संस्मरण : भेरी अस्पतालको त्यो सेवाभाव, नर्सिङ होमको त्यो दुर्व्यवहार

कोरोना रिपोर्ट पोजिटिभ आउन बित्तिकै अस्पतालले आइसियुमा भर्ना भएका बिरामीहरुलाई धम्कीपुर्ण र बलजफ्ती तरिकाले निकाल्न शुरु गरे

मेगराज खड्का

देशमा कोरोना संक्रमणको दोस्रो लहर बढ्न थालेपछि सरकारले स्वास्थ्य सावधानीका कार्यक्रमहरु अघि सारिसकेको थियो । तर यसैबिचमा नेपाल पत्रकार महासंघको निर्वाचन देशभर एकसाथ हुने घोषणा भयो । कोरोना महामारीकै कारण करिब १ बर्ष ढिलो गरि घोषणा गरिएको अधिवेशन केन्द्र, प्रदेश र जिल्लामा एकैदिन २०७७ चैत २५ गते हुने भयो । जसले गर्दा चैत्र पहिलो हप्ता देखि निर्वाचनको माहोल र चुनाबी गतिबिधी सक्रिय रुपमा चलिरहेका थिए ।

नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको निर्वाचनको लागि पनि चुनावी गतिबिधी शुरु भैरहेको थियो । प्रेस संगठन नेपाल रुकुमको अध्यक्ष भएको हैसियतले पनि पत्रकारको चुनाबको बिषयमा चासो, चिन्ता र मेहनत बढी नै दिनुपर्ने थियो । चैत २० गतेदेखि अझ बढी सक्रिय रुपमा चुनाबमा होमिनुपर्ने भयो । संगठनको बैठकका लागि साथीहरुलाई खबर तथा व्यवस्थापन, अन्य पत्रकार संघसंगठनहरुसंग वार्ता संवाद, अध्यक्ष देखि अन्य पदहरुमा उम्मेदवारहरुको टुंगो, मनोनयन, मतदाताहरुलाई खबर र बसाई व्यवस्थापन र अन्त्यमा मतदान र मतगणना लगायतका कामले निकै दौडधुप र खटनपटन गर्नुपर्ने अवस्था थियो ।

जिल्लाबाहिर काम गर्ने र जिल्लाका पनि स्थानीय तहहरुमा काम गर्ने धेरै पत्रकारहरुसंग भेटघाट र छलफलको पनि चाप त्यतिकै थियो । जसका कारण ४, ५ दिनको खानपीन, सुताईबसाई र दैनिक जनजीवन निकै प्रभावित बन्यो । चुनाव सकियो तर चुनावको दौडधुप, थकाई र तनाब सकिएन । केहि दिन कोठामै रेष्ट गरियो । कोठामै आराम गरेपनि शरिरमा स्फुर्ति थिएन, यसैक्रममा चैत २९ गते साँझ हल्का ज्वरो आएको जस्तो महसुस भयो । केहि दिन सिटामोल खाएर कोठामै आराम गरे, तर सुधार भएन ।

चैत ३१ गते रातीदेखि निकै थला पा¥यो । जति औषधी खाएपनि ज्वरो र ढाड दुख्ने समस्या निको भएन । २०७८ बैशाख १ गते सदरमुकाम खलंगामा रहेको साझा मुराल अस्पतालमा गए । अस्पतालका डा. दिपक पुनले रगत परिक्षण गर्न र त्यसपछिको नतिजा अनुसार औषधी सिफरिस गरौंला भन्नुभयो । जस अनुसार रगत परिक्षण गर्दा टाईफाईड देखियो । अनी टाइफाईडको औषधी लिएर कोठामै बसेर खाए । उक्त औषधी खाएको २४ घण्टा सम्म पनि ज्वरो र ढाड दुख्ने समस्या खासै सन्चो भएन । भोलीपल्ट बिहानै फेरी साझा अस्पतालमा आए, डा. पुनलाई औषधीले सन्चो नभएको बताए । त्यसपछि उहाँले टाइफाइडको सुई लगाएर हेरौं न त भन्नुयो र अस्पतालमै केहि दिन भर्ना हुन पनि सुझाब दिनुभयो ।

जस अनुसार म अस्पतालमै भर्ना भएर टाइफाईडको सुई शुरु गरे । बिरामीहरुको चापको कारण साझा अस्पतालको बेडपनि भरीभराउ थियो । सबै ज्वरो, रुघाखोकी, निमोनिया, टाइफाईड यस्तै यस्तै प्रकृतिका थिए । एउटा अर्को कोठामा मलाई बेडको व्यवस्था गरिएको थियो । ३ दिनको अस्पताल बसाईमा अस्पतालका डा. दिपक पुन लगायतका स्वास्थ्यकर्मीहरुले २४ सैं घण्टा निगरानीमा राखेर उपचार र सेवा गर्नुभयो । अस्पताल बसाईको क्रममा उपचार प्रकृयाले अन्य समस्या समाधान भएपनि ज्वरो केहि समय रोकिने र केहि समय पुनः आउने जस्तो समस्या देखिरहेको थियो । म बिरामी भएर अस्पतालमा भर्ना भएको थाहा पाएर नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका नबनिर्वाचित अध्यक्ष लक्ष्मण केसी सहित राजु लामिछाने, प्रबिर ददेल, महेश केसी लगायतका पत्रकार साथीहरु भेट्न आउनुभएको थियो । उहाँहरुको भेट र हौसलाले मनमा केहि उर्जा पैदा भयो ।
जिल्लामा सन्चो नभएपछि नेपालगञ्जतिर गएर उपचार गर्नुपर्छ की भन्ने मनमा सोचिरहेको थिए । यो सोचाईको पछाडि थप गाह्रोसाह्रो पा¥यो, यदि कोरोना संक्रमण भए वा अक्सिजन लगायतका अन्य स्वास्थ्य सुबिधा प्रयोग गर्नुपर्ने अवस्था आए झन गाह्रो हुन्छकी भन्ने मनमा कुरा खेलिरहेको थियो । जिल्लामा केहि दिन अघि कोरोना संक्रमित भएका बिरामीहरुलाई रुकुममा उपचार संभव नभएर सुर्खेत, नेपालगञ्ज लिएको उदाहरण पनि धेरै थिए । जिल्लाका कुनै पनि अस्पतालमा पनि कोरोना तथा अन्य जटिल प्रकृतिका विरामीहरुलाई अक्सिजन सहितका आइसियु सुबिधा भएका बेडहरु थिएनन् । त्यति मात्र होईन कोरोना चेकजाँचका लागि पिसिआर मेसिन पनि संचालनमा थिएन । सुर्खेत नेपालगञ्जमै गएर चेकजाँच गर्ने गरिएको थियो । उपचार प्रकृयामा पछि आउने जटिलताका मध्यनजर गरेर नेपालगञ्ज गएर उपचार गर्ने निर्णय गरे ।
२०७७ बैशाख ५ गते आईतबार बिहान श्रीमतिका साथ जहाज मार्फत नेपालगञ्ज गए । एयरपोर्टबाट सिधै भेरी अस्पतालमा पुगे । चेकजाँचका लागि ओपिडिको लाईनमा लागे । बिहानको ९ बजेतिर ओपिडिमा चेकजाँच गर्नेको लाईनमा पुग्दा मेरो अगाडि करिब दुई सय जति थिए । त्यो हिसाबले मेरो चेकजाँचको पालो करिब दुइ तीन बजेमात्र आउने देखे । मलाई ज्वरो र जीउ दुख्ने समस्याले निकै थला पारिरहेको थियो । झन चार, पाँच घण्टा उभिएर पालो कुर्नुपर्ने समस्याले झनै समस्या होला जस्तो भयो । त्यहाँ पालो सित्तिमित्ती आउने संभावना नदेखेपछि अटोरिक्सा चढेर म नेपालगञ्ज मेडिकल कलेज (नर्सिङ होम) मा पुगे । जहाँ पुग्दा पनि ओपिडिमा लाईन लामै थियो तर भेरी अस्पतालको भन्दा केहि कमी थियो ।

जस अनुसार मेरो पालो आएपछि डाक्टरसंग आफ्नो समस्याहरु बताए । डाक्टरले इमरजेन्सीमा गएर तत्काल केहि सुईहरु लगाउन अनी रगत, पिसाव, एक्सरे लगायतका एक दर्जन बढी परिक्षणहरु गर्न रिफारिस गर्नुभयो र त्यसै गरे । निकै महंगो हुदोरैछ, करिब ७ हजारको बिल काउन्टरबाट काटेर म रगत र पिसाव लगायतका परिक्षण तथा एक्सरे गरे । ४ बजेतिर सबै रिपोर्ट आयो । रिपोर्ट हेर्दा, रुकुममा देखिएजस्तै टाइफाईड पोजिटिभ लेखिएको थियो । रिपोर्ट लिएर दिउसो ओपिडिमा भेटेको डाक्टरलाई देखाउन गए ओपिडि बन्द भैसकेको रैछ । भोली १० बजेपछि मात्र डाक्टर आउने सहयोगीले बताए । ईमरजेन्सीमा गएर डाक्टरलाई रिपोर्ट देखाए र केहि सुईहरु लगाएर होटलतिर बस्नुहोस भोली सबन्धित डाक्टरलाई विस्तृत रिपोर्ट देखाउनुहोला भन्ने कुरा आयो । त्यसै गरे र अस्पताल नजिकैको होटलमा एउटा कोठा लिएर बसे । बिरामी भएदेखि खाना पटक्कै रुची थिएन, खाना देख्यो की वाकवाकी लागी हाल्दथ्यो । होटलको त्यो रातको बसाई पनि निकै कष्टपुर्ण भयो । सुई र औषधीले शुरुमा केहि सन्चो भएजस्तो भएपनि राती निकै चाप्यो । ज्वरो र वाकवाकी रातभर निकै भयो । निकै दुखदायीका साथ रात काटियो र बिहानै ९ बजे पुनः ओपिडिमा डाक्टरलाई रिपोर्ट देखाउन लाईनमा बसे ।

डाक्टरहरुले तपाईको टाईफाईड निकै बढेको छ, ज्वरो पनि छ, आइसियुमा भर्ना भएर केहि दिन उपचार गर्नुपर्ने भन्नुभयो र त्यहि अनुसार सिफारिस गर्नुभयो । जस अनुसार आइसियुको ७ नम्बर बेडमा भर्ना भए । आइसियुमा जटिल तथा अधिकांस कोरोना संकास्पद बिरामीहरु भर्ना भएका थिए । जहाँ धेरै बिरामीहरु छटपटाईरहेका थिए । आईसियु बेडमा भर्ना भएर मेरो पनि उपचार शुरु भयो । अस्पताल बसेको भोलीपल्ट कोरोना परिक्षणका लागि पिसिआर पनि गरियो । उक्त आइसियु कक्षमा भर्ना भएका म बाहेक अन्य सबैलाई अक्सिजन प्रयोग गरिएको थियो । तर सुई मार्फत औषधीहरु भने प्रत्येक घण्टाजसो चलाईराखिएको थियो । जसले गर्दा होला पहिलो रात अन्य त्यसअघिका रातहरु जस्तो शारीरिक रुपमा दुखाई र ज्वरोको महशुस भएन । केहि सुधार आईरहेको थियो । तर छेउछाउको बेडमा रहेका बिरामीहरुको अलापबिलाप हेर्दा कहिले मेरो हालत पनि त त्यस्तै हुने होईन भनेर मन निकै कमजोर बनेको थियो । ८ गते बिहान १० बजेतिर मेरै छेउको बेडमा रहनुभएकी एकजना आमालाई निकै गाह्रो पा¥यो । स्वास्थ्यकर्मीहरुले बचाउन निकै पहल गरे तर बचाउन सकेनन् । हिजोसंगै भर्ना भएका एक आफ्नै बेडछेउको बिरामीको ज्यान गएपछि म झनै आत्तिय । तर मन दरो बनाउन कोसिस गरे । आइसियुमा उपचार प्रकृया निरन्तर चलिरहेको थियो । त्यसबेलासम्म स्वास्थ्यकर्मीहरुले निकै मेहनत गरेर उपचार गरिरहेका थिए । यसै क्रममा ८ गते राती ११ बजेतिर पिसिआर रिपोर्ट आयो । उक्त आइसियुमा भर्ना भएका एक जना बाहेक अन्य सबैको कोरोना रिपोर्ट पोजिटिभ भएको जानकारी पाए । । कोरोना संक्रमण रुकुमको पत्रकार महासंघकै चुनाव बेला भयो या रुकुममा टाईफाईड भएर नेपालगञ्ज उपचारको क्रममा अस्पतालमा रहँदा भयो केहि पत्तो भएन । कोरोना रिपोर्ट पोजिटिभ आउन बित्तिकै अस्पतालले आइसियुमा भर्ना भएका बिरामीहरुलाई धम्कीपुर्ण र बलजफ्ती तरिकाले निकाल्न शुरु गरे । मेरो श्रीमतिलाई पनि बोलाएर तपाईको श्रीमानको कोरोना रिपोर्ट पोजिटिभ आएको, यस अस्पतालमा पोजिटिभलाई उपचार गर्न नसकिने र तत्काल अन्यत्र लिएर उपचार गर्न भनिएछ ।

श्रीमती निराश हुदै मेरो बेड सम्म आएर पोजिटिभ रिपोर्ट आएकोलाई यहाँ राख्ँदैनन् रे, तत्काल अस्पताल छोड्नुप¥यो भनिरहेका छन डाक्टर तथा नर्सहरुले भनिन । एक त बिरामी, त्यसमा पनि कोरोना पोजिटिभ देखाएपछिको चिन्ता र त्यसमा पनि मध्यरातमा कहाँ र कसरी अन्य अस्पतालमा जाने निकै समस्याको बिन्दुमा पु¥याईदियो । त्यसबेला करिब १२ बजीसकेको थियो । केहि बिरामीका आफन्तहरुले अस्पतालको निर्देशन अनुसार राती नै दुखदायी तरिकाले अन्य अस्पताल तथा घरतिर बिरामी लिईसकेका थिए । त्यहाँका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका अनुसार भेरी अस्पताल बाहेक अन्य ठाउँमा कोरोना संक्रमितको उपचार गरिदैन भन्ने सुनाए ।
मैले पनि राती नै केहि ब्यक्तिहरुलाई फोन गरेर आफु नेपालगञ्ज मेडिकल कलेजमा टाईफाईड समस्या भएर उपचाररत रहेको तर कोरोना पोजिटिभ पनि देखिएपछि अस्पतालले निकाल्न खोज्दैछ, भेरी अस्पताल तथा अन्य ठाउँमा कहाँ हुन्छ उपचारका लागि पहल गरिदिन अनुरोध गरे । मध्यरात भएका कारण प्रभावकारी संबाद र पहल हुन सकेन । फोन सम्पर्क भएका ब्यक्तिहरुको भेरीमा एउटा पनि बेड नभएको र जसरी पनि त्यहि अस्पतालमा रात बिताएर भोली बिहान भेरी अस्पतालको बेड मिलाउन पहल गर्ने वा त्यो संभव नभएपनि कुनै होटल आईसोलेशनमा बस्ने ब्यवस्था मिलाउने बताए ।

उता अस्पतालको आईसियु काउन्टरमा रहेका डाक्टर तथा नर्सहरुले पनि जति छिटो अस्पताल छा्ड्न तारन्तर भनिरहेका थिए । अस्पतालबाट डिस्चार्जको लागि कागजात र फाईल तयार बनाएका थिए । श्रीमतिले त्यहाँ रहेका स्वास्थ्यकर्मीहरुलाई बिहानसम्म बस्न दिनुहोस बरु भोली बिहान ७ बजे नै हामी जहाँ गएपनि अस्पतालबाट जान्छौं भनेर अनुरोध गरिरहेकी थिईन तर अहँ उनीहरुले सुन्ने कुनै थिएन । मेरो बिरामी अवस्था भन्दा पनि पोजिटिभ रिपोर्ट आएपछि अस्पतालले गरेको व्यवहारले मनमा निकै दुखी र अत्तालिने बनायो । एकजना स्वास्थ्यकर्मीलाई बेडनजिक बोताएर मैले रातमा बस्न दिनुहोस भोली बिहानै जान्छु बरु यो रात बसेको कति तिर्नुपर्छ म जति पैसा भएपनि तिर्छु भनेर भने । पछि काउन्टरबाट भोली बिहान सम्मको लागि ७ हजार बेड खर्च तिर्नुपर्ने खबर आयो र हुन्छ भने । अघिसम्म कुनै पनि हालतमा अस्पतालबाट निस्कनुहोस भनेपनि ७ हजार तिर्छु भन्दा भोली बिहानसम्म बसाल्न सहमत भयो ।

मलाई लाग्यो उपचारका नाममा स्वास्थ्य संबेदनशिलतालाई समस्यामा पार्दै आर्थिक लुटको काम भैरहेको छ । कोभिड संक्रमितलाई उपचार नगर्ने अस्पताललाई सरकारले कारबाही गर्ने निर्देशनहरु बेला बेला आउछ तर नेपालगञ्ज मेडिकल कजेलमा त्यो निर्देशन नभएको हो या अस्पतालले नै अटेर गरेको हो, म आफै बिरामी भएका कारण अस्पताल प्रशासन र जिल्ला प्रशासन सम्म गएर सोधखोज गर्न संभव भएन । रातभर निद्रा कसरी लागोस, एक त टाइफाईडको बिरामी, कोरोना पोजिटिभ र पोजिटिभ भएपछि अस्पतालले गरेको व्यवहारले मन निकै जलेको थियो । राती त धौंधौं अस्पतालमा बिताईयो भोलिपल्ट बिहान नै जाने कुरा गरिएको छ ।

जाने त जाने कहाँ जाने फेरी समस्याले निकै सताईरहेको थियो । बिहान शुरु भएपछि राती जान नसकेका र महंगो बेड शुल्क तिरेर बसेकाहरुलाई पनि हटाउन शुरु गरियो । मेरै छेउको बेडमा रहेका एकजना दाईलाई निकै चापिरहेको थियो । चौबिसैघण्टा अक्सिजनको साहाराले बाँच्नुभएको थियो । उहाँको कुरुवा भनेको ६० काटेका बुढा बुवाआमा थिए । बिचरा उहाँहरुले पनि बिरामीलाई कहाँ लगेर उपचार गरुन, कतैपनि बेड थिएन । बर्दियातिर घर हो भनेको जस्तो लाग्छ, अस्पतालले छिटो बिरामी लिन भनेपछि घरतिरै लिने निधो गरे । बिरामी भने पानीपानी भनेर निकै छटपछाईरहेका थिए । सलाईन तथा अक्सिजन छुटाएर बाहिर लिदा नै बेहोस भैसकेका थिए । अस्पतालको गेटबाहिर निकालेको केहि मिनेटमै उनको ज्यान गएको खबर आयो । हिजो एकजना र आज एकजना आफ्नै आँखा अगाडि दुई जना बिरामीको ज्यान गएपछि म निकै आत्तिएको थिए ।

मैरै छेउमा एकजना रुकुमका पनि कोरोना संक्रमित उपचारमा हुनुहुन्थ्यो । उहाँ र उहाँका कुरुवाहरुसंग केहि कुरा गरेर मात्र मन ठुलो बनेको थियो । बिहानको १० बजिसकेको थियो । फेरी अस्पतालले बेड छोड्न ताकेता गर्न थाल्यो । मैले अब जहाँ गएपनि जाउला अस्पतालको बिल कति भएको छ तिर्दै गरौं र कागजात रेडि बनाउन भनेर श्रीमतिलाई भने । यसक्रममा नेपालगञ्ज मेडिकल कलेजको दुई दिनको बसाईमा परिक्षण, औषधी र बेड खर्च गरेर मात्र करिब ४० हजार बढी खर्च भैसकेको थियो । आइसोलेशनको बेड खर्च मात्र १४ हजार १ सय तिर्नुपरेको थियो । अस्पतालको सबैखर्च तिरेपछि अब अन्य ठाउँमा जाने तयारी गरियो । अस्पतालले डिस्चार्ज पत्र थमाईदियो ।

त्यसपछि तीनवटा विकल्प मात्र बाँकी थियो । एउटा भेरी अस्पतालमा बेड मिलाएर त्यहाँ जाने, अर्को कुनै सञ्चालित होटल आइसोलेशनमा जाने र अर्को कुनै पनि सामान्य होटलमा गएर बस्ने । राती देखि नै भेरी अस्पतालमा बेडको लागि रुकुम पश्चिमबाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशसभा सांसद गोपाल शर्मा अनल, नेपालगञ्ज स्थित लुम्बिनी प्रदेशसभा सांसद कृष्णा केसी नमुना, कर्णाली प्रदेश मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुब्रबिक्रम बुढाथोकी, पत्रकार रुद्र खड्का र धनबिर दाहाल लगायतले रातीदेखि नै निकै पहल गरिरहनु भएको थियो । त्यस्तै नेपालगञ्ज स्थित पत्रकारहरु प्रदिप बाग्ले, विश्वराज पछल्डङग्या, कमल डाँगी, डक्ट धिताल, गणेश बिक र लक्ष्मण ढुंगाना लगायतले पनि निकै सहयोग गर्नुभएको थियो । भेरी अस्पतालमा तत्काल बेड नभएकोले शुरुमा ह्वाईटहाउस होटल आइसोलेनमा बस्ने र बेड खाली हुन बित्तिकै भेरी अस्पतालमा जाने व्यवस्था मिलाइदिनुभएको रैछ ।

होटल आइसोलेशनमा बस्ने व्यवस्थाका लागि पत्रकार साथीरुहले नेपालगञ्ज मेडिकल कलेजमा मलाई लिन एम्बुलेन्स पठाईदिनुभएको थियो । एम्बुलेन्समा बसेको केहि छिनमै भेरी अस्पतालमाको कोरोना आइशसुलेनको बिरामी डिस्चार्ज हुन लागेर एउटा बेड खाली हुन लागेको फोन आयो । बेड खाली हुन लागेको खबर गरेपछि होटल आईसोलेशनमा जाने भनेर गुडिरहेको एम्बुलेन्सलाई भेरी अस्पतालमा लिईयो । अनी भेरी अस्पतालको कोरोना उपचार आइसोलेशनमा एउटा बेड पाए र भर्ना भए । मैले चिनेका दुई जना रुकुमका कोरोना संक्रमित ब्यक्तिहरु पनि भेरी अस्पतालमै उपचारत थिए । उहाँहरु पनि संगै हुँदा बिरामी तथा कुरुवाहरुसंग कुराकानी र भेटघाट गर्न पाउदा केहि मनमा थप हौसला पैदा भयो ।

भेरी अस्पतालमा पुग्दा बेडहरु भेरीभराउ थिए । बिरामीहरु छटपटाईरहेका थिए । अस्पतालमा बेडहरुको अभाव थियो । श्रोतसाधानको अभाव थियो । जनशक्तिको अभाव देखिन्थ्यो तर डाक्टर तथा स्वास्थ्यकमीहरुको सेवाभाव निकै उच्च थियो । म भर्ना भएको केहि समयमै मलाई पनि उपचार शुरु गरियो । कोरोना पोजिटिभ हुँदा नेपालगञ्ज मेडिकल कलेजमा जुन अफ्ठेरो महसुस गरेको थिए भेरी अस्पतालमा आउँदा त्यहाँका स्वास्थ्यकर्मीहरुको सेवाभाव र राम्रो व्यवहारले जलेको मुटुमा मलम लागे झै भयो । मन शान्त भयो, अब म बाँच्छु जस्तो लाग्यो । स्वास्थ्यकर्मीहरु आफै संक्रमित भएर पनि हामीसंगै बेडमा उपचार गरिरहेका थिए । स्वास्थ्यकर्मीहरुको जनशक्ति निकै कम देखिन्थ्यो, एउटै स्वास्थकर्मीले १५ देखि २० जना बिरामीहरुलाई हेरिरहेको देखिन्थ्यो । स्वास्थ्यकर्मीहरुमा थकाई, कारोना संक्रमणको डर वा आफ्ना खानपान र सुताईको कुनै ध्यान नदिएर केवल रातदिन बिरामीहरुको सेवामै खटिरहेको देखिन्थे । यसरी नै मेरो दुईरात भेरी अस्पतालमा बिते । कुनै जटिल समस्या भएन । दुई दिन पछि डाक्टरहरुले तपाईहरुलाई सुधार भैरहेको र अब केहि दिन होटल वा घरमा बसेर आराम गर्न सुझाब दिदै डिस्चार्ज गरिदिनुभयो । शरिर खतरामुक्त भएर डिस्चार्ज हुदै गर्दा मनमा निकै खुसि र हौसला छाएको थियो ।

सिमित श्रोत साधान र जनशक्ति बिचमा पनि बिरामीहरुप्रति गरिएको सेवाभाव र सद्भावप्रति भेरी अस्पतालका चिकित्सक तथा सम्पुर्ण स्वास्थ्यकर्मीहरुमाथी माया र विश्वास लागीरहेको थियो र अहिले पनि त्यो सेवाभाव सम्झिरहेको छु । अस्पतालबाट डिस्चार्ज भएर केहि दिन नेपालगञ्ज स्थित एक होटलमा आराम गरे । रुकुम देखि नेपालगञ्ज सम्मको अस्पतालमा उपचार क्रमको दुई हप्ता बिताए । सबै गरेर करिब एक लाख जति खर्च पनि भयो । मलाई अक्सिजन तथा अन्य जटिल समस्या नभएर कम खर्च भएपनि अन्य जटिल समस्या भएका कोरोना संक्रमितले त तीन देखि पाँच लाख सम्म खर्च भएको बताएका थिए । जटिल समस्या भएका बिरामीलाई त ५० हजारको एउटै औषधी सेट चढाउनुपर्ने रहेछ ।

जिल्लामा उपचार नहुँदा जिल्लाबाहिरका अस्पतालमा उपचार गर्दा खर्चका हिसाबले पनि निकै महंगो भैरहेको छ । गरिब मजदुरी गर्नेहरुलाई कोरोनाको उपचार गर्नु आर्थिक रुपमा पनि समस्याको बिषय बनिरहेको छ । म पनि उपचार प्रकृया सकेर १३ गते सोमबार जहाज मार्फत रुकुम आए र हाल पनि कोठामै आराम गरिरहेको छु । अझैपनि त्यस्तै आफ्नो बेड छेउमै ज्यान गुमाएका र उपचारका क्रममा छटपटाईरहेकाहरुको तस्बिर झलझली सपना र विपना दुबैमा आएर सताईरहेको छ । आशा छ केहि दिनमा पुर्णस्वास्थ्य लाभ हुनेछ र नियमित सञ्चारकर्मको पुरानै काममा फर्कने छु । म बिरामी हुदा उपचार प्रकृयामा सहयोग गर्ने देखि फोन तथा म्यासेज मार्फत स्वास्थ्यलाभको कामना गर्ने सबैसबैलाई धन्यबाद ब्यक्त गर्दछु । विश्वमा महामारीको रुपमा रहेको कोरोना भाइरस तथा अन्य स्वास्थ्य समस्याबाट बच्न स्वास्थ्य सावधानी अपनाएर दैनिक जीवनयापन गर्न पनि म सबैमा अनुरोध गर्दछु । धन्यबाद ।

– (आहा संचार साप्ताहिकका प्रकाशक/सम्पादक खड्का, प्रेस संगठन रुकुम पश्चिमका अध्यक्ष हुनुहुन्छ ।)

  • २१ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech