नेपालगन्ज/ राप्ती सोनारी गाउँपालिकाले सोमबारदेखि एन्टीजेन प्रविधिबाट कोरोना परीक्षण सुरु गरेको छ । राप्ती सोनारीको वडा नम्बर १ र ३ बाट शंकास्पद बिरामीको एन्टीजेन परीक्षण गरिएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिए ।
सोमबार १७ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ७ जनालाई पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश शर्माले जानकारी दिए । प्रमुख शर्माका अनुसार वडा नम्बर १ मा एक जना र वडा नम्बर ३ मा ६ जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएका सबै सामान्य अवस्थामा रहेकाले उनीहरुलाई होम आइसोलेसनमा बस्न आग्रह गरिएको बताए ।
भेरी अस्पतालले पीसीआरका लागि स्वाब लिन नमानेको र स्वाब लिए पनि रिपोर्ट ढिला आउने भएकाले कोरोना भाइरस गाउँस्तरमा नफैलियोस् भन्ने उद्देश्यले एन्टीजेन परीक्षणको सुरुवात गरिएको प्रमुख शर्मा बताए । कोरोना भाइरससँग मिल्दोजुल्दो ज्वरो आउने, टाउको दुख्ने रुघा लाग्ने जस्ता लक्षण देखिएका गाउँपालिका अन्तर्गतका सबै बिरामीको एन्टीजेन परीक्षण गरिने स्वास्थ्य शाखा प्रमुख शर्माले जानकारी दिए ।
यसैबीच गाउँपालिका अध्यक्ष लाहुराम थारुले कोरोना भाइरस संक्रमणको लक्षण देखिएका र शंका लागेका व्यक्तिले गाउँपालिकामा सम्पर्क गर्न सकिने बताएका छन् । एन्टीजेन परीक्षण निशुल्क गरिने अध्यक्ष थारुले बताए ।
एन्टिजेनमा आधारित परीक्षण भनेको के हो ? पीसीआर परीक्षण गर्नको लागि प्रयोगशाला, विशिष्टकृत उपकरण, विभिन्न किट, धेरैथरिका जनशक्ति चाहिन्छ भने एन्टिजेनमा आधारित परीक्षणमा धेरै झमेला नगरिकन नै सामान्य परीक्षणको आधारमा रिर्पोट थाहा पाइने परीक्षण हो । भाइरस पत्ता लगाउनका लागि उपकरण चहिँदैन, स्वाव निकाल्न बाहेक अन्य कार्यका लागि दक्ष जनशक्ति पनि चाहिदैंन । घाँटीको स्वाव निकाल्न सक्ने मानिसले पनि परीक्षण गरिएका व्यक्तिमा भाइरस संक्रमण भएको छ वा छैन पत्ता लगाउन सक्छ । त्यस्तै पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेको दिनदेखि ४८–७२ घण्टामा मात्रै नतिजा थाहा पाउन सकिन्छ । पिसिआर परीक्षणको नतिजा ६–८ घण्टामा नै आउने भए पनि विविध कारणले रिपोर्ट ढिला आउने हुन्छन् । तर एन्टिजेनमा आधारित परीक्षण गर्दा धेरै चाँडो (१५ मिनेटमा) रिर्पोट आउने जनस्वास्थ्य वैज्ञानिक डाक्टर समीरमणि दिक्षित बताउँछन् ।