लड्दै, पड्दै अघि बढ्दै बाग्मती

यस्तो छ यातना, प्रताडना बिचको संघर्ष

नमस्कार शाह

रोल्पा/रोल्पाको सदरमुकाम लिवाङबाट ३० किलोमिटर टाढा रहेको काप्रा किमिचौर स्थित जनज्योती मा.बि.का मेहेनेति शिक्षक थिए किम बहादुर थापा क्षेत्री । नियमित रुपमा पठन, पाठन गराउनु उनको दैनिकि थियो । पढाउँदा, पढाउँदै २०५२ सालमा शुरु भएको जनयुद्ध तर्फ उनको झुकाव बढ्यो । पढाउने र घरको काम गर्ने उनको दैनिकि बदलियो, पढाईसँगै जनयुद्धको कार्यमा उनले सघाउन थाले । रोल्पाको गजुल घर भएका उनी तत्कालिन सरकार पक्षको निशानामा शुरु देखिनैं परिसकेका थिए ।

२०५५ मा उनले पढाउने बिद्यालयमा घेरा हालेर उनलाई समात्ने शुरक्षा निकायको प्रयास असफल भए पछि उनी भागेर नेकपा माओवादीको पूर्णकालिन कार्यकर्ता भई भुमिगत भएका थिए ।

उनै असल शिक्षक किम बहादुर भुमिगत भए पछि तत्कालिन बिद्रोही पार्टीका प्रिय कमरेड सुनिल भएर सक्रिय भए । उनी भुमिगत भएपछि गजुल स्थित उनको निवास, उनकी धर्मपत्नी बाग्मती क्षेत्रिनी लगायत सपरिवार सरकार पक्षको निशानामा पर्यो । घरमैं बस्ने खेती, किसानी गर्ने, ससाना बच्चाहरु स्याहार्ने जिम्मेवारीमा रहेकी बाग्मतीले सरकार पक्षबाट बिभिन्न खाले यातना भोग्नु पर्यो ।

श्रीमान भुमिगत भएकै कारण उनीहरुले यातना सहन सम्म सहे । यहि क्रममा उनको पुरै परिवार पार्टीमा लाग्यो । ५ पटक त प्रहरीले घेरानैं हाल्यो, बिहान उठ्न नपाउँदै प्रहरीले घेरा हालिसकेको हुन्थ्यो–बाग्मतीले बिगत सम्झिईन्–गजुल प्रहरी चौकीबाट आउने प्रहरीले हामीलाई घरमैं थुनेर बन्धक बनाउँथ्यो, धम्क्याउने, कुट्ने, पिट्ने त उनीहरुका लागि सामान्यनैं भईहाल्यो ।

२ छोरी र ५ छोराको रेखदेख गर्ने जिम्मेवारीमा रहेकि बाग्मतीले छोरा, छोरीसँग असह्यै यातनाहरु भोगिन् । यो क्रममा उनको सुनिलसँग कहिले कसो बाहेक भेट भएन ।

प्रहरीले पक्रने, छोड्ने क्रम चलिरहेका बेला २०५६ सालमा उनी लगायत परिवारका सदस्यहरुलाई दशैंकै दिन प्रहरीले पक्राउ गरेर लग्यो । उनले त्यसबेला १९ दिन प्रहरी हिरासतमा बस्नु पर्यो । सो क्रममा उनले प्रहरीको निर्घात कुटाई खानुका साथै बलात्कृत सम्म हुनु पर्यो । म त एक पटक बलात्कारमा परें–उनले भनिन्–मेरी ठूलि छोरीलाई त प्रहरीले पटक, पटक बलात्कार गरे ।

१९ दिनको प्रहरी हिरासतमा बसेपछि जेठो छोरालाई हिरासतमा राख्ने शर्तमा बाग्मती र उनकी छोरीलाई रिहा गरियो । तत्पश्चात उनी लगायत परिवारका सबै सदस्यहरु भुमिगत बने । साक्षर बाग्मतीले पार्टीको संगठनमा सघाउन थालिन् भने छोरा, छोरीहरु कोहि जनसेनामा कोही संगठन, कोही साँस्कृतिक टिममा थिए । माईलो छोरा सेना, जेठो छोरा सँगठनमा थिए भने जेठि छोरी महिलाको डिसिएम थिईन् ।

जनयुद्धकै क्रममा उनका माईला छोरा दिलिप थापाले सहादत प्राप्त गरे । २०७१ साल बैशाख १ गते दाँगको सतबरियामा भएको दोहोरो भिडन्तबाट बचेर प्युठानको मुरकुटिमा पुग्दा भएको दोहोरो भिडन्तमा उनले ज्यान गुमाएका थिए । जनयुद्धकै क्रममा माईलो छोरा बाहेक ज्वाईं प्रबिण महरा, भान्जि ज्वाईं क्यासबिन थापा, भान्जि तेजकुमारी महरा, भतिजा ऋषि खड्का लगायत ६ जना आफ्नै परिवारका सदस्य गुमाएको पीडा उनमा अझैं ताजा छ ।

संगठनको कामको शिलशिलामा रोल्पाको थवांग, राङकोट, दांग, सल्यान लगायतका स्थानमा बसेर काम गरेकि उनले उनका श्रीमान सुनिललाई समेत सघाएकि थिईन् । सुनिल जनसेनाका कमाण्डर रहेका थिए । सुनिलको नेतृत्वमा भएका कैयौं आक्रमणहरुमा बाग्मति पनि साथ दिन संग, संगै पुग्ने गर्थिन् ।

सुनिल रोल्पाको गाम, होलेरी, लिस्ने, रुकुमको खारा, म्याग्दीको बेनि, भोजपुर, रोल्पाकै घर्ति गाउँ झिन्तवामा भएका ठूला भिडन्तहरुमा कमाण्डिंग गरेर लडेका कमाण्डर हुन् । उनले सबै लडाईंहरुमा सफलता पाएका थिए ।

रोल्पाको घर्ति गाउँ झिन्तवामा भएको भिडन्तमा सामान्य चोट लाग्नु बाहेक उनलाई अन्य कुनै आक्रमणमा घाईते हुनु परेन । राम्रो कमाण्डिंग गरेकै कारण उनलाई २०६२ साल मंसिर १४ गते रोल्पा र सल्यानको सिमाना झ्याम मैनावरी गाउँमा बटालियन कमाण्डरको रुपमा घोषणा गर्ने कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा माओवादीका नेताहरु बिप्लव, पासाँग, सुदर्शन वली लगायत सहभागि थिए । नेताहरु बोल्ने क्रम सकिनै लाग्दा तत्कालिन शाही सेनाले हवाई आक्रमण गर्यो । २ हजार बढिको उपस्थितीमा भएको कार्यक्रममा बटालियन घोषणा भएकै दिन सुनिलले सहादत प्राप्त गरे । उनी सँगै अर्का कमाण्डर निर्मल बाहेक अरुले ज्यान गुमाउनु परेन ।

उक्त दिन बाग्मती सुनिलसँगै घोषणा कार्यक्रममा गएकि थिईन् । उनको निधन भएपछि उनलाई त्यहिँ कतै गाडिएको, पछि सल्यानबाट रोल्पा ल्याई गाडिएको भन्ने सुनिन् बाग्मतिले तर त्यस बेला दाहसंस्कार गर्न सम्भव थिएन । उनी घटना घटेकै दिन बटालियनसँगै हिंडिहालिन्, त्यो दिन उनीहरु रोल्पाको डुम्लामा बास बसे ।

यसरी दुःखका पहाडहरु बोक्दै उनी पार्टीको काममा अगाडी बढिन् । उनको निष्ठा, ईमान्दारिता देखेर पार्टीले २०७४ मा भएको स्थानीय निर्वाचनमा रोल्पाको सुवर्णावती गाउँपालिकाको उपाध्यक्षको टिकट दियो । उनले निर्वाचन जितिन् । २०७५ मा यस क्षेत्रकै लोकप्रिय नेता सुनिलको सम्झनामा पालिकाको नाममा सुनिल स्मृति गाउँपालिका राख्ने प्रश्ताव पार्टी र सिंगो गाउँपालिकाले राख्यो तर उक्त निर्णय हुन नदिन प्रतिपक्ष लगायतले ६ दिन सम्म आन्दोलन गरे । अन्ततः पालिकाको नाम प्रश्ताव गरे बमोजिमनैं भयो ।

अहिले बाग्मति श्रीमानको स्मृतिमा राखिएको सुनिल स्मृति गाउँपालिकाको उपाध्यक्ष पदमा कार्यरत छिन् । उनी भन्छिन्–सुनिलकै सपना पुरा गर्न म लागिरेहेकि छुँ । पार्टीका लागि, जनता, देशका लागि लड्दा, लड्दै अहिले यो स्थानमा पुगेकि छुँ –उनले भनिन् ।

 

  • १० पुष २०७७, शुक्रबार प्रकाशित

  • Nabintech