन्डितले मेरो नामाकरण गर्दा बोलेको शब्द ! दुखका साथ भन्नुपर्छ कि, म त्यस्तो समाजमा जन्मिएँ ! जहाँ म जन्मिएकोमा खुसी होइन दुख मनाईयो । बेनाम जिन्दगीको दर्जा दिएर घर समाज र आफन्तबाट टाढा लखेटियो । तर खुसीका साथ यो पनि भन्नपर्छ कि, जे होस् म मानव हुँ । जुन समाजले मलाई र म जस्ता धेरै मनहरुलाई कुठाराघात गरेको थियो त्यही समाजबाट माथि उठेर एक उदाहरण बन्न सफल भएको छु । सजिलो बाटो र अरुले निर्माण गरिदिएको गोरेटोमा हिड्न त जो कोही पनि सक्छ । असली मानिस त्यो हो जस्ले सहेर घृणाका रापिला तापहरुलाई पनि हिम्मतका साथ आफ्नो बेग्लै पहिचान बनाउँछ । हो म त्यो ज्वाला हुँ ।

मेरो घर बिराटनगरमा छ । मेरो “ सखा“ नामक संगीत स्कुल,कलेज छ । म सँग १० जना जति त टिचरहरु मात्रै हुनुहुन्छ । क्लासिकल नृत्य, नृत्यनाटक सिक्नको लागि बर्षौ सयौं बिद्यार्थीहरु आउनुहुन्छ । यहाँ सम्म कि, बिदेशबाट पनि धेरै स्टुडेन्टहरु हामी कहाँ कला संगीत नृत्य सिक्न आउनुहुन्छ । हाम्रो कलेजबाट सिकेको कला श्रृजनाहरुले विश्व जगतमा अत्यन्तै धेरै नाम कमाएका छन् ।

इन्डियन लिटिल च्याम्पियन र हलिउड सोमा समेत भाग लिएर मोडलहरु जितेका छन् । दुःख लाग्छ कि, त्यो संतान जो मेरो बुवा आमाको छोरा जस्को जन्मको लागि म बाधक हुने भएकोले घर छोडेर निक्लनु परेको थियो । तर त्यही छोराले आफु अमेरिकाको पि आर भएर बुवा आमालाई बृद्धश्रममा छोडेर गएको थियो । जुन कुरा थाहा पाएपछि म आफैले खोजि गरेर उहाँहरुलाई आफ्नो साथमा राखेको छु । संसारका सारा सुख सयल , खानपिन र विभिन्न सयौं देशहरूको भ्रमण गराएको छु । शायद सन्तान सुखको अनुभुती उहाँहरुलाई सधै गर्वित गर्छहोला !

कहिलेकाहीँ अतित सम्झेर गुनासो गर्नुहुन्छ । मेरो जीवनमा गरेको एउटा अन्याय सम्झेर पश्चाताप गर्नुहुन्छ । म हाँसेर भन्छु, हजुरहरु होइन हाम्रो समाजको सोच र संस्कार दोषी हो ! यदि मेरो जीवनमा यस्तो चुनौतीपूर्ण अवस्था आउँथेन भने आम म जस्ता धेरै बेनाम जिन्दगीको पक्षमा न्याय गर्नसक्ने थिएन । तसर्थ जे भयो राम्रो भयो, तब उहाँहरू मुस्कुराउनुहुन्छ । जब उहाँहरुको ओठमा मुस्कान देख्छु, खुसीले प्रफुल्ल हुन्छु । अँझै सकारात्मक हिम्मत बढेर आउँछ ।

म आफुले आफैसँग गर्वले झुक्छु किनकि पहिले आफुले आफैलाई सम्मान गर्छु । आफैमा अटुट विश्वास राख्छु, नत्र यो दुनियाँले त उहिले नै मलाई कुल्चि सकेको हुन्थ्यो । म यहाँ सम्म आईपुग्दा धेरै पटक पटक लडेको छु घाइते भएको छु । लड्नु घाइते हुनु समस्याको कुरा होइन तर, लडेर फेरी उठ्ने प्रयास नगर्नु समस्या हो । म लडेर घायल भए पछि झनै बलियो गरेर उठेको छु । उठेको मात्र कहाँ हो र ? अँझ पागलपन लिएर दौडिएको छु र त आज यो सन्तुष्टिको साथ बाँचेको छु ।

त्यसैले कृपया मान्छेको रुप रंग आकार प्रकारलाई होइन ! उसको भावना ब्यवहार र क्षमतालाई कदर गर्नुहोस् । निष्फिक्री बिना भेदभाव सम्मानित तरिकाबाट बाँच्ने बाताबरण दिनुहोस् । धन्यवाद ।

बिसखा अर्याल
बिराटनगर

  • १० कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech