खानेपानी योजना सम्पन्न, अझै काकाकुल उपभोक्ता

साबित्री गिरी

बाँके/ बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ सौरीका स्थानीय थमनबहादुर भण्डारीले शुद्ध खानेपानी खान नपाएको ६० वर्ष भयो । उनका जीवनका ६ दशकहरु कहिले राप्ती नदीको धमिलो पानी, कहिले कुवाको पानी त कहिले खोल्सा खोल्सीको पानी खाएर बिताए । उनका बुवा आमाले पनि यसैगरी जीवन गुजारे । थमनको जीवन अहिले पनि शुद्ध खानेपानीको खोजीमा भौँतारिरहेको छ ।

यस्तै अर्को स्थानीय डिल्ली बहादुर भण्डारीले पनि यस्तै समस्या झेल्न लागेको ४६ वर्ष भयो । उनले पनि जीवनमा शुद्ध खानेपानी खान नपाएको दुःखेसो व्यक्त गरे । उनको गाउँमा विक्रम संवत् २०७२ सालदेखि खानेपानी आयोजनाको ट्याङ्की लगायतका संरचना बनाएर पाइप लाइन बिछ्याउने कामसमेत भइसकेको छ । अब उपभोक्ता समितिको कार्यालय र पर्खाल लगाउने काम मात्र बाँकी छ । खानेपानी डिभिजन कार्यालयको ७ करोड २२ लाख ७४ हजारको योजनामा ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । अब पानी जनताको घरदैलोमा पुग्ने अवस्था आइसक्दा मध्यवर्ती क्षेत्रभित्र पर्ने यस आयोजनाको कामलाई अहिले बाँके राष्ट्रिय निकुञ्जले रोकिदिएको छ । अन्तिममा आएर निकुञ्जले अड्को थाप्दा यस आर्थिक वर्ष कार्यान्वयन गरिसक्नुपर्ने १० लाख रुपैयाँसमेत खर्च हुन नसकेको खानेपानी डिभिजन कार्यालय प्रमुख भोलाप्रसाद थापाले बताए । आफूहरुले सम्पूर्ण प्रक्रिया पूरा गरेर काम गरेको भएता पनि अहिले योजना सञ्चालन गर्ने अवधिमा आएर स्थानीय उपभोक्ता समिति र खानेपानी डिभिजन कार्यालयमा चिठ्ठी पठाएर काममा अवरोध पु¥याउने काम भएको उनले बताए ।

उनले राज्यकोषको पैसा सहमति र समन्यात्वक रूपमा खाली क्षेत्रका वातावरणमा कुनै नोक्सानीसमेत नहुने गरी काम गर्दा पनि अन्तिममा आईई रिपोर्टको कुरा उठाउनु सान्दर्भिक नभएको उनले बताए । उनले यी सबै प्रक्रिया पूरा भएकाले स्थानीयलाई भोकाधिकारका लागि रोक्न नहुने बताए । यस विषयमा लुम्बिनी प्रदेशका सांसद कृष्णा केसी नमुनाले बाँके राष्ट्रिय निकुञ्जसँग समन्वय गरेकी छिन् । उनले योजना सम्पन्न भइसकेको अवस्थामा पूर्व सहमतिलाई आधार मानेर अगाडि कसरी बढ्न सकिन्छ भन्ने विषयमा बाटो खुला गर्न निर्देशन दिएकी छिन् । खानेपानी जस्तो जनताको स्वास्थ्यमा संवेदनशील हुनु पर्ने विषयमा कार्यालय बाँके राष्ट्रिय निकुञ्जले स्थानीयलाई भोकाधिकारका लागि अनुमति दिनु पर्ने बताइन् ।

यस विषयमा बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाहले भने उपभोक्ता समिति र खानेपानी डिभिजन कार्यालय नेपालगन्जले पु¥याउनु पर्ने प्रक्रिया पूरा नगरेको दाबी गरेका छन् । उनले सहमति गरेर प्रक्रिया पूरा गरेर आए आफूहरुले योजना संचालन गर्न दिने बताएका छन् । अहिले उपभोक्ता समिति, खोनपानी डिभिजन कार्यालय नेपालगन्ज र बाँके राष्ट्रिय निकुञ्जबीच यस विषयमा आपसी वैमनस्यता सुरु भएको छ । एउटा सरकारी निकायले गरेको योजनामा अर्को सरकारी निकायले पूर्व सहमतिलाई मिचेर पत्राचार गर्दा तनाव उत्पन्न भएको छ । यस परिस्थितिमा खानेपानी डिभिजन कार्यालय नेपालगन्जको समन्वय र सहकार्यको कामलाई अगाडि बढाएको छ । यो योजना सञ्चालन हुन सकेमा बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ को सौरी, वैरीया, कुसुम र जरुवाका स्थानीयले शुद्ध खानेपानी खान पाउनेछन् ।

  • ९ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech