सामाजिक क्षेत्रबाट राजनीतिमा लोकप्रिय हुँदै प्रमोद

राजनीतिमा इमान्दारिता र प्रतिबद्धता देखाउँदा निर्वाचन सहजै आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने उदाहरण हुन् प्रमोद ।

मुना विष्ट

प्रमोद रिजाल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तथा नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता हुन् । सामाजिक क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका रिजालको जन्म २०३१ असोज १० गते नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझीमा विष्णुप्रसाद शर्मा र लक्ष्मी शर्माको कोखबाट जन्मेका हुन् ।
धम्बोझी माविमा कक्षा ७ सम्मको अध्ययन गरी कक्षा ८ देखि १० सम्म नारायण माविमा अध्ययन गरेका उनले प्रवीणता प्रमाणपत्र तहदेखि स्नातकसम्मको अध्ययन महेन्द्र बहुमुखी क्यम्पस नेपालगन्जमा गरेका थिए । उनले कानुन विषयमा स्नातक गरेका छन् ।
ल एसोसियट नेपालबाट सामाजिक कार्य सुरु गरेका रिजालले लामो समय सामाजिक कार्यमा जीवनयापन गरेका छन् । तत्कालीन नेपालगन्ज नगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणाको स्वकीय सचिव भएर २०५५ देखि साढे ३ वर्ष काम गरेको अनुभव उनीसँग छ ।
बी गु्रपमा कार्यक्रम संयोजक भएर २०६५ देखि ६ वर्षसम्म काम गरेका उनले बाँके फुटबल संघको सचिव भएर पनि काम गरेका थिए । महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनका लागि बाहिरबाट आएका विद्यार्थी माथि हुने थिचोमिचो र अपहेलनाले आफूलाई सामाजिक कार्य गर्न अभिप्रेरित गरेको रिजाल बताउँछन् ।
बी ग्रुप काम गर्दा उनले धेरै अनुभव बटुले साथसाथै बाँकेस्थित गैससहरूको नेतृत्व गर्ने पङ्क्तिमा पुगे । तत्कालीन अवस्थामा संस्थाहरू बलियो हुँदै गइरहेको बेलामा संस्थाको माउ संंस्था गैसस महासंघ कमजोर हँुदै गइरहेको अवस्थामा महासंघ बलियो हुनु पर्छ, संस्थाहरू बलियो हुनु पर्छ भन्ने भावनाबाट अभिपे्ररित भएर २०६९ सालमा सचिव पदमा निर्वाचित भएर गैसस महासंमा प्रवेश गरेको उनी बताउँछन् ।
२०६९ सालदेखि २०७३ सम्मको पहिलो कार्यकालमा महासंघ सुदृढीकरणका काम गरेको बताउने रिजाल २०७३ सालमा महासंघको अध्यक्षमा निर्वाचित भएका थिए ।
२०७४ मा स्थानीय तहको निर्वाचन ताका गैसस महासंघ नेपालले एउटा कठोर निर्णय लियो, स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन चाहने पदाधिकारीले पहिले महासंघको पदबाट राजीनामा दिनु पर्ने भनेर । कतिपयले सो निर्णयलाई पालना गरेनन्, कतिपयले राजीनामा दिएको नाटक गरी निर्वाचन लडे, निर्वाचनबाट पराजय भएपछि फेरि महासंघको पदीय जिम्मेवारी सुरु गरे तर रिजालले त्यसो गरेनन् । उनले आफ्नै अध्यक्षतामा बैठक बसाइ महासंघबाट बिदा लिई निर्वाचनमा होमिने जानकारी गराई राजीनामा दिए । उनले सहजै तत्कालीन उपाध्यक्ष सपना भट्राईलाई नेतृत्व हस्तान्तरण गरी स्थानीय तह निर्वाचनमा होमिए र नेपालगन्ज उपमहानगरपालिकाको १ नम्बर वडाध्यक्षमा निर्वाचित भए ।
राजनीतिमा इमान्दारिता र प्रतिबद्धता देखाउँदा निर्वाचन सहजै आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने उदाहरण हुन् उनी । उसो त उनी राजनीतिमा नौलो भने होइनन् । उनी २०५१ सालदेखिनै राजनीतिमा थिए । अनेरास्ववियुको महेन्द्र बहुमुखी क्याम्पस प्रारम्भिक कमिटी हुँदै जिल्ला कमिटी सदस्य भएर काम गरेका उनले युवा संघको जिल्ला अध्यक्ष, नेकपा एमालेको नगर कमिटी सदस्य र वडा कमिटी अध्यक्ष भएर काम गरिसकेका थिए ।
भारतको सिक्किम, दार्जिलिङ र नेपालका विभिन्न ठाउँमा भ्रमण गरेका रिजाल १ नम्बर वडाध्यक्ष हुन् र धेरै काममा पनि उनी पहिलोनै छन् । उपमहानगरपालिकाका २३ वडामध्ये पहिलोपटक पहिलो वर्षमै सार्वजनिक सुनुवाइ गर्ने उनी एक मात्रै वडाध्यक्ष हुन्, जसलाई उनले हरेक वर्ष निरन्तरता दिँदै आएका छन् । उनले वडा नम्बर १ लाई खेलकुदको हब बनाउनका लागि विशाल नगर चोकदेखि सय मिटर अगाडि २३ कठ्ठा जग्गामा स्पोर्टस एकेडेमी निर्माण गरेका छन् । जसमा विभिन्न खेलका प्रशिक्षण हुनुका साथै विभिन्न प्रतियोगिताहरू हुनेछन् । त्यसैगरी उनको नेतृत्वमा विभिन्न पार्कहरू बनिरहेका छन् । वडालाई हरियाली, सरसफाइ युक्त पर्यटकीय क्षेत्र बनाउन उनी कम्मर कसेर लागिरहेका छन् ।
कानुनमा स्नातक गरेर पनि वकालत पेसामा पूर्णतया समय दिन नसकेका उनको भावी लक्ष्य पनि राजनीतिकै माध्यमबाट समाज सेवा गर्ने रहेको छ ।
बालबालिका र पछाडि पारेका महिला जसको आवाज कसैले नसुनेको अवस्थामा उनीहरूको पक्षमा काम गर्दा जब उनीहरूले आफ्नो अधिकारका बारे थाहा पाउथे, अक्षरहरू चिन्थे र हाम्रै अभियान अन्तर्गत थुप्रै महिलाले नागरिकता पाए, थुप्रै महिलाले आफ्नो नाममा लालपुर्जा पाए त्यो कुरा सम्झिँदा आन्नदको अनुभूति महसुस हुने गरेको बताउने रिजाल अविस्मरणीय क्षणको सम्झना गर्दै भन्छन्,‘यहाँसम्म आई पुग्दा थुप्रै सम्मान प्राप्त गरेको छु । उल्लेखनीय भनेको अस्ती भर्खरै पाएको आर्थिक पत्रकारिता पुरस्कार , सिजन र अमेरिकी एम्बेसीले सम्मान रहेको छ ।’ विशेष गरी अधिकारबाट वञ्चितले अधिकार पाउँदा, पढ्न नपाएकाले पढ्न पाउँदा, पैसा कमाउन नसके पनि मान्छे कमाउन सकेकोमा सन्तुष्ट मिल्ने भनाइ रिजालको रहेको छ ।

  • १५ पुष २०७७, बुधबार प्रकाशित

  • Nabintech