नेपालगन्ज / नुमा कुमारि थापा कोहलपुर फुलबारी नगर वडा नम्बर ११ मा बस्छिन् । स्वयंसेविका भन्ने वित्तीकै मायालु र सबैलाई सहयोग गर्ने मानिस हुन् भन्ने कुरा सबैको मानसपटलमा आउँछ साच्चिकै नुमा यस्तै स्वभावकि छिन् ।
उनको परिवारमा उनका श्रीमान, सासु र ३ छोरी गरि ६ जना छन् । पहिले अधिकास समय घर भित्रकै काममा ब्यस्त रहने नुमालाई बाहिरको कामको अनुभव कस्तो हुन्छ होला भन्ने लाग्थ्यो । उनले बि.स. २०५० साल देखि स्वयंसेविकाको रुपमा काम गर्न थालिन । घर देखि बाहिर निस्केर काम गर्दा धेरै दुःख सहनु पर्दो रहेछ घर भित्रको काम गरे जस्तो सजिलो नहुदो रहेछ भन्ने अनुभव उनलाई शुरुका केही दिन काममा जाँदा भएको थियो । पछि काम गर्दै जाँदा उनलाई आफ्नो काम विस्तारै सरल र रमाईलो लाग्न थाल्यो ।
स्वयम् सेवीका भएर गाँउमा काम गर्न जाँदा नुमालाई गाँउका मानिसहरुले आफु भत्ता पाउछिन त्यसकै लागि गाँउगाँउमा आउछिन भन्ने कुरा गाँउलेले सुनाईरहन्थे र यो कुराले उनलाई एकदमै असजिलो हुने गर्दथ्यो तर अहिले गाँउमा निकै परिवर्तन भएको छ । गाँउका मानिसहरुको जनचेतना स्तर बढेको छ नुमा आजभोली गाँउमा जादाँ सबैले उनी प्रति राम्रो ब्यवहार र सम्मान गर्दछन् ।
हाल स्वयंसेविकाहरुलाई सरकारले बार्षिक ७०० रुपैया पोशाकको लागि सहयोग गरिरहेको छ । केहि तालिमहरु संचालन भएमा दिनको ४०० रुपैयाका दरले उनीहरुले भत्ता पाउछन् । यसका अलावा स्थानिय सरकारले मासिक २ हजार प्रोत्साहन भत्ताको रुपमा प्रदान गर्ने गर्दछ स्वयम् सेविकाहरुको मासिक तलब भत्ता जे भनेपनि पाउने यति मात्रै हो तर काम भने चौबिसै घण्टा खटिनुपर्ने । नुमाको माइली छोरी पनि स्वास्थ्य क्षेत्रमा कार्यरत छिन् । उनी काठमाण्डौको साहारा अस्पतालमा स्टाफ नर्स छिन् ।
नुमा चैत्रको अन्तिम हप्ता हात्तिपाइलेको खोप लगाउने कार्यमा व्यस्त थिईन् । खोप लगाउने कार्य चैत्र २० गते देखि २९ गते सम्म चलेको थियो । हात्तिपाईलेको खोप अभियानलाई सम्झिदै नुमा भन्छीन– हात्तिपाइलेको औषधि खाएपछि शरिरमा असर देखिन्छ भनी गाँउका मानिसहरु खान मान्दैनन् उनीहरुलाई औषधि खुवाउन धेरै सम्झाउनु पर्छ । अझै पनि गाँउका मानिसहरुमा जनचेतनाको कमि छ । समुदाय स्तरमा पूर्ण सचेतना फैलाउन अभियान तथा कार्यक्रम सञ्चालन पूर्व गाँउगाँउमा भेला गरेर हात्तिपाईले लगायत रोगका बारेमा जनचेतना जगाउने हो भने सबैले सजिलैसँग औषधी सेवन गर्थे भने अभियान पनि शतप्रतिशत सफल हुन्थ्यो होला उनको अनुभव छ ।
नुमा प्रत्येक महिनाको ९ गते वालवालिकालाई खोप लगाउन जान्छिन् र सबै वालवालिकालाई आफ्नै छोराछोरी झै व्यवहार गर्छिन्, उनलाई गाँउका सबैले एकदमै माया गर्छन् र प्रत्येक महिनामा आमासमुहको बैठक गरेर शिषु, स्तनपान, झाडापखाला लगायतका विषयमा उनले स्थानीय आमाहरुलाई तालिम दिने काम गर्दै आएकी छिन् । समुदायमा गई सेवा गर्न पाँउदा नुमा निकै सन्तुष्ट छिन् उनी भन्छिन– म मेरो काम प्रति गर्व गर्छु र असाध्यै माया पनि । स्वयम् सेविकाको रुपमा काम गरेपछि नुमाको जिवन फेरिएको छ ।